कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

[कान्तिपुर कुराकानी] ‘आर्थिक गतिविधिले सम्बन्ध मजबुत बनाउँछ’

काठमाडौँ — जापानी विदेशमन्त्री तारो कोनो बुधबार नेपाल आउँदैछन् । जापानी विदेशमन्त्रीको यो सात वर्षपछिको औपचारिक नेपाल भ्रमण हो । मन्त्री कोनोसँग भ्रमणको उद्देश्य, नेपाल–जापान सम्बन्ध र आपसी सहयोगका विषयमा कान्तिपुरका लागि गरिएको कुराकानी–

[कान्तिपुर कुराकानी] ‘आर्थिक गतिविधिले सम्बन्ध मजबुत बनाउँछ’

तपाईंको यो नेपाल भ्रमणको प्रमुख उद्देश्य के हो ?

म नेपालको आर्थिक विकास, लोकतन्त्रको स्थायित्व, विधिको शासन सुदृढ गर्ने जस्ता क्षेत्रमा आर्थिक सहयोग सुदृढ गरी दुई देश बीचको दौत्य सम्बन्धलाई अझ मजबुत बनाउन भ्रमण गर्दैछु । नेपाल हाम्रो असल मित्रका साथसाथै अन्तर्राष्ट्रिय समाजको स्थायित्व तथा समृद्धिका लागि महत्त्वपूर्ण देश हो ।


गत वर्षको नोभेम्बरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जापान भ्रमण गर्नुभयो । यस पटक म परराष्ट्रमन्त्री ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमण गर्दैछु । मेरो यस भ्रमणमा परराष्ट्रमन्त्री ज्ञवालीका साथै नेपाल सरकारका प्रमुख व्यक्तिहरूसँग भेटघाट हुनेछ । हामी जापानीका लागि अति आकर्षणका रूपमा रहेका हिमालय पर्वत तथा काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदा अवलोकन गर्न पाउनु हर्षको विषय हो ।


सन् १९५६ मा जापान–नेपालबीच दौत्य सम्बन्ध स्थापना भएयता आर्थिक सहयोग, सांस्कृतिक, पर्यटन, जनस्तरीय भ्रमण आदान–प्रदान कार्यक्रमबाट विशेष मैत्री सम्बन्ध कायम गर्दै आइरहेका छौं । दुई देश विभिन्न अप्ठेरोमा परेका बेला आपसमा सहयोग गर्दै आइरहेका छौं ।


सन् २०११ मा जापानको पूर्वी क्षेत्रमा आएको महाभूकम्प तथा सन् २०१६ मा जापानको कुमामोतो प्रान्तमा आएको भूकम्पीय प्रकोपले समस्यामा परेका बेला जापानमा बसोबास गर्ने थुप्रै नेपालीले तुरन्तै प्रकोपग्रस्त क्षेत्र पुगेर पीडित जापानी नागरिकलाई तात्तातो नेपाली दालभात तथा नेपाली कफी बाँडेर सहयोगका साथै प्रोत्साहन दिनुभयो । जापानले पनि सन् २०१५ मा नेपालमा महाभूकम्प गएका बेला तत्कालै आकस्मिक उद्धारकर्ता तथा उद्धार सामग्री नेपाल पठाएको थियो ।


यस्तै पुनर्निर्माणको चरणमा विद्यालय तथा आवास भवनको निर्माणका साथै प्राकृतिक प्रकोप प्रतिरोधी बलियो राष्ट्र बनाउने कार्यमा सहयोग गर्दै आइरहेको छ । जापान र नेपालको मैत्री सम्बन्ध विपत्ति परेका बेला आपसको सम्मान तथा सहानुभूतिको भावनाबाट अभिप्रेरित भएको छ । मेरो यस पटकको भ्रमणबाट जापानले क्षेत्रीय स्थायित्व तथा बिकासका लागि नेपालसँग अझ निकट सहकार्य गर्दै जाने विचार छ ।


नेपाल–जापान सम्बन्धको कुन क्षेत्रमा बृहत्तर विकासको सम्भावना देख्नुभएको छ ?

