आलोचना र आराधना

पृथ्वी जयन्ती
राष्ट्र निर्माण पृथ्वीनारायण एक्लैले गर्ने कुरै होइन । यो जनताले बनाउने र बचाउने कुरा हो । नेतृत्त्वकर्ता र थालनीकर्ता उनी थिए, राजनेता, शासकका रूपमा । 
यादव देवकोटा

काठमाडौँ — नेपाली इतिहासको बहसमा नछुट्ने पात्र, पृथ्वीनारायण शाह । एउटा मानक, आलोचनाको । अर्को विम्ब, आराधनाको । दाहिने–देब्रे, दुबैका केन्द्रविन्दु । एउटा संस्थाजस्तो । समयको पानीढलो जस्तो । झन्डै ३ सय वर्षदेखि लेखन, छलफल, बहस, विवाद, स्तुति सबैको केन्द्र ।

पुस २७ आएपछि हरेक वर्षजस्तो चलिरहन्छ, उही परम्परागत आराधनाको उद्योग । सँगै मच्चिन्छ, उस्तैगरी आलोचनाको कारखाना । उत्पादन भने उही छ, जो वितरण भइआएको छ, पहिले पहिलेदखि । पृथ्वीनारायण महान भन्नेहरूको उही रटान । पृथ्वीनारायण विस्तारवादी भन्नेहरूको उही गोलमाल । नारा लगाए पुग्ने । मन लाग्नेहरूले जिन्दावाद भनिदिए भयो । मन नपर्नेहरूले
मुर्दावाद भने पुग्यो । किन ? कारण नचाहिने । कसरी ? तथ्य नचाहिने ।

नेपाल एकीकरण कि गोर्खाको विस्तार ?
पृथ्वीनारायण राजा भएको राज्य गोर्खा । उनी लडेको पनि गोर्खाकै तर्फबाट, गोर्खाकै भूगोल बढाउन । गोर्खाकै सीमा बढाउन । नेपाल भनेर चिनिन्थ्यो काठमाडौं त्यसबखत । आज नेपाल भनेर चिनिने जुन भूगोल छ, यो सबै उनको पालामा जोडिएको पनि होइन । यसरी सुरुवातमा त्यो गोर्खा राज्यको विस्तार नै थियो ।

तर पृथ्वीनारायणले गोर्खालाई विस्तार गरेर जुन–जुन राज्य मिसाए, विस्तारकै अभियानमा थिए, ती राज्यहरू पनि । हरेक राज्यसँग आफ्नो रक्षा र विस्तार गर्न सेना र हतियार थियो । पृथ्वीनारायण नेतृत्वको गोर्खाली फौजलाई जित्न नसकेर मात्रै गोर्खामा लपेटिएका हुन्, सकेका भए गोर्खालाई आफैंमा लपेट्थे । सुरुमा जुन उद्देश्य या नियतसाथ पृथ्वीनारायणले गोर्खा विस्तार अभियान चलाएका भए पनि मुसलमान र अंग्रेज फौजसँग मकवानपुर र सिन्धुलीको पटाक्षेपपछि त्यो अभियान गोर्खाको विस्तारमा मात्रै सीमित रहेन ।

अंग्रेजहरूले दपेट्दै आइपुगेको भूगोल छेउमा एउटा बलियो राज्य खडा नगरे आफ्नो र आफूले जितेको राज्य जुनसुकै दिन हडपिन सक्छ भन्ने चिन्तालाई पन्छाउन नयाँ मोर्चा उभ्याउने चेतनातिर उनी अग्रसर भएको देखिन्छ । जितेको राज्यका जनतालाई अपनत्व दिने कोसिस देखिन्छ । गोर्खाले आफ्नो मुकाम काठमाडौं सार्नु, यहाँको संस्कृति संरक्षित हुनु, किरातीलाई किपट दिइराख्नु त्यसैको हिस्सा थियो ।

पराजित फौजका कमाण्डरहरूलाई पनि यथोचित रूपमा सेनामा स्थान दिनु, राज्यमा भूमिका दिनु त्यसैको संकेत थियो । जहाँसम्म अरूको राज्य खोसेको कुरा छ, यहाँ किरातहरू पनि या लिच्छविहरू या मल्लहरू पनि अरूकै राज्य खोसेरै शासक हुनआएका हुन् । पाल्पा काठमाडौं हुँदै विजयपुर, चौदण्डी पुगेकै थियो, आफूलाई विस्तार गरेर । कुनै समय सिंजाको खस राज्य काठमाडौं ठोक्न आइपुगेकै थियो । स्वयं काठमाडौं पनि पुगेकै थियो, गण्डकीपारि मल्लपुरीसम्म ।

