१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इँटामा छ इतिहास

सम्पदा पुनर्निर्माण वा जीर्णोद्धारका क्रममा इतिहास बोकेका इँटाका टुक्रा काम नलाग्ने ठानिएका छन् । पुराना काठका खम्बालाई कुहाएर ढलान गरिएका छन् ।
नीरज लवजू

काठमाडौँ — भक्तपुरको मल्लकालीन दरबारभित्र सानो पोखरी छ– दुमाजु पोखरी । पुरातत्त्व विभागले हालै पोखरी जीर्णोद्धार गर्‍यो । जीर्णोद्धारका क्रममा भेटिएका इँटा भुइँमा सोलिङ गर्न प्रयोग गरियो । मल्लकालीन पहिचान बोकेका ती इँटाको महत्त्व निर्माण ठेकेदार र निर्माण मजदुरलाई मतलब भएन । पुराना इँटा उनीहरूले भुइँ ढलानमा ‘सदुपयोग’ गरे ।

इँटामा छ इतिहास

ऐतिहासिक सम्पदा सिमेन्टको लेपनले ध्वस्त भयो । दरबार क्षेत्रकै द्वारिकानाथ मन्दिरको पिँढीमा विभागले चारकुने इँटा बिछ्यायो । इँटा मान्छेले सजिलै उप्काउन मिल्नेगरी बिछ्याइएको भन्दै स्थानीय नगरपालिकाले आपत्ति जनायो । निर्माण मजदुरले मन्दिरकै काठका देवाकृतिमा ह्वाइट सिमेन्टले पोते । यसले युगौं पुरानो सम्पदा कुरूपमात्र देखिएन, पहिलेको आकृतिमा नफर्कनेगरी बिग्रियो ।


काठमाडौं उपत्यकाका तीन सहरका दरबार क्षेत्रभित्र २०७२ सालको भूकम्पबाट भत्केका सम्पदाको पुनर्निर्माण र जीर्णोद्धार भइरहेको छ । पुनर्निर्माण र जीर्णोद्धारको गति सुस्त छ । त्यसभन्दा बढी चिन्ताको विषय सम्पदा पुनर्निर्माण वा जीर्णोद्धारमा लापरबाही हो ।

सम्पदा क्षेत्र देशको इतिहास र सम्पत्ति हो । लाखौं पर्यटक काठमाडौं उपत्यकामा कंक्रिट जड्डल होइन, मल्लकालीन सम्पदा हेर्न आउने हुन् । त्यसकारण ती सम्पदा हाम्रो इतिहासमात्र नभई अर्थोपार्जनका माध्यम पनि बनेका छन् । पुरानो युगले नयाँ युगको सेवा गर्छ भनेजस्तै ती ऐतिहासिक धरोहरले आजको पुस्ताको सेवा गरिरहेका छन् ।


सम्पदा क्षेत्रको पुनर्निर्माण र जीर्णोद्धारमा भएको लापरबाहीले मौलिकता र महत्त्वलाई होचो बनाइदिएको छ । पुरातत्त्व विभागले सम्पदा क्षेत्र जीर्णोद्धार र पुनर्निर्माणबारे अलग कार्यविधि बनाएको छ । कार्यविधि बेवास्ता गर्दै कसैको निजी ढलान घर बनाए जस्तो सम्पदा पुनर्निर्माण र जीर्णोद्धार गर्न खोजिएको छ ।


इतिहास स–साना इँटाका टुक्रा र आकृतिमा लुकेर बसेको हुन्छ । काठका साना टुक्रा र फालिएका मसिना ढुड्डामा संस्कृति र इतिहासको बास हुनसक्छ । त्यो इतिहास र संस्कृति देख्न ज्ञान र अध्ययन आवश्यक हुन्छ । चीनको सियान प्रान्तको लिनतोङ जिल्लामा भेटिएको टेराकोट्टा आर्मी स्थानीय केही किसानले इनार खन्ने क्रममा सन् १९७४ मा फेला पारेका थिए ।


