क्रान्ति, शान्ति र नेपाल

समय रेखा
अभि सुवेदी

काठमाडौँ — नेपाली राजनीतिक बहसमा अहिले नेपाली कमिनिष्ट नेता र सरकारका भाष्य अनि अमेरिका र पश्चिमी देशहरूसँगका सम्बन्धको विषयमा चर्चाहरू चलेका छन् । फरक–फरक धारणा भएका विद्वान र राजनीतिज्ञहरूले यस विषयमा छलफल गरेका लेख पढ्न पाइन्छन् ।

भेनेजुएला भन्ने दक्षिण अमेरिकी देशको राजनीतिक अस्थिरताको बबन्डरमा त्यो देशको संसद्का अध्यक्ष हुवाँ ग्वाइदोले राष्ट्रपति निकोलस मदुरोको सट्टा आफूलाई राष्ट्रपति घोषित गरेको र तिनलाई अमेरिकाले समर्थन गरेको विषयलाई लिएर नेपाल कमिनिष्ट पार्टीको द्वैत अध्यक्ष मध्येका प्रचण्डले अमेरिकाको यस कदमलाई हस्तक्षेप भनेको विषयले सरकार, पार्टी अनि मिडियामा तरङ्ग ल्याएको छ ।

प्रचण्डले एक क्रान्तिकारी कमिनिष्टको परिचित भाष्यको प्रयोग गरेको कुरा अहिलेको चर्चाको विषय हो । प्रधानमन्त्री केपी शर्मा ओली डावोसबाट फर्केपछि सरकारको तर्फबाट आएको भाष्यमा केही परिवर्तन गरी यसलाई नरम बनाएको तर अमेरिकीहरूले चित्त नबुझाएको र प्रधानमन्त्रीले विदेशी नियोगका उत्तरदायी मानिसलाई बोलाएको मिटिङमा अमेरिकी राजदूत अनुपस्थित भएको कुरा अहिले छलफलमा आएका विषय हुन् ।

कमिनिष्ट पार्टीको मिटिङले भाषामा केही परिवर्तन गरे पनि हाम्रो भनाइ जे हुनुपथ्र्यो, त्यही नै रहेको छ भनेर प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका कुरा भाषा र साहित्यका विद्यार्थीका निम्ति पनि अर्थपूर्ण छन् । विगतमा हामी खासै कमिनिष्ट नै होइनौं भनिसकेका केपी शर्मा ओली र क्रान्तिकारी बाटोबाट चुनावमुखी लोकतान्त्रिक बाटोमा कमिनिष्टहरूको एकताको निम्ति हामी आएको र यो ऐक्य भएको दल नै कमिनिष्ट पार्टी हो भन्ने प्रचण्ड र साथीहरूको निम्ति यो सम्पादन र अर्थ व्याख्या गरिएको सानो वक्तव्य एक दोभान पाठ हो ।

यस्तो यात्राको मिलनबिन्दुलाई मेरी लुई प्राटले आफ्नो प्रसिद्ध किताब इम्पेरियल आइज (२००३) मा यात्राहरूको दोभान वा ‘कन्ट्याक्ट जोन’ भनेकी छन् । अमेरिकाले दक्षिण अमेरिकी देशहरूमा विगतदेखि अहिलेसम्म आफ्नो प्रभुत्व र प्रभावको निम्ति काम गरेको कुरा सबैलाई थाहा भएकै विषय हो । सीआईएले आफ्ना करतुतले चिलीका कवि पाब्लो नेरुदाको अवसान गराएको घटना बिर्सन नसकिने विषय हो । अहिले यो लेखको विषय भने अलिक अर्कै छ ।

विद्वानहरूका विश्लेषण र सिद्धान्त पढेपछि अकस्मात लाग्यो, यो साधारण देखिने सम्पादनको बहस विगतका दुई कमिनिष्ट दल मिलेर समन्वय गर्न नसकेको बेला आएको एउटा रूपक हो, एक प्रतीक हो । यो अमेरिकालाई लेखेको चिठीको भाष्य कमिनिष्ट जगतमा र पार्टीले जारी गर्ने परम्परामा कुनै नयाँ कुरा नभए पनि यसको नेपालमा गरिएको प्रयोगले जुन नयाँ बहस सिर्जना गर्‍यो, त्यसको अर्थ अर्कै देखियो ।

