बेटी अभियान कसलाई ?

शिक्षित, सहरमा बसोबास गर्ने, आर्थिक रूपले सम्पन्न र प्रविधिबारे जानकार मानिसलाई लक्षित गरेर बेटी बचाउ अभियान चलाउनुपर्छ ।
रीता साह

काठमाडौँ — प्रदेश नं. २ ले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान थालेको छ । अभियान अन्तर्गत प्रदेशभित्र जन्मिने हरेक बेटीलाई प्रदेश सरकारले एक लाखको विमा गरिदिने घोषणा गरेको छ । प्रदेशका आठवटै जिल्लाका एक–एक पालिकाबाट यो अभियान सुुरु गरिँदैछ । यस्तो कल्याणकारी अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्छ ।

अभियानलाई प्रभावकारी बनाउन लक्षित समूह र ठाउँको सामाजिक, आर्थिक, शैक्षिक, पारम्परिक एवं र सांस्कृतिक पक्षको विश्लेषण हुन जरुरी छ । अभियानले बेटी कसलाई मानेको छ ? जन्मेदेखि २० वर्षसम्मका लागि मान्ने कि बिहे नहुन्जेलसम्मकालाई ? प्रदेशमा बेटीको जनसंख्या कति छ ? जातिगत र क्षेत्रगत विविधतालाई कसरी सम्बोधन गर्ने ? सुरुमै प्रस्ट हुनुपर्छ ।

Citizen

‘बेटी बचाउ’ र ‘बेटी पढाउ’ एकअर्कासँग सम्बन्धित भए पनि यिनको छुट्टाछुट्टै विश्लेषण हुन जरुरी छ । बेटी बचाउ अभियान बेटी
भू्रणको हत्या, बेटी बच्चा फाल्ने, बालविवाह तथा दाइजोजस्ता कुरीतिबाट बचाउन हो ।

धेरै बेटी जन्मिनु अघि मारिन्छन् । गर्भमा रहेको बेटीलाई बचाउनसके यो अभियान सार्थक बन्छ । तथ्यांक विभागले हाले सार्वजनिक गरेको प्रदेश अनुसारको जनसंख्या विवरण अनुसार प्रदेश नं. २ मा मात्र महिलाको जनसंख्या कम छ । यस प्रदेशमा पुरुष ५०.३ प्रतिशत र महिला ४९.७ प्रतिशत छन् अर्थात महिलाको संख्या ३१ हजार ७ सयले कमी छ ।

जिल्लागत पनि धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, दाङ, काठमाडाैं, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, मुगु र कालिकोटमा पुरुषभन्दा महिला कम छ । जातिगत आधारमा ब्राह्मण, कायस्थ, राजपुत, देव, मारवाडी, कोइरी, हलुवाई, तेली, यादव, मुस्लिम, चमार, मुसहर, धानुक, चेपाङ, राउटे जातिमा पुरुषभन्दा महिला कम छन् । २०७४ पुसमा युएन ओमनले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार ७७ जिल्लामध्ये १२ जिल्लाका २५ प्रतिशतभन्दा बढीले भू्रण परीक्षण गराउँछन् । तीमध्ये अधिकांश मधेसका र प्रदेश २ का जिल्ला हुन् ।

यी तथ्यांकले मधेसका जिल्लामा बेटी घट्नुको मूल कारण बेटी भू्रणको हत्या हो भन्ने देखाउँछ । यो मधेसी समाजमा रहेको लंैगिक विभेदको पराकाष्ठा हो । बेटी भू्रणहत्या गर्ने अधिकांश शिक्षित, सहरमा बसोबास गर्ने, आर्थिक रूपले सम्पन्न र प्रविधिबारे जानकार हुनेहरू छन् । तिनलाई लक्षित गरेर कार्यक्रम तर्जुमा नगरेसम्म बेटी बचाउ अभियान सफल हुन गाह्रो छ । कतिपयले छोरी बच्चा जन्मिसकेपछि जिउँदै वा मारेर फाल्ने गर्छन् । केही अघि महोत्तरी जिल्लाको औरहीमा नवजात बालिका उखुबारीमा फालिएको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । मधेसमा यस्ता घटना बाक्लै हुन्छन् ।

मधेसमा बढी छोरी हुनेले बालविवाह गर्ने घटना पनि प्रशस्तै हुने गर्छ । विशेष गरेर दलित र मुस्लिम समुदायमा सानै उमेरमा बिहे हुने गर्छ । ग्रामीण भेगको निम्न वर्गका परिवारमा बढी बालविवाह देखिन्छ । डोम समुदायमा सानैमा बिहे गरिएन भने ‘केटा पाउँदैन’ भनिन्छ । सन् २०१५ मा युनिसेफले गरेको एक अध्ययन अनुसार सबैभन्दा बढी बालविवाह सप्तरीमा देखिएको छ ।

