कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘सत्य लेख्नु सर्वाेत्तम समाजसेवा’

काठमाडौँ — ‘दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस’ (आईसीआईजे) को संसारभर सयौं सदस्य छन् । विशेषगरी यी पत्रकारहरु आ–आफ्नो देशमा उत्कृष्ट काम गरिरहेका छन् । यिनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । आईसीआईजेले हरेक महिना प्रकाशित गर्ने ‘मिट दि इन्भेस्टिगेटर’ स्तम्भले यस्तै क्रियाशील पत्रकारको चर्चा गर्छ । गत महिना पाकिस्तानी पत्रकार उमर चिमासँग आईसीआईजेकी एसिया प्रमुख सिल्ला अलेच्चिले कुराकानी गरेकी छन् ।

‘सत्य लेख्नु सर्वाेत्तम समाजसेवा’

पाकिस्तानको ‘दि न्युज’मा काम गर्ने चिमाले ‘पानामा पेपर्स’मा सहभागी भई पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफको विदेशमा लुकाइएको धनबारे खुलासा गरे । सार्वजनिक चासोको विषयमा खोजी समाचार लेख्ने चिमाले कैयौं धम्की खेपे, आक्रमणको सामना गरे । अपहरणमा समेत परे तर खोजी पत्रकारिता छाडेनन् । चिमासँंगको अन्तर्वार्ताको सम्पादित तथा अनुदित अंश :



तपाईं किन र कसरी पत्रकारिता क्षेत्रमा आउनुभयो ?

१० कक्षा उत्तीर्ण गरेपछि बुबाले मलाई मेरो भविष्यको योजनाबारे सोध्नुभयो । आधारभूत सुविधाबाट बञ्चित ग्रामीण परिवेशमा हुर्केको व्यक्तिको लागि यो ठूलो प्रश्न थियो । ‘म नेता बन्छु कि, प्रहरी,’ मैले बुबालाई भनेँ, ‘जनताको सेवा गर्ने सपना छ ।’ राजनीतिज्ञ वा सरकारी कर्मचारीसँग मात्रै परिवर्तनकारी शक्ति हुन्छ भन्ने मलाई लाग्थ्यो ।


लाहोरको पञ्जाव विश्वविद्यालयमा पत्रकारिता अध्ययनका लागि भर्ना हुन्जेलसम्म पनि मेरो पत्रकार बन्ने योजना थिएन । म त एउटा डिग्री लिऊँ भनेर भर्ना भएको थिएँ । पढाइ सकाएपछि मैलै सरकारी सेवाको लागि तयारी थालेँ। सोही बेला मैले खर्च धान्न पत्रिकामा सम्वाददाताको रूपमा काम गर्न थालेको थिएँ ।


सुरुवाती दिनहरूमा नै मैले सूचनाको शक्ति कति हुँदोरहेछ भन्ने अनुभव गर्न पाएँ । मलाई के महसुस भयो भने शक्ति शक्तिशाली भनाउँदाहरूसँग होइन, उनीहरूले दबाउने सत्यसँग रहेछ । सत्य सार्वजनिक गर्नु नै सबैभन्दा ठूलो समाजसेवा हो । पत्रकारिता उत्तर हो । यो अहिले मेरो चाहना र व्यवसाय दुवै भएको छ । म एक्कासी पत्रकार बनेंँ, तर जे भयो, ठिक भयो ।


पाकिस्तानमा पत्रकारिताको वर्तमान अवस्था के छ ? शक्तिशालीलाई उत्तरदायी बनाउन खोज्ने स्वतन्त्र पत्रकारले भोग्नुपर्ने चुनौतीहरू के–के हुन् ?

