कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आत्म–प्रशंसाको राष्ट्रिय ग्रन्थि

बितेका १२ वर्षको राजनीतिक प्रक्रियाप्रति जुन–जुन प्रवृत्ति बेखुस थिए, तिनीहरूले असन्तुष्टि पोख्न राष्ट्रियताको आड लिएका छन् ।
विष्णु सापकोटा

काठमाडौँ — हरेक राष्ट्रका आआफ्नो इतिहासका राष्ट्रिय गौरवगाथा हुने गर्छन् । नेपालको नहुने कुरै भएन । दुई–तीन सय वर्ष पहिलेदेखि जब आधुनिक रूपका राष्ट्र र राज्यको अवधारणा अघि बढ्यो, सम्बन्धित सबै रैती–जनतालाई शासकले पढाउने पहिलो कुरा देशभक्ति थियो, ताकि शासकका लागि शासन गर्न बलियो राज्य उपलब्ध भइरहोस्, अर्को राज्यसँग लडाइँ गर्नुपर्‍यो भने जनता बिनाप्रश्न देशका लागि समर्पित भइराखुन् ।

आत्म–प्रशंसाको राष्ट्रिय ग्रन्थि

निकट इतिहासको यही क्रममा व्यक्तिका पहिचानहरूमध्ये राष्ट्रियता एउटा प्रमुख परिचय बन्यो । जीवनमा गर्व गर्नैपर्ने विषय आफ्नो परिवारभन्दा पनि राष्ट्र हो भन्ने वर्णनले ब्यापकता र स्वीकार्यता पायो । परिणामत: संसारभरका मानिसको परिचय उनीहरूको राष्ट्रियताबाट बनेको छ । राष्ट्रविहीन बनेकाहरू पनि एउटा न एउटा राष्ट्रियतासँग जोडिएका छन् । जस्तो भूटानबाट लखेटिएका नेपाली मूलका शरणार्थी अहिले अमेरिका वा अन्य देशमा बस्छन् ।


यतिसम्म सजिलै बुझिने भयो । नेपालको सार्वजनिक बहसको वृत्तमा आफ्नो इतिहासलाई बुझ्ने र बुझाउन चाहने सन्दर्भमा जुन खालका आख्यानको प्रभुत्व देखिएको छ, ती अचम्मलाग्दा मात्र होइन, चिन्ता गर्नुपर्ने खालका समेत छन् । एउटा ‘सर्वशुलभ’ उदाहरणबाट हेरौं । पृथ्वीनारायण शाहले अहिलेको नेपाललाई एकीकरण गरेको तथ्य सबैले पढेको र स्वीकार गरेको कुरा हो ।


त्यतिखेर अन्य धेरै राज्य जुन प्रक्रियाबाट विस्तार हुन्थे, नेपालमा पनि भएको त्यस्तै–त्यस्तै हो । राज्य निर्माणको त्यो प्रक्रिया कसैलाई गौरवशाली लागेको हुनसक्छ, कसैलाई त्यस्तो नलाग्न सक्छ । इतिहास घटनामात्र होइन, घटनाबारे मान्छेले लेख्ने दृष्टिकोणयुक्त आख्यान पनि हो । तथ्य एउटै लेखिए पनि कुन तथ्य कस्तो सन्दर्भसँग मिसाएर लेखियो भन्ने कुराले अर्थ फरक पर्ने पनि सबैले जानेकै हो । तर इतिहासका कुनै प्रक्रियाका सन्दर्भमा त्यो इतिहासलाई हेर्ने दृष्टिकोण फरक हुँदैमा नेपालको राष्ट्रियता कमजोर हुन्छ कि भनेर डराउनेहरूले आफ्नो संकुचित विचारका कारण उल्टो राष्ट्रियतालाई कमजोर बनाएका हुन सक्छन् । आफ्नै देशको इतिहासलाई हेर्ने दृष्टिकोणका विविधतालाई स्वीकार्न नसक्नेले राष्ट्रियता कसरी बलियो बनाउने होलान् ?


कोही–कोही सत्ताधारीलाई लागेको देखिन्छ, निर्वाचन जितेर बनेको सरकारका कमजोरी आलोचना गर्दा लोकतन्त्र कमजोर हुनसक्छ । जबकि लोकतन्त्र भनेकै भएका कमजोरीबारे खुला आलोचना र छलफल गर्न पाउने व्यवस्था हो । आलोचनाले लोकतन्त्रलाई बलियो बनाउने हो । आलोचना गर्न नपाइने भनेको बरु स्वत: लोकतन्त्र कमजोर हुने अवस्था हो । त्यस्तै इतिहासको कुनै घटना वा पात्रबारे जति खुला बहस हुनसक्यो, त्यति नै राष्ट्र–निर्माण बलियो हुने हो ।


