सडकमा साइकलयात्री

विराटनगर महानगरपालिकामा सडक पार गर्न पर्खिरहेका पैदलयात्री र साइकल यात्रीले उभिने र अडिने ठाउँसमेत पाउँदैनन् । 
मधु राई

काठमाडौँ — हतारको बेला स्कुटी नत्र साइकल । सवारी मनपराउने मजस्ता धेरै साइकल यात्रीलाई विराटनगर महानगरपालिकाको विकास निर्माणको कामले निराश पारेको छ ।

जताततै सडक र ढल निर्माणको काम भइरहे पनि स्थानीय सरकार र निर्माण व्यवसायी कम्पनीहरूले साइकल लेन बनाउनुपर्ने आवश्यकता महसुस गरेको पाइएन । सडक विस्तार र ढल निर्माणको कामले विराटनगरवासीले पाइरहेको सास्ती कहिनसक्नु छ । त्यसमाथि धुलो नियन्त्रण गर्ने भनी पानीको ट्याङ्की बोक्ने गाडीले कतिपय सडक हिलाम्मे पार्दा पैदलयात्री र दुईपाङ्ग्रे सवारी दुर्घटनामा पर्नु सामान्य बन्दै गएको छ ।

Citizen

केही वर्षअघि रिक्सालाई विस्थापित गर्ने र वातावरण संरक्षण गर्ने उद्देश्यले भित्रिएको विद्युतीय सिटी सवारीलाई महानगरले व्यवस्थित गर्नसकेको छैन । सिटी सवारीलाई विस्थापित गर्न विक्रम टेम्पोले थप सडक आतंक मच्चाएको छ । बेतोडले हुइँकिने विक्रम टेम्पोले कतिबेला कुन दिशाबाट पैदलयात्री र साइकल यात्रीहरूलाई ठक्कर दिने हो, कसैलाई थाहा हुँदैन ।

केही वर्षअघि अभिनेता कृष्ण मल्ललगायत केही वातावरणप्रेमीको प्रयासले काठमाडौंलाई विक्रम टेम्पोमुक्त बनाएको सर्वविदितै छ भने विराटनगर महानगर लगायत पूर्वी नेपालका सडकहरूमा यस्ता टेम्पोहरू निर्वाध गुडिरहेका छन् ।

साइकल यात्रीहरू भनेका हुँदाखाने वर्गका हुन्, यिनीहरूलाई किन छुट्टै साइकल लेन चाहियो भनी सडक र ढल निर्माण गर्ने निकायको अदूरदर्शिताका कारण साइकलयात्रीको मनोबल घट्दो छ । निर्माणाधीन भित्री सडकहरू उबड–खाबड भए पनि बढीमा पाँचदेखि दस मिनेट साइकल हाँक्न पाइन्छ, तर मूल सडक र धरान रोडमा डोर्‍याउनुपर्ने अवस्था आउँछ । यी सडकमा अन्य सवारीको बीचमा सबैभन्दा निरीह बनिरहेका हुन्छन्, साइकलयात्री । सडक पार गर्न पर्खिरहेका पैदलयात्री र साइकल यात्रीले उभिने र अडिने ठाउँसमेत पाउँदैनन् ।

पछिल्लो अध्ययन अनुसार दैनिक सरदर ६ जना नेपालीले सडक दुर्घटनाका कारण मृत्युवरण गर्नुपरेको छ भने निर्माणाधीन सडक र ढलका कारण घाइते हुनेबारे अध्ययन, अनुसन्धान हुन बाँकी छ । अध्ययन, अनुसन्धानले हाम्रा सडक कति ज्यानमारा बन्दैछन् भन्ने विषयमा हाम्रा जनप्रतिनिधिहरूको ध्यान जानसकेको छैन ।

हिजोका दिनमा कतिपय तिनै पैदलयात्री र साइकल यात्री आज जनप्रतिनिधि बनेका छन् र पनि यो समस्यालाई बुझ पचाउँछन्, बेवास्ता गर्छन् । आज मोटरसाइकल र गाडीमा हुइँकिने हाम्रा तिनै जनप्रतिनिधिले हिजो आफूले भोगेका सडक सास्ती बिर्सेको देखिन्छ ।

पछिल्लो समय राजनीतिक वृत्तमा साइकल मन्त्री भनेर चिनिएका लालबाबु पण्डितमा चारपाङ्ग्रे सवारीमोह ह्वात्तै बढेपछि साइकलयात्रीको उत्साह झनै सेलाउँदै गएको छ । केही समयअघि मन्त्री पण्डितले साइकल चढेको तस्बिरले साइकल यात्रीहरूको मनोबल बढाएको थियो ।