जयप्रकाश मल्लकै काठमाडौं तामाङहरूको नुवाकोट, रसुवा, दोलखा आफूलाई विस्तार गर्ने अभियानमै पुगेको हो । सक्नेले नसक्ने कसैलाई छाडेको थिएन । नसक्नेहरू खुम्चने र सक्नेहरू फैलने त्यो समयको कर्म थियो । राज्य बन्ने प्रक्रिया नै त्यही थियो । संसारभरको उद्योग त्यही थियो, राज्यलेसकेको जमिन जोड्ने, थप्ने । पृथ्वीनारायणले गोर्खा राज्यको विस्तार गरेर अलिक आकारको एउटा राज्य बनाउने अभियान सुरु नगरेको भए धेरै कुरा हुनसक्थ्यो । तर आजको नेपाल हुँदैनथ्यो । भलै कसैलाई आजको भूगोलका रूपमा नेपाल मन नपरेको नै किन नहोस् ।

खस र बाहुन हुँदैमा त्यसले पृथ्वीनारायणको लालमोहर पाइहाल्थ्यो भन्ने कुरा उनकै भनाइबाट पनि खण्डित हुन्छ– ‘पुरुव–पछिम्का षसबाहुनलाई दरबारमा पैठ् हुनु नदिनु (आचार्य र योगी, दिव्योपदेश) ।’ जहाँसम्म राज्यभित्रकै नागरिकका कुरा छ, देश जोड्न अक्कल दिने बिसे नगर्ची, मणिराम गाइने, बानादार दमाई र तिनका सन्तानले भन्दा चिना–टपरा गर्ने वाणीविलास पाँडे, कुलानन्द जैसी र तिनका सन्तानले गोर्खा दरबारमा भाउ पाएका थिए । तर सेनामा मगर र गुरुङहरूका अलवा दलित पनि थिए । सत्ताको चरम खसकरण भीमसेन थापाले १८६३ को काण्डपछि गरेका थिए । पृथ्वीनारायणको सत्ता तुलनात्मक रूपले अरू राज्यको भन्दा समावेशी देखिन्छ ।

देवत्वकरण र राक्षसीकरण
गोरखनाथले छादेको दही खुट्टामा परेकाले पृथ्वीनारायणले जहाँ टेक्यो, त्यो उनको हुने आशिर्वाद पाएको उल्लेख गरेर उनको देवत्वकरण प्रयास पनि गरेको पाइन्छ । गोरखनाथ पृथ्वीनारायणभन्दा कम्तीमा ५ सय वर्ष अघिका थिए । पृथ्वीनारायणले टेकेको जति जमिन उनको हुँदै भएन ।

उनी काशी गएका थिए । त्यताबाट फर्कंदा गोरखपुर, बुटवल, पाल्पा हुँदै गोरखा फर्किएका थिए । पृथ्वीनारायणले काशी त परै जाओस्, पश्चिममा तनहुँ कटाएरसमेत गोर्खाको भूगोल बढाउन सकेनन्, पाल्पा, बुटवलसम्म पुग्ने त बेग्लै कुरा । सानो गोर्खा
राज्य निकै फराकिएकाले उनले जहाँ टेक्यो, उनको भएको र त्यस्तो आशीर्वाद देवत्व अंश प्रचारित गोरखनाथबाट पाएको प्रचार पृथ्वीनारायणको आराधनाकै हिस्सा थियो ।

बूढा महाराज भनिएका पृथ्वीनारायण समयक्रममा बडामहाराजाधिराज हुन पुग्छन् । विसं १८३१ देखि १८३४ को छोटो अवधिभित्र पृथ्वीनारायण र प्रतापसिंह शाहपछि रणबहादुर शाह राजा हुँदा कसलाई के सम्बोधन गर्ने भनी उठेको दुविधाले सजिलो बाटो समात्छ– बहालवाला राजा रणबहादुरलाई ‘महाराजाधिराज’, भर्खरै देहान्त भएका प्रतापसिंहलाई ‘स्वर्गवासी महाराजा (धिराज)’ र पृथ्वीनारायणलाई ‘बूढा महाराजा (धिराज)’ सम्बोधन गर्ने । त्यही बूढा महाराजाधिराज या बूढा महाराजलाई पछि–पछि श्रद्धापूर्वक बडामहाराजाधिराज या बडामहाराज भन्न थालिएको पाइएको छ (आचार्य र योगी– दिव्य उपदेश, पृ ६२) ।

