कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाइपठाउँदा र खाइलिँदा खिसिट्युरी

दोस्रो भाषाका रूपमा बोल्दा हुने त्रुटिलाई लिएर कतिपयले मजाक गर्नुमा रमाइलो मान्छन् तर यो भाषिक हिंसा हो । 
तारामणि राई

काठमाडौँ — ‘के छिटो खाइपठा’को ?’ माझ किरातकै खसआर्य मूलका एक मित्रले एउटा बिहे भोजमा मैले खाना खाएको देखेर जिस्क्याए । अरू बेला पनि उनी ‘लेख्नुु’, ‘भन्नु’ जस्ता क्रियापदमा ‘पठाउ’ धातु जोडेर ‘लेखिपठाउनु’ ‘भनिपठाउनु’ जस्ता शब्दहरू बनाएर मसँग ठट्टा गरिरहन्थे ।

खाइपठाउँदा र खाइलिँदा खिसिट्युरी

थाहै नपाई म यस्ता शब्द प्रयोग गर्दोरहेछु । उनले ख्याल गर्दारहेछन् र मौका पर्नासाथ यस्तै शब्द मस“ग प्रयोग गर्दारहेछन् तर हा“सेर टारिदिन्थेँ । यसमा ती मित्र र मबीचको हार्दिक सम्बन्धले काम गरेको हुन सक्छ । यस्ता विषयमा उनीस“ग कहिले छलफल हुन पाएन ।


पछिल्लो पटक उनले मलाई जिस्क्याएपछि अर्को पुरानो घटना सम्झिन पुगेँ । एक दशकअघि मधेस आन्दोलन उत्कर्षमा थियो । कलेजको क्यान्टिनमा मेरा दुईजना शिक्षक मित्रबीच घम्साघम्सी परिहाल्यो । कारण के थियो भने पहाडिया मूलको शिक्षकले मधेसी मूलको शिक्षकसँग मजाक गर्दै ‘खाएको’ र ‘भनेको’ जस्ता संयुक्त क्रियापदका ठाउँमा ‘खाइलिएको’ ‘भनिलिएको’ जस्ता शब्द प्रयोग गर्दै जिस्काएछन् ।


यही कुरालाई लिएर मधेसी मूलका शिक्षकले आपत्ति जनाइहाले । सम्भवतः उनले आफू र मधेसी समुदायको अपमान सम्झिए होलान् । भनाभनको स्थिति सिर्जना हुन पुग्यो । उनीहरूको विवादको कारण सामान्य भए पनि त्यसबेला निर्माण हुँदै गरेको सामाजिक मनोविज्ञानको केही हिस्सा हुन सक्ला, यो फरक प्रसंग भयो तर यी र यस्ता साना लाग्ने तर गम्भीर प्रकृतिका प्रतिनिधि घटना भए पनि भाषाका कारण हुने सामाजिक व्यवहार वा मनोविज्ञान बुझ्न सहयोग पुग्छ । यस लेखमा खासगरी यी र यस्तै खालका समस्या किन हुन्छन् ? भाषाविज्ञानको कसीमा राखेर छलफल गर्ने प्रयत्न गरेको छु ।


सामान्यतः जन्मेदेखि ३ वर्ष नपुगुन्जेल प्राप्त गरेको भाषालाई पहिलो भाषा मान्ने गरिन्छ । त्यसपछि उसले जतिवटा भाषा सिकोस्, त्यो उसको दोस्रो भाषा हो । पहिलो भाषा नेचुरल प्रोसेस अर्थात् प्राकृतिक प्रक्रियाबाट प्राप्त हुन्छ भने दोस्रो भाषा लर्निङ अर्थात् सिकाइबाट आर्जन गरिन्छ । दोस्रो भाषा बोल्दा बोल्ने व्यक्ति सचेत भइरहन्छ ।


सचेत हुँदाहुँदै पनि कहिलेकाहीं कतैकतै खुस्किहाल्छ र त्यसलाई सुन्नेहरूले मजाकमा उडाउने गर्छन् । अध्ययनले देखाएको छ– कुनै व्यक्तिले दोस्रो भाषा बोल्दा हुने गडबडीलाई बोल्ने व्यक्तिको कमजोरीभन्दा पनि पहिलो भाषाको प्रभाव हो भन्ने देखाएको छ । पहिलो भाषामा जे जस्ता संरचना, ‘एक्सेन्ट’ लवज छ, त्यो कहीं न कहीं कतै न कतै दोस्रो भाषामा नजानिँदो तरिकाले देखा पर्छ । यो मनोवैज्ञानिक मात्र नभएर संज्ञानस“ग सम्बन्धित मानिन्छ ।