गएको जेठ २२ गते वन तथा वातावरण विभागले विश्व वातावरण दिवसको अवसर पारेर महानगरका प्रमुख लगायत स्थानीय तहका प्रमुखहरूलाई वातावरण संरक्षण गर्न भनी वितरण गरेको २० थान साइकल ती पदाधिकारीले ५/१० मिनेट पनि नचलाई सहयोगीलाई थमाएको दृश्य मेरो मानसपटलमा ताजै छ ।

कुनै रणनीतिक योजना नबनाई सरकारी बजेट दुरुपयोग रोक्न हाम्रा जनप्रतिनिधिहरू असफल बनेका छन् । वातवरण दिवसका दिन प्रमुखहरूलाई २० थान साइकल वितरण गर्दैमा वातावरण संरक्षण हुन्छ भन्ने सोच नराम्रो नभए पनि सुविधायुक्त चारपाङ्ग्रे सवारीभन्दा साइकल सवारी कुनै पनि हालतमा श्रेयस्कर लाग्दैन, हाम्रा प्रमुख र जनप्रतिनिधिहरूलाई । र यो मानवीय स्वाभाव पनि हो ।

हाम्रा जनप्रतिनिधिहरूले विश्व वातावरण दिवस लगायत वातावरण सम्बन्धी कार्यक्रममा वातावरण संरक्षण गर्नुपर्छ भन्दै आए पनि व्यवहारमा शून्य देखिन्छ । काठमाडौं लगायत धरानमा साइकलप्रेमी बढ्दैछन् भन्ने समाचार बेला–बेला सञ्चार माध्यमले जनसमक्ष ल्याउने गरेका छन् ।

यस्ता साइकलप्रेमीले बेला–बेला साइकल लेन बनाउन सरकारलाई दबाब दिने गरे पनि सुनुवाइ भएको पाइँदैन । विराटनगर महानगरपालिकामा साइकलप्रेमीहरू भए पनि संगठित नहुँदा साइकल लेन चाहिन्छ भनी सम्बन्धित निकायलाई झकझक्याउनसकेका छैनन् ।

अमेरिकाले साइकल यात्रीका लागिमात्र हैन, पैदल यात्रीका लागिसमेत सडक व्यवस्थापन गर्न रणनीतिक योजना अघि सारेको यसै दैनिकले केही दिनअघि जनसमक्ष ल्याएको छ । अमेरिकी लेखक रिचर्ड कन्निफले आफ्नो लेख ‘पैदल यात्रीको प्रतिरक्षा’मा अमेरिकी सहर डेनेभरले पैदल यात्रीका लागि भनी १ अर्ब डलर खर्च गरेर सडकपेटी निर्माण गर्ने योजना अघि सारेको र अन्य सवारी साधनका लागि स्थान कटौती गर्न थालेको उल्लेख गरेका छन् ।

पेरिसले सेन नदीको किनारमा गाडी गुडाउन प्रतिबन्ध लगाउँदै पैदल र साइकल यात्रीका लागि पुनर्निर्माणको काम अघि बढाएको छ । स्वीडेनले ‘भिजन जिरो’ अवधारणा अघि सारेको छ । यस अन्तर्गत स्वीडेनले सन् २०३० सम्म सडक दुर्घटना शून्यमा पुर्‍याउन विभिन्न रणनीतिक योजना बनाई कार्यक्रमसुरु गरेको छ ।

सडक निर्माण गर्दा हाम्रा नीति निर्माताले बेवास्ता गर्ने गरेको परिणाम आज सर्वसाधारणले भोग्नुपरेको छ । सडक फराकिलो बनाउने भन्दै घरबास उठाएका छन् । निर्मित सडक पनि सबै खाले सवारीमैत्री छैनन् ।

पैदलयात्री र साइकल यात्रीका लागि नभई नहुने सडकपेटी बनाउन दबाब दिने समूह नहुँदा मनपरितन्त्रले पराकाष्ठा नाघेको छ । हाम्रोजस्तो गरिब मुलुकमा सबैले मोटरसाइकल र निजी गाडी नै चलाउँछन् भनी नीति निर्माताले सोच्नु र त्यसै अनुरुप सडक निर्माण गर्नु भनेको सर्वसाधारणप्रति अन्याय गर्नु हो ।

जीवनको कुनै कालखण्डमा आजका नीति निर्माताले पक्कै पनि साइकल यात्रा गरेको हुनुपर्छ । आफूले विगतमा पैदल हिँड्दा र साइकल यात्रा गर्दा पाएको सास्तीलाई आज चटक्क बिर्सनु पैदलयात्री र साइकल यात्रीको निर्वाध रूपमा हिँड्न पाउने र सवारी चलाउन पाउने अधिकार हनन गर्नु हो ।

