कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

छोरीलाई स्वस्थानी सुनाऔं

साधना प्रतीक्षा

काठमाडौँ — साथीकामा गएकी थिएँ । उनकी दसवर्षे छोरीले स्कुलबाट आएर हस्याङ–फस्याङ गर्दै भनी, ‘आज म्यामले हामीलाई स्वस्थानीको कथा सुनाएको नि !’ मैले सोधेँ, ‘के थियो त नानु त्यसमा ?’ हौसिएर उसले भनी, ‘मभन्दा सानी सात वर्षकी केटीको बिहे भएको ! बालविवाह रे क्या । त्यो दुलाहा भने बूढो मान्छे । कस्तो अचम्म ! पहिलाको समयमा त्यस्तो हुन्थ्यो रे ।’ ‘अरु के–के रहेछ त स्वस्थानीको कथामा ?’ मेरो अर्को प्रश्न थियो ।

छोरीलाई स्वस्थानी सुनाऔं

‘राक्षसहरूले सधैं अरूलाई दु:ख दिने र नराम्रो काम गर्दारहेछन् । भगवानले कस्तो कस्तो रूप लिएर उनीहरूलाई मारेको । अर्कालाई दु:ख दिनु पाप हो रे । पापीलाई भगवानले सजाय दिएको रे । म त कहिल्यै पाप गर्दिन र भाइलाई पनि अरुलाई दु:ख नदेऊ भनेर सिकाउँछु । हाम्रो म्यामले भनेको,’ उसले भनी ।


बच्ची आफ्नो बालसुलभ भनाइ राखेर गृहकार्य गर्न थाली । उसकी शिक्षिका स्वस्थानीको सानो कथा प्रसङ्गबाट बालबालिकालाई सामाजिक तथा नैतिक दुवै शिक्षा दिन सफल भइन् । मनमनै साधुवाद दिएँ, उनलाई ।

स्वस्थानीको कथा सुन्न उत्सुक मेरी छोरीलाई मैले त्यहाँ वर्णित मत्र्यलोकको कथा सुनाउन उपयुक्त ठानेँ । बाँकी देवलोकका प्रसङ्ग उसले हिन्दी धारावाहिकमा हेरिसकेकी थिइ ।


गोमाको जन्मको कथा सुन्दा चकित भएकी ऊ गोमाको बिहेको प्रसङ्गमा आक्रोशित बन्न थाली । ‘सात वर्षकी बालिकाको बिहे गरिदिने त्यो पनि सत्तरी वर्षको बूढोसित ? अझ कस्तो कुरूप † त्यही भएर पो सोह्र वर्षदेखि बिहे गर्न खोज्दा पनि केटी नपाएको रहेछ † त्यो त अन्याय हो । छोरी भन्दैमा जे पायो, त्यही गर्न पाइन्छ ? कसैले मर्छु भनेर घुर्की लाउँदैमा छोरी दिइहाल्ने ? गोमा पनि कस्ती ? जे गरे पनि सहेर बस्ने,’ छोरीको प्रतिक्रिया थियो ।


मेरी तेह्रवर्षे छोरीलाई मैले स्वस्थानीको बाँकी कथा होइन, त्यतिबेलाको सामाजिक परम्परा, त्यसभित्र छोरीहरू दबिएर बस्नुपर्ने कारणबारे बताउन थालेँ । सात वर्षमा बिहे गरेर बुहार्तन झेलेकी मेरै आमाको कथा सुनाएँ । केही समयअघि १२ वर्षमा आमा बनेकी चेपाङ किशोरीको कुरा सुनाएँ । हरिमाया भेटवालको ‘कल्ली’ उपन्यासकी कल्लीको बालविवाहको पृष्ठभूमि र उसको बुहार्तनको कथा सुनाएँ । छोरी झनै चकित भएर भन्न थाली, ‘गाउँघरतिर अझै यस्तो छ ? यस्ता कुराको विरोध गर्नुपर्छ । लैंगिक विभेद पनि अपराध हो ।’


अधिकांशले स्वस्थानी कथाको आलोचना गर्ने विषय यही हो । त्यहाँ नारी जातिलाई निरीह, दासी तथा वस्तुरूपमा प्रस्तुत गरिएको छ । देवताका अन्य प्रसङ्गका आधारमा पनि विगतमा धेरै आलोचना गरिए । स्वस्थानी व्रत आरम्भ भएदेखि नै पत्रपत्रिका तथा सामाजिक सञ्जालमा यसको आलोचना हुन्थ्यो ।


तर पुस–माघको जाडोमा साली नदी स्नान गरी व्रत बस्ने महिलाको संख्यामा कमी आएन । सायद हिन्दु महिलाको यही आस्थाका कारण कसैले इशाई धर्म प्रचारका लागि स्वस्थानीको कथामा ईशुको कथा घुसाइदिएको प्रसङ्ग पनि चल्यो । यस्तै आस्था र आलोचनाबीच हरेक वर्ष स्वस्थानी महात्मे सम्पन्न हुने गर्छ । आस्था र आलोचनाको बीचमा यसको सामाजिक पक्ष ओझेलमा परेको देखिन्छ ।


समाज विकासको इतिहास हेर्दा आदिम युग अर्थात् जङ्गली अवस्थाका मानिस हिंस्रक थिए । मानिसको क्रूरता दमन गरी उसमा दया, माया, करुणा जगाउन सर्वोच्च शक्तिका रूपमा धार्मिक आस्थाको प्रादुर्भाव भएको मानिन्छ । राज्य र कानुनको आरम्भ भइनसकेको अवस्थामा मानिसमाथि नियन्त्रण राख्न धर्मको अवधारणा आएको हो ।


समाजशास्त्री धर्मलाई राज्यभन्दा जेठो सामाजिक संस्था मान्छन् । यही धार्मिक आस्थाले परिवार तथा समाजलाई व्यवस्थित र नियन्त्रित गर्न विभिन्न मूल्य–मान्यता निर्माण गर्दै गयो । समाज विकासको क्रममा महिला वर्ग जैविकीय गुणका कारण घरपरिवारमा सीमित हुनुपर्‍यो । उक्त मूल्य–मान्यताका निर्माणकर्ता पुरुष बन्न गए । उनीहरूले आफू अनुकूल निर्माण गरेका हुनाले यस्ता धार्मिक–सांस्कृतिक मूल्य पुरुषप्रधान देखिन्छन् ।


स्वस्थानीको कथामा पनि केन्द्रमा पुरुष रहेको तथा नारीको अवस्था सिमान्तीकृत हुनुलाई नौलो मानिँदैन । जहाँ उत्पीडन हुन्छ, विद्रोहको आरम्भ त्यहीँबाट हुने गर्छ । समाजमा युगौंदखि स्थापित पुरुषप्रधान संस्कृतिबाट महिला वर्गले खेप्नुपर्ने उत्पीडनका कथा यसरी बाहिर नआएको भए आज हामीमा विद्रोहको आवश्यकताबोध हुने थिएन ।


स्वस्थानीका गोमा, चन्द्रावती, सती–पार्वती आदिका कथा छोरीहरूलाई सुनाउनुपर्छ, ताकि उनीहरूमा समाज विकासको ऐतिहासिक अवस्थाको जानकारी होस् र नारी उत्पीडन विरुद्ध मुक्तिको चाहना पनि प्रबल बन्दै जाओस् ।

धर्म–कर्म, व्रत–पूजामा महिलाकै सहभागिता किन ? पाप पखाल्ने दायित्व महिलाको मात्र हो ? पुरुषले जे गरे पनि ऊ पापी किन नहुने ?


महिलाले कठोर अनुष्ठान गरेर परिवारका पुरुषको वरत्र र परत्र सुधारिदिनुपर्छ भन्ने के छ र ? यस्ता नारीवादी प्रश्न पनि आफ्नो ठाउँमा सही होलान् । तर धर्म–कर्म, व्रत–अनुष्ठानको अभिप्राय: पाप पखाल्नु हो भन्ने गलत मानसिकताबाट मुक्त हुनु पनि आजको आवश्यकता हो । नारीवादकै कुरा गर्ने हो भने पनि अबको नारीवादले समानताको मात्र नभएर अग्रताको खोजी गर्नुपर्ने हुन्छ । पुरुषले गर्न नसक्ने काम महिलाले गर्छन् ।


नारीवादलाई पश्चिमको देन भनिए पनि पूर्वीय सनातन परम्परामा आदिकालदेखि नारीवादी मूल्यको विम्बन देखिन्छ, त्यो पनि समानताको भन्दा अग्रताको । शिव र शक्ति अर्थात् पार्वतीको महाकाली स्वरूप यसको उदाहरण हो । स्वस्थानी देवी भनेकी पनि शिव–पार्वतीकै रूप मानिएको हुँदा यस व्रतकथाको मूलमर्म शिवशक्तिकै प्रसङ्ग हुनुपर्छ । शिव र सतीको कथा दाम्पत्य प्रेम र त्यागको अनुपम नमुना हो ।


उनीहरूको विवाहको प्रसङ्गलाई अपत्यारिलो ढङ्गले प्रस्तुत गरिए पनि उनीहरू एकअर्काका पूरक हुनाले पिताको इच्छा विपरीत बिहे भयो । पतिको अपमान सहन नसकेर सतीले आत्महत्या गरिन् भने शिवले पत्नी वियोगमा पागल बनेर उनको शव बोकेर पृथ्वी भ्रमण गरिरहे । वर्तमानमा यसरी पत्नीलाई प्रेम गर्ने पति सायदै पाइएलान् ।


अहिले अनेक नामकरण गरी हप्तादिनसम्म मनाइने आयातित प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेको संस्कृतिभन्दा शिव–सतीको समानता, सहअस्तित्व र त्यागको प्रेमकथा अनुकरणीय उदाहरण बन्न सक्छ । तर स्वस्थानी पढ्नेहरूले पत्नी प्रेमको यो प्रसङ्ग उठाएको देखिँदैन ।


यस कथाका अन्य कतिपय प्रसङ्गमा शृङ्गारिकताको अत्यधिक प्रस्तुतिका कारण अश्लीलता पनि देखिन्छ, जुन परिवारसामु बसेर भन्दा र सुन्दा असहज लाग्छ । यसमा परिमार्जन आवश्यक देखिन्छ । तत्कालीन अवस्थामा मनोरञ्जनको साधनका रूपमा यस्तै कथा प्रसङ्गलाई लिइने हुनाले पनि यस्तो प्रस्तुति भएको हुनसक्छ ।


मनोरञ्जनलाई स्वस्थ र अस्वस्थ गरी दुई रूपमा हेर्न सकिन्छ । पूजा–अनुष्ठानमा स्वस्थ मनोरञ्जन हुने गर्छ । युगौंदेखिको पुरुषप्रधान समाजमा महिला घर–व्यवहारको बोझले थिचिएर हैरान भएको अवस्थामा यस्ता अनुष्ठान उनीहरूका लागि केही समय भए पनि उन्मुक्ति र मनोरञ्जनका माध्यम बने होलान् ।


व्रत बस्ने महिलालाई मिठो–चोखो खान दिने, सम्मान गर्ने गरिन्थ्यो होला । उनीहरूले केही समय सामूहिक रूपमा भजन–कीर्तन, नाचगान गरेर ईश्वर भक्तिका माध्यमबाट आध्यात्मिक आनन्द प्राप्त गर्थे होलान् । मौका पाए आपसमा पीरव्यथा साटेर बोझ हलुको पार्दा हुन् । अझै गाउँघरतिर महिला यस्तै अनुष्ठानबाट मनोरञ्जन गर्छन् ।


त्यसैले यसको विरोध होइन, संशोधनसहित निरन्तरता हुनुपर्छ । स्वस्थानीका जस्ता कथा एउटा कालखण्डको समाजको चित्र हो । तत्कालीन अवस्थाको सामाजिक सम्बन्ध, अन्तरक्रिया र सामाजिक आस्थालाई यसले उजागर गरेको छ । यसलाई तत्कालीन नजरले हेरिनुपर्छ । त्यहाँ भित्रको नारी उत्पीडनलाई एक्काइसौं शताब्दीको चस्माले हेरेर आलोचना गर्नुभन्दा त्यही पीडा बोधद्वारा नयाँ पुस्तालाई चेतनशील बनाउनु उपयुक्त हुन्छ ।


मलाई सम्झना छ, म सानाी छँदा गोमाको पीडा र विभेदकारी मान्यताप्रति मनमनै रिस उठ्थ्यो । तर मेरी छोरीजस्तै आक्रोशित हुन भने डराउँथेँ । कलेज पढ्ने भएपछि वधुशिक्षाको उपदेश, सहनशिला सुशीला र इन्दिराको उत्पीडनले आक्रोशित हुनथालेँ ।


साहित्यका माध्यमबाट जति–जति समाजको चित्र र महिलाको अवस्था बुझ्दै गएँ, ममा विद्रोह र परिवर्तनकारी भाव जागृत हुँदै गयो, पहिचनाको खोजी प्रबल बन्दै गयो । स्वस्थानीको कथा पनि एउटा साहित्य हो । यसले धार्मिक–पौराणिक मिथकहरूका माध्यमद्वारा समाज दर्शन गराइरहेको छ । मिथकहरू अपव्याख्या हुने, कर्मकाण्डीय पद्धतिको आरम्भपश्चात् लैङ्गिक विभेदले बढावा पाउने आदिका कारण पौराणिक–धार्मिक कथाहरू अलोकप्रिय बन्दै गएका देखिन्छन् ।


यस्ता कथाहरूमा देखिएका विरोधाभाष, अत्यधिक शृङ्गारिकता तथा पूर्वाग्रहका प्रसङ्गमा परिमार्जन गरी यिनीहरूलाई प्रसारमा ल्याइनुपर्छ । यसले नयाँ पुस्तामा आध्यात्मिक आस्था, नैतिक शिक्षा तथा उत्पीडन विरुद्ध चेतना जागृत गराउन सक्छ ।

प्रकाशित : फाल्गुन २, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?