अध्ययन गर्दै जाँदा त्यो चीनका प्रथम सम्राटको चिहान भएको पत्ता लाग्यो । ईसापूर्व २१०–२०९ बीच गाडिएको सम्राट छिनसी ह्वानको चिहानमा ती सैनिक आकृतिहरू पनि गाडिएको भेटियो । इनार खन्दा चिनियाँ सभ्यताको त्यो अनुपम इतिहास पत्ता लाग्यो ।


हाम्रै कपिलवस्तुको बुद्धकालीन दरबार पत्ता लागेको इतिहास पनि त्योभन्दा धेरै फरक छैन । पुरातत्त्व अध्ययनका लागि जमिनमुनि, निर्जन जड्डलभित्र नयाँ आविष्कारका अथाह सम्भावना लुकेका हुन्छन् । सुर्खेत जिल्लाको काँक्रेविहार दस वर्ष अघिसम्म जड्डलमा फालिएका ढुड्डा बाहेक केही थिएन । आज त्यहीं ऐतिहासिक धरोहर बन्दैछ ।


काठमाडौं उपत्यकाका प्रत्येक सम्पदा पुनर्निर्माण वा जीर्णोद्धार गर्दा त्यस्ता नउघारिएका कैयौं पाटा सतहमा आउने सम्भावना नकार्न सकिन्न । अर्कोतिर अहिले रहेका सम्पदाको संरक्षण अर्को महत्त्वपूर्ण पाटो हो । युगौं पुरानो सम्पदा पुनर्निर्माण र जीर्णोद्धार केही निर्माण मजदुरको जिम्मामा मात्र छोडिंँदा नयाँ खोजको सम्भावनाको ढोका बन्द हुन्छ । भएका सम्पदासमेत कुरूप र महत्त्वहीन बन्छन् ।


सम्पदाको पुनर्निर्माण वा जीर्णोद्धारलाई अरू सामान्य भौतिक निर्माणजस्तै ठेकेदारको भरमा मात्र छाड्ने गल्ती गर्नुहुन्न । इतिहासविद्, पुरातत्त्वविद् आदि विज्ञहरू समेतको प्रत्यक्ष संलग्नता र अनुगमनमा सम्पदा पुनर्निर्माण गरिनुपर्छ । अझ विश्वविद्यालय र अनुसन्धान केन्द्रका अध्येता र विद्यार्थी समेतको संलग्नतामा सम्पदा पुनर्निर्माण गर्नसके भविष्यका लागिसमेत विचार गरेको ठहरिनेछ ।


सम्पदा पुनर्निर्माण वा जीर्णोद्धारमा उपलब्ध भएसम्म रैथाने जनशक्ति प्रयोग र परिचालन आवश्यक छ । सम्पदासँग जोडिएको समुदाय र संस्कृतिका अनुयायीलाई यसको सम्भारमा परिचालन गर्नसक्दा स्थानीयले स्वामित्वबोध गरी संरक्षण हुन जान्छ । तर यतिबेला विशेषत: पुरातत्त्व विभागमार्फत ठेक्कामा दिइएका पुनर्निर्माण वा जीर्णोद्धार कार्यमा सम्पदाको महत्त्वबारे जानकारी नभएका र कहीं कतै पनि नजोडिएका जनशक्ति परिचालन गरिएको छ ।


न तिनले आफूले बनाउँदै गरेको सम्पदाप्रति संवेदनशीलता देखाउन सकेका छन्, न स्थानीय बासिन्दाले त्यसप्रति स्वामित्वबोध गरेका छन् । कतिपय सम्पदा जीर्णोद्धारमा स्थानीय बासिन्दा र ठेकेदारबीच द्वन्द्वसमेत भएका छन् । ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गर्दा रैथानेले विरोध गरेका घटना पनि छन् । पुनर्निर्माण वा जीर्णोद्धार कार्यमा विज्ञ जनशक्तिको अनुगमन नहुँदा इतिहास बोकेका इँटाका टुक्रा ‘काम नलाग्ने’ ठानिएका छन् । पुरातात्त्विक महत्त्व बोकेका काठका खम्बालाई बलेसीको पानीले कुहाएर ढलान गरिएका छन् ।


