कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

‘मापसे’ महिला 

२०७४/७५ मा ३२६ महिलाले ‘मापसे’ सम्बन्धी चेतनामूलक कक्षा लिए भने २०७५/७६ को पहिलो ४ महिनामा कक्षा लिने ३४१ पुगिसकेका छन् । 

काठमाडौँ — ‘बियर, वाइन हल्का हो, केही बेफाइदा हुन्न’ भन्दै महिलाहरू मदिरा सेवन गर्छन् । केही महिला यौन क्रियाकलापमा संलग्न रहँदा उच्च यौनान्द प्राप्तिका लागि मद्यपानको लतमा संलग्न हुन्छन् । जाडोमा शरीर तताउन र चिसो भगाउन मद्यपान सजिलो विकल्प ठान्ने चलन पनि छ ।

‘मापसे’ महिला 

विश्व स्वास्थ्य संगठनका अनुसार ‘अल्कोहल’ले वर्षेनि २५ लाख बढी मानिसलाई मृत्यृवरण गराउँछ । १५ देखि २९ वर्षका ३ लाख २० हजारको मृत्यु गराउँछ, जुन यो उमेर समूहको कुल मृत्युको ९ प्रतिशत हो । नेपालमा ३१.३ प्रतिशत पुरुष र १६.५ प्रतिशत महिलाले मदिरा सेवन गर्छन् । सहरी क्षेत्रमा आधाभन्दा बढीले मद्यपान सेवन गर्छन् । रक्सी पिउने पुरुषका ७० प्रतिशत श्रीमती शारीरिक र यौनजन्य हिंसा व्यहोर्न बाध्य छन् ।


‘मापसे’ अभियान

पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने महिलाको संख्या बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको जानकारीमा २०७४/७५ मा ३२६ महिलाले ‘मापसे’ सम्बन्धी चेतनामूलक कक्षा लिए भने २०७५/७६ को पहिलो ४ महिनामा कक्षा लिने ३४१ पुगिसकेका छन् । तर महिला प्रहरीको कमी तथा महिलाले ‘मापसे’ गर्दैनन् भन्दै चेकजाँच नगर्दा उनीहरूमा पार्टी, फ्राइडे आउट गर्ने तथा चालक बनाउने प्रचलन बढेको छ । पाश्चात्य र आधुनिकताले ‘मापसे’ बढे पनि प्रहरीले जाँच गर्दैन भन्ने मानसिकताले प्रश्रय पाएको छ ।


सवारी दुर्घटना र अपराध न्युनीकरण गर्ने उद्देश्यले २०६८ मंसिर १७ देखि राति ९ बजेपछि सवारी चलाउनेमा लक्षित मादक पदार्थ सेवन (मापसे) अभियान थालिएको हो । मुखै सुँघेर ‘मापसे’ कारबाही गर्दै आएका प्रहरीले चैतदेखि ब्रेथलाइजर प्रयोग गर्न पाए । चालकलाई अब ‘हा’ होइन ‘फु’ गर्नुस् भन्दैछन् । रात्रिकालीन व्यवसायी तथा मदिरा कारोबारी भने चौपट भएको भन्दै विरोधमा उत्रिए । पैदलयात्री तथा सवारी साधनमा चालक बाहेक अन्यलाई जाँच नगर्नुले पनि ‘मापसे’ सवारी चालकसँंग मात्र सम्बन्धित छ । १ छिटा र खुट्टा नलाग्नेगरी सेवन गर्नेलाई उही सजाय छ ।


मात्रा र असर

औषधि विज्ञानका पिता हिप्पोक्रेटसको समयदेखि नै पुरुष तथा महिला नपुंशकताको कारकमध्ये एक मदिरापान मानिएको छ । महिलामा मदिरापानतिर रुचि बढेका कारण उनीहरूको यौन आचरणमा नराम्रा असर बढेका छन् ।

रगतमा पुगेको अल्कोहल २ देखि १० प्रतिशत श्वास–प्रश्वास, पिसाब र पसिनाबाट निष्कासन हुन्छ भने बाँकी ९० प्रतिशत कलेजोमा सञ्चित भई नकारात्मक असर देखाउँछ ।


सामान्य व्यक्तिको तुलनामा ‘मापसे’ गरी सवारी चलाउँदा मादक पदार्थको रगतमा मात्रा ८०, १०० र २०० मिलिग्राम प्रतिसय मिलिलिटरमा सवारी दुर्घटना हुने सम्भावना क्रमश: ५, १० र २० गुणा बढी हुन्छ । शरीरमा मादक पदार्थको मात्रा जति बढ्छ, त्यही अनुपातमा सवारी दुर्घटनाको सम्भावनामा वृद्धि हुन्छ । थोरै ‘मापसे’ गरी सवारी हाँक्दा पनि चलाउने कुशलतामा असर पर्छ ।


डा. बेन मोर्गानजोनका अनुसार पुरुषको तुलनामा मादक पदार्थ सेवनले महिलालाई छिटो असर गर्छ । महिलाको शारीरिक तौलको अनुपातमा शरीरमा पानीको मात्रा थोरै हुनुका कारण रक्सीले पानीसँग उचित प्रकारले घुलमिल गर्न पाउँदैन । मासिक रजस्वला चक्र अनुसार रक्सी सेवनले सहिष्णुतामा फरक पार्छ ।


मासिक रजस्वला हुनु केही दिनअघि वा मध्य अवधिमा रक्सी सेवन गर्दा महिलामा मात छिटो लाग्छ । डाइहाइड्रोनेसिस इन्जाइमको मात्रा महिलामा आधामात्र हुन्छ र छिटो असर गर्छ । मदिरापान गर्ने पुरुषको अनुपातमा महिलाको मृत्युदर बढी छ ।


गर्भावस्था

महिलामा रक्सी सेवन गर्ने बढ्दो प्रवृत्तिले आजका पुस्ता गर्भको भ्रूण अवस्थादेखि नै रक्सीमुक्त छैनन् । गर्भवती आमाले सेवन गर्दा आमालाई मात्र होइन, गर्भको भ्रूणलाई पनि विभिन्न असर गरिरहेको हुन्छ । आमाको गर्भदेखि नै रक्सीबाट पीडा भोग्दा भूण, शिशु र भोलिका नागरिकमा पर्ने असर झनै भयानक हुन्छ । महिना नपुगी बच्चा जन्मन्छ ।


कम तौलको बच्चा जन्मन सक्छ । अधिक रक्सी सेवनबाट बच्चा विकलाङ्ग हुने खतरा ५० प्रतिशतले बढ्छ । भ्रूणको ज्ञानेन्द्रिय प्रणालीमा असर पर्ने, जन्मिइसकेपछि लामो समय जन्डिस हुने पनि गराउँछ । दूध कम आउँछ । डेनिस वैज्ञानिकहरूको अध्ययनमा महिलाले मदिरा सेवन गरे जन्मिने बच्चाको शुक्रकीटको मात्रा वा सघनतामा असर परी बाँझोपना, नि:सन्तान हुनसक्छ । अन्य विविध अल्कोहलिक सिन्ड्रोम देखिन सक्छ ।


सवारी दुर्घटना

मादक पदार्थले चालकमा झुटो आत्मविश्वास बढाउँछ । चालकलाई आवेशयुक्त बनाउँछ । सवारी चलाउँदा मांसपेशी र प्रणालीबीच हुनुपर्ने समन्वयमा असर पार्छ । आवश्यकता र अवस्था अनुसार शरीरमा स्वचालित हुनुपर्ने ‘रिफ्लेक्स एक्सन’मा ढिलाइ हुन्छ । ‘फिल्ड अफ भिजन’ साँघुरो हुन्छ । रङ छुट्याउने क्षमतामा कमी आउनुका साथै वस्तुलाई केन्द्रित गरी हेर्ने क्षमतामा पनि कमी आउँछ ।


सवारीको गति र दूरी अनुसार समय अड्कल गर्नसक्ने क्षमतामा कमी आउँछ । सवारी धेरै गतिमा जाँदा पनि कम गतिमा गएको अनुभव हुने र थप तीव्र गतिमा चलाउने सम्भावना हुन्छ । कतिसम्म पिउँदा सुरक्षित रूपमा सवारी चलाउन सकिन्छ भन्ने छैन । सुरक्षित सीमा भनेको सेवन नै नगर्नु हो ।


लेखक न्याम्स वीर अस्पताल, काठमाडौंमा कार्यरत छन् ।

प्रकाशित : माघ १०, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?