पृथ्वीनारायणले युद्धका क्रममा अमानवीयता देखाएको प्रकरण पनि देखिन्छन् । नरभूपाललाई महेश्वर पन्थले चुक्ली लगाएपछि काजीबाट खोसुवामा परेका जयन्त (ग्यामी) राना काठमाडौंका राजा जयप्रकाश मल्लको नुवाकोटे कमान्डर भएर बसेका थिए । गोर्खालीहरूले गरेको नुवाकोट आक्रमणमा परेर काटिएका थिए, उनका छोरा शंखमणि राना । बेलकोटमा रहेका जयन्त समातिएपछि पृथ्वीनारायणकै आदेशमा छाला काढेर मारिए ।

दहचोकमा बसेको गोर्खाली भारदारहरूको कचहरीमा गोर्खाली सेनानायक काजी कालु (वंशीधर) पाँडे, ज्योतिष कुलानन्द ढकाल, दहचोक किल्लामा गोर्खाली फौज हाँकेर काठमाडौं उपत्यकाको चालमारी बसेका हरिवंश उपाध्यायहरूले गोर्खाली सामरिक शक्ति कीर्तिपुर हमलाका लागि अपूर्ण रहेको सल्लाह दिँंदा पृथ्वीनारायणबाट कालु पाँडेले मर्न डराएको अरोप खेप्नुपरेको थियो । ढकाल गोर्खा नै त्यागेर हिँड्न विवश भएका थिए ।

नभन्दै पाँडे मारिए कीर्तिपुरको पहिलो युद्धमा (१८१४, जेठ) । गोर्खाली फौजको तागत नपुगेकाले लडाइँमा मारिएपछि एक्लै जस्तो फर्किनुपरेका पृथ्वीनारायण झन्डै काटिएका थिए, कीर्तिपुरे सिपाहीबाट । धन्न अर्को सिपाहीले हात समातिदिएछ । ‘राजालाई राजाले नै मार्नुपर्छ, हामीले राजालाई मार्नु हुन्न, युद्धको धर्म विपरीत हुन्छ’ भनेकाले ज्यान जोगिएछ । (वासुपासा, कीर्तिपुर, पृ४२) । कीर्तिपुरको तेस्रो लडाइँपछि केही रैथानेको नाक काटिएकै थियो (ललितावल्लभ, पृथ्वीन्द्रवर्णोदय, छ्यालिसौं श्लोक) भनेर पृथ्वीनारायणकै समकालीन दरबारिया कविले नै लेखेपछि आज अरूले रफ्फु भर्दैमा उध्रिएको युद्ध धर्म टालिने कुरै छैन ।

पहिलो लडाइँमा बाबु गुमाएका काजी वंशराज पाँडे र दोस्रो लडाइँमा आफ्नै आँखा गुमाएका पृथ्वीनारायणकै भाइ शूरप्रताप शाहले हाँकिरहेको फौजले कीर्तिपुर जितेपछि टाउको गिँडिएपछि पनि ५० गज हिँडेका पिता र आँखा गुमेको आक्रोश थामेर नुवाकोटमा रहेको पृथ्वीनारायणसँग तिनले नाक–कान काट्ने अनुमति मागेर, जोखाना हेरेर बसे होलान् कि बदला लिन भेटेका केही मानिसलाई बुच्याइदिए होलान्, आक्रोशको घोडा चढेर ? त्यसमा पृथ्वीनारायणले विमति जनाएको पाइन्न । अन्यथा साहसपूर्वक ८ वर्षसम्म गोर्खाली फौजको प्रतिरोध गर्ने बहादुर कीर्तिपुरेलाई बुच्याउनेहरू कारबाहीमा परेको पढ्न पाइएको छैन ।

पृथ्वीनारायण मात्रै क्रूर थिए, अरू त ‘धर्मात्मा’ भन्ने खालका चर्चा खारेजयोग्य छन् । गोर्खालीले सर गरेको नुवाकोट पुन: दख्खल गर्न भनेर पठाइएका दोलखाली काशीराम थापा लडाइँमा हारेपछि जयप्रकाश मल्लकामा नगई घरतिर लागेका थिए । पछि बारम्बार जयप्रकाशको बोलाहट भएपछि भेट गर्न भनी देउपाटनको कुटुवहीमा बसेका थापा र उनका ७ जना सहयोगीलाई आफैं नगरकोटी फौज लिएर गई हत्या गरिदिए, मल्लले ।

