भ्यालेन्टाइन्स गिफ्ट पुस्तक

सम्झना वाग्ले भट्टराई

काठमाडौँ — साथीकी छोरीले सोधी, ‘आन्टी हजुरले भ्यालेन्टाइन्स डेमा अंकललाई के दिने ?’ बाह्र/तेह्र वर्षकी ऊ सात कक्षामा पढ्छे । आजकालका केटाकेटी प्रेमको विषयमा बोल्न खासै संकोच मान्दैनन् । उमेरसँगै आउने चञ्चलतालाई युगले खासै फरक नपार्ला तर अभिव्यक्तिको सन्दर्भमा भने पहिलेका भन्दा आजका किशोर–किशोरी सहजै खुल्छन् । त्यसैले दैलोमै आएको ‘भ्यालेन्टाइन्स डे’सँग साथीकी छोरी उत्साहित छे ।

भ्यालेन्टाइन्स डे सहरमा नौलो रहेन । यसको प्रभावबाट गाउँ पनि अछुतो छैन । हामी टिनएजर्स हुँदा यसबारे कुरा गर्न पनि लजाउँथ्यौँ । यो हाम्रो समाजमा जबर्जस्त स्थापित भइसकेको छ ।

‘भ्यालेन्टाइन्स डे’ मनाउनुको आफ्नै इतिहास छ, महत्त्व छ । यो हाम्रा लागि आयातित संस्कृति हो । नवप्रवेशी भए पनि यसको फैलावट तीव्र छ, आकर्षक छ । पुँजीवादले यसलाई आकर्षक बनाएको छ । त्यसै त प्रेम रंगीन हुन्छ, अझ त्यसमा पुँजीवादले मोहिनी कलेवर थपिदिएको छ । यो व्यापारको युग हो, नाफाको ।

भर्खरका युवक–युवतीलाई काउकुती लगाउने प्रेमका नाममा व्यापार भएपछि यसको फैलावटमा ‘मल्टिप्लायर इफेक्ट’ परिहाल्छ । प्रेम दिवसका नाममा भित्रिएको यो रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रोमिस डे, हग डे, किस डे आदिका नाममा ‘भ्यालेन्टाइन्स सप्ताह’मा विस्तार भइसकेको छ ।

कसैले चाहे पनि नचाहे पनि यो संस्कृतिका रूपमा भित्रिसक्यो । यसको प्रभाव घरपरिवार, समाज हुँदै अर्थतन्त्रमा समेत देखिन्छ । पत्रपत्रिकाका पेज ‘कक्टेल पार्टी’ लगायत विविध उत्पादनका ‘पिंक कलर’का विज्ञापनले भरिन्छन् । सांस्कृतिक अतिक्रमणका विषयमा केही बहस हुन्छन् । यसका अतिरिक्त यो वर्षको ‘भ्यालेन्टाइन्स डे’लाई लक्षित गरी कतिगुलाबका फूल तथा चक्लेट र भ्यालेन्टाइन्स कार्ड आयात भएसम्मको लेखाजोखा हुन्छ ।

आयात हाम्रो संस्कृति बनेको छ । राजनीतिक दर्शन, शिक्षा प्रणाली, विज्ञता, प्रविधिदेखि धर्मसम्ममा आयात हावी छ । गत आर्थिक वर्षमात्र हामीले १३ खर्ब रुपैयाँभन्दा बढीको विविध वस्तु आयात गरेका छौँ । कुल जनसंख्याको दुई तिहाइ जनसंख्या कृषि पेसामा संलग्न देशले खाद्यान्न, फलफूल र तरकारीमात्र अर्बौँको आयात गर्छ ।

कृषकहरू दूध सडकमा पोख्छन्, बारीमा उखु सुक्छ । तरकारी बारीमा डोजर लगाउँछन् । यहाँका उपभोक्ता किसानले बेच्ने मूल्यभन्दा कैयौं गुना महँगोमा तरकारी किन्न बाध्य छन् । सायद हाम्रो समाज आयात मैत्री हो । जसरी किसानलाई बारीको बन्दामा डोजर लगाउन बाध्य पारेर हामी विदेशबाट तरकारी आयात गर्छौं, त्यसरी नै हाम्रा मौलिक संस्कृतिलाई डोजर लगाउँदै हामी ‘भ्यालेन्टाइन्स संस्कृति’ आयात गरिरहेका छौं ।

