२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

नेपाली मुस्लिमको मूलबाटो

लोकतन्त्रको अत्यधिक लाभ मुस्लिमहरूले कसरी पाउने ? यो समुदायको आफ्नै आन्तरिक जीवन पनि लोकतन्त्रबाट आलोकित कसरी हुने ?
डेटलाइन तराई
चन्द्रकिशोर

काठमाडौँ — नेपाली मुस्लिमको मूलबाटो के हुने ? जसको छनोटबाट यो समुदायले सशक्त, समृद्ध र सम्मानित महसुस गर्न सकोस् । कहीं कतैबाट असुरक्षाको अनुभूति नहोस् । धर्मका आधारमा मुस्लिमहरू अल्पसंख्यक मानिन्छ । जनसंख्याको आधारमा यो समुदाय अल्पसंख्यक होइन ।

नेपाली मुस्लिमको मूलबाटो

एउटा धर्म विशेषप्रति अटुट आस्था राख्ने यिनका समस्या र सरोकारलाई नेपाली नागरिकका रूपमा हेरिनुपर्छ । नेपालका हरेक राजनीतिक रूपान्तरणको आन्दोलनमा मुस्लिमको भूमिका निकै महत्त्वपूर्ण छ । जातीय, वर्गीय, लैङ्गिक, भाषिक, क्षेत्रीय समस्याको जालोमा जेलिएको नेपाली समाजको विगतले मुस्लिम समुदायलाई पनि पासोमा पारेकै हो ।


लामो समयसम्म मुस्लिम समुदाय नेपालमा राज्यसत्ता, शक्ति र सम्पत्तिबाट बहिष्करणमा पर्दै आए । यस समुदायभित्र रहँदै आएको आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक असमानता सच्याउन ऐक्यबद्ध प्रयत्न जरुरी छ ।


समतामूलक नेपाल निर्माणका निम्ति उठेको लोकतान्त्रिक आन्दोलनले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताजस्ता ऐतिहासिक उपलब्धि हासिल गरेको छ । लोकतन्त्र नै नेपाली समाजको समृद्धि, आर्थिक–सामाजिक रूपान्तरण र सामाजिक न्याय हासिल गर्ने सर्वोत्तम मार्ग हो ।


मुस्लिम समुदायले आफूलाई यो मार्गमा हिँड्ने बटुवाका रूपमा स्वतन्त्रता पाउँछन् कि पाउँदैनन् ? समुदायको बृहत्तर हितका निम्ति आफ्नो अवस्थिति, अप्ठ्यारा र आकांक्षाबारे उनीहरूले पनि अरूजस्तै समय–सापेक्ष परिमार्जन गर्दै जानुपर्ने हो कि ? पारदर्शी, समाजशास्त्रीय तथा व्यावहारिकतामा आधारित छलफल र बहसको माध्यमबाट मात्रै जटिल मुद्दाहरूको छिनोफानो गर्न सकिन्छ ।


संघीय संरचना अभ्यासका क्रममा प्रदेश २ मा मुख्यमन्त्री मो. लालबाबु राउतको उदयले स्थापित गरेको पक्ष के हो भने अहिलेका सात मुख्यमन्त्रीमध्ये एक मुस्लिम समुदायका हुन् । प्रदेशसभामा उनी आफू आबद्ध दलको सबभन्दा उच्च तहका नेता हुन् । दलमा लामो निरन्तरता दिएका हुनाले मुख्यमन्त्री बन्ने अवसर पाए । निश्चित रूपमा उनीमाथि आफ्नो समुदायको सशक्तीकरणको विशेष जिम्मेवारी छ । राज्यसँंगको सम्बन्ध निर्धारणमा मुस्लिमहरू मधेसी पहिचानको छातामुनि रहने कि नरहने भन्ने विवाद लामै चल्यो । कतिपय मुस्लिम अगुवाले भन्ने गर्थे, ‘हामी मुस्लिम हौं, मधेसी होइनौं ।’ तर मधेस आन्दोलनका क्रममा यो समुदायको सहभागिता, सक्रियता र सहादतले स्थापित गर्‍यो, राज्यसँंगको संघर्षमा सबैको साझा स्वार्थ सगोलमै गाँसिएको छ ।


मुस्लिमहरूको सवाल व्यवस्थापन राजनीतिक रूपमा गरिनुपर्छ । त्यसको बाटो संवैधानिक प्रत्याभूति हो । उनीहरू स्वयंले आफ्नो सवाललाई धार्मिक आँखाले हेर्दा वा तिनका आवाजलाई कतिपय हिन्दु संगठन वा बाह्य शक्तिहरूको नजरले हेर्दा यो समुदायले न्याय पाउन सक्दैन । मुस्लिम समस्याका विभिन्न आयाम छन् । कतिपय ठाउँमा जातीय छुवाछूत र भेदभावका कारण मुस्लिम समुदायले समाजमा आत्मसम्मानपूर्वक बाँच्न पाइरहेका छैनन् । विभेदकारी सांस्कृतिक मान्यताकै कारण कति समाजमा मुस्लिम महिलाको सामाजिक हैसियत कमजोर छ ।


