१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

चेतनाको झिल्को

यादव देवकोटा

काठमाडौँ — गंगालाल श्रेष्ठलाई अंश सर्वस्वसहित फाँसीको सजाय सुनाएपछि भनियो, ‘उमेर कलिलै भएकाले माफी मागे आजन्म कारावास ।’ गंगालालले तुरुन्तै हाँक दिए, ‘कसैले बक्स दिएको ज्यानलाई स्वीकार गरेर बाँच्दिन ।’ तुरन्तै उनलाई फाँसीकै सजाय सुनाइयो । त्यस्तै, अंश सर्वस्वसहित फाँसीको सजाय सुनाइएपछि ठूलठूलो स्वरले हाँस्दै दशरथ चन्द गर्जिए– ‘फाँसी क्या चिज है ?’

चेतनाको झिल्को

‘हेर, हामी झुन्डिएर हैन, गोली खाएर मर्न चाहन्छौं । त्यसैले तिम्रो महाराजलाई हाम्रो सजायमा फाँसी भए पनि गोली हान्ने आदेश दिन भनिदेऊ’ दशरथ चन्द र गंगालालले जेलका कर्णेलसँग भनेपछि कर्णेलमार्फत जुद्धशमशेरले गोली ठोकेर मार्ने आदेश सदर गरे । त्यस अघि दशरथ र गंगालालबीच ‘झुन्डिएर हैन, वीरले झैं गोली खाएर मर्नुपर्छ’ भन्ने सल्लाह भएको थियो, शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई झुन्ड्याएर मारिएको विवरण सुनेपछि । शोभाभगवती नजिकको भौंचाखुसी र विष्णुमतीको दोभानमा गोली ठोक्न ठिक्क पारिएका दशरथ चन्दसँग नरशमशेरले अन्तिम इच्छा सोधे । दशरथ चन्दले हक्की स्वरमा नरशमशेरलाई सोधे, ‘मेरो इच्छा तैंले पुर्‍याउन सक्छस् ?’ उनी केही बेर अडिए र फेरि भने–‘राणाशासन खतम भएको हेर्ने इच्छा छ ।’


रिसाएका नरशमशेरले गंगालाल र दशरथलाई बाँध्ने आदेश दिए र गंगालाललाई भने, ‘अझै पनि समय छ, माफी माग् ।’


गंगालालले फेरि हाँक दिए, ‘मैले माफी माग्नुपर्ने काम के नै गरेको छु र ? फेरि तँ जस्तो मानिससँग किन माफी माग्छु ? बरु तैंले राणाहरूले गरेको अत्याचारका लागि हामीसँग माफी माग् ।’ त्यस अघि धर्मभक्त माथेमालाई सिफलमा झुन्ड्याउनु अघि नरशमशेरले उनलाई सोधेको अन्तिम इच्छाको जवाफमा धर्मभक्तले उस्तै हाँक दिएका थिए, ‘राणाशासनको चाँडै अन्त्य भएको देख्न मन छ ।’

राजेश गौतमकृत ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रजापरिषदको भूमिका’ पुस्तकका यी विवरणले हरकोहीलाई तरंगित बनाउँछ ।


...

विसं १९०३ मा हनुमानढोकाको कोतमा तत्कालीन समयका मुख्य इतर भारदारहरूको हत्या गरेर शक्ति हातमा लिएका थिए, जंगबहादुरले । त्योसँगै देश राणाहरूको हुकुमी मनोमानीको मुठ्ठीमा कैद हुनगएको थियो । आफ्नो स्वार्थ र हुकुमीतन्त्रमा रौं बराबर तलवितल हुनसक्ने देखेमा आफ्नै छोरा, भाइभतिजा, काकाहरूको त हत्या गर्न अपसोच नमान्ने राणातन्त्रका अंशियारहरू सर्वसाधारण जनताको बगावतलाई दमनको कुचक्रमा पिसिदिन हमेशा तम्तयार रहन्थे । सत्ताको ताबेदारी, सुराकी र चाकरी बजाए बापत विजयराज पाण्डेहरूले राजगुरुको बक्सिस थाप्ने, उन्नति, प्रगति हुने क्रम पनि जारी थियो । सत्ताले सधैंभर आफ्नो भजन गाएर अँध्यारोमा निमग्न सुतिदिने जनताको अपेक्षा गरिरहन्छ । तर सबै जनता, सधैंभर सत्ताको गीत गाएर उज्यालोको खोजीलाई सत्ताको बुटमुनि चेपिइरहन दिन तयार हुँदैनन् । चेतनाको झिल्को सानै भए पनि बाल्न र बोकेर कुद्न तयार मानिसहरूको खडेरी जस्तै अनिकालका दिनमा पनि समयले बेर्होनु पर्दैन । ढिलो–चाँडोमात्रै हो ।


विगुल

राणाशाहीले सर्वसाधारणको अभिव्यक्ति, शिक्षा, राजनीतिक, व्यक्तिगत अधिकारहरू मुठ्ठीमा निचोरेर राखे पनि जनताले त्यसको प्रतिवाद भने गरिनै रहे । विसं १९१४ मै गोर्खाकै जमदार काशीमान गुरुङले साथीहरूको सहयोग लिएर जङ्गबहादुरको हत्या गर्न खोजेको पोल खोलिएपछि उनलाई समातेर गोली हानी मारिएको थियो । लखन थापाभन्दा पहिले नै मारिएका काजीमान छाडेर लखन थापा कसरी पहिलो सहिद भएका हुन् भन्ने प्रश्न छँदैछ ।


शृङखला

गोर्खा बुङकोटका लखन थापाले जङ्गबहादुरलाई हटाउने र आफू नेपालको शासक बन्ने भनेर फौज तयार गरेका थिए । उनलाई जंगबहादुरले सरकारी फौजमार्फत बन्धक बनाई हत्या गरेका थिए । १९३३ मै गोर्खाका शुक्तदेव (शुक्रदेव) गुरुङले जङ्गबहादुरलाई मारेर आफू नेपालको महाराज बन्ने भन्दै तयारी गरे । त्यसको पोल खुलेपछि पक्राउ परेका उनी जेलमै मारिए । १९३४ मा गोर्खाकै सुपती गुरुङले पनि जङ्गबहादुरलाई हटाउन प्रयास गरेपछि राणाशाहीले उनलाई लापत्ता बनाइदिएको थियो ।


पर्वत पाखापानीमा तुले रोहानीले सरकारको विरोध गरेपछि धौलागिरिमा मगर भाषामाथि नै प्रतिबन्धको डन्डा वर्षाइयो । माधवराज जोशीले आर्य समाज गठन गरी काठमाडौं र काठमाडौं बाहिर पनि गतिविधि अघि बढाइरहेका थिए । १९६२ मा सिंहदरबारमा भएको शास्त्रास्र्थमा दरबारिया पण्डितहरूको हार भएपछि उनीहरूले माधवराजमाथि पशुपतिनाथको मन्दिरलाई ढुङ्गाको थुप्रो भन्यो भन्दै कुटेर बेहोसमात्र बनाएनन्, देशै निकाला गरियो ।


चेतना

विसं १९६९ मा बाबुराम आचार्य लिखित ‘नेपाली शिक्षा दर्पण’को हजार प्रति जफत गरियो । सुब्बा कृष्णलाल अधिकारीले ‘मकैको खेती’ लेखेर ‘मकै खाने रातो टाउको र कालो टाउको भएको किरा’ उल्लेख गरेका थिए । त्यस बखत चन्द्रशमशेरले रातो र भीमशमशेरले कालो टोपी लगाउने गरेका थिए । उनलाई ‘बालकलाई आमाको दूध बराबर चन्द्रोदयले फाइदा गर्दैन’ लेखेर चन्द्रशमशेरको विरोध गरेको अर्थ माहिला गुरुज्यू हेमराज पाण्डेले लगाएर १९७७ साउन ११ मा पक्राउ गरी थुनामा हालियो । जेलमै क्षयरोगका कारण विसं १९८० मा उनको निधन भयो ।


पुस्तकालय खोल्न माग गरेको आरोपमा लक्ष्मीप्रसाद देवकोटा, चित्तधर ह्दय, कृष्णप्रसाद कोइराला लगायत पक्राउ गरिए । १९८८ तिर प्रचण्ड गोर्खा गठनको तयारी गरेका खण्डमान सिंह, मैनाबहादुर, खड्गमान सिंह, रंगनाथ शर्माहरू पक्राउ परी आजीवन कारावासमा परे । त्यसरी पक्राउ परेका खण्डमान सिंह जेलभित्रै फलामको सिक्री, गलबन्दी र गोलाले रगत चुसेर क्षयरोग भई यातनाकै कारण विसं १९९२ चैत २५ मा र मैनाबहादुर जेलभित्रको यातना र पर्याप्त खानसमेत नपाई १९९५ भदौ ५ गते सहिद भए (सिंह, खड्गमान–जेलमा बीस वर्ष, पृ. १३१) ।


असनका राजालाल कलवारको कोठामा शुक्रराज शास्त्री (जोशी), केदारमान व्यथित सहितले ‘नेपाली नागरिक अधिकार समिति’ गठन गरी विसं १९९५ मंसिरमा इन्द्रचोकमा शुक्रराज शास्त्रीले गीता प्रवचन दिए भने १८ वर्षीय गंगालाल श्रेष्ठले नेपालकै पहिलो राजनीतिक भाषण दिए । त्यसको भोलिपल्ट पक्राउ परेका शुक्रराजलाई तीन वर्ष जेल सुनाइयो ।


यही दमन र प्रतिरोधको सिलसिला जारी रहेकै बखत विसं १९९३ जेठमा झोँछे ओमबहालमा धर्मभक्तकी फुपू युगकुमारी रायको घरमा टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, दशरथ चन्द, जीवराज शर्मा, रामहरि शर्मा लगायतले नेपालको पहिलो राजनीतिक संगठन स्थापना गरे । जसको नाम दशरथ चन्दले प्रस्ताव गरे बमोजिमै ‘प्रजापरिषद’ राखियो (गौतम, उही) । प्रजापरिषदको गोप्यता नखुलोस् र राणा विरुद्धको कारबाही अघि बढाउन सजिलो होस् भनेर संस्थापकहरूले आफ्नो उपनाम राखेका थिए । जस अनुसार दशरथ चन्द (सेवा सिंह, सुशील), धर्मभक्त माथेमा (अजव बहादुर), टंकप्रसाद आचार्य (प्रकाश), रामहरि जोशी (हरेराम), जीवराज शर्मा (वसन्त) र त्रिभुवनलाई मुखिया र राणा प्रधानमन्त्रीलाई जमदार कोडनाम दिइएको थियो (शर्मा, जीवराज– नेपालमा राजनीतिक हलचल) ।


१९९७ मा प्रजापरिषदले काठमाडौंका विभिन्न स्थानमा चार पटकसम्म राणा विरोधी पर्चा छरेपछि अत्तालिएका राणाहरूको बैठकमा मोहनशमशेर, बबरशमशेर, शंकरशमशेर, नरशमशेर, हेमराज पाण्डे लगायतले पर्चा छर्नेमाथि कठोरतापूर्वक दमन गर्नुपर्छ भन्ने मत राखे । १९९७ कात्तिक २ गते धर्मभक्त, गंगालाल, दशरथ चन्द, जीवराज शर्मा, रामहरि शर्मा, बलबहादुर पाण्डे, चन्द्रमान सैंजु लगायत ५ सय हाराहारी प्रजापरिषदमा लागेको आरोपमा पक्राउ परे । दोषीहरूमाथि आवश्यक सजायको निणर्य गर्न पद्यशमशेर, मोहन, बबर, बहादुर, आनन्दशमशेर, हेमराज पाण्डे लगायत सम्मिलित विशेष अदालत गठन भयो । त्यही क्रममा १९९५ मै तीन वर्षका लागि जेल परेका नेपाल नागरिक समितिका शुक्रराज शास्त्रीलाई समेत सिंहदरबारमा पटक–पटक बयान लिन थालियो ।


उत्कर्ष

१९९७ माघ ६ गते बिहान सिंहदरबार फुटबल चौरमा नेल, हत्कडी, सिक्री लगाइएका प्रजापरिषदका सदस्यहरू र शुक्रराजलाई देखाउँदै जुद्धशमशेरले, ‘हाम्रा गाथगादी ताक्ने, देशको ढुंगा खलल गर्नेहरूलाई के कारबाही गर्ने ?’ भनी सोधे । गुरुज्यू हेमराज पाण्डे र पण्डित सोमनाथ सिग्देलले मनुस्मृति र याज्ञवल्क्य स्मृतिमा उल्लेख श्लोकहरूको आडमा राजद्रोहीहरूलाई चाहे त्यो ब्राह्मण नै किन नहोस् ‘मृत्युदण्ड दिन सकिन्छ’ भन्ने तर्क पेस गरे । त्यसको प्रतिवादमा शुक्रराजले–‘प्रजालाई शोषण गर्ने शासकलाई पनि शास्त्रमा सजाय तोकेको छ । हमको भी कहने दो’ भनिरहँदा उनको मुखमा बन्दुकको कुन्दा हालेर बोल्न दिइएन (उदास, गेहेन्द्रमान– नेपालमा प्रजातन्त्र र श्री ५ त्रिभुवन, पृ. १२८) । शुक्रराज, धर्मभक्त, दशरथ, गंगालाल र पूर्णनारायण प्रधानलाई फाँसीको सजाय दिने फैसला भयो । पछि प्रधानको सजाय घटाएर १८ वर्ष कैदमा परिवर्तन गरियो । पहिले गीता पाठ गरेको आरोपमा पक्राउ परी तीन वर्ष जेल हालिएकोमा शुक्रराजलाई तत्कालीन गुरुपुरोहितले आर्य समाजी माधवराज जोशीको पालादेखिको हारको बदला लिन ज्यान सजाय दिन लगाएको देखिन्छ (उदास, उही, पृ. १३१) ।


झिल्को

त्यही फैसला कार्यान्वयनको क्रममा १९९७ माघ १० गते राति १२ बजे सुतिरहेका शुक्रराजलाई टेकुको पचलीमा खरीको बोटमा झुन्ड्याएर हत्या गरियो । धर्मभक्तलाई माघ १३ गते सिफलमा झुन्ड्याइयो । दुई दुई पटकसम्म डोरी चँुडिएर भुइँमा पछारिएका धर्मभक्तलाई रक्तमुच्छेल र घिटघिटे अवस्थामा पुन: रुखमा झुन्ड्याएर प्राण लिइयो । दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा माघ १४ गते राति गोली ठोकेर हत्या गरियो । त्यही प्रकरणमा जेल सजाय भोगिरहेका प्रजापरिषदका सदस्य बलबहादुर पाँडेको जेलभित्रै विसं १९९९ चैत २२ मा निधन भएको थियो । महावीर स्कुल स्थापनाको आरोपमा पक्राउ परेका चिनियाँलाल जेलभित्रै विसं २००१ असार २६ मा सहिद भए ।


यसरी उनीहरू राणाशासन विरुद्ध चेतनाको फिलिङ्गो झोसेर हाँसी–हाँसी सहादत लिए । चेतनाको झिल्को बनेर नेपाली समाजको छात्तीमा तातो लगाइदिए । र कालान्तरमा त्यही झिल्कोले राणाहरूको हुकुमी जञ्जिरलाई खरानी बनाइदियो ।


पछि २०१२ माघको दोस्रो सातादेखि काठमाडौं नगरपालिकाको संयोजकत्वमा मनाउन थालिएको सहिद सप्ताह अहिले पनि मनाइन्छ । सहिद सप्ताहमा चार सहिदलाई सम्भँmदा कमसेकम राणाकालमै मारिएका, जेलमा सहिद भएकाहरूलाई सम्झने र सम्मान गर्ने काम अहिले पनि हुनसकेको छैन । सहिदहरूले जुन चेतनाको झिल्को आफ्ना सपनाको बाटो देखाउन बालेर गएका थिए, त्यो आज पनि उत्तिकै आदर्शमय छ । नागरिक चेतनालाई रछ्यानमा दपेट्न सत्ताले आफूमाथि प्रश्न उठाउनेलाई अरिंगाल बनेर जाइलाग्न बफादारहरूलाई उर्दी जारी गरेका बेला चेतना, प्रतिवाद र स्वतन्त्रताको उज्यालो बालेर गएका सहिदहरूको बलिदानको सान्दर्भिकता अझै निख्खर बनेको छ ।

प्रकाशित : माघ १६, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?