नेताले अमेरिकाको आलोचना गरिसकेपछि त्यसमाथि कमिनिष्टकै सरकारले किन भाषिक बहस चलाउनुपर्‍यो ? त्यो मूल विषय हो । प्रचण्डले जारी गरेको भाष्य र सरकारी भाष्य अनि पार्टीले मन्थन गरेको शैली सम्पादनको बहसले नेपाली विभाग र प्रज्ञा प्रतिष्ठानका नेपाली भाषा व्याकरणका जौडे विद्वानलाई पनि चकित पारेको अवस्था छ, अहिले ।

यत्रो कमिनिष्टको सरकार भएको र यति धेरै कार्यकर्ता भएको देशमा पार्टी अध्यक्षको यो वक्तव्यले किन तरङ्ग ल्यायो भन्ने कुरा सबै छलफलमा उत्तर गरिएको पाइंँदैन । यो चिठीको भाषिक सम्पादनले राष्ट्रिय राजनीतिक अर्थ बोक्छ । भर्खरै वरिष्ठ कमिनिष्ट नेता वामदेव गौतमले कान्तिपुर टिभीसँग भने, ‘तीन वा यदाकदा ४ जनाले पार्टीमा काम पाएका छन्, हामी ७ लाख कमिनिष्ट छौं, नेपालमा । म लगायत कसैले पनि काम पाएका छैनौं ।’

अहिले दुई कमिनिष्ट दलको समन्वय हुन नसकेको अवस्था भनेको एउटा यस्तै पाठ लेख्न नसक्नुको अवस्था हो कि त । प्रचण्डले पहिले लेखेको भाष्य र त्यसको सम्पादनलाई नेपाल कमिनिष्ट पार्टीभित्रको भाषिक वाणीद्वन्द्व र त्यसको निदानको प्रयासको रूपमा लिनुपर्छ । नाम मात्रै अमेरिकालाई लेखिएको तर नेपाली कमिनिष्टहरूको बीचमा चलेका तरङ्गले देखाए अनुसार यो वक्तव्य र यसको शैलीमाथिका उथल–पुथल हेर्दा यो नेपाली कमिनिष्टले कमिनिष्टलाई नै लेखेर निदान खोजिरहेको एउटा अपूर्ण पाठ हो ।

प्रचण्डको यो पत्रलाई म एक कमिनिष्ट नेताको साधारण वक्तव्य मान्छु, जसलाई बुझ्न एकाध प्रसङ्ग ल्याउनु जरुरी छ । प्रचण्डले लेखेको वक्तव्य र सरकार र पार्टीद्वारा सम्पादित पत्रले भोलिका दिनमा नेपाल र अमेरिका अनि पश्चिमी मुलुकहरूसँगको सम्बन्ध भत्किनेछ भन्ने मलाई लाग्दैन । अमेरिकालाई यसको खासै महत्त्व हुने छैन । केवल अरू कसैको प्रभावले यस्तो लेखिएको हो कि भन्ने अमेरिकालाई लाग्न सक्छ, तर त्यसको पनि हल्लाउने अर्थ भेटिने छैन ।

यो पत्र एउटा कमिनिष्टले प्रयोग गरिबस्ने भाष्यको कलेवर हो । तर यसको बहसले के बुझियो भने नेपालका कमिनिष्टले प्रयोग गर्ने भाषा, कामको विधि, सिद्धान्तको पालना गर्दा यो भेगको र नेपालको लोकतान्त्रिक पद्धतिको सन्दर्भमा बढी असर पार्ने विषय के हुन् भन्ने कुरा यो चिठीले देखाएको छ ।

