कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भूकम्पबाट कसरी जोगाउने स्कुल ?

नारायण मरासनी

काठमाडौँ — विगतमा गएका भूकम्पले विद्यालयमा पारेको असर र क्षतिले अन्तरनिहित जोखिमको डरलाग्दो स्थिति देखाउँछ । २०४५ भदौ ५ गते उदयपुर केन्द्रविन्दु पारेर गएको भूकम्प होस् वा २०७२ वैशाख १२ को विनाशकारी भूकम्प दुवैले विद्यालयमा भौतिक क्षति पुर्‍यायो ।

भूकम्पबाट कसरी जोगाउने स्कुल ?

दुवै भूकम्प विद्यालय सञ्चालनको समयभन्दा फरक समयमा गएकोले मात्र मानवीय क्षतिबाट जोगिएको थियो । ८ हजारभन्दा बढी विद्यालयका २५ हजारभन्दा बढी कक्षाकोठा पूर्णरूपमा क्षति र २२ हजारभन्दा बढी कक्षाकोठा आंशिक क्षति पुगेको थियो । २०७२ सालको भूकम्प शनिबार नभएर कक्षा सञ्चालनको समयमा गएको भए मानवीय क्षति कति बढी हँुदो हो, कल्पनामात्र गर्दा पनि डरलाग्दो परिदृश्य..आँखा.अगाडि.आउँछ..।


विद्यालय निर्माण तथा स्थापना योजनाविना नै अनौपचारिक रूपमा गर्ने परम्पराले विपत्का बेला जोखिमपूर्ण भएको हो । सरकारले विद्यालय स्थापना र निर्माणमा नेतृत्व लिने परिपाटी नभएकोले जोखिमको भयावह स्थिति भएको हो । विद्यालय स्थापना हँुदा न त्यहाँ सम्भावित प्रकोपको ख्याल गरिन्छ, न सुरक्षित निर्माण पद्धतिको । जमिन दान दिनेले पनि पाखो, भीर, घोल वा उब्जनी गर्न गाह्रो जमिन नै दिने हो । यसले गर्दा विद्यालय क्षेत्रमा सम्भावित भूकम्पमा धेरै क्षति हुने अवस्था देखिन्छ । जब २०४५ भदौ ५ गते उदयपुर केन्द्रविन्दु भएर गएको भूकम्पले विद्यालयको भौतिक संरचनामा क्षति गर्‍यो, तबमात्र राज्यले विद्यालयको भौतिक संरचना निर्माणमा लगानी गर्न सुरु गर्‍यो ।


फेरि पनि भवन संहिता नहुँदा २०६० सालसम्म जति पनि विद्यालय निर्माण भए, ती सबै भूकम्पीय जोखिममा रहेको अनुमान गर्न सकिन्छ । २०६० पछि भवन संहिता अनुसार डिजाइन भई निर्माण भएका भवनमा पनि गुणस्तर र भूकम्प प्रतिरोधी निर्माणको ज्ञान र सीपको कमीले भूकम्प प्रतिरोधी हुँदाहुँदै पनि निर्माणमा हुने कमजोरीले पूर्ण सुरक्षित छन् भन्ने स्थिति छैन । २०७४ सालको शिक्षा विभागको तथ्याङ्क अनुसार ३४,२९२ विद्यालयमध्ये २८,११४ सामुदायिक विद्यालयमा पढ्ने करिब ५९ लाख विद्यार्थी त्यसैगरी ५,३९६ संस्थागत विद्यालयमा पढ्ने १३ लाख विद्यार्थी र ७८२ धार्मिक विद्यालयमा पढ्ने ८९,१९६ विद्यार्थी एवं शिक्षक/शिक्षिकासहित विद्यालय परिवार भूकम्पको जोखिममा देखिन्छन् ।


शिक्षा क्षेत्रमा सुधार प्रयास भइरहेका छन् । परिणाम देखिन थालेको छ । शिक्षा विभागको तथ्याङ्क अनुसार २०७४ सालको शैक्षिक सत्रमा विद्यालय जाने उमेरका बालबालिकामध्ये करिब ९५ प्रतिशत विद्यालय भर्ना भए । अहिले प्राथमिक र माध्यमिक तहको भर्नादरमा राज्य लैङ्गिक समानता कायम राख्न सफल भएको छ । विद्यालय भर्ना हुने बालक र बालिकाको संख्या बराबर छ ।


आधारभूत कक्षा (१–८) पास गर्ने बालबालिकको संख्या करिब ६८.४ प्रतिशत देखिन्छ । यी तथ्याङ्कले अल्पविकसित एवं पुरुषप्रधान समाज रहेको देशमा प्रजातन्त्रपश्चात शिक्षा क्षेत्रमा भएको गुणात्मक सुधारलाई पुष्टि गर्छ । तर गुणस्तरीय शिक्षा अथवा जीवन उपयोगी शिक्षा प्रदान गर्न भने धेरै गर्न बाँकी छ । प्रकोपको धेरै सम्भावना भएकोले विद्यालयलाई सुरक्षित अध्ययन स्थलको रूपमा विकसित गर्नु अपरिहार्य हुन्छ । हरेक अभिभावकले आफ्ना बालबालिका घरमा भन्दा विद्यालयमा सुरक्षित छन् भन्ने महसुस हुनेगरी बृहत विद्यालय सुरक्षा ढाँचाले परिकल्पना गरेका सबै कार्यक्रम कार्यान्वयन गर्नु वाञ्छनीय छ ।


भवन संहिता मानक अनुसार निर्माण गरिएका विद्यालयहरूमा विपत्पश्चात समाजको जीवनलाई पुरानै अवस्थामा चाँडो फर्काउन सकिन्छ भन्ने विश्वव्यापी मान्यता छ र हाम्रो भवन संहिताले पनि यही मान्यतालाई आत्मसाथ गरेको छ । भूकम्पीय सुरक्षाको कुरा गर्दा मुख्यतया तीन रणनीति अपनाई जोखिम न्युनीकरण गर्न सकिन्छ । (१) थप जोखिम नबढाउने अर्थात नयाँ विद्यालय संरचना बनाउँदा भवन संहिताको पालना गरी डिजाइन र निर्माण गर्ने ।


(२) भइरहेको जोखिम घटाउने अर्थात विद्यालयको जोखिम लेखाजोखा गरी सम्भावित भूकम्पलाई थेग्न सक्नेगरी प्रबलीकरण वा पुनर्निर्माण गर्ने । (३) सम्भावित भूकम्पको दौरान कसरी सुरक्षित रहन सकिन्छ भनी सुरक्षित व्यवहारको ज्ञान, सीप सिकी तयारी अवस्थामा रहने । यी तीनै रणनीतिलाई मध्यनजर गर्दै २०५५ सालतिरबाट विद्यालयलाई भूकम्पीय जोखिमबाट मुक्त गर्ने अभियानको सुरुवात भएको पाइन्छ ।


भूकम्प प्रविधि राष्ट्रिय सामाज– नेपालले सरकारका विभिन्न निकायसँग समन्वय गरी विद्यालय सुरक्षा कार्यक्रमको सुरुवात गर्दै आएको छ । २०५५–५६ सालतिर भक्तपुरको भुवनेश्वरी प्राथमिक विद्यालयबाट सुरु भएको कमजोर भवन प्रबलीकरण गर्ने कार्यक्रम अहिले सरकारको राष्ट्रिय कार्यक्रममा समाहित

भएको छ ।


२०७२ सालको भूकम्पपश्चात गरिएको सर्वेक्षणबाट विद्यालय सुरक्षा कार्यक्रम अन्तर्गत प्रबलीकरण गरिएका विद्यालय भवनहरू पूर्णरूपमा सुरक्षित रहेको पाइयो । सर्वेक्षण गरिएका करिब १६० विद्यालय भवनमा नजिकका समुदाय भूकम्पपश्चात महिनौंसम्म सुरक्षित महसुस गरी आश्रय लिइएको पाइयो ।

यस्तो परिदृश्य देख्दा डिजाइन सकेर कार्यान्वयनको अवस्थामा रहेका पद्मोदय हाई स्कुल, दरबार हाई स्कुलजस्ता ऐतिहासिक विद्यालय भवनहरू प्रबलीकरण गर्न पाएको भए जोगिने रहेछन् भन्ने प्रस्ट हुन्छ । २०७२ सालको भूकम्पअघि थुप्रै विद्यालयमा विद्यालय विपत् पूर्वतयारीका कार्यक्रम लागु गरिएको थियो । यसरी पूर्वतयारी कार्यक्रम लागु गरिएका विद्यालय वरिपरिका बस्तीमा मानवीय क्षति अन्य उस्तै बस्तीमा भन्दा कम भएको सर्वेक्षणले देखाएको छ । विद्यालय सुरक्षाका लागि गर्नुपर्ने पर्याप्त कार्य बाँकी छन् ।

१. विद्यालय भवनको संरचनात्मक लेखाजोखा गरी विपत् जोखिम पहिचान गर्ने ।

२. विद्यालय स्थापना स्थानीय सरकार र समुदाय बीचको समन्वयमा गर्ने ।

३. विद्यालय स्वीकृति दिनुभन्दा अघि विपत् सुरक्षित देखिएमा मात्र स्वीकृत दिने ।

४. राज्यले विद्यालय भवन निर्माण गर्न जग्गा खरिद गर्न अनुदान दिने ।

५. स्थानीय सरकारले वार्षिक ३–५ स्कुलमा विद्यालय गुरुयोजना लागु गर्ने ।

६. सुरक्षित भवन डिजाइन, निर्माण तथा अनुगमन स्थानीय सरकारबाटै गर्ने ।

७. देशभर भवन संहिता पुनरावलोकन गरी त्यसै अनुरुप भवन निर्माण गर्ने ।

८. पाठ्यक्रममा जोखिम व्यवस्थापन तथा पूर्वतयारी सम्बन्धी सामग्री समावेश गर्ने ।

९. विद्यालय भवन मर्मत–सम्भारका लागि छुट्टै निर्देशिका तयार गरी लागु गर्ने ।

१०. विद्यालयले आपत्कालीन प्रतिकार्य योजना तयार गरी विद्यालय सुधार योजनामा समावेश गर्ने ।

जमिन तरलीकरणको जोखिम पहिचान तथा न्युनीकरणमा विद्यावारिधि गरेका लेखक भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालमा कार्यरत छन् ।


प्रकाशित : माघ २, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?