१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मानवशास्त्र विषय पढ्नुहोस्

होम याम्फू 

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्र विषय (समाजशास्त्रसँग संयुक्त रूपमा) अध्ययपन गराउन थालेको लगभग चार दशक भयो । कहीं कतै आफूलाई मानवशास्त्रको विद्यार्थी भनेर चिनाउनुपर्‍यो भने समस्या छ । ‘हैन मानवशास्त्र भन्ने विषय पनि छ र ? समाजशास्त्र र मानवशास्त्र एउटै हैन ?’ जस्ता प्रश्न सामना गर्नुपर्छ ।

समाजशास्त्र सबैले सुनेका, बुझेका छन् । मानवशास्त्रीलाई समाजशास्त्री भनेर मिडियाले लेखिदिन्छन् । पश्चिमा विश्वविद्यालयहरूमा मानवशास्त्रमा विद्यार्थीको आकर्षण बढ्दो छ । सन् १९५० पछि जति पनि विदेशी अध्येयताले नेपाली समाज र संस्कृति अध्ययन गरे र गर्दैछन्, ती प्राय: मानवशास्त्री छन् ।


मानवशास्त्र र समाजशास्त्रबीच समानतासँगै विचार पद्घति एवं अध्ययन विधिमा भिन्नता छ । यी दुई शास्त्रको आ–आफ्नै इतिहास, उद्देश्य र परम्परा छन् । आआफ्नै व्यावसायिक संस्था र विचार र लेखन पद्घति छन् । केही वर्षदेखि त्रिविमा मानवशास्त्र विषयको छुट्टै विभाग स्थापना गरी अध्यापन गराउन थालिएको छ ।


मानवशास्त्रमा विद्यार्थीको आकर्षण जति हुनुपर्ने हो, त्यति देखिँदैन । जस्तै– पाटन संयुक्त क्याम्पसमा विगत समेस्टरमा १५० भन्दा बढी विद्यार्थी समाजशास्त्रमा भर्ना हुँदा मानवशास्त्रमा १२–१३ जना विद्यार्थी थिए । सामाज विज्ञान अध्ययनमा रुचि राख्ने विद्यार्थी र अभिभावकले मानवशास्त्र विषय र यसको अध्ययन पश्चातको करिअरबारे पर्याप्त जानकारी नपाएका हुन सक्छन् । अर्कोतर्फ यो विषय जटिल छ, पाठ्य सामग्री सहज रूपमा पाइँदैन, पाए पनि पनि अंग्रेजी भाषामा मात्र हुन्छ भन्ने छाप छ । यो लेखमा यिनै कुरा प्रस्ट्याउने कोसिस गरिएको छ ।


मानवशास्त्रले मानव जातिको उत्पत्ति, उद्विकास, उसका जैविक/शारीरिक पक्ष एवं सामाजिक–सांस्कृतिक पक्षको वैज्ञानिक र व्यवस्थित ढंगबाट अध्ययन गर्ने भएकाले यसलाई प्राकृतिक एवं सामाजिक विज्ञान दुवैका रूपमा लिइन्छ । यसले मानव समुदाय बीचको विविधता साथै समानता र उनीहरूको जीवन्त सामाजिक–सांस्कृतिक संसारको तुलनात्मक अध्ययन गर्छन् ।


मानवशास्त्रका प्रमुख चार शाखा छन्– जैविक/शारीरिक, पुरातात्त्विक, सामाजिक/सांस्कृतिक र भाषिक मानवशास्त्र । अन्य उपशाखा पनि छन्– चिकित्सा, फरेन्सिक, राजनीतिक, आर्थिक, विकास, वातावरणीय र सहरी मानवशास्त्र आदि । परम्परागत रूपमा मानवशास्त्रले दूरदराजका ससाना ट्राइबल ग्रुपको अध्ययन गर्ने गथ्र्यो ।


