१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘मैदानमा लडाइँ नगर्नू’

पृथ्वी जयन्ती
पृथ्वीनारायण भन्थे, ‘दक्षिणी सेना उत्तर आयो भने पहाडमा ल्याएर मात्र लडाइँ गर्नुपर्छ । चुरे पहाडको घाँटीमा सखाप पार्न सजिलो हुन्छ ।’

काठमाडौँ — नेपालको दक्षिणतर्फ भारतीय उपमहाद्वीपमा रहेका ५ सय ६५ भन्दा बढी राज्य–रजौटाको भूमिमा सत्रौं शताब्दीदेखि आधिपत्य जमाएर बेलायती इष्ट इन्डिया कम्पनी सरकारले शासन गरिरहेको थियो । कम्पनी सरकारको आँखा उत्तरतर्फको बाइसे, चौबिसे तथा सेन राज्यजस्ता सानातिना भुरेटाकुरे हिमाली राज्यप्रति पर्‍यो ।

‘मैदानमा लडाइँ नगर्नू’

अंग्रेजको यस्तो कुदृष्टिप्रति सजग भई पृथ्वीनारायण शाहले हिमाली राज्यको सीमा एकीकरण गर्दै सशक्त राज्यको सुदृढ सीमा तयार पार्ने अभियान सुरु गरे ।


हिमवत खण्डमा रहेका राज्यको सीमा सृदृढ र निश्चित नभए अंग्रेजले एक–दुई राज्य गर्दै अङ्ग्रेजी शासनभित्र विलय गराउँछ भन्ने पृथ्वीनारायणले बुझेका थिए । यी हिमाली राज्य हँुदै अंग्रेजलाई तिब्बतसम्म व्यापार गर्न पुग्नु थियो भन्ने पनि उनमा ज्ञान थियो । पृथ्वीनारायणले गोरखा राज्यको सीमामा अर्को राज्य जोड्दै भक्तपुरको सीमा एकीकरण गरेपछि १८२६ मंसिर १ गते नेपाल राज्यको जन्म गराए ।


यो सीमालाई उनले काठमाडौं खाल्डो पूर्वतर्फ किरात प्रदेश, लिम्बुवान क्षेत्र भई भुटानको छेउछाउसम्म तन्काए । उनको देहान्त भएपछि उनका सन्ततिले नेपाल खाल्डो पश्चिमतर्फ एकीकरण गरेपछि अन्तत: विशाल नेपालको सिमाना कायम भयो । अंग्रेजलाई सुदृढ तथा एकीकृत हिमाली राज्यको सिमाना कायम भएको पचेन । परिणामत: सन् १८१४–१८१६ सम्म अंग्रेज–नेपाल सीमा युद्ध भयो । अंग्रेजी शासनको छलछामका कारण सुगौली सन्धिद्वारा सीमारेखामा कुठाराघात गरेर वर्तमान नेपालको सीमा कायम हुनपुग्यो ।


नाकामा निगरानी

सीमा एकीकरण अभियान सञ्चालन गर्ने क्रममा पृथ्वीनारायणले विभिन्न रणनीति अख्तियार गरेका थिए । आफ्नो सीमा जोगाइराख्न सुरक्षित किल्ला खोजी गरी सन्धिसर्पन हेरेर गढी तथा गौंडालाई तमतयार तुल्याइराख्नुपर्छ भन्ने उनको कथन थियो । उनी भन्ने गर्थे, ‘दक्षिणतर्फको समुद्रका वादशाहसित घाहा (मित्रता) राख्नु, तर त्यो अत्यन्त चतुरो छ ।’


यसै कारण मकवानपुर गढी, सिन्धुली गढी, चिसापानी गढी, जितपुर गढी, सिम्रौनगढ जस्ता प्रवेश गर्ने मुख्य–मुख्य नाकामा किल्ला बनाई निगरानी राख्नुपर्छ भन्ने उनको दिव्यविचार थियो । उनी भन्थे, ‘कथंकदाचित दक्षिणी वादशाहको सेना उत्तर बढ्दै आयो भने समथर मैदानी भागमा होइन, पहाडी प्रदेशमा ल्याएर मात्र लडाइँ गर्नुपर्छ । चुरे पहाडको घाँटीमा वैरीहरू आइपुगेपछि उनीहरूलाई सखाप पार्नेगरी काटिदिन सजिलो हुन्छ । यस्तो गर्नसके हामीलाई पाँच–सात पुस्तासम्मलाई पुग्ने खर–खजाना पनि मिल्नेछ र गङ्गा नदीसम्म हाम्रो देश (नेपाल) को साँध–सिमाना लाग्नेछ ।’


