कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

अरुणमा मेक्सिकन सूर्यमुखी

जन्मस्थानमा वनस्पति मिलेर बस्छ । हजारौं माइल टाढा पुगेपछि मात्र मिचाहा बन्छ । 
कमल मादेन

काठमाडौँ — गएको मंसिरमा संखुवासभास्थित अरुण खोलाको तीरैतीर सयपत्रीजस्तै छपक्कै फुलेको वनस्पति देखेँ । फूलबाट सुगन्धित बास्ना आइरहेको थियो । ‘तिथोनिया डाइभर्सिफोलिया’ वैज्ञानिक नाम भएको उक्त वनस्पति कात्तिकमा त्यही बाटो खाँदबारी, नुम, हेदाङना गढी हुँदै गोलाबजार बास बस्न पुग्दा एकाध ठाउँमा मात्र फुलेको देखिएको थियो ।

अरुणमा मेक्सिकन सूर्यमुखी

‘तिथोनिया डाइभर्सिफोलिया’को बोट सयपत्रीको तुलनामा निकै ठूलो हुन्छ । उचाइ औसत ३ मिटरसम्म हुन्छ । पात चौडा हुन्छ । कतै–कतै त्यो फूल लहराजस्तो रुखमा झाँगिएको पनि देखियो । एकाध देशमा यसलाई ‘ट्रि म्यारिगोल्ड’ भनिँदो रहेछ । यसको फूलको बनावट सूर्यमुखीजस्तो भएकाले यसलाई ‘मेक्सिकन सनफ्लावर’ भनेर चिनिन्छ । यो मेक्सिको तथा मध्य अमेरिकामा उद्भव भएको मानिन्छ ।


यो वनस्पति महत्त्वपूर्ण औषधिजन्य वनस्पति हो । नेपालमा यसको उपयोगिताबारे ज्यादै कम जानकारी छ । एनपी मानन्धरले ‘प्लान्ट्स एन्ड पिपल’ (सन् २००२) शीर्षक पुस्तकमा ‘तिथोनिया डाइभर्सिफोलिया’को पात तथा मुन्टा निचोरेर निकालिएको रस काटेको घाउमा लगाइन्छ भन्ने लेखेका छन् । एनएच चापागाईं, चन्द्रकला ठाकुर र राजेश तामाङद्वारा लिखित ‘प्लान्ट डाइभर्सिटी इन सेन्ट्रल चुरे रिजन, नेपाल’ (सन् २०१७) शीर्षक पुस्तकमा ‘तिथोनिया डाइभर्सिफोलिया’को पात, जरा, काण्ड औषधिका रूपमा प्रयोग गरिन्छ भन्ने लेखिएको छ । धेरैजसो देशमा यसलाई घर तथा उद्यानमा लगाउने गरिएको छ ।


नेपालमा कसरी भित्रियो ?

नेपालको वनस्पति सम्बन्धी लेखिएको पहिलो पुस्तक ‘प्रोडोमस फ्लोरा नेपालेन्सिस’ हो । काठमाडौं उपत्यका र आसपासबाट संकलन गरिएका नमुनाको आधारमा बेलायतका वनस्पतिविज्ञ डेभिड डनले लेखेको उक्त पुस्तक सन् १८२५ मा प्रकाशन भएको थियो । पुस्तकमा ‘तिथोनिया डाइभर्सिफोलिया’ परेको छैन । यसले काठमाडौं उपत्यकामा त्यो वनस्पति करिब २ सय वर्ष अघिसम्म भित्रिएको थिएन भन्ने संकेत गर्छ ।


विश्व प्रख्यात वनस्पति अन्वेषक जोसेफ डाल्टन हुकरले नेपालको पूर्वी भागमा प्रवेश गर्ने अनुमति जंगबहादुर राणाबाट पाएका थिए । तिनी सन् १८४८ अक्टोबर २१ मा डार्जिलिङबाट वनस्पति संकलन गर्न पूर्वी नेपाल प्रवेश गरे । २३ अक्टोबरमा ताप्लेजुङस्थित ओलाङचुङगोला पुगे । तिनले बंगलादेश, भारत, नेपाल लगायतमा संकलन गरेका वनस्पतिको नमुनाका आधारमा ‘फ्लोरा अफ ब्रिटिस इन्डिया’ ७ भोलममा सम्पादन गरे । ती भोलम सन् १८७२ देखि १८९७ सम्म छापिएका थिए ।