अहिले आधुनिक र समकालीन समाजका जटिल प्रक्रिया जस्तै– बसाइँ–सराइ, जलवायु परिवर्तन, नवउदारवाद र यसको प्रभाव, गरिबी र असमानता, बहुसंस्कृतिवाद, राष्ट्रियता, मानव अधिकार, राजनीतिक एवं सामाजिक आन्दोलन आदिबारे गहन अध्ययन गर्छ । आफ्नै केही विधागत विशिष्ट सैद्धान्तिक विचारधारामा आधारित रहेर मानवशास्त्रीले सांस्कृतिक बहुलता, सहिष्णुता र सहअस्तित्वका पक्षमा वकालत गर्छन् । मानवशास्त्रीले नाता सम्बन्ध, धर्म, विश्वास, संस्कृति र पहिचान आदिलाई समाजको परिवर्तनशीलताको कसीमा राखेर अध्ययन गर्दै मानव सम्बन्धी ज्ञान अन्वेषण र उत्पादन गर्छन् ।


मानवशास्त्रले विद्यार्थीलाई मानव समुदाय र संस्कृति अध्ययन गर्न तथा समुदाय र सामाजिक संस्थाले कसरी काम गर्छन् भन्ने अन्वेषण गर्न सिकाउँछ । मानवशास्त्रीय अध्ययन विधिहरू मौलिक खालका हुन्छन्– सांस्कृतिक सापेक्षवाद, होलिष्टिक र इथ्नोग्राफी । सांस्कृतिक सापेक्षवादले मानव समाज गुणात्मक रूपमा एकअर्कादेखि भिन्न रहेका हुन्छन्, उनीहरूका आन्तरिक, मौलिक तर्कशास्त्र हुन्छन् भन्छ । मानव जातिको संस्कृतिको आलोचनात्मक व्याख्या र समाजको वर्गीकरण (जस्तो– विकसित र अविकसित, सभ्य र असभ्य) गर्नु गलत हुन्छ ।


साइकल चढ्ने मानिसको भन्दा कार चढ्ने मानिसको जीवन गुणस्तरीय हुन्छ भनी ठोकुवा गर्न सकिन्न । होलिष्टिक अवधारणले ‘मानवका सांस्कृतिक अभ्यासहरू परस्परमा अन्तर–सम्बन्धी हुन्छन्’ भन्ने मान्यता राख्छ । यस विधिबाट मानवशास्त्रीहरूले संस्कृतिको इतिहास, दर्शन, स्थानीय सांसारिक दृष्टिकोण, मानवीय सोच र संवेदनालाई समग्र रूपमा बुझ्ने कोसिस गर्छन् । इथ्नोग्राफी विधि अन्तर्गत उनीहरू लामो समय समुदायसँग बस्छन्, भाषा सिक्छन् र विश्वासको वातावरण निर्माण गर्छन् र समुदायका मानिसको दैनिक जीवनका व्यवहारहरू मिहिन अवलोकन, अध्ययन र विश्लेषण गर्छन् ।


अहिलेका समाज र संस्कृति परिवर्तन भइरहेका छन् । हाम्रो जीवन पद्घति, पुराना प्रचलन र सम्बन्ध (अइँचो–पइँचो, पर्मअर्म, मितेरी–हितेरी) रूपान्तरित भइरहेका छन् । पर्यटन, विकास, सञ्चार र व्यापार आदिले मानिसबीच सम्पर्क बढाएको छ । दिन–प्रतिदिन मिश्रित समाज र ‘कस्मपलिटन्ट’ नगरहरू उत्पादन भइरहेको छ । वैदेशिक रोजगारी आदिले सामाजिक संरचना र पारिवारिक सम्बन्धहरूमा परिवर्तन आएका छन् । हाम्रो अर्थव्यवस्था अन्तर्राष्ट्रिय भइरहेको छ । बजारको विविधीकरण भइरहेको छ ।


सहभागितामूलक व्यवस्थापन, विकास र निर्णायक प्रक्रियाको महत्त्व बढेको छ । यस्ता परिवर्तनले ल्याउने सकारात्मक तथा नकारात्मक पक्षको वैज्ञानिक व्याख्या गर्न सकिएन भने समृद्घि, विकास, खुसी, शान्ति सम्भव हुँदैन । मानवशास्त्रीय अध्ययनले यसका लागि प्रेरणादायी ज्ञान दिन्छ । यसले राजनीतिक नेतृत्व र नीति निर्मातालाई आवश्यक ज्ञान र युक्तिसहितको कुशलता र क्षमता प्रदान गर्छ ।