म कुनै सैद्धान्तिकभन्दा एउटा साहित्यिक प्रसङ्ग ल्याउन चाहन्छु । सुनित चोप्रा नाम भएका मभन्दा जेठा मेरा एक भारतीय मित्र कवि छन् । ती भारतीय कमिनिष्ट पार्टीका केन्द्रीय समितिका सदस्य र मजदुर संघका नेता पनि हुन् । सुनित अत्यन्त सक्रिय र बहुप्रतिभाशाली व्यक्ति हुन् । सुनितसँग म कवि र कला समीक्षक अनि कला प्रदर्शनीका आयोजकको रूपमा निकै वर्षदेखि नजिक भएको हुँ । उनलाई दक्षिण एसियाली साहित्य भेला र गोष्ठीको माध्यमले चिनेको हुँ । सन् १९६४ मा नै लन्डन सोआसबाट अनर्स लिएर ग्रेजुएट भएका, जेएनयुमा पीएचडी दर्ता गरेका सुनित जेएनयु विद्यार्थी युनियन खोल्ने प्रमुख व्यक्ति पनि हुन् ।

उनको विषयमा सूचना सजिलै पाउन सकिने हुनाले यसलाई यत्तिमै छाड्छौं । मैले सुनितलाई निकैपटक अनेकौं अवसरमा भेटिआएको छु । पछिल्लो पटक मैले सुनितलाई २०१७ को जुलाईमा दिल्ली दक्षिण एसियाली लेखक भेलामा भेटेँ । ऊसँग भएका कुराकानी र अनुभवलाई लिएर द काठमाडौं पोस्ट (९ जुलाई २०१७) मा लेखेको पनि छु । सुनितले बुर्जुवा र समाजवादीहरूको भारतीय चरित्रबारे मलाई सुनाए । उनले भने भारतीय कमिनिष्ट पार्टीले चुनावमा जति थोरै सिट जिते पनि यसले एउटा समाजवादीको इतिहास र विचारको पहिचानलाई प्रस्ट गरेर राखेको छ, जसको प्रभाव राजनीति, साहित्य र कलामा रहिआएको छ ।

भारतीय कमिनिष्टको लामो इतिहास एउटा राजनीतिको मात्र नभएर संस्कृति, कला र नाट्यमञ्च वा भारतीय थिएटर र प्रदर्शनकारी कला समाजको इतिहाससँग पनि जोडिएको छ । इन्डियन पिपुल थिएटर असोसिएसन (इप्टा) को विषयमा मैले सुनितसँग कुरा गरेको छु । मैले प्रसिद्ध बङ्गाली रङ्गमञ्चका महारथी ट्राटस्कीको ‘शाश्वत क्रान्ति’ भन्ने किताब पढ्ने उत्पल दत्त (१९२९—१९९३) ले आफ्नो आत्मकहानीमा बयान गरेका सलिल चौधरी, रित्विक घटक, पानु पाल, मृणाल सेन, काली वनर्जी, निर्मल घोष, हेमाङ्गो विश्वास आदि वामपन्थी थिएटरकर्मीको विषयमा पनि छलफल गरें ।

सुनितले पछिल्लोपटक मलाई उनले ह्युगो चाभेजमाथि लेखिएको अंग्रेजी कविता दिए । उनले मैले अध्यक्षता गरेको गोष्ठीमा त्यो पाठ पनि गरे । नेपाली कवि गीता कार्कीले पनि उनीसँगै आफ्ना कविता सुनाएकी थिइन् । यो कविता सुनितले लेखेका अरू कविताभन्दा फितलो छ । मसँग अझै कहीं होला, त्यो । एउटा नैरन्तर्य भएको, संस्कृति र विचार रचना गरेको, नम्बुदरीपाद, श्रीपाद अमृत डाँगे आदि नेताहरूले चलाइआएको र अहिलेसम्म पनि चलिरहेको कमिनिष्ट पार्टीका आन्तरिक साधक सुनितको ह्युगो चाभेजमाथिको आकर्षण कमिनिष्टहरूको आफ्नो आन्दोलनका वैश्विक आन्दोलन र नेताहरूप्रतिको भावनात्मक विषय पनि हो ।

ल्याटिन अमेरिकी देशको कमिनिष्ट आन्दोलनमा केही बढी काल्पनिकी उजागर गर्ने किञ्चित् रोमानी सामथ्र्य पनि हुन्छ । फिडेल क्याष्ट्रो, चे ग्वेभारा, आयान्डे, पाब्लो नेरुदाका नाम जोडिएका हुन्छन् । तर धनी देश भएर पनि कन्तविजोग र अव्यवस्थित भएर ३० लाख मानिसले देश छाडेर हिँंडेको समाजवादी देश भेनेजुएलामा के–के कमजोरी भए ? र विदेशीले हात हाल्न पाए भन्ने कुरा कमिनिष्ट पार्टीहरूले राम्ररी बुझ्दा काम गर्न सजिलो हुनेछ ।