पत्रकारिता गम्भीर संकटमा छ । यसले कहिल्यै नभोगेको चुनौती भोगिरहेको छ । पहिला–पहिला पत्रकारलाई भौतिक सुरक्षाको चासो हुन्थ्यो । जेजसो भए पनि पाकिस्तानी सञ्चार माध्यमहरू गतिशील र प्रतिरोधी खालका थिए । पटक–पटक गरी ३४ वर्ष शासन गरेको सैनिक अधिनायकसँग सञ्चार माध्यम निर्भीक रूपमा अडिए ।


तर अवस्था खराबबाट बहुतै खराबमा परिणत भएको छ । अहिले ठूलो सेन्सरसिप छ । केही अघिमात्रै पाकिस्तानी सेनाका प्रवक्ताले सञ्चार माध्यमलाई सकारात्मक समाचार लेख्न सुझाव दिए । सरकारी नीतिहरूमा आलोचनात्मक रहने पत्रकारहरू पेसा छाड्न बाध्य छन् । जो पेसामा छन्, तिनको तलब घटिरहेको छ वा तलब ढिला पाउने समस्या छ । तर संघर्ष नै जीवन हो । पत्रकारहरूले लडाइँ जारी राखेका छन् । मूलधारका सञ्चार माध्यममा नआउने समाचारहरू न्युज वेबसाइट र सामाजिक सञ्जालमा देखिन्छन् ।


पेसाका कारण तपाईंले कुनै धम्की खेप्नुभएको छ वा कुनै जोखिम अनुभव गर्नुभएको छ ? यदि छ भने त्यस्ता अवस्थाको कसरी सामना गर्नुभयो ?

पाकिस्तान जस्तो देशमा शक्तिको विरुद्ध सत्य बोल्दा मूल्य चुकाउनुपर्छ । यो पेसामा लाग्ने हरेक पत्रकारहरू जोखिमबारे अवगत नै छन् । कसैले दुव्र्यवहारको मात्रै अनुभव गरेका छन् भने बाँकीले हिंसाको सामना गर्नुपरेको छ । म पनि त्यसैमध्ये एक हुँ ।


यो पेसामा लागेको चौथो वर्षमा मैले जोखिम व्यहोरेंँ । सन् २००४ मा मलाई सवारी दुर्घटनामा मार्न खोजिएको थियो । कारले दुईपटक ठक्कर दिएपछि हड्डी भाचिँदा म ६ महिना थला परेंँ । दुर्घटनापछि एक अपरिचितले फोन गरेर ‘आइन्दा सचेत बन’ भने । त्यसको ६ वर्षपछि म हतियारधारीको अपहरणमा परेंँ र यातना भोगेंँ ।त्यो नै सबैभन्दा बढी चुनौतीपूर्ण समय हो जस्तो लाग्छ ।


पत्रकारसँगै म एक पिता, पति, छोरा र कसैको भाइ पनि हुँ । मैले पेसा छाडे हुन्थ्यो भन्ने परिवारको चाहना थियो । धेरैले मेरो अपहरण नाटक हो भन्ने हल्ला फैलाए । मलाई धेरैपटक अपरिचितले पिछा गरेका छन् । म भयसँग परिचित भइसकेको छु । तर डराएर चुप बसेर म अरू पत्रकारको लागि नराम्रो उदाहरण बन्न चाहन्न । नत आफूलाई माफी दिन सक्छु ।


राष्ट्रियप्रति आतंकवाद प्राधिकरणले मसहित ५ पत्रकारलाई एक आतंकवादी समूहले हत्या गर्ने योजना बनाएको छ भनेर विश्लेषण गरेको थियो । मलाई मेरा एक स्रोतले यो विषयमा जानकारी गराए । तर अन्य पत्रकारहरू यो विषयमा अवगत थिएनन् । दुई महिनापछि प्रहरीबाट सुरक्षा आवश्यक पर्छ कि भनेर सोध्न फोन गरिएको थियो । तर मैले विनम्रतापूर्वक अस्वीकार गरेँ ।


तपाईंलाई मनपरेको आफ्नो अनुसन्धानबारे बताउनुस् न ?

प्रभावका हिसाबले कर र पानामा पेपर्सको अनुसन्धान सबैभन्दा माथि छन् । सन् २०१२ मा मैले सांसदहरूले तिर्ने करबारे रिपोर्टिङ गरेको थिएँ । करिब ७० प्रतिशत सांसदले कर तिरेका थिएनन् । पाँचमध्ये एक सांसदसँग त राष्ट्रिय कर नम्बर पनि थिएन । कानुनीभन्दा पनि यो नैतिक प्रश्न हो । जसले जनतामाथि कर लाद्छन्, उनीहरू नै कर तिर्दैनन् । कस्तो हास्यास्पद !