दुई देश बीचको जनस्तरीय भ्रमण तीव्र रूपमा बढिरहेको छ । सन् २०१७ मा नेपाल भ्रमण गरेका जापानीको संख्या २७ हजारभन्दा बढी थियो । जापान भ्रमण गर्ने नेपालीको संख्या ३९ हजार कटिसकेको छ ।


गएको वर्षको जून महिनामा दुई देशबीच भएको नागरिक उड्डयन सम्बन्धी सम्झौताको नवीकरणका कारण आउँदो दिनमा दुई देशबीच सिधा हवाई सम्पर्क पुन: सञ्चालन भएर सक्रिय रूपमा बढिरहेको जनस्तरको सम्बन्धले थप छलाङ मार्नेछ भन्ने लाग्छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको जापान भ्रमणको अवसरमा टोक्योमा भएको नेपाल लगानी सम्मेलनमा अनुमान गरेभन्दा बढी महानुभावको सहभागिता थियो भन्ने सुनेको छु ।


यसले जापानी कम्पनीहरूको नेपालप्रति रुचि र चाहना धेरै रहेछ भनेर बुझ्न सकिन्छ । यस्ता सम्मेलन तथा दुवै देश बीचका आर्थिक गतिविधिबाट भविष्यमा हाम्रो सम्बन्ध अझ मजबुत हुनुका साथै जापानी कम्पनीहरूको नेपाल आगमन तथा लगानीमा पनि वृद्धि हुनेछ भन्ने आशा गर्छु ।


सन् २०२० को टोक्यो ओलम्पिक तथा पाराओलम्पिकप्रति लक्ष्य गर्दै फुकुशिमाको तामुरा, नागानोको कोमागाने तथा ह्योगोको कोबे सहरले ओलम्पिक तथा पाराओलम्पिकमा भाग लिने नेपाली खेलाडीलाई प्रशिक्षण दिने योजना बनाएका छन् । होस्ट टाउनमार्फत जापान र नेपालबीच खेलकुद तथा स्थानीयको अन्तरक्रिया अझ अगाडि बढ्नेमा दृढविश्वास लिएको छु ।


पर्यटन क्षेत्रमा पनि दुई देशबीच सम्बन्ध विस्तारको सम्भावनाप्रति म आशावादी छु । नेपालमा थुप्रै सुन्दर हिमाल तथा ऐतिहासिक धरोहर छन् । सुन्दर हिमालहरूबाट प्रभावित भएर धेरै जापानी पदयात्राका लागि नेपाल आएका छन् । सिधा हवाई उडान सञ्चालनमा आए भविष्यमा अझ धेरै जापानीलाई नेपालमा भित्र्याउन सकिनेमा मलाई विश्वास छ । नेपालको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन सम्बद्ध सम्मेलनजस्ता कार्यक्रमबाट सहयोग गर्ने जापानको चाहना छ । जापान र नेपालले यस्ता विभिन्न क्षेत्रमा सहयोगको सम्बन्ध फराकिलो गर्दै लाने सम्भावना छ । म पनि आफ्नो तर्फबाट यसमा सक्दो प्रयास गर्दै जानेछु ।


नेपालको विकासका निम्ति अहिले जापानी सहयोगको प्राथमिकता के–कस्तो क्षेत्रमा छ ?

जापानले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ । जापानले कृषि, स्वास्थ्य उपचार, शिक्षा, यातायात, जलविद्युत, लोकतन्त्रको सुदृढीकरण तथा शान्ति पुन:स्थापना जस्ता क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । नेपाल सन् २०१५ मा आएको महाभूकम्पको पीडालाई पार गरेर, नयाँ संविधान अन्तर्गत चुनावलाई पनि सफलतापूर्वक सम्पन्न गरी संघीयता स्थापित गर्दै आर्थिक विकासबाट मध्यम आयको देशको खुड्किला चढ्न प्रयासरत छ ।


‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानप्रति नेपालको प्रयासलाई जापानले सराहना गर्दै भूकम्पपछिको पुनर्निर्माण तथा प्राकृतिक प्रकोप विरुद्ध बलियो देश, सामाजिक तथा आर्थिक आधारको व्यवस्था, गरिबी निवारण तथा जीवनस्तर उकास्ने, सुदृढ शासन व्यवस्था तथा लोकतान्त्रिक आधार प्रणाली व्यवस्था निर्माणजस्ता चारवटा महत्त्वपूर्ण क्षेत्रमा सहयोग अगाडि बढाउँदै जाने जापानको योजना छ ।


नेपालमा कुल जनसंख्याको ६० प्रतिशत जनता कृषिमा आश्रित छन् । कृषि नेपालको महत्त्वपूर्ण क्षेत्र हो । हालका जापानी राजदूत मासामिची साइगो कृषि विशेषज्ञ हुनुहुन्छ । राजदूतमार्फत नेपालको उत्पादकत्व बढाउने कार्यदिशातिर सहयोग गर्दै जाने विचार छ । जापानको सहयोगले नेपालको विकास तथा जापान–नेपाल बीचको मैत्री सम्बन्ध अझ प्रगाढ हुनेछ भन्नेमा मेरो दृढविश्वास छ ।


प्रकाशित : पुस २५, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?