मुस्लिम समुदायको परम्परागत शिक्षा प्रणाली मदरसाबारे पनि विमर्श जरुरी छ । मदरसाहरूको उचित सरकारी संरक्षण गर्ने कि आधुनिक शिक्षा प्रणालीमार्फत यो समुदायलाई प्रतिस्पर्धाको चौबाटोमा अगाडि बढाउने ? मदरसा शिक्षा केन्द्रमा सरकारी निगरानी र खुलापन विकास गर्दै इच्छुकहरूलाई त्यसमा शिक्षण लिने वातावरण बनाउने कि तिनलाई अनेकौं आशंका र अनुमानको आधारमा हेर्ने ? यी सवालहरूमाथि जति खुला विमर्श हुन्छ, त्यति नै यो समुदाय र देशको हित हुन्छ ।


मानव विकास स्तरमापनको एउटा आधारभूत सूचक शिक्षा हो । त्यसमा पनि यो समुदाय पछाडि छ । यस पृष्ठभूमिमा यिनका बारेमा किन कुरा उठ्दैन ? यिनीहरूमाझ यो विमर्श कसरी सम्प्रेषण भइरहेका छन् ? सामुदायिक सशक्तीकरणका निम्ति यिनीहरूले पहिचान गरेका मार्गचित्र के हुन् ? विगतमा यस समुदायका नाममा उठाइएका सामाजिक–राजनीतिक एजेन्डा कहाँ छन् ? समावेशीकरणको बाटोमा यिनीहरूको गति के छ ? अन्तरसमुदाय सम्बन्धका आयामहरू के कसरी कोरिँदैछन् ? नेपालमा मुस्लिम समुदाय शताब्दीयौंपूर्व आएको हो । यहाँको प्रत्येक राजनीतिक संघर्षमा सहभागी मुस्लिम मानसभित्र के कस्ता मनोभावका छालहरू उठ्ने गरेका छन्, त्यसप्रति सार्वजनिक चासो भएको पाइँदैन ।


डोरबहादुर विष्टको ‘पिपुल अफ नेपाल’ अनुसार ‘मुस्लिमहरूको पहिलो पुर्खा पन्ध्रौं शताब्दीको अन्त्यतिर तथा सोह्रौं शताब्दीतिर लद्दाखको बाटो तिब्बत पसेर नेपाल आएका कश्मिरी थिए । उनीहरू त्यतिन्जेलसम्म कम्बल, गलैंचा, दोसल्ला आदिको व्यापार गर्न कश्मिर र तिब्बतबीच ओहोर–दोहोर गर्थे । त्यसरी तिब्बत गई व्यापार गर्ने कश्मिरीहरूलाई काठमाडौंका राजा रत्नमल्लका प्रतिनिधिले ल्हासामा भेटेपछि उनीहरूमध्ये केहीलाई काठमाडाैं बोलाएर ल्याइएको थियो ।


त्यसको लगत्तैपछि बाइसे–चौबिसे राजाहरूको पालामा बन्दुक आदि हतियार बनाउन र तिनको प्रयोग सिकाउन अझ बढी मुस्लिमहरू पश्चिम पहाडमा पसेका थिए ।’ त्यसैगरी नेपालका मुस्लिमबारे अध्ययन गरेका फ्रान्सेली मार्क गाबोरियोका अनुसार उनीहरू सत्रौं शताब्दीको अन्त्य वा अठारांै शताब्दीको सुरुतिर नेपाल भित्रिएका हुन् । तर मुस्लिम अध्येताहरूका अनुसार अहिलेको नेपाली भूगोलमा यिनीहरूको बसोबास निकै पुरानो छ ।


जे होस्, पृथ्वीनारायण शाहले अहिलेको राजनीतिक भू–खण्ड निर्माणको थालनी गर्नुपूर्वदेखि नै उनीहरू नेपालमा बस्दै आएका हुन् । यिनीहरू सातवटै प्रदेशमा छरिएर बसेका छन् । यिनीहरूलाई आगमनको चरण र स्थानका आधारमा विज्ञहरूले पाँच समूहमा राख्ने गरेका छन् । पहिलो काश्मिरी मुस्लिम, दोस्रो भारतीय मुस्लिम, तेस्रो तिब्बती मुस्लिम, चौथो तराई मुस्लिम र पाँचाैं पहाडी मुस्लिम ।


आगमनको पृष्ठभूमि, बसोबासको क्षेत्र, भिन्न सामाजिक–आर्थिक संरचना, फरक ऐतिहासिक अनुभव वा सामाजिक–राजनीतिक जागरणको प्रक्रियाका बाबजुद ‘इस्लाम’का केही साझा प्रतीकहरूका माध्यमबाट यिनीहरू ऐक्यबद्ध छन् र नेपाली मुस्लिमका रूपमा पहिचान बनाएका छन् । मुस्लिमहरूको बसोबास मधेस लगायत देशका अन्य भूभागमा पनि छ । कतिपय सवालमा मधेस र अन्य भूभागमा बस्ने मुस्लिमलाई फरक दृष्टिले हेर्ने गरेको पाइन्छ । मधेस आन्दोलनसँंगै यो समुदायले पहाड र मधेस दुइटै ठाउँमा बसोबास गर्ने मुस्लिमका लागि एकीकृत दृष्टिकोण अगाडि बढाउन आफूहरूलाई जोड्ने साझा सूत्रको खोजी गर्नथालेको छ ।