माथि उल्लिखित घटना हुनुको कारण पहिलो भाषाको संरचनागत प्रभाव दोस्रो भाषामा पर्नु हो । किराती भाषाहरूमा संयुक्त क्रियामा ‘पठाउ’ धातु जोडिएर आउँछन् । यसलाई ‘भर्ब टेलिसाइजर’ अर्थात् रन्जक भनिन्छ । किरातीभाषीले प्रायः नेपाली भाषा बोल्दा ‘हिर्काउनु’ भन्ने शब्दका ठाउँमा ‘हिर्काइपठाउनु’ भनिहाल्छन् ।


तराई मूलको मैथिलीजस्ता भाषामा ‘ले अर्थात् लेव’ जस्ता धातु संयुक्त क्रियामा जोडिएर आएका हुन्छन्, जुन नेपाली भाषा बोल्दा नजानिँदो तरिकाले आइहाल्छ । यस्तैगरी नेवारी भाषामा ‘ल्याउ’ भन्ने धातु रन्जकका रूपमा आउँछ । उनीहरूले प्रायः ‘भन्यो’ भन्ने ठाउँमा ‘भनेर ल्यायो, ‘देख्यो’ भन्ने ठाउँमा ‘देखेर ल्यायो’ जस्ता संयुक्त क्रियापद बनाउँछन् ।


पहिलो भाषाको दोस्रो भाषामाथि कसरी प्रभाव परिरहेको हुन्छ भन्ने अनेक उदाहरण दिन सकिन्छ । जस्तै– भोट–बर्मेली भाषा परिवारका वक्ताले नेपाली भाषा बोल्दा लिङ्ग भेद छुट्याउ“दैनन् । भोट–बर्मेली भाषाभित्र लिङ्ग भेदको व्यवस्था हुँदैन । महिला र पुरुषका लागि व्याकरणिक कोटिमा केही पनि चिन्हित भएर आउँदैन ।


महिला र पुरुषका लागि एकै खालको संरचना प्रयोग गरिन्छ । ‘सीता घर गइछ’ भन्ने ठाउँमा ‘सीता घर गएछ’ भन्ने वाक्य प्रयोग गर्छन् । हिमाली भेगका शेर्पा, ल्होमी, ह्योल्मो भाषा बोल्नेहरूले नेपाली भाषा बोल्दा क्रियापदमा वचन र पुरुषको संगति ख्याल गर्दैनन् । ती भाषाका क्रियापदमा वचन र पुरुषको संगति हुँदैन । उनीहरूले ‘हामी पनि जान्छौं’, ‘तिमी पनि जान्छौ’ जस्ता वाक्यका साटो ‘हामी पनि जान्छ’, ‘तिमी पनि जान्छ’ भन्छन् । यी टोनल अर्थात् तान भएका भाषा भएकाले उनीहरूले बोल्ने नेपाली भाषामा तानको प्रभाव प्रशस्तै देखिन्छ ।


नेवारी भाषामा त वर्ग (तथदध वर्ण ) र ट वर्ग (टठडढ वर्ण) मा भेद छुट्टि“दैनन् । उनीहरूले नेपाली भाषा बोल्दा त को ठाउँमा ट र थ का ठाउँमा ठ जस्ता वर्ण प्रयोग गर्न पुग्छन् । नेवारी भाषामा ट र त छुट्टाछुट्टै वर्ण नभएर संवर्ण मात्र हुन् । वर्ण र संवर्णको भेदबारे बुझाउन प्रा. माधवप्रसाद पोखरेल गुरुले हामीलाई कक्षामा पञ्चायतताकाका मन्त्री जोगमेहर श्रेष्ठको किस्सा सुनाउनुभएको थियो ।


उसबेला मन्त्री काठमाडौंको एउटा बस्तीमा गएछन् र भनेछन्, ‘सके ठिटी मिलाइडिउँला, नसके छोरी डिउँला ।’ यो वाक्य सुनेर वरिपरिका नेपाली मातृभाषी पहिले त मुखामुख गरेछन् । पछि बुझ्दा त मन्त्रीले ‘सके थिति मिलाइदिउँला, नसके छोडिदिउँला’ भनेका रहेछन् ।