तिनमा ‘तिथोनिया डाइभर्सिफोलिया’ परेको छैन । हुकरले ‘फ्लोरा अफ ब्रिटिस इन्डिया’ लेखेको १४ वर्ष अघिमात्र यो वनस्पति विश्वमा पहिलोपटक पत्ता लागेको थियो । यसको वैज्ञानिक नामकरण अमेरिकी वनस्पतिविज्ञ आशा ग्रेले सन् १८८३ मा ‘तिथोनिया डाइभर्सिफोलिया’ गरेका हुन् ।


नेपालमा यो वनस्पतिको नमुना वैज्ञानिक अध्ययन, अनुसन्धानका निम्ति सर्वप्रथम सन् १९५२ मा एलएचजे विलियम्सले संकलन गरे । उक्त कुरा जापानका एच हाराले सम्पादन गरेको ‘फ्लोरा अफ इस्टर्न हिमालय’ (सन् १९६६) शीर्षक पुस्तकमा उल्लेख छ । यही जानकारी ‘एन इनुमेरेसन अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ भोलम ३ (सन् १९८२) मा छापिएपछि अलि बढीलाई नेपालमा यो वनस्पति छ भन्ने जानकारी भयो । यो वनस्पति ८ सय मिटरदेखि १५ सय मिटर उचाइ भूसतहसम्म पाइन्छ भन्ने लिखत छ । हिजोआज यो वनस्पति नेपालका धेरैजसो पहाडी तथा हिमाली जिल्लामा फैलिएको छ । ताप्लेजुङको खेबाङबाट यसको नमुना जापानी वनस्पतिविज्ञको टोलीले सन् १९६३ मा संकलन गरेको थियो ।


मिचाहा प्रवृत्ति

भाष्कर अधिकारीले सन् २००२–३ ताका नेपालमा मिचाहा प्रवृत्तिका वनस्पतिबारे पहिलोपटक बृहत सर्वेक्षण गरे । अधिकारी यसैका निम्ति करिब १६ जिल्लाजति पुगे । त्रिभुवन विश्वविद्यालयका वनस्पतिविज्ञ मोहन सिवाकोटीसँग अधिकारी विराटनगर, धरान, धनकुटा पुगेका थिए । त्यही सिलसिलामा म पनि उनीसँग धरानस्थित विजयपुर डाँडा र चासकोसे झाडी पुगेँ ।


त्यस अघि मैले मिचाहा प्रवृत्तिका वनस्पति सम्बन्धी केही लेख पत्रिकाहरूमा लेखेको थिएँ । सन् २००५ मा सागेन्द्र तिवारी, भाष्कर अधिकारी, मोहन सिवाकोटी र कञ्चन सुवेदीद्वारा लिखित ‘एन इन्भेन्टोरी एन्ड एसेसमेन्ट अफ इन्भासिभ एलाइन प्लान्ट स्पेसिस अफ नेपाल’ शीर्षक पुस्तक प्रकाशित भयो । पुस्तकमा ‘तिथिोनिया डाइभर्सिफोलिया’सहित जम्मा १ सय ६६ प्रजाति फूल फुल्ने वनस्पतिलाई मिचाहा प्रवृत्तिका वनस्पति हुन् भनेर सूचीकृत गरिएको छ ।


मिचाहा प्रजाति अर्थात इन्भासिभ स्पेसिस अन्य प्रजातिलाई मिचेर आफैमात्र फैलिन्छ । यस्ता वनस्पति चाँडै फैलिन्छन् । तिनमा अन्य वनस्पति विस्थापित गर्नसक्ने खुबी अन्तरनिहित हुन्छ । सामान्यत: उद्भव भएको भूभागमा यस्ता वनस्पतिले मिचाहा गुण आर्जन गरेको पाइन्न । उद्भव भएको भूभागभन्दा हजारौं–हजार माइल टाढा वा अर्को महादेशमा पुगेपछि मात्र तिनले मिचाहा गुण प्राप्त गर्छ ।


मेक्सिको तथा मध्य अमेरिकामा ‘तिथोनिया डाइभर्सिफोलिया’ मिचाहा प्रवृत्तिको वनस्पति मानिन्न । त्यहाँ यो वनस्पति एक दुर्लभ, विरलै फैलन सक्ने गुणमा देखिन्छ । अमेरिकाको दक्षिण–पूर्वी भागमा यो वनस्पति अलि फैलिएको छ । अष्ट्रेलियामा पनि फैलिएको छ । यसको मिचाहा प्रवृत्ति भने अफ्रिकाको केन्या, युगान्डा लगायत एसियाको गर्मी भूभागमा पुगेर विस्तार भएको पाइन्छ ।