त्यो बेला आमचुनाव नजिकिंँदै गरेकाले यो विषयले एकदमै चर्चा पायो । सरकारले हरेक वर्ष दुईटा कर सम्बन्धी विवरण सार्वजनिक गर्न थाल्यो । एक सांसद र अर्को नागरिक सम्बन्धी । कर सम्बन्धी विवरण सार्वजनिक गर्ने पाकिस्तान विश्वको चौथो देश बन्यो । यसअघि नर्वे, स्वीडेन र फिनल्यान्डले मात्रै यो अभ्यास गरेका छन् ।


पानामा पेपर्स अर्को अन्तर्राष्ट्रिय रूपमा चर्चित अनुसन्धान हो र म उक्त समूहमा सहभागी हुनपाएकोमा गर्वित महसुस गर्छु । यो अहिले पनि समाचारको विषय बन्छ । किनकि तत्कालीन प्रधानमन्त्री नवाज सरिफका परिवारका सदस्य नै विदेशमा रहेका अफसोर कम्पनीका मालिकका रूपमा मुछिएका थिए । तर प्रधानमन्त्री बाहेक अन्यको नामबारे चर्चा धेरै भएन । तर पाकिस्तानका ४ सय जनाको नाम विदेशमा कम्पनी स्थापना गरेर कर छल्नेमा मुछिएको थियो । अर्को शब्दमा भन्नुपर्दा अपवाद बाहेक अधिकांश धनाढ्यको नाम मुछिएको थियो, जसबारे छानबिन भएन ।


नवाज सरिफ प्रधानमन्त्रीका लागि अयोग्य घोषित हुनुमा थोरै भए पनि पानामा पेपर्सको पनि भूमिका थियो । उनलाई अदालतले राजनीतिमा प्रतिबन्ध लगाएको छ भने १ करोड ६० लाख अमेरिकी डलर भ्रष्टाचार गरेको ठहर गरेको छ । सन् २०१५ मा पानामा पेपर्सको काम सुरु गर्दा यसको प्रभाव यस्तो हुन्छ भन्ने तपाईंलाई लागेको थियो ? तपाईंलाई केले अचम्मित बनायो ?

साँच्चै भन्नुपर्दा, त्यो बेलामा मलाई मिश्रित अनुभव भयो । जब पानामा पेपर्समा नवाज सरिफका परिवारका सदस्यको नाम आयो, तब मलाई यो प्रकाशित भएपछि के हुन्छ भन्ने अनुमान सहजै भएको थियो । पछि परिस्थिति पनि त्यस्तै बन्यो । सरिफका परिवार कठघरामा उभिए– सुरुमा सञ्चार माध्यमको, पछि अदालतको ।


जवाफदेहिताको विषय चर्को गरी उठ्यो । आरोप र प्रत्यारोप समाचारका विषय बने । आरोपितले यसलाई प्रजातन्त्रमाथिको अन्तर्राष्ट्रिय खतराको रूपमा चित्रण गरे र सरकारको विरोध गर्ने समय कुरिरहेको प्रतिपक्षले यसैलाई भेष बदलेर आएको भगवान भन्ठान्यो । यथार्थ भन्नुपर्दा आरोपित र उनका परिवार यसलाई झुटो सावित गर्न लागिपरेका थिए र प्रतिपक्षी यसलाई बढाइ–चढाइ गरिरहेको थियो ।


सर्वोच्च अदालतले राजनीतिक संकट रोक्न जब यो विषयमा हस्तक्षेप गर्‍यो, तब शक्तिशालीलाई उत्तरदायी बनाउने आशाले आकाश छोयो । तर अनुसन्धानका नाममा छानबिन समिति बनाइयो, त्यससँगै यो प्रक्रिया दूषित भयो । छानबिन समितिमा दुई उच्च तहका सैनिक अधिकृत पनि समावेश थिए, जसको आर्थिक विषयको अनुसन्धानमा कुनै अनुभव नै थिएन ।


सेना र तत्कालीन प्रधानमन्त्रीको सम्बन्ध सहज नभएकाले अनुसन्धान समितिमा सैनिक अधिकृतको संलग्नतालाई सबैले चासोका साथ लिए । सर्वोच्च अदालतले सरिफलाई प्रधानमन्त्रीको लागि अयोग्य सावित गर्दा पानामा पेपर्समार्फत सार्वजनिक भएको तथ्यको आधारमा गरेको थिएन । उनी संविधानको भावना अनुसार प्रधानमन्त्री हुन सही र असल व्यक्ति होइनन् भनी सर्वोच्चले फैसला सुनाएको थियो ।


