कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

किन फुट्छन्, पार्टीहरू ? 

केशव दाहाल

काठमाडौँ — विवेकशील साझा पार्टी फुट्यो । यो अनपेक्षित थियो । एउटा बन्दै गरेको पार्टी फुट्न हुँदैनथ्यो । पछिल्ला पुस्ताका सपनाहरूलाई हुर्काउँदै गरेको पार्टी झन् जुट्नु पर्थ्यो । तर फुट्यो । यो फुटसँंगै केही गम्भीर प्रश्न उठे ।

किन फुट्छन्, पार्टीहरू ? 

जस्तो– भर्खर हुर्कंदै गरेको पार्टीभित्र के संकट थियो ? आफूलाई वैकल्पिक भन्ने पार्टी भित्रको एकतालाई कस्ने पार्टपुर्जाहरू किन कमजोर ? लोकतन्त्र र सफा राजनीतिको कुरा गर्ने पार्टी भित्रको लोकतन्त्र किन यति कच्चा ? यी विवेकशील साझासँग सम्बन्धित प्रश्नहरू मात्र पनि रहेनन् । पार्टी एकता, विभाजन र त्यसले सिर्जना गर्ने अनुभव सार्वजनिक सरोकारका विषय हुन् ।


फुटको कथ्य

संसारभर पार्टी विभाजनको रोचक इतिहास छ । जस्तो– अमेरिकामा उन्नाइसौं शताब्दीका प्रारम्भिक वर्षहरूमा मुख्यत: दुइटा पार्टी क्रियाशील थिए । फेडरलिष्ट पार्टी र डेमोक्रेटिक रिपल्लिकन पार्टी । फेडरलिष्ट पार्टीको मुख्य ‘कन्ष्टिच्युयन्सी’ थियो, संघीयता । यसर्थ यसले मध्यम र गरिब अमेरिकीको समर्थन गुमाउँदै गयो । डेमोक्रेटिक रिपब्लिकन पार्टी निम्न मध्यमवर्ग र सामाजिक न्यायको पक्षमा थियो । यो तुलनात्मक रूपमा प्रगतिशील पार्टी मानिन्थ्यो । तर जे नहुनु थियो, त्यही भयो । उन्नाइसांै शताब्दीको तेस्रो दशकतिर यो पार्टीमा विभाजन आयो । पार्टी दुई भागमा बाँडियो । एउटा डेमोक्रेटिक पार्टी बन्यो । अर्को रिपब्लिकन । आज अमेरिकामा यी दुइटा पार्टीले पालैपालो राज गरिरहेका छन् ।


भारतीय राष्ट्रिय कांग्रेसमा सन् १९२३ देखियता ६५ पटक विभाजन र टुटफुट भएको देखिन्छ । जसमा भारतका चर्चित नेताहरू सुभाषचन्द्र बोस, इन्दिरा गान्धी, चरण सिंह, सरद पवारहरू स्वयं संलग्न थिए । सुभाषचन्द्र बोसलाई उनी पार्टीको अध्यक्ष भएकै समयमा जिम्मेवारीबाट हटाइयो । दोस्रो विश्वयुद्ध सुरु हुँदै गर्दा ब्रिटिसलाई भारतभित्र शक्तिशाली प्रहार गर्नुपर्छ भन्ने बोसको लाइन थियो । गान्धी स्वयं भने अप्ठ्यारोमा शत्रुलाई पनि सुविधा दिनुपर्ने ठान्थे । भारतमा पार्टी विभाजनका अनेक घटना छन् । केही अघि आफ्नै बाबुछोरा बीचको मतभेदका कारण उत्तर प्रदेशको सत्तारुढ पार्टी विभाजित भयो ।


यता नेपालमा पनि पार्टीहरूको विभाजन, बहिर्गमन र एकताका आफ्नै तथ्य–तथ्यांक छन् । जस्तो– नेपाली कांग्रेस पटक–पटक विभाजन र टुटफुटको सिकार भएको छ । जसमा एकबेलाका चर्चित नेता तुलसी गिरी स्वयंले कांग्रेस छोडेका थिए । कुनै बेला कांग्रेसबाट पार्टीका महामन्त्रीहरू नै निस्किए । २०१७ सालपछि कतिपय प्रभावशाली कांग्रेस नेताहरू पञ्चायतमा प्रवेश गरे । कोही पलायन भए । बीचमा अनेक सांगठनिक संकटका कारण कांग्रेसको महाधिवेशन झन्डै २ दशक हुन सकेन । पछिल्लो समय शेरबहादुर देउवाको नेतृत्वमा भएको कांग्रेसको विभाजन ताजै छ । २०५१ पछि किशुनजी र गणेशमान समेत पार्टीबाट बाहिरिए । आज पनि पूर्व कांग्रेसीहरूले बनाएका नाम र गुमनाम पार्टीहरू नेपाली राजनीतिमा अनेक देख्न सकिन्छ ।


नेपाल कम्युनिष्ट पार्टीमा बहिर्गमन र विभाजनको कथा अझ अपरम्पार छ । २०१४ सालमा भएको पार्टीको दोस्रो महाधिवेशनपछि यो पार्टी अनेक संकट, फुट र विभाजनमा पँmस्यो । तेस्रो महाधिवेशनपछि कम्युनिष्टहरू लगभग दुई दर्जन टुक्रामा बाँडिए । पार्टीभित्र अनेक चर्चित नेताहरू कारबाहीमा परे । स्वयं महासचिव केशरजंग रायमाझीमाथि अनुशासनको डन्डा लाग्यो । सेक्टर काण्डपछि पार्टी प्रमुख मोहन वैद्य लगायत मुख्य नेताहरूलाई एक तह घटुवा गरियो । राधाकृष्ण मैनाली, सीपी मैनाली, मोहनचन्द्र अधिकारीहरू गुमनाम भए । २०५१ पछि पनि नेकपा एमालेको फुट रोकिएन । महाकाली सन्धिको निहुँमा वामदेव गौतमले लगभग आधा शक्तिलाई आफूसँग लिएर माले पुनर्गठनको प्रयत्न गरे । २०६४ पछि अशोक राई लगायत जनजाति नेताहरू प्राय: धेरैले पार्टी छाडे । अर्को ठूलो कम्युनिष्ट पार्टी माओवादीको टुटफुटको कथा आलै छ । वैद्य, भट्टराई, विप्लवहरू पनि माओवादीबाट फुटे नै । पछिल्लो समय आहुती र गोपाल किरातीहरू पनि नयाँ पार्टी निर्माणमा जुटेका छन् ।


असल कामना गरौं कि ‘पार्टीहरू नफुटेका भए हुन्थ्यो’ । निश्चय नै नफुट्नु राम्रो हो । तर इतिहास पढ्दा लाग्छ, पार्टीहरूको विभाजन र एकता निरन्तर चल्ने प्रक्रिया हो । त्यसैले त भनिन्छ, एकता, विभाजन र एकता एउटा चक्र हो । कहिलेकाहीं फुटले शक्ति दिन्छ । मात्र त्यसलाई व्यवस्थित र तर्कपूर्ण बनाउन सक्नुपर्छ ।


फुटका कारण

किन फुट्छन् पार्टीहरू ? यसलाई मूलत: तीनवटा कारणमा संकेन्द्रित गर्न सकिन्छ । पहिलो, राजनीतिक कारण । दोस्रो, शक्ति र सत्ताको अंशबन्ड । तेस्रो, मनोवैज्ञानिक बेमेल । विवेकशील साझा पार्टीको विभाजन पनि यिनै कारणको सेरोफेरोमा छ ।


राजनीतिक कारणभित्र मूलत: विचार, एजेन्डा र कार्यदिशा पर्छन् । राजनीतिक कारण नै पार्टी निर्माणको मुख्य आधार भएकोले पार्टी विभाजनका लागि पनि यही नै मुख्य कारण बन्छ । जब पार्टीमा विचार, एजेन्डा र कार्यदिशामा विवाद, असमझदारी र फरक दृष्टिकोण हुन्छन्, स्वभावत: पार्टी फुट्छ । फरक दर्शन र राजनीतिक दृष्टिकोण बोक्नेहरू एउटै पार्टीमा बस्नु पनि हुँदैन । संसारका अनेकौं पार्टी यस्तै विषयमा तीव्र विवाद भएर फुटेका छन् । यस्ता फुटलाई स्वाभाविक मानिन्छ । तर फुटको अर्को कारण पनि हुन्छ । जो मूलत: सत्ता र शक्तिसँग सम्बन्धित छ ।


सबैलाई थाहा छ कि पार्टी सत्ता र राज्यसत्ता शक्तिका स्रोतहरू हुन् । यी यस्तो शक्तिका स्रोत हुन्, जसले मान्छेलाई अझ लोभी, घमन्डी र महान भएको ‘भ्रम’ निर्माण गरिदिन्छ । बस, आफूमा निहित यस्तो शक्तिलाई उसले थोरै पनि तलमाथि गर्न चाहँदैन । अत: पार्टीभित्र शक्ति विन्यास सन्तुलित हुँदैन । परिणाम शक्ति स्वार्थको टकराव सुरु हुन्छ र पार्टी फुट्छ ।


पार्टी विभाजनको तेस्रो कारण भने ‘इगोसँग’ सम्बन्धित छ । यो मूलत: नेताहरूको चरित्र, कार्यशैली, कार्यप्रक्रिया, एकअर्काप्रतिको आदर, प्रेम, नाम र गुमनामसँग सम्बन्धित छ । जब नेताहरूमा चरम इगो सिर्जना हुन्छ, तब पार्टी फट्छ । फुटको असली कारण भने उनीहरू भित्रको अहंकारको पिलो हुन्छ, जो भित्र–भित्रै पाक्छ र फुट्छ ।


विवेकशील साझा किन फुट्यो ?

विवेवशील साझा पार्टी फुट्नुको कुनै राजनीतिक कारण देखिँदैन । मूलत: सहभागितामूलक लोकतन्त्र र कल्याणकारी राज्य यो पार्टीको वैचारिक लाइन हो । जसमा कसैको कुनै विमति थिएन । पार्टीले केही मूल्य–मान्यता आफ्नो जीवन प्रणालीमा जोड्न चाहन्थ्यो । त्यसमा पनि कुनै विवाद देखिँदैन । सुशासन, सामाजिक न्याय र सदाचारलाई पार्टीले अभ्यास गर्दै थियो । त्यसमा पनि विवाद गर्नुपर्ने कारण छैन । रह्यो, शक्ति बाँडफाँडको कुरा, सानो र नयाँ पार्टीमा निश्चय नै यो प्रमुख विषय होइन । तथापि पार्टीमा दुईजना संयोजक थिए । भएका विभागहरूमध्ये अधिकतम विभागको जिम्मेवारी फुटेर जाने साथीहरूकै काँधमा थियो । फुटेर जानेमध्ये दुईजना नेता स्वयं प्रदेश सांसदजस्तो लाभको पदमा थिए । अत: सार्टी सत्ताको भागबन्डामा पनि कुनै तलमाथि परेको लाग्दैन । विवेकशील साझा पार्टी विभाजनको एकमात्र कारण मनोवैज्ञानिक हो । जस्तो कसैलाई लाग्यो, म हेपिएँ । म पेलिएँ । म पछाडि पारिएँ । मेरो कुरा सुनिएन । म अंकगणितको खेलमा परेँ । आउने अधिवेशनमा म हार्छु । मेरो कतै मानमनितो भएन । अब मेरो राजनीति सकिन्छ ।


यस्ता हुँदै नभएका कारणले कसैमा सामुहिक त्रास निर्माण गरिदियो । नभएका कारणले जब मान्छेको मनलाई सताउन थाल्छ, तब आशंका, अविश्वास र इगो सिर्जना हुन्छ । विवेकशील साझा पार्टी फुटको मुख्य कारण यही नै हो । अन्यथा बाहिर चर्चा गरिए जस्तो एउटा इमेलले पार्टी फुट्छ ? एउटा एजेन्डाले पार्टी फुट्छ ? एउटा बैठकले पार्टी फ्ट्छ ? बैठकको अघिल्लो दिन पार्टी फुट्छ ? फुट्नै नपर्ने कारण र फ्ट्नै नपर्ने दिनमा पार्टी फुट्नुको अर्थ यही नै हो कि त्यो राजनीतिक कारण विनाको फुट हो । त्यो इगो र आशंकाले सिर्जना गरेको विभाजन हो ।


इगो व्यवस्थापन

के हो, इगो वा अहं ? ‘अहं’ वा ‘इगो’ जीवनको शाश्वत र स्वाभाविक गुण हो । शास्त्रहरूले भन्छन्– ‘अहं’ तिन प्रकारका हुन्छन् । लघुताबोधी, उच्चताबोधी र रचनात्मकताबोधी । लघुताबोधीहरू आफूलाई कमजोर ठान्छन् । त्यसैले उनीहरू जिरह गर्छन् । तर रक्षात्मक हुन्छन् । उच्चताबोधीहरू आफूलाई सर्वज्ञ र शक्तिशाली ठान्छन् । नेपाली राजनीतिको संस्थापन सदैव उच्चताबोधबाट ग्रसित छ । लघुताबोधी र उच्चताबोधीहरू दुवैले आआफ्नै कोणबाट राजनीतिलाई संकीर्ण, स्वार्थ उन्मुख र साँघुरो बनाइरहेका हुन्छन् । उच्चताबोधीहरू आफ्नो ज्ञान र अनुभवको निजत्व खडा गर्न चाहन्छन् । लघुताबोधीहरू मनमनै कुण्ठा पालेर बाँच्छन् । परिणाम यिनीहरूबीच संवाद सकिन्छ । अन्त्यमा त्यो टकरावको कारण बन्छ । तर मनोवैज्ञानिकहरू इगोको अर्को अवस्था पनि बताउँछन् । जसलाई रचनात्मकताबोधी इगो भनिन्छ । रचनात्मकताबोधी इगो मान्छेको सन्तुलित मनोविज्ञानको परिणाम हो । यो अलिक दुर्लभ मनोविज्ञान हो । यस्तो ‘इगो’ मान्छेको आत्मसम्मानलाई बुझ्ने र स्वीकार गर्ने अवस्था हो । यो इगोले प्रतिस्पर्धा, रचनात्मक पहल र परिवर्तनमा विश्वास गर्छ ।


स्वाभाविक छ कि मान्छेहरू ‘स्पेस’ खोजिरहेका हुन्छन् । स्पेस खोज्नु पनि अहं नै हो । जब यस्तो अहंलाई सम्बोधन गरिँदैन, मान्छे उग्र र आक्रामक बन्दै जान्छ । यो नकारात्मक हुँदै जान्छ । अनि नेताहरूले जिम्मेवारी लिन छाड्छन् । सम्हाल्नुभन्दा भत्काउनुमा उनीहरूलाई आनन्द आउँछ । यहींबाट राजनीतिक अराजकता र अपवित्र खेल सुरु हुन्छ । विवेकशील साझा पार्टी ठिक यही टकरावको सिकार बनेको देखिन्छ । विवेकशील साझा पार्टीमा केही साथीको इगो व्यवस्थापन हुन सकेन । रचनात्मकाबोधी इगो प्रबद्र्धन हुन सकेन । परिणाम पार्टी नै फुट्यो । यो फुटले दिएको एउटै शिक्षा के हो भने पार्टीहरूमा ‘इगो’ व्यवस्थापन महत्त्वपूर्ण काम हो ।

प्रकाशित : माघ १६, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?