काशीरामलाई मारेर कान्तिपुर दरबारमा फर्किएर सिंख्वाल प्रमानलाई कटाइदिए । तौढिक प्रमान भागेर ललितपुरका राज्यप्रकाश मल्लको शरणमा पुगे । तौढिकले ललितपुर र कान्तिपुरका नागरिकलाई गोर्खालीको डर देखाएर दुवै सहरका नवयुवकलाई हातमा लिई रातको समयमा कान्तिपुर दरबारमा आक्रमण गरी जयप्रकाशलाई पक्राउ गरी उनका ८ वर्षका छोरा ज्योतिप्र्रकाश (ज्योतिप्रकाश मल्ल) लाई राजगद्दीमा राखिएको थियो (आचार्य, बाबुराम–श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जीवनी, पृ १७४, १७५) ।

यी सबै परिघटना सत्ता बढाउने या जोगाउने खेलकै हिस्सा थिए । उस्तै गलत काम गर्ने एउटा ठिक र अर्को बेठिक आग्रहले मात्रै बताउन सक्ला । मध्य एक्काइसौं शताब्दीमा आफ्ना लागि सत्ता, शक्ति, सम्पत्ति र छोरी–बुहारीलाई मेयर र मन्त्रीका लागि हजारौं मानिसलाई मृत्यु खेलोमा होम्न सक्नेलाई क्रान्तिका नायक करार गर्न सबैभन्दा बढी हतार गर्ने हामीलाई उन्नाइसौं शताब्दीको सुरुका तुलनात्मक तवरले कम आततायी घटनाले छाती पोल्नु उदेकै लाग्ने प्रसंग हो ।
बिसौनी
इतिहासका हरेक पात्र, हामी आफैं पनि ठिक र बेठिक, असल र खराब नियति र गुणसहित उभिएका हुन्छौं भन्ने नै नमान्ने । कि दुर्गुण मात्रै कि गुण मात्रै । कि देवता कि राक्षस । मानिसलाई मानिस मात्र हुनै नदिने । त्यही नियतिबाट प्रताडित पृथ्वीनारायण शाह । तर ‘नेपाली’ परिचय दिने ‘नेपाल’ जो बन्यो, त्यसका भाष्यकार । सुरुवातकर्ता । परिणामको अभियानकर्ता । जसले कमजोरी पनि उत्पादन गर्‍यो र योग्यताले कमजोरीलाई छोपिदियो ।

अनि ? हामी नेपाली त्यसैकारण हुनपाएका छौं । तर त्यो एक्ला पृथ्वीनारायणको बलमा बनेको होइन । यसका लगि अनगिन्ती गोर्खाली, नेपालीले जीवनाहुति दिएका छन् । राष्ट्र निर्माण पृथ्वीनारायण एक्लैले गर्ने कुरै होइन । यो जनताले बनाउने र बचाउने कुरा हो । नि:सन्देह त्यसको नेतृत्वकर्ता र थालनीकर्ता उनी थिए, एकजना राजनेता, शासकका रूपमा ।

प्रकाशित : पुस २७, २०७५ ०८:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

स्कुल बाहिर छोरी

बालिका स्कुल बाहिर नरहने स्थिति बनाउन बिमा कार्यक्रम लागू गर्न आवश्यक छ । 
शान्ता मरासिनी

काठमाडौँ — तराई मधेसका जिल्लामा छोरीहरूको सशक्तीकरणका सूचकहरू कमजोर छन् । पारिवारमा छोराछोरीबीच विभेद, सामाजिक मान्यता, विवाह, आत्मनिर्णयको अधिकार, आर्थिक सक्षमता, राजनीतिक सहभागिता, शैक्षिक अवस्था, स्वास्थ्य एवं आय स्थिति नाजुक छ ।

प्रदेश नं. २ को मानव विकास सूचकांक औसत ०.४२२ छ । विद्यालय संख्या अन्य प्रदेशमा भन्दा न्यून (३,५८६) छन्, धार्मिक विद्यालय २७८ वटा छन् । बालिकाको स्कुल निरन्तरता छैन । माध्यमिक तहपछिको उच्चशिक्षामा निरन्तरता अत्यन्तै कमजोर छ ।
तराई–मधेसमा मुस्लिम, अल्पसंख्यक, सिमान्तकृत तथा दलित समुदायका बालबालिकाको स्थिति अत्यन्त कमजोर रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

दाइजो नपाएको निहुँमा हत्या गर्ने, पैसाका लागि अपहरण गर्ने, बलात्कार गरी हत्या गर्ने, छोरीको भ्रूणहत्या गर्ने, बालविवाह जस्ता बालिका सशक्तीकरण र विकास विरुद्धका कुप्रथा, सामाजिक अपराध, विकृति र गलत परम्परा सुषुप्त रूपमा रहेकै छन् ।