उनलाई आफ्नो तलब सार्वजनिक नगरेको भनी प्रधानमन्त्रीको कुर्सीबाट अपदस्थ गरिएको थियो । तर उनले आफूले तलब नबुझेको दाबी गर्दै आएका छन् । सर्वोच्चको फैसलाले सरिफलाई खलनायकभन्दा पनि पीडित बनायो । शक्तिशालीलाई उत्तरदायी बनाउने आशा

समाप्त भयो ।


पानामा पेपर्सको अनुसन्धानले तपाईंको व्यक्तिगत र व्यावसायिक जीवनमा परिवर्तन ल्याएको छ ?

पानामा पेपर्स मेरो सन्दर्भ विन्दु बनेको छ । यो मेरो परिचयको स्रोत हो । यसले मेरो लागि तगारो पनि खडा गरेको छ । अहिले पाठकले मेरो समाचारलाई पानामा पेपर्ससँग तुलना गर्छन् । एक पटक उच्च सरकारी अधिकारीले आफ्ना कनिष्ट कर्मचारीलाई गर्ने व्यवहारको बारेमा समाचार लेखेपछि उनले मलाई गाली गरे । ‘एकातिर तपाईंले पानामा पेपर्सजस्तो खुलासा गर्नुभयो, अर्कोतिर मेरोबारे रिपोर्टिङ गर्नुहुन्छ,’ उनले भने, ‘कस्तो स्तर खस्किएको ।’


पानामा पेपर्सको कारण मैले राम्रो स्रोतहरू पनि कमाएँ । एक दिन मलाई अर्को व्यक्तिसँग परिचय गराउँदा एक जनाले भने–उहाँ त्यो व्यक्ति हो, जसले नवाज सरिफको पद खुस्काइदिनुभयो । त्यो बेलामा मलाई असहज अनुभूति भयो । यदि सरिफमाथि निष्पक्ष छानबिन भएको भए म त्यस्ता प्रशंसा सहर्ज स्वीकार्थें ।


तपाईंले पेसा सुरु गर्दा ट्विटर र यस्ता सामाजिक सञ्जाल थिएनन् । अहिले ट्विटरमा तपाईंका फलोअर करिब १० लाख छन् । कहिलेकाहीं तपाईं ट्रोलबाट दुव्र्यवहारको सिकार बन्नुहुन्छ ।

ट्विटरजस्ता प्लेटफर्मले तपाईंको पेसालाई कस्तो परिवर्तन गराएको छ ?

म सबैभन्दा धेरै ट्रोल खेप्ने पाकिस्तानी पत्रकार हुँ भन्दा अत्योक्ति नहोला । ट्विटर अडिटले सार्वजनिक गरे अनुसार मेरा आधाभन्दा बढी फलोअर नक्कली हुन् । ममाथि नक्कली एकाउन्ट बनाएर ठूलो समूह लागेको छ । सक्कली प्रयोगकर्तालाई दिग्भ्रमित पार्न यस्ता नक्कली ट्विटर एकाउन्टका माध्यमबाट विभिन्न हल्लाहरू फैलाइन्छ । म भ्रष्ट पत्रकार हुँ भन्ने त्यसमध्ये एउटा हल्ला हो । यस्ता एकाउन्टले कपोकल्पित समाचारहरू पनि बाँड्छन् । मैले नवाफ सरिफसँग दुबईमा अपार्टमेन्ट लिएको भन्ने हल्ला त्यसै मध्येको एक हो । कपोलकल्पित समाचार पनि साँच्चिकै लाग्नेगरी सार्वजनिक गरिएको हुन्छ । मेरो बारेका समाचार नभएको भए मै पनि पत्याउँथेँ होला ।


अर्को समाचारमा मेरो १८ वर्षको छोरी लुभा चिमा रहेको हल्ला चलाइयो । वास्तवमा, छोरी त कुरै छाडौं, मेरा कोही सन्तानको पनि उमेर १८ वर्ष छैन । मैले यो कुरा धेरैपटक ट्विटरमा लेखे पनि सबैलाई बुझाउन सकेको छैन ।

प्रकाशित : माघ २६, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?