बेटी बचाउन दाइजो प्रथा उन्मूलन आवश्यक छ । दाइजो लेनदेन अहिले सबै समुदाय, वर्ग, जात र क्षेत्रमा हुने गर्छ । दाइजो लेनदेनको प्रकृति र प्रवृत्तिमात्रै फरक छ । कतै पैसाको लेनदेन हुन्छ भने कतै सामान, गरगहनाको लेनदेन हुन्छ । दाइजो लेनदेन अशिक्षा र चेतनाको कमीले हुने होइन, यो शिक्षित र सम्पन्न परिवारमा झन् बढी झांगिएको छ । बालिका बिमा कार्यक्रमले दाइजो तथा बालविवाह न्युनीकरणमा सकारात्मक भूमिका खेल्ने निश्चित छ । तर यसलाई गरिबमुखी बनाउन सक्नुपर्छ ।

बेटी पढाउ अभियानले प्रदेश २ को बालिका शिक्षाको अवस्था कस्तो छ ? सबै जाति र वर्गका बेटीको शैक्षिक अवस्था समान खालको छ कि फरक ? अध्ययन विश्लेषण गर्नुपर्छ । २०६८ सालको तथ्यांक अनुसार नेपालको साक्षरता ६५.९५ प्रतिशत छ । प्रदेश नम्बर ३ को सबैभन्दा बढी ७४.८५ प्रतिशत, कर्णाली प्रदेशको ६२.७७ प्रतिशत छ भने प्रदेश नम्बर २ को सबैभन्दा कम ४९.५४ प्रतिशत छ ।

१५ वर्ष माथिका महिलाको जातजाति अनुसारको साक्षरता दर पहाडी ब्राह्मण६७.८ प्रतिशत, क्षत्री ५४.४ प्रतिशत, तराई ब्राह्मण/क्षत्री (राजपुत) ७०.३ प्रतिशत, तराई अन्य जात २९.६ प्रतिशत, पहाडी दलित ४२.९ प्रतिशत, मधेसी दलित १२.३ प्रतिशत, नेवार ६७.९ प्रतिशत, अन्य पहाडी जनजाति ५३.१ प्रतिशत, तराई जनजाति ४१.८ प्रतिशत, मुस्लिम २३.२ प्रतिशत छ । यसले मधेसमा दलित, मुस्लिमको साक्षरता दर निकै कम देखिन्छ ।

बेटी पढाउ अभियानले मधेसभित्रकुन जातका बेटी पढाउन विशेषजोड दिनुपर्ने रहेछ भन्ने यसतथ्यांकले देखाउँछ । बेटी बचाउ र बेटी पढाउ अभियानको सुरुवात जनकल्याणकारी सोचका साथ भएको छ । यस अभियानको नारामा बेटी बचाउबेटी पढाउ सँगसँगै बेटी बढाउपनि जोड्नुपर्छ । प्रदेश नं. २ को पुरुषको अनुपातमा महिलाको संख्या घट्दो क्रममा छ, जसले कालान्तरमा समस्याको रूप लिन सक्छ । यसले बालविवाह र अनमेल विवाहलाई बढावा दिन सक्छ ।

दाइजो प्रथा र छोरी भू्रणहत्या रोक्न चेतनामूलक कार्यक्रमले पुग्दैन । यो काम शिक्षित एवं सचेत नागरिकले गोप्य तरिकाले गर्छन् । भू्रणहत्या विरुद्ध खासै कसैले उजुरी गर्दैन । यसलाई रोक्न विशेष संयन्त्र बनाएर कडा कारबाही गर्नुपर्छ । बालविवाह र शिक्षाका लागि विशेषऐन बनाएर अभियान चलाउनुपर्छ । यस्ता अभियान गाउँमुखी रगरिबमुखी हुनुपर्छ ।

प्रकाशित : माघ २८, २०७५ ०७:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

असुरक्षित अर्ना 

कमल मादेन

काठमाडौँ — म डेढ दशकपछि गतमाघ ५ मा चरा हेर्न कोसीटप्पु वन्यजन्तु आरक्ष पुगेको थिएँ । आरक्षमा पुस–माघ महिनामा साइबेरियाका चरा आउँछन् । बर्ड वाचर गाइड अनिस तिम्सिनाले हिजोआज चरा एकैठाउँ हेर्न आरक्षभन्दा मोरङस्थित बर्जुतालमा उपयुक्त हुने बताए ।

चरा कम भए पनि अर्ना देखिन्छ भनेर कोसीटप्पु बर्ड वाचिङ गेष्ट हाउसमा बास बसेँ । कृत्रिम पोखरीको बीचमा बास र खरबाट गेष्ट हाउस बनाइएको छ । बिहान पोखरीमा थुप्रै चरा देखिए । गेष्ट हाउस कारिन्दाद्वय चक्र तिम्सिना र सुवास भुजेल बर्ड वाचिङ गाइड रहेछन् । उनीहरूसँग बिहान चरा हेरेर मध्यदिनमा अर्ना पाइने ठाउँ गएँ ।

अर्नालाई वाइल्ड वाटर बुफालो, एसियन बुफालो, एसियाटिक बुफालो, इन्डियन बुफालो, इन्डियन वाटर बुफालो, वाटर बुफालो, वाइल्ड वाटर बुफालो आदि नामबाट चिनिन्छ । यसको वैज्ञानिक नाम भने बुबालस अर्नी हो । यसको संख्या विश्वमा करिब ४ हजार रहेको अनुमान छ ।

दिउँसो कोसीटप्पु आरक्ष कार्यालय नजिक कोसी किनारमा २ वटा भाले अर्ना चर्दै थिए । डर मान्दै–मान्दै नजिकै गएँ । अर्नाको रूप, रंग भैंसीजस्तो भए पनि मानिसका निम्ति खतरनाक हुन्छ । यसले तुरुन्तै दौडेर आक्रमण गर्छ । भनिन्छ, अर्ना कुदेर हान्न आयो भने भाग्न सकिन्न । बच्न जमिनमा छपक्क सुत्नुपर्छ । सुतेको अवस्थामा हम्मेसी सिङले भेट्दैन । अन्तिममा अगाडिको खुट्टाले कुल्चेर फर्किन्छ । यसरी सुत्ने घाइते हुन्छ, टाउको जोगिए, ज्यान जोगिन्छ ।

मैले ३०० एमएमको लेन्सबाटै अर्नाको भनेसम्मका तस्बीर खिच्न सकेँ । नजिकबाट अर्नाको तस्बीर खिच्ने अवसर पाउनु शौभाग्य मान्नुपर्छ । अर्नाको सिङ प्राय: एकै आकृतिको हुन्छ । बीचमा फैलिएको र दुवै टुप्पो आपसतिर फर्किएको । घाँटीको तल्लोपट्टि मधुरो सेतो धर्सा देखिन्छ । चारैवटा खुट्टाको खुरनिरको भाग हल्का सेतो हुन्छ ।

शरीर प्राय: चिल्लो, बलियो हुन्छ । मैले तस्बीर लिएको अर्ना दुव्लो देखिन्थ्यो । पछिल्तिर करङको भाग उठेको थियो । यसबाट त्यहाँ अर्नाको आहारा अर्थात घाँस कम छ भन्ने बुझियो । हिजोआज अर्ना संरक्षणको मुख्य चुनौती तिनको बासस्थान खण्डित हुनु र त्यसभित्र पनि पर्याप्त आहारा नहुनु भनिन्छ । यसको आहारा वन्यजन्तुभन्दा घरपालुवाबाट कम भएको बताइन्छ ।

कोसीटप्पु वन्यजन्तु आरक्ष विशेषत: अर्ना संरक्षणकै निम्ति स्थापना भएको हो । सुवास भुजेलले बताए अनुसार कोसीटप्पुमा ४ सय ४१ वटा अर्ना गणना भएको छ । त्यहाँ ४ हजारदेखि ४२ सय वटासम्म गाईभैंसी हरदम बस्ने गरेको अनुमान छ । भैंसीलाई अर्नाबाट गर्भाधान गराएर निकालिएको सन्तान मासु तथा गाढा तनाउन उपयुक्त मानिन्छ ।

त्यस्ता ठिमाहा राँगाको माग विशेषत: कोसीटप्पु आरक्षको सीमावर्ती भारतीय भूभागमा उच्च रहेको बताइन्छ । घरपालुवा भैंसीलाई अर्नाबाट गर्भाधान गराउन आरक्षमा छाड्ने प्रचलन छ । बलिया अर्नाहरू भंैसीको बथानमा देखिन्छन् । दुब्ला तथा जुधाइमा हारेका अर्नाहरू आरक्षबाट बाहिर निस्कन्छन् ।

नाम मात्रको आरक्ष
कोसीटप्पु वन्यजन्तु आरक्षमा पर्याप्त घाँस नपाएर अर्ना अक्सर निस्कन्छ । अर्नाको आक्रमणबाट वर्षेनि डेढ–दुई दर्जन मानिस अंगभंग हुन्छन् । स्थानीय बासिन्दाका अनुसार आरक्ष आसपास क्षेत्रमा अर्नासँग जम्काभेट होला भनेर जहिल्यै भयभित हुनुपर्छ । अर्नाले आरक्ष वरपर लगाइएको बालीनाली खाइदिन्छ । उखु काट्ने सिजनमा आरक्षको हात्ती लगाएर अर्ना लखेट्ने गरिन्छ ।

