पइढके कि हेते ?

मधु राई

काठमाडौँ — विद्यालयमा छोराछोरी भर्ना गर्दा होस् या लब्धांकपत्र बुझ्दा, नाम लेख्न नसक्ने अभिभावक मधेसी महिलालाई ‘नाम लेख्न सिक्नुपर्‍यो’ भन्ने गर्छु । अधिकांशले ‘पइढके कि हेते म्याम ?’ भन्छन् ।

निरक्षर अभिभावकका अधिकांश छोराछोरी पढाइमा पनि औसत हुन्छन् । कतिपय भगवान् भरोसा पढिरहेका छन् । न कक्षाकार्य राम्ररी गर्छन् न गृहकार्य नियमित गरेर ल्याउँछन् । यस्ता विद्यार्थीका अभिभावकलाई ‘घरमा राम्ररी हेरिदिनुहोला’ भन्दा ‘खोइ कसरी सिकाउनु † हामी त पढेकै छैन म्याम’ भन्ने जवाफ आउँछ ।

Citizen

हिजो आफूले अशिक्षा र गरिबीका कारण अक्षरको दुनियाँमा प्रवेश गर्न नपाएकाहरूले ‘पइढके कि हेते ?’ भन्ने गरे पनि छोराछोरी र नातिनातिनीलाई खाईनखाई विद्यालय पठाउने गरेका छन् । किन र केका लागि पढाउने भन्ने विषयमा भने उनीहरू स्पष्ट देखिँदैनन् । मधेसी अभिभावकमा ‘छोरीलाई धेरै पढाए ज्वाइँले धेरै दहेज माग्छ, त्यसैले पढाउनु हुँदैन’ भन्ने सोचले जरो गाडेको पाइन्छ । कतिपय छोरी पनि ‘किन पो धेरै पढ्नु र बिहे भइहाल्छ’ भनेर बीचैमा पढाइ छाड्छन् । उच्च शिक्षा हासिल गर्नेहरू नगन्य छन् ।

उच्च शिक्षाको अवसर पाएका कतिपय मधेसी किशोरी पडाडे मूलका छोरीचेलीसरह कामकाजी हुन चाहँदैनन् । यसमा प्रत्यक्ष र परोक्ष भूमिका निरक्षर आमा र हजुरआमाको देखिन्छ । कतिपयले दहेज बढी दिनुपर्छ भनेर उच्च शिक्षा हासिल गरेका छोरीहरूको विवाह कम पढेकासँग गरिदिन्छन् । घरपरिवारमा परनिर्भर भएर बाँच्ने गरेका अधिकांश निरक्षर आमा छोराको बिहेमा मनग्गे दाइजो पाइन्छ भनेर बसेका हुन्छन् । भनेजस्तो दहेज नपाएपछि त्यहीबाट सुरु हुन्छ घरेलुहिंसाको अन्त्यहीन सिलसिला ।

पछिल्लो समय सामाजिक र राजनीतिक गतिविधिमा मधेसी समुदायका साक्षर र शिक्षित बुबाको उपस्थिति बाक्लै देखिन्छ । यस्ता नेता–कार्यकर्ताले भाषणमा दाइजोप्रथा निर्मूल गर्नुपर्छ भने पनि व्यवहारमा लागू गराउन उनीहरू स्वयम् असमर्थ देखिन्छन् ।

आफ्ना आमा, हजुरआमा र श्रीमती निरक्षर भए पनि छोरीबुहारीलाई शिक्षित र कामकाजी बनाउनुपर्छ भन्ने विषयमा यस्ता शिक्षित अभिभावक विशेष गरी शिक्षित बुबा निरीह देखिन्छन् । यसको प्रत्यक्ष र परोक्ष असर महिलाको समग्र गतिविधिमा परेको छ । निरक्षर आमा र हजुरआमा भएका घरपरिवारमा निर्णायक भूमिका बुबाको हुन्छ । त्यसैले कतिपय छोरीबुहारी बुबा, दाजुभाइ र सासूससुरासँग खुलेर कुरासमेत गर्न सक्दैनन । आफूलाई लागेका कुरा आफ्ना घरपरिवारसँग गर्न नसक्नेको सिकाइ अपूरो हुन्छ । यस्तो विषम परिस्थितिमा बाल्यकाल र किशोरावस्था बिताएका छोरीबुहारीलाई विद्यालय र शिक्षकले मात्र शिक्षाको महत्त्व बुझाउन सक्दैनन् । यस्तै, हुँदा खाने अभिभावक छोराछोरीको शिक्षामा लामो समय लगानी गर्न सक्दैनन् ।

पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्कँदै जानुका धेरै कारणमध्ये निरक्षर अभिभावकको शिक्षाप्रति अल्पबुझाइ पनि हो । पछिल्लो तथ्यांकअनुसार सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना भएका ३० प्रतिशत विद्यार्थी मात्र कक्षा १० मा पुग्ने गरेका छन् । निजीमा कक्षा १ मा भर्ना भएका ७७ प्रतिशत विद्यार्थीले एसईई परीक्षा दिने गरेका छन् । यसको कारणबारे त्यति धेरै अध्ययन अनुसन्धान भएको देखिँदैन ।

सरकारले निरक्षरता उन्मूलन गर्ने भनेर साक्षर नेपाल भन्ने कार्यक्रम सुरु गरेको वर्षौं भइसक्यो । साक्षरतासम्बन्धी यस्ता कार्यक्रमले निरक्षर अभिभावक आमाहरूलाई समेट्न सकेको छैन । मोरङमा २०७४/७५ मा २ सय २ वटा साक्षरता कक्षा सञ्चालन भएको थियो । त्यसअन्तर्गत सुन्दरहरैंचा नगरपालिकामा निरक्षरता उन्मूलन भएको घोषणा भयो । सुन्दरहरैंचा जस्ता नगरपालिकाले निरक्षरता उन्मूलन गर्न अपनाएको मापदण्ड र सूचकबारे त्यतिधेरै चर्चा भएको पाइँदैन । ‘पइढके कि हेते ?’ भन्नेहरूलाई यस्ता साक्षरता कार्यक्रम ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ हुने गरेको छ ।

आधुनिक सिंगापुरका निर्माता तथा तत्कालीन प्रधानमन्त्री ली क्वान युले साक्षर सिंगापुर बनाउन ‘इच वान टिच वान’ भन्ने कार्यक्रम सञ्चालन गरेका थिए । जसअन्तर्गत जुनसुकै पेसाकर्मीले एक जना निरक्षरलाई साक्षर बनाउनुपर्ने सरकारले नियम थियो । यसरी साक्षर बनेका जनतालाई आफ्नो रुचि र उमेर अनुसार आयमूलक र सीपमूलक तालिम दिएर उद्यम व्यवसाय गर्न सिंगापुर सरकारले प्रोत्साहन गरेको थियो । चीनले पनि साक्षरता कार्यक्रमसँगै आयमूलक र सीपमूलक कार्यक्रम सञ्चालन गरेर आफ्ना साक्षर जनतालाई दक्ष बनाएको थियो । हाम्रा स्थानीय सरकारले साक्षरता कक्षासँगै आयमूलक र सीपमूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।

प्रकाशित : माघ १४, २०७५ ०८:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अंग्रेजी किन सिक्ने र कसरी ?

विस्तृत अध्ययन, अनुसन्धानबिना सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउनमात्र अंग्रेजी माध्यम बनाउनु फेरि अर्को शैक्षिक दुर्घटना निम्त्याउनु हो ।
मधु राई

काठमाडौँ — ‘म्याम मलाई इङलिसमा’ ‘म्याम मलाई हिन्दीमा’ ‘म्याम मलाई नेपालीमै’ कक्षाकोठामा पस्ने बित्तिकै ‘नानीहरू पहिले कुन भाषामा कुरा गरुँ ?’ भनेर सोध्दा युकेजीका नानीबाबुहरूले प्राय:जसो यस्ता जवाफ दिने गर्छन् । कक्षा ‘वर्म अप’ गराउन पनि पालैपालो उनीहरूले चाहेको भाषामा एकछिन कुरा गरेपछि ‘हा..हा..’ गर्दै हाँस्छन् ।

अनि मात्र पाठभित्र पस्छु । यस्तै अंग्रेजी लगायत विज्ञान विषय अंग्रेजी माध्यममा पढाउँदा सकेसम्म नयाँ शब्दको परिचय उच्चारणसहित सेतोपाटीमा नेपालीमा शब्दार्थ लेखेर बुझाउने प्रयास गर्छु । अनि मात्र उनीहरूलाई पाठ बुझाउने थप अभ्यास गराउँछु । विज्ञान विषयको शिक्षण सिकाइमा शैक्षिक सामग्री प्रयोग गरेपछि केही हदसम्म सहज हुने अनुभव गर्दै आएकी छु ।

