३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रभुत्वको चिनियाँ सपना

उज्ज्वल प्रसाईं

काठमाडौँ — नेपालका दुई छिमेकी आकारमा ठूला छन्, दुवैका सत्ता सञ्चालक बलिया छन् । यी बलिया सरकारहरू निहत्था बौद्धिकसँग सधैं भयभीत रहन्छन् । दुई साताअघि यही स्तम्भमा भारतमा आनन्द तेलतुम्बडे जस्ता लेखकले भोगेका सकसबारे चर्चा गरिएको थियो ।

प्रभुत्वको चिनियाँ सपना

अंग्रेजले छाडेर गएका अलोकतान्त्रिक कानुन झोसेर भारतमा बौद्धिकलाई दु:ख दिइन्छ । आर्थिक सामथ्र्यमा सबैलाई उछिन्ने दौडमा सामेल चीन भारतभन्दा अनुदार छ ।

कम्युनिष्ट नेतृत्वको जनवादी गणतन्त्रमा सत्ताको आलोचना गर्न पाइँदैन । मुलुक भित्रका आलोचक चुप छन्, बाहिरका चिनियाँ आलोचकलाई चीन फर्किन असम्भव छ । चिनियाँ सत्ताप्रति आलोचनात्मक विचार राख्ने तिब्बतीलाई सहज हुने कुरै भएन । चीनको मात्र नभई तिब्बतलाई ‘अलौकिक सांग्रिला’का रूपमा बुझ्ने पश्चिमाको समेत आलोचना गर्ने तिब्बती विद्वानका सकस कल्पनातीत छन् । ‘चिनियाँ सपना’को कथ्यलाई सहयोग नगर्ने लेखकहरू स्वत: जनविरोधी हुने सत्ताको ठहर छ ।

राष्ट्रपति सी चिनफिङले सन् २०१२ को नोभेम्बरमा गरेको सम्बोधनमा ‘चिनियाँ सपना’को विस्तृत वर्णन छ । केही चीन–अध्येताका अनुसार सो सपनाको जग चिनियाँ जनमुक्ति सेनाका पूर्वकर्णेल ल्यु मिङ्फुले लेखेको किताब ‘द चाइना ड्रिम : ग्रेट पावर थिङकिङ एन्ड स्ट्राटेजिक पोस्चर इन द पोष्ट अमेरिकन एरा’ हो । अमेरिकी कूटनीतिज्ञ तथा लेखक हेन्री किसिन्जरको ‘अन चाइना’ पुस्तकमा महत्त्वका साथ उल्लेख गरिएका चिनियाँ कर्णेल मिङ्फु चल्तीका लेखक हुन् । वैश्विक प्रभुत्वको राजनीतिक सिद्धान्तमा विश्वास गर्ने उनले विश्वमा चिनियाँ प्रभुत्व स्थापना गर्ने सपना बुनेका छन् ।

सोह्रौँ शताब्दीको पोल्यान्ड, सत्रौंको हल्यान्ड, अठारौं एवं उन्नाइसौंको ब्रिटेन र बिसौं शताब्दीको अमेरिकाजस्तो एक्काइसौं शताब्दीको विश्वमा चिनियाँ प्रभुत्व कायम हुनेमा उनी विश्वस्त छन् । यी प्रभुत्वशाली देशहरूको उदय एवं पतन अध्ययन गरेका प्राध्यापक जर्ज मोडेल्स्कीको विचार सापटी लिएर उनले सो धारणा अघि सारेका हुन् । आर्थिक सामथ्र्यमार्फत वैश्विक प्रभुत्व कायम गर्न अख्तियार गर्नुपर्ने आन्तरिक एवं बाह्य रणनीतिको प्रस्ताव गर्नु ‘चाइना ड्रिम’को मुख्य ध्येय हो ।

यद्यपि अमेरिकाले जस्तो आन्तरिक रूपमा लोकतन्त्र अभ्यास गरेर चीन अन्य मुलुकका लागि ‘हेजेमोनिक’ नहुने उनले बताएका छन् । चीन ‘नन हेजेमोनिक च्याम्पियन नेसन’ बनेर गुमेको चीनको पुरानो प्रताप फिर्ता गर्नुपर्नेमा उनको जोड छ । अन्य देशसँग अमेरिकाले भन्दा फरक व्यवहार गर्ने तर मुलुकभित्र चिनियाँ सत्ता प्रभुत्वशाली हुनुपर्नेमा मिङ्फु स्पष्ट छन् । प्रभुत्वको चिनियाँ सपनाले मुलुकभित्र स्वतन्त्र एवं आलोचनात्मक चिन्तनलाई निषेध गरेको छ ।

मुलुकभित्र ख्याति कमाएर सुरक्षित जीविका चलाएका कर्णेल मिङ्फुले पस्केको प्रभुत्वको सपनालाई चुनौती दिँदै अर्को ‘चाइना ड्रिम’ लेख्ने साहित्यकार मा जियानलाई चीन फर्कन प्रतिबन्ध लगाइएको छ । सिर्जनाको स्वतन्त्रताका लागि निरन्तर बोलिरहेका मा जियानको सबैभन्दा चर्चित कृति १९८९ को तियानमेन स्क्वायरको घटनामा आधारित उपन्यास ‘बेइजिङ कोमा’ हो ।

तियानमेनमा गरिएको मानव–संहारको प्रत्यक्षदर्शीका नाताले उनले उपन्यासका मुख्य पात्र डाइ वेइमार्फत सो घटनाको विस्तृत वर्णन उल्लेख गरेका छन् । पंकज मिश्राको शब्दमा सो उपन्यास आख्यानको पातलो पर्दा हालेर गरिएको साँचो घटनाको विवरण हो । चीनले जबर्जस्त मेट्न खोजेको त्यो हिंस्रक घटनाको दस्तावेज तयार गरेकाले मा जियानलाई मुलुकबाट लखेटिएको हो ।

सन् १९८३ मा बेइजिङका लेखक एवं कलाकारहरूको सानो समूहमा देश–विदेशका कृति खोजेर पढ्ने, छलफल गर्ने र एकअर्काका कृतिबारे विमर्श गर्ने मा जियान र उनका साथीहरू विरुद्ध सरकारमा उजुरी पर्‍यो । खतरनाक असामाजिक काममा संलग्न भनेर उनीहरूलाई पक्राउ गर्न खोजियो । तिनताक चिनियाँ सरकारले ‘आध्यात्मिक प्रदूषण’ विरुद्ध अभियान चलाएको थियो ।

चीनलाई सर्वशक्तिमान मुलुक बनाउने र गुमेको महिमा फर्काउने अभियानमा कसैले पनि स्वतन्त्र चिन्तन एवं आलोचनाको आकांक्षा नपालुन् भन्ने चिनियाँ सत्ताको चाहना छ ।


हजारौंले कारबाही भोगेका थिए । मारिनेको संख्या ठूलो थियो भनिन्छ । पक्राउ छलेर जियानले चीनका विभिन्न भागको भ्रमण गरे । उनी तिब्बत पुगे, त्यहाँका मानिससँग अन्तरक्रिया गरेर तिनले भोगेका सकस महसुस गरे । ती यात्राबारे साहित्यिक स्वादमा नौवटा लामा निबन्ध लेखे, जो ‘रेड डस्ट’ नामको पुस्तकमा संग्रहित छन् । १९८८ मा कथासंग्रह ‘स्टिक आउट युअर टङ’ प्रकाशित भएपछि उनलाई आध्यात्मिक प्रदूषण फैल्याउने बुर्जुवा उदारवादी भनेर गाली गरियो । सो संग्रहमा तिब्बतका पात्रका कथासमेत छन् । हाल चीनमा उनका सबै साहित्यिक कृति प्रतिबन्धित छन् । चीनमा फेला परेका उनका सबै कृति नष्ट गरियो । २०११ देखि उनलाई चीन फर्किन प्रतिबन्ध लगाइएको छ । हाल लन्डनमा निर्वासित उनी म्यान्डारिन भाषामा लेख्छन् ।

‘चाइना ड्रिम’ जियानको पछिल्लो उपन्यास हो । अंग्रेजीमा अनुदित भएर काठमाडौंसम्म आइपुगेको यो आख्यानमा एउटा छोटो परिचयात्मक गैर–आख्यान निबन्ध समाविष्ट छ । सो निबन्ध लेख्नुको उद्देश्य राष्ट्रपति चिनफिङको ‘चिनियाँ सपना’को असलियत उजागर गर्नु हो । सो सपनालाई यथार्थमा रूपान्तरण गर्न ‘चिनियाँ विशेषता सहितको समाजवादबारे सी चिनफिङ विचार’ प्रतिपादन गरिएको जियान बताउँछन् । चीन सरकारका शिक्षामन्त्रीका अनुसार ‘चिनफिङ विचार’लाई विद्यालय पाठ्य सामग्रीमार्फत कक्षाकोठासम्म पुर्‍याउँदै विद्यार्थीको दिमागमा आरोपित गरिनेछ ।