मानवशास्त्रमा करिअर

‘ब्युरो अफ लेबर स्टटिस्टिक्स’ले सन् २०१४ देखि २०२४ सम्ममा अमेरिकामा मानवशास्त्रीको रोजगारी ४ प्रतिशतले वृद्घि हुने प्रक्षेपण गरेको छ । डाक्टर वा इन्जिनियरको जस्तो मानवशास्त्रीको रोजगारीको एक निश्चित क्षेत्रमा सीमित हुँदैन ।


मानवशास्त्रीहरू प्राज्ञिक क्षेत्रमा शिक्षा, औषधि विज्ञान, जनस्वास्थ्य, इथ्निक स्टडिज, सांस्कृतिक अध्ययन, भाषा विज्ञान, मनोविज्ञान, पर्यावरण आदिमा अध्ययन र अध्यापनमा संलग्न पाइन्छन् । सरकारी तथा गैरसरकारी निकाय अन्तर्गत विभिन्न विधामा कार्यरत छन् । जस्तै– प्राकृतिक स्रोत व्यवस्थापन, योजना, नीति तथा कानुन बनाउने, फरेन्सिक व्याख्या, पुरातात्त्विक संरक्षण र विश्लेषण, प्राकृतिक प्रकोप व्यवस्थापन, सांस्कृतिक स्रोत र सम्पदाको व्यवस्थापन, सुशासन र समावेशी शासन, कार्यक्रम मूल्यांकन, विकास निर्माण र यसले पार्ने सामाजिक, आर्थिक एवं सांस्कृतिक प्रभाव मूल्यांकन आदि क्षेत्रमा मानवशास्त्री विज्ञका रूपमा कार्यरत छन् ।


मानवशास्त्रीय ज्ञान कति महत्त्वपूर्ण हुन्छ भन्ने विभिन्न अवस्थामा सिद्घ भएका छन् । किन सुरुवाती चरणमै इबोला भाइरस पश्चिम अफ्रिकामा तीव्रगतिमा फैलियो भनेर पत्ता लगाउने मानवशास्त्रीहरू नै हुन् । युएन मिसन फर इमरजेन्सी रिस्पन्स अन्तर्गत काम गर्ने मानवशास्त्रीहरूले इबोला तीव्रगतिमा फैलनुको एक प्रमुख कारण संस्कृति हो भन्ने पत्ता लगाए ।


समयमा फैलावट रोक्न नीतिगत सुझाव युएन मिसनलाई दिए । मानवशास्त्रीले मानव व्यवहार र संस्कृतिका कारण प्रकृतिमा आएको परिवर्तनसँग कसरी मानव समुदायले तालमेल गरेका छन् आदिबारे अध्ययन गरी मौसम परिवर्तनले उत्पन्न गरेको विश्वव्यापी संकटसँग जुध्न सहयोग पुर्‍याइरहेका छन् ।


अन्त्यमा, विज्ञान र प्रविधिले मानव जीवनमा ल्याएका उपलब्धि, नवउदारवाद, भूमण्डलीकरण र बसाइँ–सराइ आदिले ल्याएको खुसी र निराशा, तीव्र सामाजिक एवं सांस्कृतिक परिवर्तनको गोलचक्करमा नेपाली समाज र संस्कृतिको व्याख्या नगरी समृद्घ र सुखी नेपाल कल्पना गर्न सकिँदैन ।


हालसम्म विदेशी मानवशास्त्रीका आँखाबाट मात्रै नेपाली समाज र संस्कृतिको विश्लेषण भएको छ । कहिलेसम्म अर्काले भनेको वा सुनेको ज्ञानमा मात्रै भर पर्ने ? हामी आफैले आफ्नैलागि आफ्नै रैथाने विधिबाट किन नेपाली जीवन र संस्कृति, समाज, इतिहासको अध्ययन तथा अनुसन्धान नगर्ने ?


लेखक पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागमा अध्यापन गर्छन् ।

प्रकाशित : माघ ३, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?