मुस्लिमहरू माथिको उत्पीडन बहुआयामिक छ । विगतका अनेकौं घात सहेर पनि यो समुदाय यहाँको मूलधारमा जोडिन जुर्मुराएका छन् । तर जसरी यो समुदाय राजनीतिक शक्तिको रूपमा विकसित हुँदैछ, त्यसलाई पुँजीकृत गर्न साना–ठूला सबै दलहरू लोभिएका छन् । यिनीहरूलाई रिझाउन अनेकौं उपक्रमहरू गर्ने गरेका छन् ।


मोटो नजरले हेर्दा ‘मुस्लिम भोटबैंक’ सगोलमा उदाउनसकेका छैनन् । कतिपयले मुस्लिम भोटबैंकको अवधारणालाई मलजल गर्नुको आधार एउटा राजनीतिक समुदायका रूपमा उनीहरू आफ्नो राजनीतिक हित र कानुनी अधिकारप्रति पूर्णत सजग छन् । केही अनुहार प्रत्येक दलभित्र छन्, जो नितान्त चुनावी उद्देश्यले बेलाबखत जालिदार टोपी लगाएर तुष्टीकरणको कोसिस गर्छन् ।


पछिल्ला वर्षहरूमा विभिन्न पर्व–त्योहारमा सार्वजनिक विदा, सहभोजजस्ता आयोजन हुनथालेका छन् । राष्ट्रिय मिडियाले पनि मुस्लिमहरूको धार्मिक–सांस्कृतिक गतिविधिहरूलाई स्पेस दिनथालेका छन् । मूल सवाल, लोकतन्त्रको अत्यधिक लाभ यो समुदायले कसरी पाउने ? स्वयं यो समुदायको आन्तरिक जीवन पनि लोकतन्त्रबाट आलोकित कसरी हुने ? विसंगतिहरूप्रति आलोचनाको अधिकार यो समुदायभित्र हुनुपर्छ र असहिष्णुतालाई निषेध गरिनुपर्छ ।


लोकतान्त्रिक प्रणालीले आफूभित्रको अपर्याप्तता पहिल्याउन अनुमति दिन्छ । हाम्रो संविधानले त्यस्तो छुट दिएको छ । नेपालका मुस्लिमहरूको मौलिक समस्या छन् । अन्य समुदायसंँग विशिष्ट सम्बन्धको परम्परासमेत छ । त्यसैले ब्रिटिसकालीन भारतीय क्षेत्रमा उठ्ने रापतापका नारा र एजेन्डाहरूबाट यहाँकाहरू जोगिनु मुनासिव हुन्छ ।


नेपाली मुस्लिमले संवैधानिक ढाँचाभित्र अधिकतम फाइदा लिने नागरिक अभियान चाल्नुपर्छ । संविधानमा देखिएका र व्यवहारमा खट्किएका संवैधानिक कमी–कमजोरीलाई छुनै हुँदैन भन्ने होइन । अपर्याप्ततालाई पर्याप्ततामा अनुवाद गर्न बहुसंख्यकसंँगको तालमेलबारे पनि भविष्यदृष्टि राखिनुपर्छ ।


मुस्लिम समुदायको राजनीतिक, सांस्कृतिक र आर्थिक अधिकार एउटा लोकतान्त्रिक मान्यताभन्दा फरक छैन । उनीहरूको परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण गर्दै त्यसको सामाजिक प्रतिष्ठा स्थापना गर्नुपर्ने खाँचो छ । यसले यो समाजभित्रको ठूलो हिस्सालाई स्वावलम्बी र आत्मनिर्भर बनाउँछ । यसप्रति स्थानीय र प्रदेश सरकारहरूले विशेष ध्यान दिनुपर्छ ।


कुनै पनि समाज वा प्रणाली आफैमा सम्पूर्ण हुँदैन । सम्पूर्णताका नजिक पुर्‍याउन खोज्ने लोकतान्त्रिक प्रणालीले हो । मुस्लिम समुदायलाई अलग–थलग राखेर, तिनका बारेमा विमर्श नगरेर सम्पूर्णताको लक्ष्य पूरा हुँदैन । दक्षिण एसियाली वर्तमान अनुभवलाई आधार मानेर अगाडि बढ्दा नेपाली मुस्लिम समुदायमा बढी निराशा देखिनु हुँदैन । सामुदायिक उन्नतिका लागि उचित परिवेश खोजी गर्न संवादको परम्परामा चुक्नु हुँदैन ।


[email protected]

प्रकाशित : माघ २४, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?