छोरीहरूको समस्या सम्बोधन गर्न र छोरीहरूको संविधान प्रदत्त मौलिक अधिकार प्रत्याभूति गर्दै सेवासुविधा र अवसरमा न्यायपूर्ण पहुँच र प्रतिनिधित्व स्थापित गराउन प्रदेश सरकारले प्रदेश नं. २ मा ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान घोषणा गरेको छ । यो अभियान कागजी स्याउ बन्नु हँुदैन भन्ने आवाज चौतर्फी उठिरहेको छ । विगतमा सामाजिक रूपान्तरणका अनेक कार्यक्रम भए पनि विशेष क्षेत्र र वर्ग केन्द्रित हुन नसक्दा बालिकाको स्थितिमा अपेक्षित सुधार हुन सकेन ।

अभियानले बालिकाको अध्ययन निरन्तरता, बालिका स्कुल भर्ना गर्न उत्प्रेरणा जगाउने, अभिभावकलाई सचेत पार्ने, दाइजो प्रथा निरुत्साहित गर्ने उद्देश्य राखेको छ । मानव विकास सूचकांकमा पछि परेका परिवारका बालिकाका लागि शिक्षा बिमा कार्यक्रम सुरुवात गर्ने पनि उद्देश्य छ । प्राविधिक शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्ने, स्कुल निरन्तरता र सुरक्षाका लागि साइकल सहयोग गर्ने, विद्यालयमा छात्रा शौचालय निर्माण गर्ने, अभिभावक सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, अभिभावकत्व ग्रहण गर्न आह्वान गर्ने जस्ता कार्यक्रम पनि हुनेछन् ।

‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान कार्यान्वयनमा अभिभावकले छोरी नपढाउनुको कारण पत्ता लगाउनु र त्यसलाई सम्बोधन गर्नु मुख्य चुनौती छ । कार्यक्रमका लक्षित वर्ग, क्षेत्र पहिचान गर्नु, कार्यक्रमलाई दिगो बनाउने, परिवर्तनका सूचकहरूको विकास र मूल्याङ्कन परिपाटी, विद्यालय निरन्तरताको निरन्तर अनुगमन कार्य पनि चुनौतीपूर्ण छ ।

दीर्घकालसम्म प्रभावकारी हुने भने छोरी शिक्षा बिमा कार्यक्रम हो । प्रदेश सरकारले तोकिएको (शिक्षा, आय, स्वास्थ्य, रोजगारी) सूचकलाई आधार मानी अब जन्मिने छोरीहरूका लागि आगामी माघ १ गतेदेखि छोरी शिक्षा बिमा कार्यक्रम लागु गर्दैछ । यो कमजोर आर्थिक अवस्थाका भएकाका लागि हो । यसले छोरीहरूलाई भविष्यमा आत्मनिर्भर बन्न सहयोग गर्नेछ । यस्तो बिमा कार्यक्रममा अन्य सुविधा पनि समेटिन सक्छन् ।

सुरुका केही वर्ष सरकारले बिमा रकम तिरिदिने र केही वर्षपछि अभिभावकलाई योगदान गर्न लगाए यो कार्यक्रम दिगो बनाउन सकिन्छ । बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने फेसन चलेको छ । अभिभावकत्व ग्रहण गर्न चाहनेहरूले सरकारी स्कुलको शुल्क, पोसाक या एउटा साइकल दिई फोटो खिचेर मात्र हुँदैन, अब अभिभावकत्व ग्रहण गर्न चाहनेहरूले छोरी बिमा कार्यक्रम अन्तर्गत केही संख्याका छोरीहरूको निश्चित अवधि बिमा रकम तिरिदिनुपर्छ ।

अन्य प्रदेशमा पनि विभिन्न बहानामा छोरीहरू शिक्षाबाट वञ्चित हुनुपरेको छ । हिंसाको सिकारसमेत हुनुपरेकाले उनीहरू वैयक्तिक विकासबाट वञ्चित भइरहेका छन् । संघीय सरकारले पनि राष्ट्रव्यापी रूपमा छोरी शिक्षा बिमा कार्यक्रम लागु गर्न जरुरी छ । हाम्रा प्रधानमन्त्रीसमेत सम्मिलित संयुक्त राष्ट्र संघको हालै सम्पन्न ७३ औं महासभामा विश्वका राष्ट्रप्रमुखहरूले कुनै पनि बालिका स्कुल बाहिर नरहने प्रतिबद्धता जनाएका छन् । उक्त प्रतिबद्धता समेतलाई कार्यान्वयन गर्न छोरी शिक्षा बिमा कार्यक्रम लागु गर्न आवश्यक छ ।

प्रकाशित : पुस २७, २०७५ ०७:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्