प्रेम र प्रणयलाई केन्द्रमा राखेका हाम्रा आफ्नै मौलिक परम्परा छन् । श्रीपञ्चमी, अक्षय त्रितीया, विवाह पञ्चमीजस्ता परम्परा प्रेम र प्रणयकै सेरोफेरोमा रहेको मानिन्छ । अहिले चलिरहेको श्रीस्वस्थानी व्रतकथाको अन्तर्यमा पनि हामी प्रेमकै महिमा पाउँछौं । हो, यी परम्परामा समयानुकूल परिवर्तनको खाँचो छ । यिनमा रहेका विभेदकारी हरफहरूको पुनर्लेखन आवश्यक छ ।

हाम्रो आफ्नै मौलिक कथा समेटेका यी संस्कृतिलाई विकृतिमुक्त बनाउने र यी परम्पराको जगेर्नामा हाम्रै रैथाने उत्पादनको प्रयोगलाई निरन्तरता दिने हो भने कमसेकम मौसमी आयातलाई विस्थापन गर्न सकिन्थ्यो कि † यसले समृद्धिको बहसमा ‘ट्रेन्डिङ’मा रहेका केही नामले जस्तै प्रभाव पार्न नसके पनि केही गरिब नेपालीको घर–घरमा समृद्धि ल्याउँथ्यो कि !

अन्त्यमा, हजार सूर्यको जस्तो तेज भएको प्रणय दिवस अर्थात फेब्रुअरी १४ कै दिन अर्को एउटा दिवस पनि रहेछ । यो दिन ‘अन्तर्राष्ट्रिय पुस्तक उपहार दिवस’ मनाउने गरिन्छ । सन् २०१२ मा अमेरिकी ब्लगर एमी ब्रोडमुर र उनका छोराले जतिसक्दो धेरै केटाकेटीको हातमा पुस्तक पुर्‍याउने उद्देश्य राखेर यस दिवसको अवधारणा सुरु गरेका थिए ।

नेपालमा पनि पाँच वर्षदेखि विविध कार्यक्रमका साथ पुस्तक उपहार दिवस मनाइँदै आइएको छ । पठन संस्कृति विकासमा योगदान पुगोस् भनेर यो दिवस मनाउन सुरु गरिएको हो । सबै आयातित संस्कृति हाननिकारक हुँदैनन् ।

एकै समयमा जुधेका प्रेम दिवससँगै पुस्तक उपहार दिवस हामी पनि मनाऔं । आफन्त तथा साथीभाइलाई पुस्तक उपहार दिई पढ्ने संस्कृति विकासमा लाग्न हामी पनि प्रयास गरौं । कम्तीमा ‘भ्यालेन्टाइन्स गिफ्ट’ पुस्तक
छनोट गरौं ।

प्रकाशित : माघ २९, २०७५ ०८:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

घाम उदाउँदो छ 

बहस
सम्झना वाग्ले भट्टराई

काठमाडौँ — एकथरीहरू मी–टुलाई बसीबियाँलो र रिस साध्ने माध्यम मात्र भन्छन् । कतै त्यसो पनि भयो होला । धमिलोमा माछा मार्ने प्रवृत्ति कहाँ छैन र ? तर पनि पीडितहरू बोल्न थाल्नु भनेको सुखद संकेत हो । 