म जस्ता शिक्षक जसले स्कुले शिक्षा हासिल गर्दा २/३ भाषा सिक्ने अवसर पाएकालाई अन्य भाषा सहज भए पनि नेपाली वा अंग्रेजी माध्यममा स्कुले शिक्षा हासिल गरेकालाई त्यति सहज हुँदैन । सन् ६० र ७० को दशकमा भारतको पश्चिम बंगाल राज्यको जलपाइगुडी जिल्लामा स्कुले शिक्षा हिन्दी र दार्जिलिङमा उच्चशिक्षा अंग्रेजी माध्यममा हासिल गर्ने म जस्ताले ४ वटा भाषा पढ्नुपर्ने बाध्यता थियो । प्राथमिकतहदेखि हिन्दी माध्यममा शिक्षा आर्जन गर्ने विद्यार्थीले ऊबेला कक्षा ७ मा ऐच्छिक भाषा संस्कृत र बङ्गला भाषालाई तेस्रो भाषाको रूपमा अपनाउनुपर्ने बाध्यता थियो ।

आफू नेपालीभाषी भए पनि स्कुले शिक्षा आर्जन गर्ने पहाडे मूलका मजस्ता नेपाली विद्यार्थीले पहिलो भाषा हिन्दी, दोस्रो अंग्रेजी र तेस्रो भाषा बङ्गला पढ्नुपथ्र्यो । ऊबेला सिकेको भाषामध्ये अंग्रेजी भाषा आज जीविकोपार्जनको मेलोमात्र बनेको छैन, यसले अंग्रेजी भाषाको पत्रपत्रिका र पुस्तक पढ्न सहज बनाएको छ । हिन्दी र बङ्गला भाषा विद्यार्थीलाई एकछिन भए पनि मनोरञ्जन प्रदान गर्ने माध्यम बनेको छ भने हिन्दी र नेपालीको लिपि उस्तै भएकाले अखबारी लेखन यात्रालाई समेत सहज बनाएको छ, ऊबेलाको हिन्दी माध्यमले ।

विडम्बना भन्नुपर्छ, पछिल्लो समय नेपालमा अंग्रेजी माध्यममा स्कुले शिक्षा आर्जन गर्नु/गराउनु आवश्यकताभन्दा पनि बाध्यता बन्दै गएको छ । निजी विद्यालयहरूले अंग्रेजी भाषालाई स्कुले शिक्षाको माध्यम बनाएपछि अंग्रेजी भाषाप्रतिको आकर्षण बढेको छ । तथापि निजी विद्यालयहरूको विगत र वर्तमान केलाउने हो भने यसले ५ थरीका विद्यार्थी उत्पादन गर्दै आएको प्रस्ट देखिन्छ । पहिलो उत्कृष्टमा पर्नेहरू चिकित्सक, इञ्जिनियर र पाइलट ।

दोस्रो उत्कृष्टमा पर्नेहरू छात्रवृत्ति पाएर उतै विदेशिएका छन् भने तेस्रो ठूलो धनराशि खर्ची उच्चशिक्षा हासिल गर्ने भन्दै विदेशी भूमिमा अहोरात्र खट्न बाध्य छन् । चौथो थरीका नेपालमै उच्चशिक्षा हासिल गर्दागर्दै बीचमा छाडेका वा पुरा गरेकाहरू खाडी मुलुकमा श्रम बेच्न बाध्य छन् । पाँचौं थरीका कोही शिक्षण त कोही सानातिना व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका छन् । समग्रमा, निजी विद्यालयहरूले स्वदेशलाई भन्दा विकसित मुलुकलाई चाहिने जनशक्ति उत्पादन गर्दै आएका छन् । यस विषयमा शिक्षाका सरोकारवालहरूले त्यति धेरै अध्ययन, अनुसन्धान गरेको पाइँदैन ।

बितेको ३/४ दशकभित्र अंग्रेजी माध्यममा स्कुले शिक्षा आर्जन गरेका बहुसंख्यकको गन्तव्य विदेशी भूमि बन्दै गएको यथार्थ कसैबाट छिपेको छैन । विस्तृत अध्ययन, अनुसन्धानविना सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउनमात्र अंग्रेजी माध्यम बनाउनु फेरि अर्को शैक्षिक दुर्घटना निम्त्याउनु हो । किनभने विगतमा निजी विद्यालय पढेका बहुसंख्यकले विदेशलाई गन्तव्य बनाएका छन् । भोलि सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा शिक्षा हासिल गर्नेहरूको गन्तव्य पनि विदेश नै हुने निश्चितप्राय: छ ।

अध्ययन, अनुसन्धानविना २०२८ सालपछि खुलेका बहुसंख्यक निजी विद्यालय सञ्चालकहरूले शिक्षाकोमाध्यम अंग्रेजी बनाएपछि उनीहरूले पलायनवादीशिक्षालाई महत्त्व दिंँदै आएको पाइन्छ । निजी विद्यालयपढेका बहुसंख्यक विद्यार्थीले स्कुले शिक्षा आर्जन गरिसक्दा‘मैले पाएको स्कुले शिक्षाले म र मेरो देशलाई काम लाग्ने के–के सिकायो त ?’ भनेर सोच्नुको सट्टा ‘नेपालमा त स्कोप नै छैन । अंग्रेजहरूकै देश जानुको विकल्प छैन’ भन्नेसोचको विकास गराउनुमा अंग्रेजी भाषाको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ ।
कतिपय शिक्षाविद्ले ३ कक्षासम्म साना विद्यार्थीले नेपाली भाषा वा मातृभाषामा शिक्षा आर्जन गर्दा सिकाइ प्रभावकारी र दिगो हुने औंल्याएका छन् । साना विद्यार्थी जसले नेपाली भाषामा दोहोरो कुरा गर्नसमेत सक्दैनन्, उनीहरूलाई अंग्रेजी भाषा सिकाउनु भनेको उसले चाहेको भाषामा शिक्षा हासिल गर्न पाउने अधिकार हनन गर्नु हो ।

अंग्रेजहरूलाई अंग्रेजी भाषाले व्यक्तित्व विकास गर्न र देशमै गरिखाने जनशक्ति उत्पादन गर्न सहयोग गरे पनि हामीकहाँ अंग्रेजी भाषाले विदेशिनमात्र प्रेरित गर्दैछ, चाहे त्यो उच्चशिक्षाको नाममा होस् वा रोजगार बन्न । अमेरिकी शिक्षक तथा शिक्षाविद जन हल्टका अनुसार स्कुले शिक्षाले विद्यार्थीलाई पहिले आफू र आफू हुर्कने समाजसँग परिचित गराउनु शिक्षाको पहिलो उद्देश्य हो भने आफू हुर्कने समाजमा कसरी बाँच्ने र प्रतिकूल परिस्थितिको सामना गर्न कसरी गर्ने भनेर सिकाउनु शिक्षाको दोस्रो मूल उद्देश्य हो ।

उनको यो भनाइ मनन गर्ने हो भने अहिले निजी विद्यालयमात्र होइन, हाम्रो समग्र स्कुले शिक्षा नै असफलताको बाटोमा हिँडिरहेको छ । यस्तो विषम परिस्थितिमा अंग्रेजी भाषालाई स्कुले शिक्षाको माध्यम बनाउनु भनेको फेरि पलायनवादी शिक्षालाई मलजल गर्नु हो, जुन निजी विद्यालयले गर्दै आएको छ । यस अर्थमा १३/१४ वर्ष खर्चेर निजी विद्यालय पढेका विद्यार्थीका लागि अंग्रेजी भाषाले नत देशलाई चाहिने जनशक्ति बन्न प्रेरित गर्‍यो, न उनीहरूमा राष्ट्रभाव नै जगायो ।

निजी विद्यालयले पनि अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्दा विद्यार्थीलाई थप के–के सिकाउँदा विद्यार्थीले स्वदेशमै गरिखाने शिक्षा पाउँछन् र उनीहरूमा राष्ट्रप्रेमको भावना जागृत गराउन के कस्तो क्रियाकलाप थप्ने हो भन्ने विषयमा संवेदनशील हुन जरुरी छ । किनभने शिक्षा चाहे निजी हुन् वा सामदायिक, माध्यम चाहे अंग्रेजी होस् या नेपाली बहुसंख्यकले जागिरमुखी शिक्षालाई प्रोत्साहित गरेको पाइन्छ ।

यी दुवै खाले विद्यालयले अबका दिनमा जागिरमुखी शिक्षा होइन, जागिर दिनसक्ने जनशक्ति उत्पादन गर्न जरुरी छ । जागिर दिनसक्ने जनशक्ति उत्पादन गर्ने विषयमा अंग्रेजी भाषाले के कस्तो सहयोग गर्छ र गरिरहेको छ ? कुन भाषामा शिक्षा प्रदान गर्नेभन्दा पनि समाज र देशलाई विकास र समृद्धिको पथमा हिँडाउन के कस्ता जनशक्ति चाहिन्छ भन्ने विषयमा राष्ट्रिय बहस हुन जरुरी छ ।

प्रकाशित : माघ ३, २०७५ ०७:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT