कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

पइढके कि हेते ?

मधु राई

काठमाडौँ — विद्यालयमा छोराछोरी भर्ना गर्दा होस् या लब्धांकपत्र बुझ्दा, नाम लेख्न नसक्ने अभिभावक मधेसी महिलालाई ‘नाम लेख्न सिक्नुपर्‍यो’ भन्ने गर्छु । अधिकांशले ‘पइढके कि हेते म्याम ?’ भन्छन् ।

पइढके कि हेते ?

निरक्षर अभिभावकका अधिकांश छोराछोरी पढाइमा पनि औसत हुन्छन् । कतिपय भगवान् भरोसा पढिरहेका छन् । न कक्षाकार्य राम्ररी गर्छन् न गृहकार्य नियमित गरेर ल्याउँछन् । यस्ता विद्यार्थीका अभिभावकलाई ‘घरमा राम्ररी हेरिदिनुहोला’ भन्दा ‘खोइ कसरी सिकाउनु † हामी त पढेकै छैन म्याम’ भन्ने जवाफ आउँछ ।


हिजो आफूले अशिक्षा र गरिबीका कारण अक्षरको दुनियाँमा प्रवेश गर्न नपाएकाहरूले ‘पइढके कि हेते ?’ भन्ने गरे पनि छोराछोरी र नातिनातिनीलाई खाईनखाई विद्यालय पठाउने गरेका छन् । किन र केका लागि पढाउने भन्ने विषयमा भने उनीहरू स्पष्ट देखिँदैनन् । मधेसी अभिभावकमा ‘छोरीलाई धेरै पढाए ज्वाइँले धेरै दहेज माग्छ, त्यसैले पढाउनु हुँदैन’ भन्ने सोचले जरो गाडेको पाइन्छ । कतिपय छोरी पनि ‘किन पो धेरै पढ्नु र बिहे भइहाल्छ’ भनेर बीचैमा पढाइ छाड्छन् । उच्च शिक्षा हासिल गर्नेहरू नगन्य छन् ।


उच्च शिक्षाको अवसर पाएका कतिपय मधेसी किशोरी पडाडे मूलका छोरीचेलीसरह कामकाजी हुन चाहँदैनन् । यसमा प्रत्यक्ष र परोक्ष भूमिका निरक्षर आमा र हजुरआमाको देखिन्छ । कतिपयले दहेज बढी दिनुपर्छ भनेर उच्च शिक्षा हासिल गरेका छोरीहरूको विवाह कम पढेकासँग गरिदिन्छन् । घरपरिवारमा परनिर्भर भएर बाँच्ने गरेका अधिकांश निरक्षर आमा छोराको बिहेमा मनग्गे दाइजो पाइन्छ भनेर बसेका हुन्छन् । भनेजस्तो दहेज नपाएपछि त्यहीबाट सुरु हुन्छ घरेलुहिंसाको अन्त्यहीन सिलसिला ।


पछिल्लो समय सामाजिक र राजनीतिक गतिविधिमा मधेसी समुदायका साक्षर र शिक्षित बुबाको उपस्थिति बाक्लै देखिन्छ । यस्ता नेता–कार्यकर्ताले भाषणमा दाइजोप्रथा निर्मूल गर्नुपर्छ भने पनि व्यवहारमा लागू गराउन उनीहरू स्वयम् असमर्थ देखिन्छन् ।


आफ्ना आमा, हजुरआमा र श्रीमती निरक्षर भए पनि छोरीबुहारीलाई शिक्षित र कामकाजी बनाउनुपर्छ भन्ने विषयमा यस्ता शिक्षित अभिभावक विशेष गरी शिक्षित बुबा निरीह देखिन्छन् । यसको प्रत्यक्ष र परोक्ष असर महिलाको समग्र गतिविधिमा परेको छ । निरक्षर आमा र हजुरआमा भएका घरपरिवारमा निर्णायक भूमिका बुबाको हुन्छ । त्यसैले कतिपय छोरीबुहारी बुबा, दाजुभाइ र सासूससुरासँग खुलेर कुरासमेत गर्न सक्दैनन । आफूलाई लागेका कुरा आफ्ना घरपरिवारसँग गर्न नसक्नेको सिकाइ अपूरो हुन्छ । यस्तो विषम परिस्थितिमा बाल्यकाल र किशोरावस्था बिताएका छोरीबुहारीलाई विद्यालय र शिक्षकले मात्र शिक्षाको महत्त्व बुझाउन सक्दैनन् । यस्तै, हुँदा खाने अभिभावक छोराछोरीको शिक्षामा लामो समय लगानी गर्न सक्दैनन् ।


पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्कँदै जानुका धेरै कारणमध्ये निरक्षर अभिभावकको शिक्षाप्रति अल्पबुझाइ पनि हो । पछिल्लो तथ्यांकअनुसार सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना भएका ३० प्रतिशत विद्यार्थी मात्र कक्षा १० मा पुग्ने गरेका छन् । निजीमा कक्षा १ मा भर्ना भएका ७७ प्रतिशत विद्यार्थीले एसईई परीक्षा दिने गरेका छन् । यसको कारणबारे त्यति धेरै अध्ययन अनुसन्धान भएको देखिँदैन ।


सरकारले निरक्षरता उन्मूलन गर्ने भनेर साक्षर नेपाल भन्ने कार्यक्रम सुरु गरेको वर्षौं भइसक्यो । साक्षरतासम्बन्धी यस्ता कार्यक्रमले निरक्षर अभिभावक आमाहरूलाई समेट्न सकेको छैन । मोरङमा २०७४/७५ मा २ सय २ वटा साक्षरता कक्षा सञ्चालन भएको थियो । त्यसअन्तर्गत सुन्दरहरैंचा नगरपालिकामा निरक्षरता उन्मूलन भएको घोषणा भयो । सुन्दरहरैंचा जस्ता नगरपालिकाले निरक्षरता उन्मूलन गर्न अपनाएको मापदण्ड र सूचकबारे त्यतिधेरै चर्चा भएको पाइँदैन । ‘पइढके कि हेते ?’ भन्नेहरूलाई यस्ता साक्षरता कार्यक्रम ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ हुने गरेको छ ।


आधुनिक सिंगापुरका निर्माता तथा तत्कालीन प्रधानमन्त्री ली क्वान युले साक्षर सिंगापुर बनाउन ‘इच वान टिच वान’ भन्ने कार्यक्रम सञ्चालन गरेका थिए । जसअन्तर्गत जुनसुकै पेसाकर्मीले एक जना निरक्षरलाई साक्षर बनाउनुपर्ने सरकारले नियम थियो । यसरी साक्षर बनेका जनतालाई आफ्नो रुचि र उमेर अनुसार आयमूलक र सीपमूलक तालिम दिएर उद्यम व्यवसाय गर्न सिंगापुर सरकारले प्रोत्साहन गरेको थियो । चीनले पनि साक्षरता कार्यक्रमसँगै आयमूलक र सीपमूलक कार्यक्रम सञ्चालन गरेर आफ्ना साक्षर जनतालाई दक्ष बनाएको थियो । हाम्रा स्थानीय सरकारले साक्षरता कक्षासँगै आयमूलक र सीपमूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।

प्रकाशित : माघ १४, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?