प्रकाशित : पुस १९, २०७५ ०७:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बालबालिकालाई विज्ञान

विज्ञानलाई रुचिकर बनाउन व्यावहारिक ज्ञान र शैक्षिक सामग्रीको अपरिहार्यतालाई अधिकांश विद्यालय र शिक्षकले बुझेका छैनन् ।
मधु राई

काठमाडौँ — मैले प्राथमिक तहमा कसरी विज्ञान पढेँ, थाहा छैन । माथिल्लो तहमा जीवविज्ञानको पुस्तक हेरेर पढाउने शिक्षकबाट मैले जीवन र जगतसँग जोडिने विज्ञानको शिक्षा पाइन । भौतिक विज्ञानको शिक्षकले बेला–बेला शैक्षिक सामग्रीसहित प्रयोगात्मक शिक्षण विधि अपनाउँदै पढाउनाले विज्ञान समूहमा धेरै नम्बर आयो र विज्ञान संकायमा उच्चशिक्षा लिने अवसर पाएँ ।

मेरा छोराछोरीले बाह्र–चौध वर्षअघि विराटनगरको एउटा निजी विद्यालयमा स्कुले शिक्षा आर्जन गर्ने अवसर पाए । उनीहरूका लागि विज्ञान कहिल्यै रुचिकर भएन ।

कक्षा ७–८ पढ्दाताका छोराले बेला–बेला ‘मम्मी, वैज्ञानिकहरूले गरेका काम र सिद्धान्तलाई हामीले किन घोकिरहनुपर्ने ? हामीले नयाँ काम गर्नुपर्छ हैन र ?’ ऊबेला आफ्नो रुचि थाहा नपाई जेनतेन विज्ञान संकाय पढेकाले मैले छोराछोरीलाई विज्ञान पढ्नैपर्छ भनेर कहिल्यै दबाब दिइन । जे पढे पनि टुंग्याउनु भने पर्छ है मात्र भनेँ ।

विज्ञान विषयलाई रुचिकर बनाउन शिक्षकको अहम् भूमिका हुन्छ । मैले शिक्षण पेसा अपनाएको २३ वर्ष भयो । ससाना बालबालिकालाई विज्ञान पढाउँदा व्यावहारिक ज्ञान दिने प्रयास गर्दै आएकी छु । व्यावहारिक कक्षामा सकभर पुस्तक नहेरी कक्षा लिन्छु र स्थानीय स्तरमा पाइने शैक्षिक सामग्री प्रयोग गर्छु । जीव विज्ञानमा बोटबिरुवाबारे पढाउँदा विद्यालय परिसरमा रोपिएका फलफूल र तरकारी देखाउँदै बुझाउने प्रयास गर्छु । कौसीमा रोपेको बोटबिरुवा देखाउन मासिक रूपमा लान्छु ।

साना बालबालिकाको उमेर र रुचि अनुसारको पाठ्य–पुस्तक अभावलाई अधिकांश विद्यालय र शिक्षकले महसुस गरेको पाइँदैन । कतिपय नाम चलेका निजी विद्यालयले ‘बढी पुस्तक बढी पढाइ’ भन्ने मान्यतालाई आत्मसात गरेको पाइन्छ । उदाहरणका लागि विराटनगरका अधिकांश निजी विद्यालयमा युकेजी पढ्ने साना विद्यार्थीलाई अंग्रेजी र विज्ञानका दुई–दुईवटा पुस्तक पढ्नुपर्ने बाध्यता छ ।

नेपाली बाहेक सबै विषय अंग्रेजी माध्यममा पढ्नुपर्छ । यो बाध्यतालाई न शिक्षकले विद्यालयमा नत अभिभावकले घरमा महसुस गर्ने गरेको पाइन्छ । अंग्रेजीमा भर्खरै दुई वा तीन शब्दको वाक्य बनाउन र बुझ्न थालेका युकेजीका विद्यार्थीले कसरी विज्ञान र सामाजिक पुस्तकका लामा वाक्य बुझ्छन् भन्ने अर्को बहसको विषय बन्न सक्छ ।