पृथ्वीनारायणको सन्देश थियो, ‘चतुरो वैरी लडाइँमा लड्न सकेन भने लोलोपोतो तथा अनेक छलकपट गरेर भए पनि हाम्रो देश नेपालको सिमानाभित्र आउने प्रयास गर्नेछ । यो नेपालको तखत भनेको एउटा प्राकृतिक किल्ला हो । यस किल्लालाई दक्षिणी वादशाहले पायो भने संसारका चारैवटा वादशाहलाई ओरालो लगाइदिनेछ । यथार्थमा यो राज्य ईश्वर (प्रकृति) आफैले रचना गरेको किल्ला हो । आफ्नो किल्लालाई मजबुत राख्न विदेशका महाजनहरूलाई पर्सा–गढीबाट उत्तरतर्फ आउन बन्देज गर्नुपर्छ ।’ यसबाट उनलाई नेपालको भूगोल तथा धरातलबारे राम्रो ज्ञान भएको बुझिन्छ ।


नेपालको सिमाना सुरक्षा गर्न र खासगरी राजधानी काठमाडौं खाल्डोलाई सुरक्षित राख्न चारैतिर दुर्ग बनाउने र यसभित्र कुनै फिरंगीलाई पस्न नदिने पृथ्वीनारायण शाहको अवधारणा थियो । यसै सिलसिलामा उनले भनेका थिए, ‘शिवपुरी, फूलचोकी, चन्द्रागिरी, महादेवपोखरी, दाप्चा, पालुङ र काहुलेमा पक्की किल्ला बनाउनुपर्छ ।


किल्लैपिच्छे लमछट गरी (लमतन्न पारी) तोपहरू राख्नुपर्छ । प्रत्येक किल्लाको ढोकामा पाँच–पाँचजना सिपाही पनि तैनाथ गर्नुपर्छ । यसो गरे चेवा–चर्चा गर्ने, भाग्ने, हराउने, ढुकुवा बस्ने, दङ्गा–फसादी गर्ने तथा खुन गर्नेहरूको पनि केही चल्ने छैन । संसारका चारै वादशाहले नेपालको सिमानामा एकैपटक चढाइँ गर्दै आए भने पनि उनीहरूको केही लाग्ने छैन ।

कूटनीति

देशको माटो जोगाउन पृथ्वीनारायण शाहको दृढ रणनीति रहेको पाइन्छ । छिमेकी देशहरूलाई समदूरीमा राख्न सक्नुपर्छ, एउटा देशलाई नेपालको सीमातर्फ लहसिन दिनु हुँदैन, दक्षिणी बढे भने हाम्रो देशको हित हुँदैन, उनीहरूलाई उत्तरतर्फ बढ्न नदिन ठाउँ–ठाउँमा भाँजो तगारो हाल्नुपर्छ भन्ने उनको दिव्य उपदेश रहेको थियो । शत्रुमाथि जाइ नलाग्नु, तर जाइलागे शत्रुलाई हान्न नचुक्नु भन्ने रणनीति अख्तियार गरेको बुझिन्छ ।


कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्ललाई सहयोग गर्न कप्तान किनलकको नेतृत्वमा आएको भारतको अंग्रेजी फौज सिन्धुलीगढी उक्लँदा–नउक्लँदै १८२४ असोज १५ मा गोर्खाली फौजले अकस्मात आक्रमण गरी लघारेका थिए । सिन्धुलीमा फिरंगी आइलाग्दा पृथ्वीनारायणले मकवानपुर एकीकरण गरेर गोर्खा राज्यको सिमाना दक्षिणमा जनकपुरसम्म पुर्‍याएका थिए ।


नेपाल राष्ट्र, नेपालको राष्ट्रियता बचाउन, राष्ट्रिय सीमा संरक्षण गर्न र नेपालीलाई नेपाली भएर बाँच्न पृथ्वीनारायणको दिव्य विचारले योगदान गरेको छ । उनको समयकालदेखि हालसम्म धेरै उथल–पुथल भए । जस्तो– ऐतिहासिक कालखण्डमा थापा तथा पाँडेकाल थियो भने १ सय ४ वर्ष राणा शासनकाल चलेको थियो । समयचक्रमा २००७ देखि २०१७ सालसम्म प्रजातान्त्रिक अवधि र त्यसपछि ३० वर्षे पञ्चायतीकाल गुज्रियो ।


पुन: प्रजातन्त्र प्राप्ति हुनुका साथै लोकतन्त्रको प्रादुर्भाव भयो । शाहवंश अन्त्य भएर गणतन्त्रात्मक व्यवस्था आयो । यत्तिका कालखण्ड व्यतित भइसक्दा पनि पृथ्वीनारायणको उक्ति उपदेश त्यत्तिकै सान्दर्भिक छन् ।


दक्षिणी मुख्य–मुख्य नाकामा किल्ला बनाई निगरानी राख्नुपर्छ भन्ने उनको उक्ति रणनीतिका रूपमा अवलम्बन गर्दै नेपाल–भारत सीमा नियमन गरिएको भए आज अपराधी, आतंककारीले एकातर्फ अपराध गरेर लुसुक्क अर्को देश पस्न सक्ने थिएनन् । लागुपदार्थ तथा भारतीय नक्कली नोट सीमापार गर्न गराउन सक्ने थिएनन् । मालसामान तस्करी हुन बन्द हुने थियो ।


चेलीबेटी बेचबिखन रोकिने थियो । दक्षिणको सेना उत्तर बढ्दै आउँदा रोक्नसकेको भए कालापानी, सुुस्ताजस्ता नेपालको सीमान्त भूमि अतिक्रमण हुने थिएन ।


‘दक्षिणतर्फको मित्र चतुर छ, उत्तरको मित्र पनि कम छैन । यो राजे दुई ढुंगाको तरुलजस्तो रहेछ, त्यसैले दुवैसँग घाहा (मित्रता) राख्नु’ भन्ने पृथ्वीनारायणको भनाइ बिर्संदा नेपालको सार्वभौमिकता रहेको लिपुलेकबाट व्यापार वाणिज्य अभिवृद्धि गर्ने सम्झौता भारत र चीनले नेपाललाई थाहै नदिई २०१५ मे १५ मा गरे । पृथ्वीनारायणको विचार अवलम्बन नगरी भारत र चीनलाई नेपालले समसामिप्यमा राख्न नसकेका कारण भौगोलिक अखण्डतामा आँच आएको मान्न सकिन्छ ।


अन्त्यमा,

हाम्रा गणतान्त्रिक राजनीतिक नेताहरू पृथ्वीनारायण शाहको विचार उल्लेख गर्न विस्तारै हिचकिचाउन छाडेका छन् । पुष्पकमल दाहालले प्रधानमन्त्रीका हैसियतमा २०७३ पुस २६ गते भरतपुर नगरपालिकाको तेस्रो परिषद् उद्घाटन क्रममा भनेका थिए, ‘छिमेकी भारतमा अंग्रेजले साना–साना भुरेटाकुरे राज्यलाई निल्दै विशाल साम्राज्य खडा गरेको स्थितिमा पृथ्वीनारायण शाहले एकीकरण गरी बलियो र शक्तिशाली नबनाएको भए नेपालको अस्तित्व नरहने खतरा थियो ।


उनको भूमिकालाई नकार्ने भन्ने प्रश्नै छैन । साना भुरेटाकुरे राज्यका कारण सिङ्गै देश र जनता आपत्मा परेका बेला पृथ्वीनारायणले एकीकरणको कदम चालेका थिए ।’ बाबुराम भट्टराईले देशले ‘नयाँ नेता’ खोजिरहेको उल्लेख गर्दै गौतम बुद्ध, पृथ्वीनारायण शाह र केही हदसम्म बीपी कोइरालामा नेतृत्व क्षमता देखिएको २०६९ माघ २४ मा व्यक्त गरेका थिए ।


सीमा एकीकरणवादी पृथ्वीनारायण शाहको विचार, उक्ति, उपदेश, धारणा, भनाइ र दिव्यदृष्टि नेपाली राष्ट्रवादको जग हो । नेपाल राष्ट्रको आत्मा हो । अहिले पनि उनको वैचारिक दृष्टिकोण अवलम्बन गर्‍यौं भने राष्ट्रियता अक्षुण्ण राख्न सक्छौं । नेपाललाई कसरी अखण्ड राख्नुपर्छ र हाम्रो स्वाधीनता एवं स्वतन्त्रतालाई कसरी बचाइराख्नुपर्छ भन्ने विषयमा नीति निर्माताले पृथ्वीनारायणको दिव्य विचारलाई ख्याल गनुपर्छ ।

प्रकाशित : पुस २७, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?