कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बच्चाले घरमै बढी सिक्छन् 

बिना थिङ

काठमाडौँ — सिकाइ अनन्त छ । सिकाइबाटै व्यक्ति (बालबालिका समेत) ले आफूमा निहित ज्ञान, सीप, व्यवहार, मूल्य, क्षमतामा निखार ल्याउँछ । यसले मानिसमा घर, परिवार र समाजमा जस्तोसुकै परिस्थितिमा पनि अन्तरघुलन वा समायोजन गर्नसक्ने क्षमता अभिवृद्धि गराउँछ ।

बच्चाले घरमै बढी सिक्छन् 

जसरी एउटै गह्रामा उम्रिएको बालीमा एकरुपता, एकरसता भेटिँदैन, त्यसरी नै एउटै उमेर समूहका सबै बालबालिकाका स्वभाव एउटै र उस्तै हुँदैन । उनीहरूको पारिवारिक वातावरण, सामाजिक परिवेश, वंशाणुगत गुण जस्ताको आधारमा पनि सिक्ने क्षमता निर्भर रहन्छ । कोही छिटै सिक्छन्, कोही विस्तारै ।


सिकाइ प्रक्रिया गर्भावस्थादेखि आरम्भ हुन्छ भनी वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् । यसैलाई आधार मानेर हेर्दा बच्चाको मानसिक र शारीरिक विकासमा उसको आमाको स्वास्थ्य, आचरण र परिवेशले महत्त्वपूर्ण भूमिका खेल्छ । बालबालिका जन्मेको ५ वर्षभित्रमा उसको ९० प्रतिशत बौद्धिक क्षमता विकास भइसकेको हुन्छ । ८ वर्षको उमेरसम्ममा मानसिक विकास ८० प्रतिशत भइसक्छ । सामान्यतया यो केटाकेटीले आमा, बाबु तथा घरपरिवारसँग अत्यधिक समय बिताउने उमेर हो । यसैकारण पनि बालबालिकाको पहिलो पाठशाला घर हो भनिन्छ ।


बालबालिकाले आफ्नाले बोलेको, गरेको सुनेर–देखेर शब्द उच्चारणदेखि बानीव्यवहार निर्माण गर्दै जान्छन् । प्रत्यक्ष ज्ञानेन्द्रियहरूबाट प्राप्त अनुभव बाहेकको अस्तित्वलाई स्वीकार्दैनन् । यतिखेर सिकेको कुरा बालकको हृदयमा गढेर बसेको हुन्छ । बालबालिकाको सिकाइ प्रक्रियामा जति विद्यालय, शिक्षकले जिम्मेवारी बहन गर्नुपर्छ, त्योभन्दा बढ्ता अभिभावकको काँधमा त्यो जिम्मा रहन्छ ।


सिकाउने कामको मुख्य जिम्मेवारी विद्यालयले लिनुपर्छ भन्ने आम बुझाइ छ । त्यहाँ लगेर बालबालिका हुलिदिएपछि सिकिहाल्छ भन्ने सोच बलियो छ । हाम्रो बुझाइको गल्ती यसैमा छ । विद्यालय एउटा त्यस्तो संस्था हो, जहाँ बालकमा निहित क्षमता वृद्धि अथवा परिवर्तन गर्न आवश्यक परिवेश प्रदान गरिन्छ । बालबालिकाको उमेर, रुचि, क्षमता अनुरुप सिकाइको परिवेश उपलब्ध गराइन्छ । उनीहरूको आवश्यकता र क्षमता अनुरुप रचनात्मक वातावरण विद्यालयले दिनुपर्छ । सिक्ने बालबालिकाले नै हो । शिक्षकले सहजकर्ताको भूमिका निर्वाह गर्छ । यो आलेखमा अभिभावकको उत्तरदायित्वबारे मात्र चर्चा गर्ने प्रयास गरिएको छ ।


बालबालिकाले विद्यालयमा भन्दा बढी समय घर, परिवार, समाजमा बिताइरहेका हुन्छन् । उनीहरूको धार्मिक, सांस्कृतिक, नैतिक आचरणमा यही समुदायको प्रभाव परिरहेको हुन्छ ।


अभिभावकले आफ्ना बालबालिकालाई कुन वातावरणमा घुलमिल हुनदिने, कुनमा नदिने, बालबालिकाको सामुन्ने कस्तो क्रियाकलापलाई प्रश्रय दिने कस्तोलाई नदिने भन्ने हेक्का राख्नुपर्छ । बालबालिकाका अघिल्तिर प्रयोग गर्ने शब्दमा समेत अभिभावकले ध्यान दिनु जरुरी हुन्छ । हामी चाहन्छौं, बालबालिका आदर्शवान बनुन्, असल बनुन् । तर हामी नै उनीहरूसामु धूमपान, मद्यपान सेवन गरिरहेका हुन्छौं ! उनीहरूकै सामु झुट बोलिरहेका हुन्छौं । झैझगडा लगायतका गलत गतिविधि गरिरहेका हुन्छौं । अब स्वाभाविक प्रश्न उठ्छ, बालबालिकाले के सिक्छन् ?


बालबालिका स्वाभावैले जिज्ञासु, चञ्चल र अत्यधिक क्रियाशील रहन्छन् । बालबालिका आफ्ना कुतूहलता अभिभावकसँग पोख्छन् । अभिभावकले उनीहरूले सोधेको प्रश्नलाई भिँmजोको रूपमा लिने गरेको देखिन्छ ।


हामी चाहन्छौं, ती सबै कुतूहलता विद्यालयले शान्त पार्नुपर्छ ।


बालबालिका यति क्रियाशील हुन्छन् कि तिनीहरूसँग फाल्तु समय हुँदैन । केही न केही गरिरहेकै हुन्छन् । विद्यालय समय बाहिर (विद्यालयमा त अनुशासनको नाममा बाँधिएका हुन्छन्) उनीहरू अत्यधिक सक्रिय हुन्छन् । तर अभिभावकका आँखामा तिनको गतिविधि खेलमात्रै हुन्छ । यहाँनेर अभिभावकले बुझ्नुपर्छ, उनीहरू आफ्ना अवयवको सक्रियतामा धेरै कुरा सिकिरहेका हुन्छन् ।


अभिभावकले बालबालिका कस्तो गतिविधिमा संलग्न छन् भनेर समय–समयमा संवाद गरेर बुझ्ने प्रयास गर्नुपर्छ, नकि झपारेर उनीहरूको क्रियाकलापमा दक्खल पुर्‍याउने । बालबालिका समय अनुसार प्रविधिप्रेमी बनिसकेका छन् । उनीहरूलाई त्यसबाट विमुख गराउने सोच्नुभन्दा त्यसको सकारात्मक प्रयोगमा प्रोत्साहन दिनुपर्छ ।


एउटा घटना यहाँ जोडिहालुँ । यो शैक्षिक सत्रको हिउँदे बिदामा कक्षा ६ मा अध्ययनरत मेरो छोरोको गृहकार्यको सूची अलि लामै थियो । विदाको दिन पनि उसको हरेक बिहान गृहकार्य ‘आतङ्क’बाट सुरु हुन्थ्यो । गृहकार्यमा सरस्वती पूजाको महत्त्वबारे निबन्ध पनि समेटिएको रहेछ । यसबारे उसले मलाई कुनै बेला सोधेको थियो । म व्यस्त थिएँ । सायद बताउन भ्याइन ।


एक दिन ऊ मोबाइल चलाइरहेको थियो । गृहकार्य नगरी मोबाइल खेलाएकामा मलाई एकदम रिस उठ्यो । मैले निकै ठूलो आवाजमा उसलाई गृहकार्य नगरेको भनेर झपारेँ । नजिकै गएर कान उखेल्न मन लाग्यो । ऊ त मोबाइलमा सरस्वती पूजाको महत्त्वबारे गुगल सर्च गरेर पढिरहेको रहेछ । सिकाइको यो नवीन पाटो अर्थात् प्रविधिमैत्री सिकाइलाई उसले राम्रोसँग लिएको देखेर म खुसी भएँ ।


व्यस्त जीवन बाँचिरहेका हामीबीच आत्मीयता, सम्बन्धको न्यानोपन विस्तारै कमजोर हुँदै जानथालेको छ । मानिस रुखो हुनथालेका छन् । मानिस बाँच्ने भनेको सम्बन्धहरूले पनि हो । यो अत्यन्तै व्यावहारिक सिकाइ र अनुभव पनि हो । यस्तो बेला विद्यालयले त्यो न्यानोपनको अनुभूति उपलब्ध गराउन सक्दैन ।


त्यसैले बालबालिकालाई समय अनुकूल पारिवारिक जमघट, सामाजिक गतिविधि (हाट–बजार, जात्रा, विवाह उत्सव, मृत्यु परम्परा) मा अभिभावकले संलग्न गराउनुपर्छ । यसबाट उनीहरूले सामाजिक उत्तरदायित्वका साथै नैतिकता सिक्न सक्छन् । यस्ता गतिविधि विद्यालयले चाहेर पनि गर्न–गराउन सक्दैनन् ।


अहिले प्रविधि, परिस्थितिले अभिभावक र बालबालिकाबीच नदेखिने खालको ‘पर्दा’ टाँगिदिएको छ । अभिभावकले आफ्नो जागिर, करिअर सम्हाल्ने धुनमा बालबालिकालाई पर्याप्त समय दिन सकिरहेका छैनन् । उनीहरूको आवश्यकता के छ ? स्नेह–प्रेममा खाडल कहाँ परिरहेको छ ?

बालबालिकाका लागि उपयुक्त परिवेश कसरी निर्माण गर्न सकिन्छ ? भन्नेबारे कतिपय अभिभावक बेपर्वाह छन् ।


यो पनि बालबालिकामा सिकाइप्रतिको उदासीनता उत्पन्न हुनुको एउटा प्रमुख कारण बनेको छ । बालबालिका खुसी नभएसम्म सिकाइका लागि तत्पर हुँदैनन् । जबर्जस्ती सिकाइएको ज्ञान, कला अर्थहीन हुन्छ । बालबालिकालाई पर्याप्त समय, प्रेम–स्नेह र उनीहरूको न्युनतम आवश्यकतालाई सम्बोधन गर्ने कार्यप्रति अभिभावक हरदम सचेत हुनुपर्छ ।

प्रकाशित : माघ १७, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?