प्रचण्ड अरण्यबाट निस्केका धेरै वर्ष भएका छैनन् । गिरिजाबाबुले ‘ए हामीजस्तै पो रहेछन्, यी गुरिल्ला त’ भनेको १२ वर्ष पनि पुगेको छैन । त्यसैले उनले चाभेजले छानेका निकोलस मदुरोको समर्थनमा सन्देश पठाउनुमा म त्यही कमिनिष्ट संस्कार र परम्पराको नैरन्तर्य देख्छु र त्यही अर्थमा त्यसलाई स्वाभाविक पनि ठान्छु । नेपालका कमिनिष्टहरूले कतिसम्म वैश्विक कमिनिष्ट आन्दोलनका विषयलाई प्रयोग गर्न सक्छन्, त्यो उनीहरूको आफ्नै चुनौती हो । तर कमिनिष्ट आन्दोलन र सरकारहरूआफ्नै ठाउँ परिवेशले प्रभावित हुन्छन् भन्ने कुरा यसले प्रमाणित गरेको छ ।

नेपालमा भारतको दलीय संस्कारको प्रभाव निकै छ । गान्धीको शैलीमा सत्याग्रह गर्ने गोविन्द केसीको उपलब्धि दलका सरकारका उपलब्धिसँग तुलना गर्दा त्यति कम छैन । आज शान्तिपूर्ण आन्दोलन वा ‘सिभिल रेजिस्टेन्स’ एउटा परिवर्तनकारी शक्तिको रूपमा देखिएको सबभन्दा उल्लेखनीय देश नेपाल नै हो । क्रान्ति र शान्तिका उपलब्धिलाई साथै लिएर अघि बढ्ने अवसर भएको नमुना देश हो– नेपाल ।

प्रकाशित : माघ २६, २०७५ ०९:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बालबालिकालाई पट्यार लाग्न दिऔं

पट्यारलाग्दो समयलाई रमाइलो बनाउन के गर्ने ? रुचि अनुसारको किताब पढ्ने । अर्को काम खोज्ने । आफूलाई ऊर्जाशील बनाउने ।
पामेला पाउल

काठमाडौँ — ‘मलाई पट्यार लाग्यो ।’ यो पुन्टे वाक्य हो । तर यो यति शक्तिशाली छ कि यसले अभिभावकलाई शृङखलाबद्ध डर, चिड्चिडाहट र ग्लानिले भरिदिन्छ । यदि वरपरको कसैलाई पट्यार लाग्यो भने उसको दिमागका लागि चाहिएको खुराक दिन नजिकैको व्यक्ति असमर्थ रह्यो भन्ने अर्थ लाग्छ ।

तर कुनै बच्चा वा वयस्कलाई कसरी त्यसै पट्यार लाग्न सक्छ, जबकि गर्नका लागि वरपर यति धेरै कार्यहरू हुन्छन् ? त्यो पनि तुरुन्तै ।

विरक्ति अनुभव गर्नुपर्ने विषय हो । त्यसै पन्छाउने कुरा किञ्चित होइन । यो कुनै कठोर सजाय पनि होइन, जसले तपाईंलाई सशक्त बनाओस् । तसर्थ हुर्किंदै गरेका अधिकांश वयस्कहरूले थाहा पाउनुपर्ने कुरा के भने उदासव्यक्तिलाई मात्र पट्यार लाग्छ । खासमा विरक्त लाग्ने समय उपयोगी हुन्छ ।

बच्चाहरूले यसलाई बाल्यकालमै बुझेनन् भने पछि उनीहरू आश्चर्यचकित पर्छन् । उदाहरणका लागि विद्यालयलाई नै लिऊँ । त्यो खासै टिठलाग्दो ठाउँ होइन र शिक्षकको काम शिक्षा दिनु हो । विद्यालयमा विद्यार्थीहरूको समयलाई मनोरञ्जनात्मक मात्रै बनाउनु होइन । जीवन भनेको आश्चर्य र रमाइलोहरूले भरिपूर्ण अन्त्यहीन झाँकी पनि होइन ।