चिनियाँ सत्ताले गरेको यो निर्णयबारे जियान लेख्छन्, ‘चिनियाँ तानाशाहहरूले कहिल्यै जनताको जीवन नियन्त्रण गर्नमा मात्र आफूलाई सीमित गरेका छैनन्, बरु जहिल्यै जनताको दिमागमा घुसेर उनीहरूलाई सत्ता–अनुकूल बनाउने प्रयास गरेका छन् ।’ अर्थात चीनलाई विश्वको सर्वशक्तिमान मुलुक बनाउने र गुमेको महिमा फर्काउने अभियानमा कसैले पनि स्वतन्त्र चिन्तन एवं आलोचनाका ‘साना’ आकांक्षा नपालुन् भन्ने चिनियाँ सत्ताको चाहना छ ।

सत्ताको यो आग्रह विपरीत स्वतन्त्रताको चाहनासहित बोल्ने, लेख्ने वा अन्य कुनै क्रियाकलाप गर्नेलाई चिनियाँ प्रभुत्व स्थापना अभियानका लागि घातक तत्त्व सावित गरिनेछ । नागरिकको प्रत्येक क्रियाकलापको कडा निगरानी (सर्भिलेन्स) चिनियाँ सरकारको दैनिकी बनेको छ ।निगरानीका लागि प्राविधिक संयन्त्र एवं संस्थाहरू तयार गरिएका छन् । माजियानको जिकिर छ, ‘चीनलाई झुटा युटोपियाहरूको दासता बेहोर्न बाध्य बनाइएकामा आक्रोशित भएर यो उपन्यास लेखेको हुँ ।’

उपन्यासको मुख्य पात्र मा दाओदे ‘चिनियाँ सपना विभाग’को हाकिम छ । पुराना र काम नलाग्ने व्यक्तिगत सपनालाई निमिट्यान्न पार्दै राष्ट्रपति सी चिनफिङको नयाँ चिनियाँ सपना हरेक मान्छेका दिमागमा आरोपित गर्ने ‘चाइना ड्रिम डिभाइस’ बनाउने उसको उद्देश्य छ । तर सपना–यन्त्र बनाउने उसको उद्देश्य पूरा हुन नदिन दर्दनाक स्मृतिहरू उसलाई घेर्न आइपुग्छन् ।

सांस्कृतिक क्रान्तिकालमा उसको समेत संलग्नतामा भएका हिंस्रक घटनाहरू बरम्बार विस्मृतिबाट उठेर लखेट्छन् । जतिसुकै प्रयत्न गरे पनि घातक स्मृतिदंशले उसलाई घायल बनाउन छाड्दैन । साथै स्रोत र शक्तिमा पहुँचका कारण बढेको उसको भ्रष्टाचार र त्यसैका आडमा चलेको अकण्टक व्यभिचारले उसलाई चौबिसै घन्टा गाँजेको छ । आम मानिसका सपना अन्त्यका लागि शासकको एकरंगी सपना आरोपित गर्न आवश्यक छ भन्ने सरकारी हाकिम स्वयंको दर्दनाक पतन चाइना ड्रिमको मूल कथ्य हो ।

एकातिर चिनियाँ विशेषता सहितको समाजवादको सपना, अर्कातिर पुँजीवादी उपभोक्तावादको गहिरो दलदल । साथै, संसारभर प्रभुत्व स्थापना गर्ने अत्यासलाग्दो लालसा । चीनको यो विरोधाभाषपूर्ण विस्मयको सचित्र वर्णन गरेर लेखिएको आख्यानलाई चीन– प्रशंसकहरूले पश्चिमा प्रोपोगान्डा भनेर पन्छाउन सक्छन् ।

चीनको प्रगतिबाट प्रभावित नेपाली विद्वानहरूले पनि त्यही धारणा राख्लान् । भूराजनीतिको प्रभावबाट मुक्त नहुने आन्तरिक अर्थ–राजनीतिबारे स्वतन्त्र चिन्तन गर्न रुचाउनेका लागि भने चिनफिङ–विचार, कर्णेल मिङ्फुको सपना र जियानको आक्रोश सबै बराबर महत्त्वका अध्ययन–सामग्री हुन् ।

प्रकाशित : माघ १८, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?