पञ्चायतकालमा व्यवस्थाको आलोचना गर्न पाइँदैनथ्यो । त्यही नै उक्त व्यवस्थाको प्रमुख कमजोरी थियो । मुलुकको भौगोलिक अखण्डता र सार्वभौमिकतामा कसैले प्रश्न उठाउँछ भने त्यो फरक भइहाल्यो । त्यस बाहेक इतिहासका प्रक्रिया, राष्ट्रियता बन्ने कुनै ऐतिहासिक सन्दर्भमा कोही पात्रको भूमिका विशेषबारे कुनै नेपाली जनतालाई जेजस्तो लागेको छ, त्यसबारे गरिने छलफलले राष्ट्रियता झन् दह्रो हुने हो । त्यस्तो छलफल वर्जित गर्दा आफूले मानेका इतिहासका पात्र कमजोरमात्र हुन्छन् ।


यथार्थ कस्तो छ भन्ने विषय फेरि फरक हो । केही तप्काका नेपालीले आफ्नो राष्ट्रियता बुझ्ने र राष्ट्रप्रति अपनत्व देखाउने तरिका अचम्मको छ । अब नेपाली भाषाका आदिकवि भानुभक्तबारे कसैले आलोचनात्मक टिप्पणी गर्न पनि दुईपटक सोच्नुपर्ने भएको होला । ठिक छ, भानुभक्तले नेपाली भाषालाई राष्ट्रिय मूलधारमा ल्याउन ऐतिहासिक भूमिका खेलेका थिए । त्यो कुरा नेपाली मातृभाषी प्राय: सबैलाई मनपर्ने भइहाल्यो ।


तर कसैलाई भानुभक्तको काव्यचेत मनपरेन र त्यसको आलोचना गर्‍यो भने उसको राष्ट्रियतामै प्रश्न हुने स्थिति हो त ? माया वर्तमानमा आफ्नो देशको लागेको हो कि कुनै एउटा इतिहासको पात्रको जो अहिलेको नेपाल निर्माण हुने प्रक्रियामा कुनै एउटा भूमिकामा थियो ? जबकि त्यो भूमिकाको आफ्नै ऐतिहासिकता छ र त्यो ऐतिहासिकताबाट छुट्याउँदा त्यसको अर्थ फरक पर्न पनि सक्छ ।


माथि उल्लेख गरिएका वर्गका कतिपय व्यक्तिलाई आफ्नो इतिहास बुझ्ने त्यस्तो ग्रन्थि कसरी प्राप्त भएको हो, सहजै बुझ्न सकिन्छ । लोकतान्त्रिक वा वामपन्थी जुन कित्ताका भए पनि उनीहरूले पढेर हुर्केको इतिहास पञ्चायत व्यवस्थाले घोकाएको मध्येकै थियो । त्यस बीचमा माओवादी ‘जनयुद्ध’ले आमरूपमा बुझिएको नेपालको इतिहासमाथिको चेतलाई उथलपुथल पारेकै हो । (यद्यपि उनीहरू अहिले त्यसबाट अर्कैतर्फ फर्किसके ।) त्यसमाथि मधेस र जनजातिका आन्दोलनले ‘मूलधार’का नेपालीले आरामपूर्वक बुझिराखेको इतिहासप्रतिको दृष्टिकोणमाथि थप प्रश्न उठाएकै हुन् ।


ती आन्दोलन जारी रहेकै बेला धेरैमा उकुस–मुकुस पक्कै थियो । तर ती त्यतिबेला बोल्न सकिरहेका थिएनन् । जब ती अन्य आन्दोलनहरू मत्थर भए र माओवादी आन्दोलन साम्य भयो, पहिले उकुस–मुकुसमा बसेकाहरू विस्तारै चल्बलाउन थाले । यो चलबलाहटमा उनीहरू दुई दशकअघि जति ‘फराकिलो’ सोच राख्थे, त्योभन्दा निकै सांँघुरो राख्ने भए ।


किनकि यो नयाँ सोच पछिल्लो राजनीतिक विकासक्रमको एउटा प्रतिक्रयामा आएको पनि हो । यस्तो सोच राख्नेमा त्यस्ता व्यक्ति पनि सामेल छन्, जसलाई देश संघीयतामा गएका कारण राष्ट्रियता कमजोर हुँदैछ भन्ने लागेको छ । राजावादीहरू त सदावहार त्यस्तो विचार बोक्ने नै भए । उनीहरूका लागि राष्ट्र भनेको अहिलेसम्म पनि राजतन्त्र मात्रै हो ।


त्यसैले विगत १२ वर्षको राजनीतिक प्रक्रियाप्रति जुन–जुन प्रवृत्ति बेखुस थिए, तिनीहरूले अब आफ्नो असन्तुष्टि पोख्न राष्ट्रियताको आड लिएका छन् । राष्ट्रियता मात्र एउटा त्यस्तो बलियो तत्त्व हो, जसका आधारमा अरू धेरै गल्ती माफ गर्नुपर्छ भन्नेसम्मको आख्यान जबर्जस्त छ । कति भ्रष्ट नेताबारे हामीले धेरै सुनेकै छौं, ऊ ‘अलिअलि’ भ्रष्ट भए पनि के गर्ने, देशभक्त मान्छे हो ।


यही भावनाको आडमा ती असन्तुष्टहरू अब आफूबाट आफ्नो ‘सुन्दर शान्त विशाल’ नेपाल ‘खोस्न’ आएकासँग डराउन छाडेर पुन बोल्न थालेका छन् । यो सबै एउटा राजनीतिक प्रतिक्रियामा आएको यसको पृष्ठभूमिले हुनसक्छ, उनीहरूको आफ्नो इतिहासप्रति अनुपातमा मिल्नेभन्दा चर्को गौरव गर्ने ग्रन्थि सल्बलाएको छ । अर्को मनोवैज्ञानिक कारण पनि होला । त्यो के भने– सबै ‘राजनीतिक क्रान्ति’ पूरा गर्नुको बाबजुद देशको हाल जस्तो छ, त्यसबाट फेरि धेरै आस गर्ने ठाउँ छैन कि भन्नेजस्तो देखिन थालिसकेको छ ।


जब वर्तमान त्यति गतिलो छैन र भविष्यप्रति पनि त्यति धेरै आशा छैन, त्यस्तो स्थितिमा हुने भनेको अहिलेको जस्तै हो । अर्थात् हामी अरू राष्ट्रका मानिसभन्दा ‘खतरा’, हाम्रो इतिहास अरूको भन्दा धेरै माथिको आदि ठानिने ग्रन्थि । राष्ट्र निर्माणका बेला ‘हाम्रो इतिहास सबैभन्दा गौरवशाली छ, हामी अरूभन्दा विशेष हौं’ भनेर नघोकाएको कुन देश थियो होला ।


समग्रमा, अहिले नेपालमा इतिहासका धेरै पात्रबारे राजनीति–निरपेक्ष, प्राज्ञिक–बौद्धिक छलफल हुन गाह्रो भइसकेको छ । नेपाली मातृभाषी नहुनेले भानुभक्त त के, लक्ष्मीप्रसाद देवकोटाको काव्यलाई नै काव्यचेतको आधारमा नबुझिदिने हुन् कि भन्नेसम्म देखिँदैछ । अर्कोतर्फ ‘मूलधार’को नेपालको इतिहास भन्ने बित्तिकै जेमा पनि गर्व गर्नुपर्छ भन्नेहरूले अब यतिमात्र भन्न बाँकी छ– राणाहरूका कमजोरी थिए होलान्, तर १०४ वर्षसम्म देशलाई मोटामोटी जोगाएर राखेका त हुन्, त्यसैले उनीहरूलाई पनि मान्नुपर्छ ।


अहिले कतिपय व्यक्तिहरू जो न पूर्वपञ्च हुन्, नत त्यतिखेर दरबारले पालेका भनिएका कोही, तिनीहरूसमेत राजा महेन्द्रको गुणगानमा किन त्यति धेरै ऊर्जा निकाल्छन् भन्ने प्रश्न पनि यही सन्दर्भसँग जोडेर मात्र केही अर्थ लगाउन सकिन्छ ।

राष्ट्रियता साँच्चै मजबुत बनाउने हो भने पचासौं लाखको संख्यामा वैदेशिक मजदुरका रूपमा संसारभर छिरलिएको नेपाली राष्ट्रियतालाई देशभित्र एकत्रित गर्ने सोच राख्ने पहिलो काम हुनुपर्ने हो । तब न राष्ट्रियता जीविकोपार्जनसँग जोडिन्थ्यो र बलियो हुन्थ्यो । नेपाली ‘भाडाका सिपाही’ हुनुहुन्न भनी राजनीतिका नारा लगाउनेहरू पालैपालो सरकारमा गइसकेका छन् र त्यो क्रमसंँगै उक्त मुद्दा पनि सेलाएको छ ।


यसले मात्र धेरै कुराको जवाफ दिँदैन र ? जुन देशका जनता आफ्नै देशमा राम्रो वर्तमान बाँचिरहेका छन्, उनीहरूले घरिघरि इतिहासका भए–नभएका गौरवगाथा अरूलाई सम्झाउनैपरेको छैन । जुन देशका मानिसले आफ्नो भविष्य आफ्नै देशमा सुरक्षित देख्छन्, तिनीहरूलाइ राष्ट्रियताको धेरै चिन्ता के होला ? तसर्थ राजामहाराजाको पालाका गाथा आफ्नै ठाउँमा छन् । वर्तमानमा राष्ट्रियता बलियो बनाउने भनेको नागरिकलाई आफ्नै देशमा सबैको भविष्य उज्यालो छ भन्ने विश्वास दिलाएर मात्र हो ।

प्रकाशित : माघ ८, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?