अर्नाले धान, गहुँ, खेसरी, आलसजस्ता बाली खान रुचाउँछ । अर्नाले खाएको बालीको क्षतिपूर्ति दिने व्यवस्था ‘वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९’ मा उल्लेख छ । तर सरकारी कामकारबाही यति ढिलो छ कि बालीनालीको क्षतिपूर्ति पाउन वर्षाैं लाग्छ ।

अर्नाले भित्र पर्याप्त मात्रामा घाँस नपाएकै कारण अर्ना बाहिर निस्कने गरेको आरक्षको दाबी छ । यसका निम्ति आरक्षबाट गाई–
भैंसी बाहिर निकाल्न जरुरी छ । आरक्षले कहिलेकाहीं गाईवस्तु समाएर कान्जिरोबा सेन्टरमा ल्याउने गर्छ । स्थानीय बासिन्दा दाबी गर्न आउँदैनन् । थुनेर राखेका गाई, भैंसीलाई कानुन अनुसार १५ दिनभन्दा बढी थुन्न पाइन्न । तिवारीले बताए अनुसार कसैले दाबी नगरे तिनलाई छाड्नैपर्छ ।

आरक्ष व्यवस्थित गर्न सरकारले अर्को व्यवस्था गर्नु जरुरी छ । कान्जिरोबा सेन्टरमा थुनिएको गाईवस्तुको विवरण स्थानीय बासिन्दालाई स्थानीय एफएम रेडियोबाटजानकारी गराउनुपर्छ । वडा कार्यालयलाई मोबाइल/एसएमएसबाट जानकारी गराउनुपर्छ । निश्चित अवधिपश्चात आरक्षले लिन नआएका गाई/भैंसी लिलामी गर्नसक्ने कानुनी प्रावधान सरकारले गर्नुपर्छ । यसले आरक्षमा गाईवस्तु प्रवेश नियन्त्रण हुनसक्छ ।

संकटको कारण
उहिले अर्ना युरोप र दक्षिण एसियामा प्रशस्त पाइन्थ्यो । जमिन सुख्खा हँुदै गएपछि हिजोआज अर्ना भारतीय उपमहाद्विपका केही देशमा मात्र बचेको छ । बासस्थान खण्डित तथा तिनको कुनै समय अत्यधिक सिकार गरिएकै कारण धेरै ठाउँबाट अर्ना लोप भएको हो ।

आईयुसीएनले प्रकाशन गरेको एस हेड्जेज, एचएस बराल, आरजे तिम्मिन्स र जेडब्लु डकवर्थ लिखित ‘बुबालस अर्नी, वाइल्ड वाटर बुफालो’ (सन् २००८, सुधारिएको २०१८) अनुसार जोखिममा परेको वन्यजन्तु हो । आईयुसीएनले बाघ, हात्ती र रेड पान्डालाई पनि यो समूहमा सूचीकृत गरेको छ ।

आईयुसीएनले अर्ना जोखिममा पर्नुको एक कारण घरपालुवा भैंसीसँग संसर्ग गराई ठिमाहा अर्ना उत्पादन गर्नु भनेको छ । यसबाट अर्नाको असली वंशाणुगत गुण क्षयीकरण भएर जान्छ । दोस्रो कारण अर्ना चरण क्षेत्रमा घरपालुवा गाई, भंैसीबाट विभिन्न किसिमका रोग अर्नामा सर्नु जनाइएको छ ।

तेस्रो कारण, अर्ना संरक्षण क्षेत्रमा गाई, भैंसीकै कारण अर्नाले भनेजति घाँस नपाउनु बताइएको छ । म्यान्मार लगायतका केही देशमा अर्ना जोगाउन गाई–भैंसीरहित अर्ना बासस्थान निर्माण गरिएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या पछिल्लो दशकमा उल्लेखनीय वृद्धि भएको छ । संख्या वृद्धिकै कारण अर्नाले पर्याप्त मात्रामा आहारा पाउन छाडेको हो । अर्ना हाम्रो संरक्षित वन्यजन्तु समेत हो ।

अर्ना संरक्षणकै निम्ति कोसीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा सयौं परिवार त्यहाँबाट जबर्जस्त विस्थापित गरियो । आरक्ष स्थापना भए पनि व्यवस्थित व्यवस्थापन छैन । यसैकारण फिरन्ते चरा कम आउन थालेका छन् । आरक्षमा अर्नाले आहारा पाइरहेको छैन । आरक्ष व्यवस्थापनमा सम्बन्धित निकायले तत्काल ध्यान दिने कि !

प्रकाशित : माघ २८, २०७५ ०७:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT