कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

गुणकारी गुलाब

डा. अरुणा उप्रेती

काठमाडौँ — पोहोर साल नेपालमा भारतबाट १४ फेब्रुअरीमा करोडौंको गुलाबको फूल आयात भयो रे । त्यो फूल सायद केही दिन सुकेर बाहिर फालियो । यो वर्ष गुलाबको फूल आयात झन् धेरै हुने होला ।

गुणकारी गुलाब

भ्यालेन्टाइन्स डेमा प्रेमी–प्रेमिकाले एकअर्कालाई गुलाबको फूल दिएर प्रेम दर्शाउँछन् । त्यसरी फूल दिनेहरूले कहिले पनि विचार गरेका छैनन् होला कि फूल पनि फुल (अन्डा) जस्तै खान सकिन्छ । गुलाबको फूल सूक्ष्म पोषणयुक्त तत्त्वले भरिपूर्ण छ भन्ने विचार गरिँदैन । फूलको सौन्दर्य हेरेर रमाएपछि त्यही फूल खान पनि सकिन्छ भन्ने कसलाई विश्वास लाग्छ र !


गुलाबको फूलले विभिन्न स्वास्थ्य समस्यालाई रोक्न सक्छ, केही साधारण समस्या ठिक पार्न सक्छ भनी नेपालको आयुर्वेद ग्रन्थ ‘चन्द्र निघण्टु’मा पनि लेखिएको छ ।


रङ्गीचङ्गी गुलाबमा ९५ प्रतिशत जलांश हुन्छ । अर्थात कब्जियतको समस्या हल गर्न यसले केही मद्दत गर्न सक्छ । यसमा थोरै मात्रामा भिटामिन ‘सी’ हुन्छ, केही रेसादार पदार्थ पनि हुन्छ । गुलाबको फूलमा सूक्ष्म पोषक तत्त्व कम हुन्छ । तर यो खाँदा सौन्दर्य बढ्छ ।


फूलको पातबाट गुलकन्द, सर्वत बनाइन्छ । गुलाबजल बनाएर सुगन्धका लागि प्रयोग गरिन्छ । म भने गुलाबको फूलको पात फलफूल र दहीको सलाद बनाउँदा माथिबाट छर्छु । सानो–सानो टुक्रा पारेर प्रेमीले दिने सौगात गुलाबको फूलमा विभिन्न किसिमका रसायन मिसाएर लामो समयसम्म ताजा राख्ने कोसिस गरिएको छ भने त्यो प्रयोग नगरेकै वेश । आफंैले करेसाबारी, बगैंचामा कुनै बाहिरी औषधि नमिसाई हुर्काइएको गुलाबको फूल भने मजासँग प्रयोग गर्न सकिन्छ ।


बगैंचामा फुलेको फूल भगवानलाई चढाएपछि ‘प्रसाद’ बन्छ । त्यो प्रसाद सुकेपछि गुलाबको पत्ता पानीमा उमालेर वा तातो पानीमा हालेर केही छिन् राखेपछि मिठो बास्ना आउँछ । त्यसलाई मजासँग पिउन सकिन्छ, चियाजस्तै । गुलाबको अत्तर महङ्गो हुन्छ र हामी धेरै जनाको ‘अर्थ’ अवस्थाले किन्न पनि सकिँदैन होला ।


मेरी एक साथीले घरमा बास्नायुक्त तेल बनाउने जुक्ति निकालिन् । अमेरिकामा रहेकी उनी गुलाबको पातलाई तातो ओलिभको तेलमा राखेर विशेष तेल बनाउँछिन् । उनले आफ्नो छालामा मसाज गर्न त्यसलाई प्रयोग गर्छिन् ।


मैले उनलाई ओलिभको तेलको सट्टा तोरी वा तिलको तेलमा पनि राखेर बनाउन सकिन्छ कि भनेर सोधेको थिएँ । अमेरिकामा त्यस्तो तेल प्रयोग नहुने भएकाले उनले अनभिज्ञता जनाइन् ।

मेरी अमेरिकन साथी तातो पानीमा तताएर एउटा बाक्लो सिसामा तेल हालेपछि त्यसमा गुलाबको पातलाई अलिकति थिचेर राख्छिन् ।


तातो पानीमा केही बेर राखेर २४ देखि ४८ घन्टामा त्यो सिसी घाममा राख्छिन् । तेलमा रहेका गुलाबको पातलाई मिचेर हालेपछि सफा सुतीको कपडाले छान्छिन् । त्यो तेल (गुलाब र ओलिभबाट बनेको) उनी राति सुत्दा अनुहार, हात र खुट्टामा प्रयोग गर्छिन् । आफ्नो बगैंचाका गुलाब फूल भएकाले तिनमा रसायन नहुनेमा उनी ढुक्क छिन् । म मेरो बगैंचामा फुलेको गुलाब खान्छु । कसैले दिएको भने खान प्रयोग गर्दिन ।


हाम्रो पालामा प्रेम दर्शाउन गुलाबको फूल दिने चलन थिएन । गुलाबको फूलको सट्टा कसैले पसलमा लगेर जेरी–स्वारी र एककप चिया खुवायो भने ठूलो कुरा हुन्थो र बढी प्रेम दर्शाएको मानिन्थ्यो ।


गुलाबजलको प्रयोग छालाको सौन्दर्य बढाउन प्राय: हामी सबैले प्रयोग गर्छौं । मेरा केही साथीले गुलाब पिसी त्यसमा दही र बेसन मिसाएर लगाउँछन् । गुलाबको पात अनेक थरीका साबुन बनाउन प्रयोग गरिन्छ । साबुनको विज्ञापनमा गुलाबको फूलमा नुहाएर निस्केकी अभिनेतृ देखाएर त्यस्तै साबुन किन्नुपर्छ भनी लोभ्याइन्छ । यस्तो विज्ञापनमा भने म विश्वास गर्दिन । मुखमा घाउ हुँदा मेरी बज्यै गुलाबको फूल पानीमा पकाएर त्यसले कुल्ला गर्नुहुन्थ्यो ।


भारतका केही गाउँमा गुलाबको फूल धेरै प्रयोग गरेको देख्दा मलाई अचम्म लागेको थियो । बगैंचामा फुलेको गुलाबको फूल पानीमा भिजाउने र बिहान उठ्ने बित्तिकै त्यो पानी र भिजाएको गुलाफ संँगै खाँदा पेट स्वस्थ राख्न मद्दत मिल्छ भन्नेहरू त्यहाँ थिए ।


नेपालको तराईतिर बजारबाट किनेको गुलाफजलको सर्वत पाहुनालाई दिने चलन छ । त्यसको सट्टा बारीको गुलाबको फूल पिसेर सुप र गुड (सख्खर) मिलाएर खुवाए बढी स्वस्थकर हुन्थ्यो, पैसा बच्थ्यो । गुलाब उपहार दिनमात्रै होइन, प्रयोग गर्न पनि सिकौँ ।

प्रकाशित : फाल्गुन १, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?