यस किसिमको गडबडी मगर र केही किराती भाषीमा पनि पाइने गरेको छ । किराती भाषा बोल्नेहरूले क्रियापदमा वचन र पुरुषलाई जोडिहाल्छन् । यस प्रकारको संरचनालाई जटिल प्रकारको सर्वनामिकीकरण भनी चिनिन्छ । त्यसैले ‘खायौं’ ‘गयौं’ जस्ता क्रियापदलाई ‘खायुङ’ ‘गयुङ’ भनी प्रयोग गर्छन्, यसो हुनुमा प्रथम पुरुषको क्रियापदमा प्रतिस्थापन हो ।


गत वर्ष भाषा आयोगमार्फत् मेचे भाषाको काम गर्दा रमाइलो अनुभव भयो । मेचे भाषामा १८ वटा मात्र व्यञ्जनवर्ण रहेछन् । क, थ, झ, त जस्ता वर्ण नपाइने रहेछ । ‘सन्तलाल’ भन्ने ठाउँमा ‘सन्थलाल’ प्रयोग गर्दारहेछन् । ‘पोहर’ को ठाउँमा ‘फोहर’ प्रयोग गर्नु अनौठो मानिँदोरहेनछ । किनभने प र फ वर्ण छुट्टाछुट्टै वर्ण नभएर संवर्ण मात्र रहेछन् ।


दोस्रो भाषाका रूपमा बोल्दा हुने एक किसिमको गडबडी वा त्रुटिलाई लिएर ख्यालठट्टा वा खिसिट्युरी गर्ने गरिन्छ । कतिले यस्ता कुरालाई संवेदनशीलतासँग जोड्छ्न र सम्मानभाव पनि दर्साउँछन् तर कतिपयले अरूमाथि मजाक गर्नुमा रमाइलो मान्छन् । दुर्भाग्य नै मान्नुपर्छ कि टेलिभिजनमार्फत् प्रसारण हुने कमेडी कार्यक्रममा नियोजित तरिकाले चरित्र निर्माण गरिँदै आएको देखिन्छ ।


‘मेरी बास्सै’ शृङ्खलाको ‘मुस्कान पासा’ होस् वा ‘ह्वाट्स द फ्लप’ शृङ्खलाकोे ‘मिठाईलाल ज्यादव’ होस्, यस खालका पात्रलाई जबर्जस्त निर्माण गरेर सम्बन्धित भाषिक समुदायमाथि अपमान गरिएको छ । यस्ता पात्र निर्माण गर्दा हास्यकलाकारहरूलाई व्यक्तिगत लाभ होला तर यसले भाषिक समुदायमाथिको आत्मसम्मानमा कतिको ठेस पुगिरहेको छ भन्ने हेक्का राखिएन भने यसले दुष्परिणाम ननिम्त्याउला भन्न सकिँदैन ।


कसैको धज्जी उडाउने व्यवहार एउटा हदसम्म ठिकै होला तर सीमा नाघ्यो भने प्रत्युत्पादक बन्ने खतरा बढ्छ । भाषाकै आधारमा गरिने फरक व्यवहार वा भाषिक विभेदलाई भाषिक मानव अधिकारकर्मीहरूले एक प्रकारको ‘लिङ्ग्विस्टिक जेनोसाइड’ अर्थात् भाषिक हिंसा मान्छन् ।


नेपालमा नेपाली भाषालाई दोस्रो भाषाका रूपमा प्रयोग गर्नेहरूको ठूलो संख्या छ । निःसन्देह उनीहरूको नेपाली भाषा मातृभाषा नेपाली हुने जतिको दुरुस्त नहुन सक्छ । दुरुस्त नहुनुमा भाषावैज्ञानिक कारण नै हो ।


त्यसैले भाषाको प्रयोग र व्यवहारमा संवेदनशीलता वा सावधानी अपनाउनु जरुरी छ नकि ‘जटि भनेर ल्याए पनि ट्यस्टै हो’ भनेर खिसिट्युरी गर्दै जाने हो ।


लेखक त्रिवि भाषाविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक हुन् ।

प्रकाशित : पुस २२, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?