विज्ञान विषयका दुइटा पुस्तकमा ‘एक्टिभिटी’ र ‘कोर्स’ भनेर छुट्याइए पनि सिलसिलेवार छैनन् । कोर्स बुकमा दिइएको अभ्यास एक्टिभिटी बुकमा गराउनुपर्ने हुन्छ, तर व्यवहारमा त्यस्तो छैन । विज्ञानको पुस्तकमा सामाजिक शिक्षा र अंग्रेजी पुस्तकमा समेटिएका पाठ दोहोर्‍याएर राखिएका छन् ।
विज्ञानको पुस्तकलाई मोटो बनाउन अंग्रेजी पुस्तकको पाठ ‘एक्सन वर्ड’ समावेश गरिएको छ । यस्ता झिनामसिना लाग्ने तर संवेदनशील विषयमा लेखक र प्रकाशनगृहले नजरअन्दाज गर्नु भनेको ससाना विद्यार्थी र अभिभावकलाई गुमराहमा पार्नु हो । यस्ता कार्यमा शिक्षक र विद्यालय व्यवस्थापनले प्रत्यक्ष र परोक्ष रूपमा मलजल गर्दै आएको देखिन्छ ।

निजी विद्यालयका विशेषगरी पूर्वप्राथमिक तहमा पढाउने अधिकांश शिक्षक–शिक्षिकाले विद्यालय व्यवस्थापनसँग यस्ता विषयमा बिरलै छलफल गरेको पाइन्छ । कतिपय विद्यालय सञ्चालक वा प्राचार्य अध्यापनमा भन्दा व्यवस्थापनमा बढी व्यस्त हुन्छन् । यस्ता पुस्तक लेखक र प्रकाशनगृहको एकमात्र ध्याउन्न भनेको पुस्तक बिकाउनु हो । जति मोटो पुस्तक उति बढी मूल्य र जति बढी पुस्तक उति बढी कमिसन ।

पुस्तक लेखक र प्रकाशनगृहको एकाधिकारका कारण हाम्रा ससाना विद्यार्थीले पूर्वप्राथमिक तहमा विज्ञान विषयको आधारभूत ज्ञान पाउने अधिकारबाट वञ्चित हुनुपरेको छ । अमिल्दो पाठहरू भिन्न–भिन्न शिक्षकले भिन्न तरिकाले पढाउँदा साना बालबालिकाले कसरी बुझ्छन् भन्ने विषयमा पुस्तक लेखकहरू संवेदनशील देखिँंदैनन् । सिर्जनशील र जाँगरिला शिक्षकले विज्ञानलाई रुचिकर बनाउन शैक्षिक सामग्रीसहित पढाए पनि अन्यले कसरी र के गरी पढाउँछन् भन्ने विषयमा प्राचार्य र विद्यालय व्यवस्थापन संवेदनशील देखिँंदैनन् ।

विज्ञानलाई रुचिकर बनाउन व्यावहारिक ज्ञान र शैक्षिक सामग्रीको अपरिहार्यतालाई अधिकांश विद्यालय र शिक्षकले बुझेको देखिंँदैन । जीवविज्ञान अन्तर्गत पढाइने बोटबिरुवा सम्बन्धी व्यावहारिक ज्ञान दिन विद्यालय परिसरमा करेसाबारी बनाउन सकिन्छ । करेसाबारीमा मानव शरीरलाई चाहिने फलफूल र तरकारी फलाउन सकिन्छ । तरकारी खाँदाको फाइदाबारे ससाना विद्यार्थीले थाहा पाउँछन् ।

उनीहरूमा कौतुहलता बढ्छ र विज्ञान विषय रुचिकर बन्दै जान्छ । बोटबिरुवाको जीवनचक्र आफ्नै अगाडि देख्दै हुर्केका विद्यार्थी माथिल्लो तहमा पनि यस्तै शिक्षा पाए कृषिविज्ञ/वैज्ञानिक बन्ने सम्भावना बढ्छ । पूर्वप्राथमिक तह औपचारिक शिक्षाको जग हो । नाम चलेका विद्यालयमा भर्ना गरेपछि सबै बुझिहाल्छन् भनेर बस्ने मजस्ता धेरै अभिभावक पछुताएका छौं ।

पूर्वप्राथमिक तहमा पढ्ने विद्यार्थीको उमेर र रुचि अनुसार पाठ समेटिने र सोही अनुरूप शिक्षण सिकाइ गर्ने हो भने विज्ञान बालबालिकाका लागि जीवन र जगत जोड्ने पहिलो विषय हुनसक्छ । विज्ञान विषयका शिक्षक र विद्यालय व्यवस्थापनले पनि ससाना विद्यार्थीको उमेर र रुचि अनुसार पुस्तक छनोट गर्नुपर्छ ।

प्रकाशकले पनि मोटो र बढी संख्यामा पुस्तकभन्दा पनि आफ्नो देशको परिवेशसँग मेलखाने पाठ समेटेर पुस्तक प्रकाशन गर्नुपर्छ । विज्ञान विषय रुचिकर बनाउनु भनेको विज्ञ र वैज्ञानिक जन्माउनु हो ।

प्रकाशित : पुस ६, २०७५ ०७:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT