कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बालबालिकालाई पट्यार लाग्न दिऔं

पट्यारलाग्दो समयलाई रमाइलो बनाउन के गर्ने ? रुचि अनुसारको किताब पढ्ने । अर्को काम खोज्ने । आफूलाई ऊर्जाशील बनाउने ।
पामेला पाउल

काठमाडौँ — ‘मलाई पट्यार लाग्यो ।’ यो पुन्टे वाक्य हो । तर यो यति शक्तिशाली छ कि यसले अभिभावकलाई शृङखलाबद्ध डर, चिड्चिडाहट र ग्लानिले भरिदिन्छ । यदि वरपरको कसैलाई पट्यार लाग्यो भने उसको दिमागका लागि चाहिएको खुराक दिन नजिकैको व्यक्ति असमर्थ रह्यो भन्ने अर्थ लाग्छ ।

बालबालिकालाई पट्यार लाग्न दिऔं

तर कुनै बच्चा वा वयस्कलाई कसरी त्यसै पट्यार लाग्न सक्छ, जबकि गर्नका लागि वरपर यति धेरै कार्यहरू हुन्छन् ? त्यो पनि तुरुन्तै ।

विरक्ति अनुभव गर्नुपर्ने विषय हो । त्यसै पन्छाउने कुरा किञ्चित होइन । यो कुनै कठोर सजाय पनि होइन, जसले तपाईंलाई सशक्त बनाओस् । तसर्थ हुर्किंदै गरेका अधिकांश वयस्कहरूले थाहा पाउनुपर्ने कुरा के भने उदास व्यक्तिलाई मात्र पट्यार लाग्छ । खासमा विरक्त लाग्ने समय उपयोगी हुन्छ ।

बच्चाहरूले यसलाई बाल्यकालमै बुझेनन् भने पछि उनीहरू आश्चर्यचकित पर्छन् । उदाहरणका लागि विद्यालयलाई नै लिऊँ । त्यो खासै टिठलाग्दो ठाउँ होइन र शिक्षकको काम शिक्षा दिनु हो । विद्यालयमा विद्यार्थीहरूको समयलाई मनोरञ्जनात्मक मात्रै बनाउनु होइन । जीवन भनेको आश्चर्य र रमाइलोहरूले भरिपूर्ण अन्त्यहीन झाँकी पनि होइन ।

मारिया सेमप्लेको उपन्यास ‘ह्वेयर उड यु गो, बर्नाडेटे’मा एक आमाले पट्यार मानिरहेकी आफ्नी छोरीलाई भन्छे, ‘तिमीलाई पट्यार लागिरहेको छ । म तिमीलाई जीवनको एउटा सानो रहस्य बताउँछु । तिमीलाई अहिले पट्यारिलो लागिरहेको छ ? त्यसो भए, भोलिका दिनमा झनै धेरै पट्यार लाग्नेछ । जति चाँडो तिमी आफ्नो जीवनलाई आफैं चाखलाग्दो बनाउन सक्छौ, त्यति नै तिमीले प्रगति गर्छौ ।’

मानिसहरू अधिकांश जीवन पट्यारिलो नै हुन्छ भन्ने मान्छन् । २१ शताब्दी पहिलेका आत्मवृत्तान्तहरू उराठलाग्दा नै छन् । जब चित्रकलाका विद्यार्थीलाई कक्षाकोठामा गर्नका लागि केही काम हुँदैन थियो, तब उनीहरू सबैलाई हिँड्न लगाइन्थ्यो । र उनीहरू रुखलाई नियालेर बस्थे । उनीहरू आकार–प्रकार सबै याद गरेर रुखलाई हेरिरहन्थे । काम गर्नुपर्नेहरूले धेरै नै मिहेनत गर्नुपर्थ्यो । कृषि र उद्योगका कामहरू दिमागलाई नै थकाइदिने खालका हुन्थे । मानिसहरू पैसाका लागि त्यस्तो काम गर्न तयार हुन्थे । त्यतिबेलाका बालबालिकाले त्यो सबै देखे र त्यस्तै प्रकारको भविष्यका लागि मानसिक रूपमा पहिलादेखि नै तयार भए । उनीहरूलाई हेरचाह गर्ने कोही हुँदैन थियो । खेल्नका लागि रुखका ठुटाठुटी मात्रै हुन्थ्यो र कहिलेकाहीं टिभी हेर्न पाउँथे ।

केही दशक अघिसम्म अभिभावकत्वलाई लिएर यति धेरै बहस भएकै थिएन । वयस्कहरू केही पट्यारिलो सयम ठिकै हो भन्ने सोच्थे । र बच्चाहरू पनि आफ्नो खाली समयलाई उत्साहपूर्वक स्वीकार गर्थे । अहिले बच्चालाई केही पनि नगरी बस्नदिनु भनेको आफ्नो अभिभावकत्वको जिम्मेवारी कुशलतापूर्वक बहन नगर्नु हो । द टाइम्समा धेरै नै पढिएको क्लेयर केन मिलरको लेख ‘द रेस्टलेसनेस अफमोर्डन प्यारेन्टिङ’मा हालसालैको एक अध्ययनलाई उद्धरण गरिएको छ ।

त्यसमा उल्लेख छ– कुनै पनि वर्ग वा समुदायका अभिभावकहरूका अनुसार ‘यदि कुनै बच्चालाई विद्यालयको समयपछि पट्यार लाग्छ भने उसलाई कुनै अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्छ । साथै यदि कोही अभिभावक आफ्नो काममा व्यस्त छ भने पनि त्यो कार्य गर्न छोडेर बच्चासँग बसेर चित्र कोर्नुपर्छ ।’

हरेक फुर्सदिलो समयको सदुपयोग हुनुपर्छ र त्यसलाई कुनै लक्ष्य केन्द्रित बनाउनुपर्छ ।

त्यसैले हिजोआज जब बालबालिकाहरू अभिभावकहरूको ‘उग्र–अभिभावकत्व’बाट मुक्त हुन्छन्, तब उनीहरूलाई डिजिटल सामग्री खेल्नका लागि दिइएको हुन्छ । त्यस्ता सामग्री कुनै बच्चाको आफ्नै हुन्छ, कसैले अभिभावककै चलाउँछन् । लामो घुमघाम वा हवाइजहाज यात्रा गर्नलागेका अभिभावक युद्धमा जानलागेका सैनिकझैं तयारीमा जुट्छन्– कुन फिल्म आइप्याडमा राख्ने ? पारिवारिक फिल्म के हुन्छ ? बच्चाहरूलाई मोबाइलमा गेम खेल्न दिन हुन्छ कि हुँदैन, ताकि उनीहरू खेल्दा– खेल्दै निदाउन् ।

७० का दशकका अभिभावकहरूले आफ्नो बच्चालाई पट्यार लाग्यो भने के गर्थे होलान् ? केही नाइ ! उनीहरू बच्चाहरूलाई जे मन लाग्छ, त्यही गर्न दिन्थे । कहिलेकाहीं त यातना पनि दिन्थे । खेल्नका लागि चुँडिएको सिटबेल्ट हुन्थ्यो ।

यदि त्यो बेला पट्यार लाग्यो भनेर मुखबाट फुस्किहाले फसादमा परिन्थ्यो । सरल जवाफ हुन्थ्यो, ‘बाहिर गएर खेल !’ वा त्योभन्दा भयानक पनि हुनसक्थ्यो, ‘गएर आफ्नो कोठा सफा गर !’ के यो रमाइलो हो ? कदापि होइन । तर के त्यसले फाइदा गथ्र्यो ? अवश्य ।

किनकि पट्यार लागेपछि नै मान्छेले अरू काम खोज्छ । मैले आफ्नो युवा अवस्थामा गरेका कामहरू त्यस्तै पट्यारलाग्दा थिए । तर तिनै काम सबैभन्दा सिर्जनशील थिए । पट्यारलाग्दो अवस्थालाई प्रेरणाका रूपमा लिने हो भने त्यसले नयाँ आविष्कारको दिशातर्फ अग्रसर गराउँछ । राम्रोसँग हेरिरहे एउटा रुख अर्को रुखभन्दा धेरै प्रकारले भिन्न हुन्छ र एकै खाले स्वीटरमा पनि भिन्नता देखिन्छ । त्यसैले नुहाउँदा कति धेरै विचार दिमागमा फुर्छन् । किनकि हामी त्यहाँ दिमागलाई जे गर्न मन लाग्छ, त्यही गर्न दिन्छौं ।

पट्यार लाग्दैमा सबै राम्रो हुने भन्नेचाहिँ होइन । पट्यार लाग्दा हामीले के गर्छौं भन्ने सबैभन्दा महत्त्वपूर्ण विषय हो । पट्यार लागेर उत्कर्षमा पुगेपछि नै हामीले अब के गर्ने भनेर सोच्छौं । जहाँबाट सिर्जनशीलताको जन्म हुन्छ । नत्र कसैले कहिल्यै केही सिक्दैन । पट्यारलाग्दो समयलाई रमाइलो बनाउन के गर्ने भन्ने आफूले निर्णय गर्ने कुरा हो । आफ्नो रुचि अनुसारको किताब पढ्ने । अर्को काम खोज्ने । आफूलाई ऊर्जाशील बनाउने ।

एक अध्ययनका अनुसार जो व्यक्तिको एकाग्रता कम हुन्छ, उसलाई नै धेरै पट्यार लाग्छ । पट्यार लागे के गर्ने भनेर थाहा पाउनु भनेको आफैंमा एकाग्रताको परीक्षा हो ।

त्यसैले बालबालिकालाई पट्यार लाग्न दिनु राम्रो हो । उनीहरूलाई पट्यार मानेरै बस्न दिनुपर्छ । पट्यार लागे के गर्ने भन्ने उनीहरूको निर्णय हुनुपर्छ । हामीले आफ्नो बालबालिकालाई यो रूपमा तयार गर्न नै बिर्सिसक्यौं । हामी उनीहरूलाई पट्यार लागे हातमा मोबाइल वा आइप्याड थमाइदिन्छौं र उनीहरूको सोचलाई सानो पिँजडामा कैद गरिदिन्छौं । त्यसो गर्न बन्द गरौं । उनीहरूलाई ‘क्यान्डी क्रस’को संसारबाट बाहिर निकालेर आफ्नो दुनियाँ आफैं सिर्जना गर्न दिऊँ ।

पामेला पाउल न्युयोर्क टाइम्सको किताब समीक्षा विभागकी सम्पादक हुन् ।

(न्युयोर्क टाइम्सबाट अनुदित)

प्रकाशित : माघ २६, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?