चन्द्रिका ओलीको कथा
चन्द्रिका ओली (नाम परिवर्तन) केही अघिसम्म हालको प्रदेश सातमा कार्यक्षेत्र भएको एउटा गैरसरकारी संस्थामा काम गर्थिन् । १६ वर्षमा मागी विवाह भएको चन्द्रिकाको विवाहको चार–पाँच महिनापछिबाट नै श्रीमान्सँगको सम्बन्ध राम्रो छैन । एक छोरा ७ वर्षजतिको । घरमा सासूले पनि रुचाउन्नन् । श्रीमान्ले औपचारिक अर्को बिहे नगरे पनि अर्कै केटीसँग सम्बन्ध छ । बेलाबखतमा घरमा पनि ल्याउने गर्छन् । उनी न विरोध गर्छिन् न समर्थन नै गर्न सक्छिन् । घरका कोही पनि उनको समर्थनमा नभएपछि विरोधको पनि खासै अर्थ देख्दिनन् । तर, देखावटी सम्बन्ध भने राम्रो नै छ । गाउँलेले सम्बन्ध त्यति धेरै बिग्रिएको खासै थाहा पाएका छैनन् । उनको बारे मलाई थाहा भएको यत्ति मात्र थियो ।
पत्रपत्रिकामा तथा सामाजिक सञ्जालमा बलात्कार तथा मि–टुबारे प्रशस्त विषयहरू आउन थालेपछि उनले कुरा गर्न चाहिन् । लामो कुरा भयो— एकै छानामुनि बसे पनि श्रीमान्सँग बोलचाल नै बन्द भएको पनि तीन वर्ष भयो । बोलचाल नै नभए पनि उनीहरूबीच शारीरिक सम्बन्ध भने हुन्छ रे । उनले भनिन्, ‘विवाहका सुरुआती रातहरू साह्रै उच्चाट लाग्दा हुन्थे । बलात्कार के हो त बुझेकी थिइनँ । तर, ती रातहरू साँच्चै पीडादायी हुन्थे । बिस्तारै बानी पर्दै गएको थियो । अलिअलि यौन सम्बन्धको आनन्द बुझ्न थालेकी थिएँ तर श्रीमान्सँगको सम्बन्ध बिग्रन थाल्यो । त्यसपछि, बलात्कार नै त नभनौँ, धेरै वर्ष अनिच्छित यौन सम्बन्धले हैरान भएँ ।’

मानिसहरू त यौन सम्बन्धलाई मायाको उच्चतम सम्बन्ध भन्छन् । मैले त विवाह भएपछिको बीचको २/३ महिनालाई छोडेर हरेक यौन सम्बन्धलाई यातना सम्झेर सहेकीे छु । पछिल्लो तीन वर्षयता त हरेक हप्ता ३/४ पल्ट बलात्कृत भइरहेकी छु । त्यसो त वैवाहिक बलात्कार र यसको कानुनी उपचारको बारेमा पढेकी पनि छु । कामको सिलसिलामा फिल्डमा जाँदा अरूलाई सम्झाउँछु पनि । तर भन्छन् नि, पण्डित्याइँ अरूलाई सुनाउन मात्र काम लाग्छ रे न कि आफूलाई परिआउँदा । माइतीतिर भन्यो भने, ‘घर खान सकिन’ भनेर उल्टै पीर मान्नुहुन्छ, यतातिर आफ्नो मर्का बुझिदिने कोही छैन । कसलाई भन्ने ? माइतीको इज्जत, घरको इज्जत भन्दाभन्दै जिन्दगी जान्छजस्तो लाग्छ । समाजको डर नै गहिरो भएपछि कानुनी अधिकारले मात्र केही नहुने रहेछ । जबसम्म समाजले महिलालाई हेर्ने र बुझ्ने दृष्टिकोण बदलिँदैन नि तबसम्म कानुनी उपचारलेपनि समस्याको समाधान दिनुको साटो झनै समस्या थपिदिन्छ,’उनको कुरा ।

सम्बन्ध बिग्रिएको बाहिर थाहा नहुँदा त ठीकै थियो तर जब हामी श्रीमान्–श्रीमतीको सम्बन्ध राम्रो नरहेको थाहा पाएपछि मेरो अफिसमा काम गर्ने एक जना श्रीमान्कै साथीले हैरान पारे । रात–विरात, बाटो कुबाटो, जतिखेर पनि यौनआग्रहले हैरान पारे । मेरो म्यासेन्जर तथा भाइवर अकाउन्टमा उनका अश्लील म्यासेज तथा तस्बिर र यौनआग्रहहरू बग्रेल्ती आउन थाले । प्रेमबाट सुरु भएको सम्बन्ध भएको भए पो मेरो मनले पनि स्विकाथ्र्यो होला । आखिर म पनि प्रेमपूर्ण स्पर्श र समागमको अपेक्षा त गर्थें । तर, ऊ जहिल्यै पनि गौँडा कुरेर बस्ने । प्रस्ताव नस्विकार्ने हो भने सबैतिर हल्ला फैलाउँछु भन्दै डर देखाउने । फिल्डमा गइरहनुपर्ने काम, झनै तनाव हुन थाल्यो । आफ्नो मात्र होइन छोराको जीवनको पनि दायित्व थियो । त्यसैले हाकिमलाई रिपोर्ट गरेँ । तर, यो झन् अभिशाप बन्न गयो । त्यसपछि हाकिमको व्यवहार पूराका पूरा बदलियो । व्यङ्ग्य, छेडखानी, दोहोरो अर्थ लाग्ने कुराहरू गर्नेमा उनी पनि थपिए ।

अब अफिस उकुसमुकुस लाग्न थाल्यो र काम छाडिदिएँ । महिला सशक्तीकरण क्षेत्रमा काम गर्ने गैससमा काम गर्ने व्यक्ति महिला हिंसाकै सिकार भएर जागिर छोडेँ मैले । त्यसो त मेरो बुबा स्थानीय तहमा जनप्रतिनिधि हुनुहुन्छ । वैवाहिक जीवनको संकटको वास्तविक गहिराइ नसुनाए पनि केही कुरा बुबासँग सेयर गरेकी छु । छोरी उसको लोग्नेबाट पीडित छ भन्नेमा जानकार हुँदाहुँदै पनि ज्वाइँको अगाडि उहाँको शिर झुक्छ, वाक्य निस्कँदैन । र, मसँग भन्नुहुन्छ, जे भए पनि ‘पाउ पुजेर दिएका ज्वाइँ हुन् ।’ कसैसँग नभनेस् है छोरी, बिस्तारै सबै ठीक हुन्छ, म मिलाएर सम्झाउँछु । मेरो राजनीति अलि उँभो त लागोस् सबै ठीक भइहाल्छ । म बुझ्छु— उहाँको मप्रतिको मायामा कुनै खोट छैन । तर, छोरीको बाउ हुनुको अनावश्यक हीनता बोकेर हिंड्ने उहाँ यो समाजको एक लाचार पात्र हो ।— चन्द्रिकाको निष्कर्ष ।

मनीषा तामाङको कथा
नुवाकोट सामरीकी मनीषा तामाङ (नाम परिवर्तन) बिहे गर्दा चौध वर्षकी थिइन् । काठमाडौँमा गएर फिल्म हेर्न पाउने लोभमा काठमाडौँतिरै ट्याक्सी चलाउँछु भन्ने एक अल्लारेसित भागेर हिँडेकी । काठमाडौँ आएको केही दिनसम्म फिल्म हेर्ने, मोमो, समोसा खाँदै होटलमा रात बिताउँदासम्म रमाइलो नै थियो । तर केही दिनपछि नै बालाजु बाइपास क्षेत्रको ८ बाई ८ को चिसो कोठामा खुम्चिनुपरेपछि गाउँका दिनहरू सम्झिन थालिन् । ट्याक्सी ड्राइभर लोग्नेको कोठामा आउने समयको ठेगान हुन्थेन् । कहिले त एक दुई दिनसम्म पनि नआउने । फिल्मको, अनि मोमो, समोसाको तृष्णा त हुन्थ्यो नि, तर उनीसँग पैसा नहुने । के गर्ने ? केही महिना यसरी नै बिते ।

लोग्नेको त अर्की श्रीमती र पाँच वर्षकी छोरी पनि रहिछे भन्ने थाहा पाउँदासम्म उनको पेटमा पनि बच्चा आइसकेको थियो । खुब रोइन्, लोग्नेसँग झगडा गरिन् । पेटमा बच्चा भएको बेलामा पनि उसले नराम्ररी पिट्यो, धन्न बच्चालाई केही भएन । पछि ‘एबोर्सन’ गराउनेबारे लोग्नेसँग कुरा पनि भयो । तर, पैसाको जोहो गरेर क्लिनिकमा जाँदासम्म ढिलो भइसकेको थियो । अर्को विकल्प थिएन । त्यसैले पनि जन्मिनेवाला बच्चालाई सम्झेर चित्त बुझाउन थालिन् । त्यति सानै उमेरमा पनि पेटको नानीलाई सम्झिँदा खुब आनन्द लाग्थ्यो रे ।

त्यही सानो कोठामा नै छोरा जन्मियो । सुत्केरीको एक महिनासम्म लोग्नेले पनि खुब स्याहार गर्‍यो । एक महिनाको लगत्तै माइती जाऊ भनेर गाडी चढाइदियो । मेरो त टीका पनि फुकाएको थिएन । घर छोडेको झन्डै एक वर्षपछि म छोरो बोकेर गाउँ फर्किएकी थिएँ । म पुग्नुभन्दा अगाडि नै मेरो सबै कथा गाउँ पुगिसकेको रहेछ । जोरीपारी कसको हुँदैन र । आमाबुबालाई पनि खुब गाह्रो भयो । सबै सहेर छोरासँग भुलिरहेँ । लोग्नेले केही भनेको त थिएन तर गाउँलेहरू ‘बूढाले छोडेका’े भन्थे । मैले पनि मनमनमा ऊसँग बस्दिनँ भनेर निर्णय गरिसकेकी थिएँ । उसले पनि त्यसपछि सम्पर्क गरेन ।

मेरो वैवाहिक जीवन सफल भएन । एकल जीवन कठिन थियो । एकातर्फ गाउँमा मेरोबारे नराम्रो कुरा काट्थे भने विविध खाले प्रस्तावहरू पनि आउँथे । बिहेको प्रस्ताव त ठीकै हो तर मान्छेहरू यस्तो व्यवहार गर्थे कि मानौँ म देहव्यापारी हुँ । जीवन धेरै बाँकी थियो । आफ्नो मात्र होइन छोराको पनि जिम्मेवारी थियो । अठार वर्ष पुग्दा त एक परिपक्क आमा बनिसकेकी थिएँ । त्यसैले छोरा तीन वर्षको भएपछि आमा–बुबाको जिम्मामा छोडेर कुबेत गएँ । कुबेत जाँदा पासपोर्ट बनाउनसमेत गरेर सत्तरी हजार रुपैयाँ लागेको थियो । बाबाले ऋणधन गरेर त्यसको व्यवस्था गरिदिनुभएको थियो । भाग्यले कुबेतमा काम राम्रै पर्‍यो । बाह्र वर्ष कुबेतमा काम गर्दा ठीकै पैसा जम्मा गर्न सकेँ । यो गाउँमा पक्की घर पनि बनाएँ । अहिले समाजले पनि राम्रो भन्छ । छोरा काठमाडौँमा आफन्तकोमा बसेर पढ्छ । यो वर्ष छोराको एसईईको परीक्षा छ । त्यसैले उता नगई बसेकी छु । जे गरेकी छु उसकै लागि हो । कति पैसा भनेर जाने ? त्यसैले परीक्षासम्म आफूसँगै राखेर पढाउँछु । छोरालाई क्याम्पस भर्ना गरेपछि मात्र फेरि विदेश जानुपर्ला ।
अब त छोरा पनि हुर्कियो । क्याम्पस पढ्न थालेपछि त आफ्नो जीवनबारे पनि बुझ्ला । काम गरेर खान सकिहाल्छ । म जाबो पाँच कक्षासम्म पढेकीले त यतिसम्म गरेँ भने उसले त कसो नगर्ला । त्यसपछि भने आफूले पनि बिहे गर्नुपर्ला भन्ने सोचेकी छु ।— उनी थोरै लजाइन् ।

छोराको बाबाको याद आउँदैन ? त्यसपछि ऊसँग भेटै भएन त ?— मैले सोधेँ ।
एक वर्षअघि फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको थियो । एसेप्ट गरेँ । उसले म्यासेज पठाए पनि म केही लेख्थिनँ । तर, चासो भने लाग्थ्यो । बेलामौकामा उसको फेसबुक वाल चेक गर्थेँ । त्यही तीन चार महिनाअगाडि अकस्मात भेट भयो, आफन्तको बिहेको पार्टीमा । त्यही पार्टीमा भेट भएको बेला एकपटक भेटाँै न भनेको थियो । र, पछि भेट्यौँ पनि ।

मलाई पहिल्यैदेखि नाचगानमा रुचि थियो । पैसा हालेर भने पनि दुईवटा म्युजिक भिडियोमा खेलेकी थिएँ । अहिले ‘टिकटक’ आएपछि त झनै सजिलो भयो । जीवनमा भोगेर पनि होला अलि ‘ट्रयाजिक’ गीतहरूको भिडियो बनाएर अपलोड गरिराख्थेँ । उसले हेर्दो रहेछ । त्यो भेटमा उसले माफी माग्यो । नजानेर यस्तो भयो भन्यो । छोरा पढाउन सकेको सहयोग गर्छु पनि भनेको थियो । माफी माग्यो मलाई पुग्यो । छोराका लागि चाहिने मैले गरिसकेकी छु । अब बाँकी छोराले नै गर्छ ।
संसार देखेर पछुतो लाग्यो होला नि उसलाई पनि ।

अब आफ्नै कुरा
महेन्द्ररत्न क्याम्पस ताहाचालको कुरा हो । म बीएड पढ्थेँ । केही विषयमा थ्यौरीको परीक्षासँगै बीस नम्बरको प्राक्टिकल हुन्थ्यो । प्राक्टिकल माक्र्स विषय शिक्षकको तजबिजीको कुरा थियो । त्यसैले एक दिन मेरो कति नम्बर आयो भनेर एक जना सरलाई सोधेँ ।
‘माक्र्स जान्न मन भए मेरो कोठमा आइजो’— सर ।
यहीँ भने भइहाल्छ नि सर— म ।
‘मेरो कोठामा आइस् भने अरू पनि हुुन्छ, माक्र्स पनि थप्दिउँला ।’ मुखुन्डो नउतारिएको निर्मलाको बलात्कारी जस्तो पो देखिए सर । म नि:शब्द भएँ ।

कुराकानीमा ब्रेक लाग्यो । प्राक्टिकलको माक्र्स जान्ने चाहनामा ब्रेक लाग्यो । र, ती गुरुप्रतिको सम्मानमा पनि ब्रेक लाग्यो ।

उपसंहार
चन्द्रिकाले त्यसपछि गैससको काम छाडिन् । अहिले आफन्तले खोलेका एक निजी विद्यालयमा पढाउँछिन् । उनीसँग केही दिनअघि कुरा भयो । झन्डै पन्ध्र दिनअघि उनले काम गरेको गैससबाट उनलाई फोन आयो रे । गैससका हाकिमले प्रत्यक्ष माफी नमागे पनि फेरि काम सुरु गर्न आग्रह गरे रे । छोराको पढाइ खर्चदेखि दैनन्दिन खर्चसम्ममा चासो व्यक्त गरे रे ।

त्यस्तै अफिसमै काम गर्ने तिनै आफन्तको व्यवहार पनि बदलिएको पाइन् रे । भाउजूले पनि यही अफिसमा नै काम सुरु गर्नुस्, अबपहिले जस्तो हुँदैन भन्दै थिए रे । ‘अब पीडित महिलाहरू पनि बोल्न थालेकाले कतै यिनीहरू पनि बोलिदिए भने हामीलाई त गाह्रो हुन्छ भन्ने महसुुस गरेर नै उनीहरू हच्किएका हुन् ।’— चन्द्रिकाको भनाइ छ । उनको लोग्नेमा पनि परिवर्तन आउँछ भन्नेमा उनी आशावादी छन् । त्यस्तै मनीषाले ‘संसार देखेर पछुतो लाग्यो होला नि उसलाई पनि’ भन्नुले पनि परिवर्तनको उज्यालो इंगित गर्छ ।

पुस महिनाको एक दिन, काठमाडौँमा कुनै पुस्तक विमोचन कार्यक्रममा अचानक भेट भए, महेन्द्ररत्न कलेजका तिनै सर । छलिन खोज्दाखोज्दै बोलाए । असजिलो मान्दै नमस्ते गरेँ । मेरा लेखहरू पढ्ने गरेको र खुब मन पर्ने कुरा सुनाए । हामीलाई नै पात्र बनाएर लेखचैँ नलेख है सम्झना, भन्दै जानअन्जानमा कुनै गल्ती भयो कि भनेर सरले सजिलै गल्ती स्वीकार गरे । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकबाट पीडित छात्राले ‘हामी पनि’ लेखेको केही दिनपछिको कुरा थियो यो ।

त्यसो त एकथरीहरू मि–टुलाई बसीबियाँलो र रिस साध्ने माध्यम मात्र भन्छन् । कतै त्यसो पनि भयो होला । धमिलोमा माछा मार्ने प्रवृत्ति कहाँ छैन र ? तर पनि पीडितहरू बोल्न थाल्नु भनेको सुखद संकेत हो । गोपालप्रसाद रिमालले भने झैं— लाटासुधा बोल्न थाल्छन् चल्न ओठ दु:खको... ।
यसले बिस्तारै न्यानो घाम उदाउँदै गरेको संकेत गर्छ । पक्कै पनि त्यो घाम कुनै एक लिंगको लागि मात्र भने अवश्य होइन ।

प्रकाशित : माघ ५, २०७५ ११:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्