कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

जैविक विधिले किरा रोकथाम

जैविक विषादीले वातावरण, मानव शरीर र फाइदाजनक परजीवी किरालाई असर गर्दैन । प्रयोग गर्ने व्यक्तिमा असर पर्दैन । यसको प्रभाव लक्षित किरामा लामो समयसम्म रहन्छ ।
डा. युवकध्वज जीसी

काठमाडौँ — बाली–बिरुवा सुरक्षाका लागि जैविक पदार्थ प्रयोग गरी हानिकारक जीव नाश गर्न सकिन्छ । हानिकारक किरा न्यून गर्न वा मार्न सूक्ष्म जीविय ब्याक्टेरिया, ढुसी, भाइरस तथा नेमाटोडजन्य उपयोगी जीवद्वारा तयार गरिएको रसायन वा पदार्थलाई जैविक विषादी भनिन्छ ।

आजकल वनस्पतिमा आधारित पदार्थलाई समेत जैविक विषादीका रूपमा बुझ्ने गरिन्छ । यी पदार्थमा कुनै सूक्ष्म जीवित जीवको अलावा वनस्पतिमा पाइने खास तत्त्व हुन्छन् ।


सूक्ष्म जीवमा आधारित जैविक विषादीमा मुख्यतया ब्याक्टेरियाजन्य, ढुसीजन्य, भाइरसजन्य पदार्थ, साइटोप्लाज्मिक भाइरस र नेमोटाडमा आधारित पदार्थ मुख्य रूपमा आउंँछन् । वनस्पतिमा आधारित जैविक पदार्थ मुख्यतया निमको झोल (मार्गोसेभ डेरिसोभ, बायोमल्टिनिम) आउँछन् । यी सबै पदार्थ तथा वस्तुलाई जैविक विषादी वा जैविक विषादीमा आधारित पदार्थका रूपमा बुझ्न सकिन्छ ।


यो विधिमा किरा तथा रोगजन्य जीवाणुको संख्या नियन्त्रण गर्न पराश्रयी जीव, सिकारी किरा तथा किरामा रोग ल्याउने जीवाणु धेरै उत्पादन गर्ने र छाड्ने काम हुन्छ । यसलाई जैविक नियन्त्रण पनि भनिन्छ । जैविक विषादीको माध्यम र नाम फरक भए पनि यिनीहरूले किरा मार्ने तरिका र यिनको उपयोगिता समानजस्तै छन् ।


यिनले वातावरण, मानव शरीर र फाइदाजनक परजीवी किरालाई असर गर्दैनन् । प्रयोग गर्ने व्यक्तिलाई पनि असर पर्दैन । लक्ष्य गरिएको किरामा मात्र यिनको प्रभाव रहन्छ । थोरै प्रयोग गरिए पनि किरामा बढी असर गर्न सकिन्छ । यिनको प्रभाव कालान्तरसम्म रहन सक्छ ।


जैविक विषादीलाई केही विषादीको साथमा मिसाएर प्रयोग गर्न सकिन्छ । केही जैविक विषादी र वनस्पतिमा आधारित पदार्थले किराका फुल, लार्भा, प्युपा र वयष्कमा समेत केही न केही असर गर्छन् । यिनले रासायनिक विषादीले जस्तो यिनले जादुगरी रूपमा छिट्टै किरा मार्न भने सक्दैनन् ।


यिनको प्रयोग सुरुमा झन्झटिलो र महँगो लाग्न सक्छ । सबै प्रकारका किरालाई एउटै प्रकारको वस्तुबाट नियन्त्रण गर्न सकिँदैन । यिनको असर खासगरी सम्पर्क प्रकारको हुने भएकोले लुकेर छिपेर खाने किरालाई प्रयोग गर्न गाह्रो हुन्छ । चर्को घाम, सुख्खा क्षेत्रमा प्रयोग गरेमा यिनको प्रभाव नष्ट हुन्छ ।


जैविक विषादी जीवित वस्तुमा आधारित भएकाले यिनको उत्पादनपश्चात प्रयोग गर्ने अवस्थासम्म होशियारीका साथ राख्नुपर्छ । यिनीहरूलाई कम तापक्रम र बढी सापेक्षिक आर्द्रता आवश्यक पर्छ । यसलाई स्प्रेयरद्वारा अपराह्न प्रयोग गर्नु वेश हुन्छ । यस्ता जैविक पदार्थ प्रयोग गरिएको बालीमा रासायनिक विषादी प्रयोग गर्नु हुँदैन । जैविक पदार्थ प्रयोग भएको ठाउंँमा उपयुक्त चिस्यानको व्यवस्था मिलाउनुपर्छ ।


नेपालमा जेजति प्रकारका जैविक विषादी भित्रिएका छन्, ती पनि सर्वसुलभ पाइँदैनन् । स्वदेशमै उत्पादित वस्तु भने प्रयोगशाला स्तरमा मात्र सीमित छन् ।


उपलव्ध जैविक विषादी

ढुसीजन्य जैविक विषादी– सेतो ढुसी माटो तथा मरेका किरामा फेला पर्छ । तिनै ढुसीलाई प्रयोगशालामा कृत्रिम खानाको रूपमा तयार गरेर १ केजीको पोकामा बजारमा उपलव्ध गराइन्छ ।


यसलाई खासगरी नरम शरीर भएका किराहरू जस्तै– लाही, थ्रिप्स, सेतो झिंगा, मिलिबग, पाइरिल्ला, जेसिड, बन्दाको पुतली, इँटबुट्टे पुतलीका लार्भा, धानबालीका खैरो र सेतो चुसाहा आदिमा प्रयोग गरिन्छ । यो ढुसीले लक्षित हानिकारक किराको शरीरमा आक्रमण गर्छ । त्यस क्रममा जीवाणु किराको छालामा टांँसिन्छ । मरेको किराको शरीरमा सेता कण देखा पर्छन् ।


वातावरणमा सापेक्षिक आर्द्रता र चिस्यान बढेको अवस्थामा मात्र यसको प्रभावकारिता धेरै हुन्छ । २४–४८ घन्टामा किरा रोगाउन सुरु गरी २ सातादेखि मर्न थाल्छन् । त्यसपछि शरीरभित्रका जीवाणु मरेको किराको शरीरबाट बाहिर निस्कन्छन् र फैलिन्छन् । हाल कृषि र पशुविज्ञान अध्ययन संस्थान रामपुर चितवनमा यो ढुसीलाई जौँका दानामा उत्पादन गरी माटोमुनि बस्ने खुम्रे लगायत किरालाई मार्ने प्रविधि विकास गरिएको छ ।


हरियो ढुसी पनि माटो तथा प्राकृतिक रूपमै मरेका किराबाट प्राप्त गर्न सकिन्छ । कृत्रिम खानामा उत्पादन गरी (जाँैको दाना र टाल्कम पाउडरको धुलोमा) खुम्रे किरा, फेद कटुवा, रातो कमिला, धमिरा लगायत बोटको माथिल्लो भागमा बसी क्षति गर्ने किराविरुद्ध प्रयोग गर्न सकिन्छ । यसले आक्रमण गर्ने तरिका र यसलाई आवश्यक पर्ने वातावरण सेतो ढुसीमा जस्तै हो ।


भाइरसजन्य जैविक विषादी– यसले गोलभेंँडा र चनाको गभारो, कपासमा लाग्ने पुतली, किराको बच्चालाई नाश गर्छ । सबै प्रकारका बालीनालीमा लाग्ने लार्भा किराविरुद्व यो प्रभावकारी पाइएको छ ।


ब्याक्टेरियाजन्य जैविक विषादी– यो ब्याक्टेरिया साधारणतया माटो, खाद्य कारखाना, गोदाम र किरा बढी हुने वातावरणमा फेला पर्छ । यसले असर गर्नसक्ने किरामा पुतली जातका लार्भा जस्तै– इँटबुट्टे पुतली र गोलभेंँडाको गुभारो आदि हुन् । किराको संख्यात्मक वृद्वि एवं आक्रमणको प्रभाव हेरी ६–७ दिनमा यो जैविक विषादी दोहोर्‍याउनुपर्ने हुनसक्छ । यो ब्योक्टेरिया प्रयोग गरेकै दिन पनि तरकारी, फलफूल खान सकिन्छ ।


लेखक कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव हुन् ।

प्रकाशित : माघ ११, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?