अरुण नदीको पश्चिमी किनारका ढुंगे सुख्खा भागहरूमा ‘तिथोनिया डाइभर्सिफोलिया’ फैलिएको छ । अरुण पूर्वको किनारातर्फ यसको बोट बिरलैमात्र देखिन्छ भने पश्चिमतर्फ पाखो पुरै ढाकेको पाइन्छ । विशेषत: हेदाङना गढी उत्तरपूर्वमा रहेको सिम्मामा यसले जंगल पुरै ढाकेको छ । वरुण र अरुण दोभानतिर पनि जंगल ढाकेको देखिन्छ ।


फाइदा पनि छ

‘प्लान्टा मेडिका’ शीर्षक जर्नलको भोलम ६८, अंक ६ (सन् २००२) मा प्रकाशित एक लेख अनुसार यो वनस्पति मलेरिया उपचारमा प्रयोग हुन्छ । ‘एडभान्स इन इन्भारोमेन्टल बाइलोजी’ शीर्षक जर्नलको भोलम ७ अंक ९ (सन् २०१३) मा प्रकाशित अर्को अनुसन्धानात्मक लेख अनुसार ‘तिथोनिया डाइभर्सिफोलिया’मा रहेको जैविक पदार्थ मधुमेह उपचारका निम्ति लाभकर छ ।


‘तिथोनिया डाइभर्सिफोलिया’को घाँस गाईवस्तुले खान्छ । यसको काण्ड कामचलाउ दाउराका रूपमा प्रयोग हुन्छ । यसको बोटबाट उपयोगी जैविक मल बन्छ । यसबाट बनाइएको जैविक मलमा नाइट्रोजन, पोटास र फस्फोरस अन्य वनस्पतिबाट बनाइएका जैविक मलभन्दा बढी पाइन्छ । धान, मकैका निम्ति यसबाट बनेको मल बढी लाभदायक मानिन्छ । यसले भिरालो सुख्खा जमिनमा पैरो नियन्त्रण गर्छ । धानखेती छेउछाउ यो वनस्पति लगाउँदा किरा धानमा कमै लाग्ने बताइन्छ ।


हामीकहाँ ‘तिथोनिया डाइभर्सिफोलिया’ के–केका निम्ति उपयोगी हुनसक्छ भन्ने जानकारी अभाव छ । पहाडी क्षेत्रमा बन्दै गरेका सडक किनारामा यो रोप्न सकिन्छ । यसबाट भूक्षय नियन्त्रण हुन्छ । अन्य वनस्पति कमै फुल्ने बेला यसले फुलेर सडक सिँगार्छ । वातावरण हराभरा तुल्याउँछ । यसलाई बगैंचामा लगाउन सकिन्छ । स्वदेशी पुष्प व्यवसायीका निम्ति यो लाभदायक हुनसक्छ । विदेशमा यसलाई बगैंचामा लगाउने गरिएकै छ ।


जैविक विविधता संरक्षणका निम्ति मिचाहा प्रवृत्तिको वनस्पति फैलनु दिनुहुन्न भन्ने मान्यता छ । मिचाहा प्रवृत्तिको वनस्पतिसँग स्थानीय प्रजाति बढ्न र फैलन प्रतिस्पर्धा गर्नै सक्दैन । यस्ता वनस्पतिलाई अक्सर नियन्त्रण गर्ने प्रयास गरिन्छ । तर सम्भव हुन्न । वनमारा, कालीझार (कालो वनमारा), लहरे वनमारा, जलकुम्भीले हाम्रा स्थानीय वनस्पति प्रजातिहरूलाई संकटमा पारेको छ ।


‘तिथोनिया डाइभर्सिफोलिया’को महत्त्वलाई पुष्प व्यवसायी, किसान, वैद्य, औषधि उद्योग, भूक्षय नियन्त्रणकर्ता, सडक निर्माता, स्थानीय सरकार आदि सबैले चिन्तन–मनन गर्न सक्नुपर्छ । यसले स्थानीय वनस्पतिलाई हानिमात्र पुर्‍याउँदैन, यो मानव हितका निम्ति बहुउपयोगी सिद्ध भइसकेको छ ।

प्रकाशित : माघ ९, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?