मारिया सेमप्लेको उपन्यास ‘ह्वेयर उड यु गो, बर्नाडेटे’मा एक आमाले पट्यार मानिरहेकी आफ्नी छोरीलाई भन्छे, ‘तिमीलाई पट्यार लागिरहेको छ । म तिमीलाई जीवनको एउटा सानो रहस्य बताउँछु । तिमीलाई अहिले पट्यारिलो लागिरहेको छ ? त्यसो भए, भोलिका दिनमा झनै धेरैपट्यार लाग्नेछ । जति चाँडो तिमी आफ्नो जीवनलाई आफैं चाखलाग्दो बनाउन सक्छौ, त्यति नै तिमीले प्रगति गर्छौ ।’

मानिसहरू अधिकांश जीवन पट्यारिलो नै हुन्छ भन्ने मान्छन् । २१ शताब्दी पहिलेका आत्मवृत्तान्तहरू उराठलाग्दा नै छन् । जब चित्रकलाका विद्यार्थीलाई कक्षाकोठामा गर्नका लागि केही काम हुँदैन थियो, तब उनीहरू सबैलाई हिँड्न लगाइन्थ्यो । र उनीहरू रुखलाई नियालेर बस्थे । उनीहरू आकार–प्रकार सबै याद गरेर रुखलाई हेरिरहन्थे । काम गर्नुपर्नेहरूले धेरै नै मिहेनत गर्नुपर्थ्यो । कृषि र उद्योगका कामहरू दिमागलाई नै थकाइदिने खालका हुन्थे । मानिसहरू पैसाका लागि त्यस्तो काम गर्न तयार हुन्थे । त्यतिबेलाका बालबालिकाले त्यो सबै देखे र त्यस्तै प्रकारको भविष्यका लागि मानसिक रूपमा पहिलादेखि नै तयार भए । उनीहरूलाई हेरचाह गर्ने कोही हुँदैन थियो । खेल्नका लागि रुखका ठुटाठुटी मात्रै हुन्थ्यो र कहिलेकाहीं टिभी हेर्न पाउँथे ।

केही दशक अघिसम्म अभिभावकत्वलाई लिएर यति धेरै बहस भएकै थिएन । वयस्कहरू केही पट्यारिलो सयम ठिकै हो भन्ने सोच्थे । र बच्चाहरू पनि आफ्नो खाली समयलाई उत्साहपूर्वक स्वीकार गर्थे । अहिले बच्चालाई केही पनि नगरी बस्नदिनु भनेको आफ्नो अभिभावकत्वको जिम्मेवारी कुशलतापूर्वक बहन नगर्नु हो । द टाइम्समा धेरै नै पढिएको क्लेयर केन मिलरको लेख ‘द रेस्टलेसनेस अफमोर्डन प्यारेन्टिङ’मा हालसालैको एक अध्ययनलाई उद्धरण गरिएको छ ।

त्यसमा उल्लेख छ– कुनै पनि वर्ग वा समुदायका अभिभावकहरूका अनुसार ‘यदि कुनै बच्चालाई विद्यालयको समयपछि पट्यार लाग्छ भने उसलाई कुनै अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्छ । साथै यदि कोही अभिभावक आफ्नो काममा व्यस्त छ भने पनि त्यो कार्य गर्न छोडेर बच्चासँग बसेर चित्र कोर्नुपर्छ ।’

हरेक फुर्सदिलो समयको सदुपयोग हुनुपर्छ र त्यसलाई कुनै लक्ष्य केन्द्रित बनाउनुपर्छ ।
त्यसैले हिजोआज जब बालबालिकाहरू अभिभावकहरूको ‘उग्र–अभिभावकत्व’बाट मुक्त हुन्छन्, तब उनीहरूलाई डिजिटल सामग्री खेल्नका लागि दिइएको हुन्छ । त्यस्ता सामग्री कुनै बच्चाको आफ्नै हुन्छ, कसैले अभिभावककै चलाउँछन् । लामो घुमघाम वा हवाइजहाज यात्रा गर्नलागेका अभिभावक युद्धमा जानलागेका सैनिकझैं तयारीमा जुट्छन्– कुन फिल्म आइप्याडमा राख्ने ? पारिवारिक फिल्म के हुन्छ ? बच्चाहरूलाई मोबाइलमागेम खेल्न दिन हुन्छ कि हुँदैन, ताकि उनीहरू खेल्दा– खेल्दै निदाउन् ।

७० का दशकका अभिभावकहरूले आफ्नो बच्चालाईपट्यार लाग्यो भने के गर्थे होलान् ? केही नाइ ! उनीहरू बच्चाहरूलाई जे मन लाग्छ, त्यही गर्न दिन्थे । कहिलेकाहीं त यातना पनि दिन्थे । खेल्नका लागि चुँडिएको सिटबेल्ट हुन्थ्यो ।

यदि त्यो बेला पट्यार लाग्यो भनेर मुखबाट फुस्किहाले फसादमा परिन्थ्यो । सरल जवाफ हुन्थ्यो, ‘बाहिर गएर खेल !’ वा त्योभन्दा भयानक पनि हुनसक्थ्यो, ‘गएर आफ्नो कोठा सफा गर !’ के यो रमाइलो हो ? कदापि होइन । तर के त्यसले फाइदा गथ्र्यो ? अवश्य ।

किनकि पट्यार लागेपछि नै मान्छेले अरू काम खोज्छ । मैले आफ्नो युवा अवस्थामा गरेका कामहरू त्यस्तैपट्यारलाग्दा थिए । तर तिनै काम सबैभन्दा सिर्जनशील थिए । पट्यारलाग्दो अवस्थालाई प्रेरणाका रूपमा लिने हो भने त्यसले नयाँ आविष्कारको दिशातर्फ अग्रसर गराउँछ । राम्रोसँग हेरिरहे एउटा रुख अर्को रुखभन्दा धेरै प्रकारले भिन्न हुन्छ र एकै खाले स्वीटरमा पनि भिन्नता देखिन्छ । त्यसैले नुहाउँदा कति धेरै विचार दिमागमा फुर्छन् । किनकि हामी त्यहाँ दिमागलाई जे गर्न मन लाग्छ, त्यही गर्न दिन्छौं ।

पट्यार लाग्दैमा सबै राम्रो हुने भन्नेचाहिँ होइन । पट्यार लाग्दा हामीले के गर्छौं भन्ने सबैभन्दा महत्त्वपूर्ण विषय हो । पट्यार लागेर उत्कर्षमा पुगेपछि नै हामीले अब के गर्ने भनेर सोच्छौं । जहाँबाट सिर्जनशीलताको जन्म हुन्छ । नत्र कसैले कहिल्यै केही सिक्दैन । पट्यारलाग्दो समयलाई रमाइलो बनाउन के गर्ने भन्ने आफूले निर्णय गर्ने कुरा हो । आफ्नो रुचि अनुसारको किताब पढ्ने । अर्को काम खोज्ने । आफूलाई ऊर्जाशील बनाउने ।

एक अध्ययनका अनुसार जो व्यक्तिको एकाग्रता कम हुन्छ, उसलाई नै धेरै पट्यार लाग्छ । पट्यार लागे के गर्ने भनेर थाहा पाउनु भनेको आफैंमा एकाग्रताको परीक्षा हो ।

त्यसैले बालबालिकालाई पट्यार लाग्न दिनु राम्रो हो । उनीहरूलाई पट्यार मानेरै बस्न दिनुपर्छ । पट्यार लागे के गर्ने भन्ने उनीहरूको निर्णय हुनुपर्छ । हामीले आफ्नो बालबालिकालाई यो रूपमा तयार गर्न नै बिर्सिसक्यौं । हामी उनीहरूलाई पट्यार लागे हातमा मोबाइल वा आइप्याड थमाइदिन्छौं र उनीहरूको सोचलाई सानो पिँजडामा कैद गरिदिन्छौं । त्यसो गर्न बन्द गरौं । उनीहरूलाई ‘क्यान्डी क्रस’को संसारबाट बाहिर निकालेर आफ्नो दुनियाँ आफैं सिर्जना गर्न दिऊँ ।
पामेला पाउल न्युयोर्क टाइम्सको किताबसमीक्षा विभागकी सम्पादक हुन् ।
(न्युयोर्क टाइम्सबाट अनुदित)

प्रकाशित : माघ २६, २०७५ ०९:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्