कतिपय सम्पदा क्षेत्र रक्षाका लागि तैनाथ प्रहरीले पुरातात्त्विक महत्त्वका काठ बाल्नेसमेत गरेका छन् । ऐतिहासिक खोजको सम्भावनाको दूरभविष्यबारे जानकारी नभएका निर्माण मजदुर, ठेकेदार वा सुरक्षाकर्मीलाई यसका निम्ति दोषारोपण गर्नुभन्दा सरकारी निकायले जिम्मेवारी बोध गर्न आवश्यक छ ।


सम्पदा संरक्षण (पुनर्निर्माण र जीर्णोद्धार) का निम्ति अर्को चुनौती दक्ष जनशक्तिको अभाव हुँदै जानु हो । इँटा बिछ्याएको बाटो बनाउने, झिंगटीले छाना छाउने, मन्दिरको गारो बनाउने आदि सीप जान्ने मानिस कम हुँदै गएका छन् । सिपालु मानिस नहुँदा अर्धदक्ष र अदक्ष मानिसलाई कामको जिम्मा लगाउनुपर्दा सम्पदा जीर्णोद्धारमा खेलाँची वा अपूर्णता हुने गरेको छ ।


पुरातत्त्व विभाग, विश्वविद्यालय, सीटीईभीटी आदि जिम्मेवारी निकायले नियमित विशेष तालिम बन्दोबस्त गर्नसके पुर्खाले जानेको सीप क्रमश: पुस्ता हस्तान्तरण हुँदै जानेछ । तालिम प्राप्त मजदुरलाई नै त्यस्ता काममा परिचालन गर्नु उपयुक्त हुनेछ । स्थानीय तहले पनि यसमा अग्रसरता देखाउन जरुरी छ ।


सम्पदा जीर्णोद्धारका लागि सामग्री अभाव पनि आगामी दिनको चुनौती हुनेछ । झिंगटी, कलात्मक तोरण, बुट्टाइँटा, काष्ठकला आदिको उत्पादनबिना पुराना सम्पदाको मौलिकता जोगाउन सकिन्न । तर ती सामग्री उत्पादन गर्ने सिपालु मानिस र उद्योग क्रमश: कम हुँदै गएका छन् । अधिकांश मन्दिरमा रहेका काष्ठकला र बुट्टाको आफ्नै मिथक र किंवदन्ती हुन्छन् ।


खोजिपस्दा तिनमा इतिहास भेटिन्छ, तत्कालीन समाजको प्रतिविम्ब भेटिन्छन् । काष्ठकला, धातुकला र बुट्टेदार इँटा बनाउने कर्मीलाई तिनका बारे जानकारी दिन नसक्दा किंवदन्ती लोप हुँदै जान्छ । अध्येताको अध्ययन किताबको पानाबाट बाहिर ती कर्मीसम्म पनि कसरी पुर्‍याउने हो, ध्यान दिनुपर्ने विषय हो । ठेकेदारीमा सम्पदा निर्माण र जीर्णोद्धार गरिनु झारा टार्नु हो, सम्पदाको आत्मा मार्नु हो ।


सयौं वर्षअघि बनेका सम्पदाको मौलिकता जोगाउनुपर्छ । मौलिकता हाम्रो परिचय हो, सम्पत्ति हो । यसमा लापरबाही गर्ने छुट कसैलाई छैन । नजाने जान्न सकिन्छ, तर अल्पज्ञानमा चुनौतीको समाधान खोजी गर्नु बुद्धिमानी होइन ।

प्रकाशित : माघ २४, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?