कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

खेतीहर समाज र सम्बन्ध

डेटलाइन तराई
चन्द्रकिशोर

काठमाडौँ — वसन्त पञ्चमीका दिन मधेसमा धान रोपाइँपछि थन्काइएको हलो ‘खडा’ गरिन्छ । हलो खडा गरिनु भनेको नयाँ खेतीका लागि खनजोत सुरु गर्नु हो । पहिला फालीलाई मिस्त्रीकहाँ पिटाइन्छ । त्यसपछि केही सांस्कृतिक विधिका साथ खेतमा हलो जोतिन्छ ।

खेतीहर समाज र सम्बन्ध

अनुष्ठानकै खातिर यो दिन हलो चलाइन्छ र कमसेकम पाँच सिराउर जोतिन्छ । सिराउर भनेको हलो जोत्दा भूमिमा कोरिएको गहिरो रेखा हो । यसरी श्रीपञ्चमीलाई ‘हर खडा’ दिवसका रूपमा पनि अभिनन्दित गरिन्छ ।


मुख्य बाली धानको खेतीसंँग पनि जोडेर मूठलगी, गवलगी र कदवापखार जस्ता अनुष्ठान पनि सम्पन्न गरिन्छ । पहिलो दिनको बीउ छर्ने कार्य मूठलगी हो । गवलगी धानको पहिलो रोपाइँ हो । रोपाइँ विसाउने दिनलाई कदवापखार भनिन्छ । यी अनुष्ठानले खेतीहर समूहबीच खेती कार्यलाई उत्सवका रूपमा स्थापित गर्छ ।


खेती किसानी जीवनमा गाई, भैंसी, बैल आदिलाई मानव परिवारको अंगकै रूपमा मानिन्छ । खेती किसानीसंँग जोडिएका पर्व विशेषमा गाईवस्तुको शरीरमा रङको छाप लगाइदिने, सिङमा तेल मालिस गर्ने, घाँटीमा नयाँ रस्सी लगाइदिने वा विभिन्न प्रकारले आभूषित गर्ने गरिन्छ ।


श्रमिकलाई पनि विशेष महत्त्व दिने गरिन्छ । एउटा भोजपुरी लोकगीतमा हलोको स्तुतिमा गाइएको एउटा गीति पंक्ति छ, ‘कथिनी के ए शिवजी हरवा बनाइले/कथिनी के करुवार/कथिनी के ए शिवजी हरवा नधाइले/जोतिले ऊसर खेत ।’ कृषि कर्ममा आफ्ना आराध्यलाई जोडेर हेर्नु लोकसाहित्यमै सम्भव हुन्छ । यस्ता अनेक लोकगीत लोककण्ठमा बाँचिरहेका छन् ।


खेती तन्त्रमा देखापरेको उथल–पुथलले यी पर्वको मर्म हराउँदै गएको छ । कतिपय किसानले परम्परा निर्वाहका लागि निरन्तरता दिएका छन् भने कतिपयले छाड्दै गएका छन् । हाम्रो राजनीतिक र सामाजिक व्यवस्थाको मनोदशामा आमूल परिवर्तन नआउन्जेलसम्म यी सांस्कृतिक पक्षलाई बुझ्न–बुझाउन सकिँदैन ।


सबैले बुझ्नुपर्ने हो, खेतीहर मजदुर र किसान देशका अन्नदाता हुन्, खाद्य सुरक्षाका नीति नियन्ता हुन् र देशको जीवनरेखाका सजग रक्षक वा अभिभावक हुन् । खेती किसानीको सामुन्ने अनेक चुनौतीपूर्ण सवाल छन्, जसको जवाफ इमानदारीपूर्वक खोज्नु जरुरी छ । यसमा नेपालको ठूलो हिस्साको आजीविकाको मुद्दा जोडिएकै छ, सँगै स्वयम् जीवनदायिनी कृषिको आफ्नै अस्तित्व र जीवनको मुद्दा पनि गाँसिएको छ ।


यस्तै केही घोच्दै गरेका प्रश्न हुन्– खेती आज घाटाको कारोबार भयो भने किन ? भूमि सुधारको प्रक्रिया प्राथमिकताको स्तरमा पुरा किन भइरहेको छैन ? किसानले बीउ–मल र पानीका लागि किन संघर्ष गर्नु परिरहेको छ ? कृषि उपजको उचित बजार र न्यायोचित मोल किन पाउन गाह्रो भइरहेको छ ? किन किसानहरू आफ्नो बालीलाई खेतमै नष्ट गर्न विवश भइरहेका छन् ?


खेतीहर खेती गर्नेहरू हुन् । खेतीहर परिवारलाई तीन समूहमा बाँड्न सकिन्छ । एउटा त्यो जो आफ्नो परिवारका सदस्यहरूको सम्बन्धले खेती गर्छन्, संँगै अन्य खेतीहर वर्गलाई पनि आफ्नो श्रम उपलब्ध गराउँछन् । यिनीहरू प्राय: गरिब र भूमिहीन हुन् । दोस्रो वर्ग त्यो हो, जो स्वयं खेती गर्छन् र यिनीसँंग थोरबहुत जग्गा पनि हुन्छ । यिनीहरू आफ्नो श्रम खर्चिएर अरुका जग्गा बटैया, हुन्डामा लिएर खेती गर्छन् ।


तेस्रो त्यो वर्ग हो, जोसंँग जग्गा छ, तर ऊ आफैँ खेती गर्दैन । उनीहरू खेती किसानीमा श्रम गर्नमा आफ्नो अवमूल्यन भएको ठान्छन् । यी प्राय: त्यस्ता भूस्वामी हुन्, जोसंँग आर्जनका अन्य कारोबार पनि छन् । पछिल्ला वर्षमा तेस्रो वर्गभित्रै एउटा अर्को उपसमूह देखिएको छ, जो खेती किसानीसँंग जोडिएका कठिन श्रम हुने काम बाहेक बाँकी काममा स्वयं खट्छन्, हेरचाह गर्छन् र यिनीहरू त्यही खेतीमा निर्भर छन् ।


विभिन्न कारणले निजी स्वामित्वको जमिन टुक्रिँदै गर्दा, खेती घाटाको कारोबार हुँदै जाँदाको अवस्थामा कतिपय यस्ता किसान र कृषि मजदुर बीचको दूरी कम हुँदै गएको छ । कतिपय ठाउँमा यी दुईका माझमा विभाजक रेखा देखिँदैन । यसले देखाएको तथ्य हो, अगामी दिनमा खेती किसानीको मुद्दालाई लिएर हुने लडाइँमा किसान र कृषि मजदुर संँगै हुनुपर्ने अवस्था विकसित हुँदैछ ।


खेतीहर समाजको उदाउँदो नयाँ सामाजिक सम्बन्ध नबुझिकन कृषि संरक्षणको कुनै पनि नीति कारगर हुनसक्दैन । अहिले नै कतै तरकारी किसान खेतमै तरकारी गोड्दैछन् त कतै उखु खेतमै सुक्दैछ । उखु पेल्नुपर्ने मौसममा किसान पेलिँदैछन् । बदलिँंदो खेतीहर सामाजिक सम्बन्धमा किसान र कृषि मजदुर दुइटै जोडिएका छन् ।


कृषि मजदुरको सवाल तिनकै मानव अधिकार एवं बाँच्न पाउने अधिकारसंँग मात्र जोडिएको छैन । तिनीहरू माझ रहेको भूमिहीनतालाई समाप्त पार्नु पनि छ । मधेसमा मधेसी दलित र जनजाति भूमिहीनताको सबैभन्दा बढी मारमा छन् । कृषि रोजगारी तिनले सम्मानपूर्वक सेवा दिनसक्ने सुरक्षित वातावरणसँंग गाँसिएको विषय हो । जुन रोजगारी उसले कृषिमा रोजेको छ, त्यसले उसको आजीविकाको प्रत्याभूति गरोस्, त्यसको प्रयत्न पनि हो ।


किसानले पनि खेतीबाट बाँच्न पाउने स्थिति निर्माण हुनुपर्ने हो । खेतीमा खर्च महँगो हुँदै जाँदा कृषि क्षेत्रबाट साना गिरहतहरू अत्यधिक मर्कामा पर्छन् । उनीहरू पलायन हुने र खेत बाँझो वा धितो राख्ने, हराउँदै जाने वा कृषि श्रमिकमा विस्तारै रूपान्तरण हुँदै जाने हुन्छ । लोककल्याणकारी राज्यको उद्देश्य फगत मजदुरहरूको संख्या विस्तार होइन । वैदेशिक रोजगारीमा आधारित अर्थतन्त्र कुनै पनि बेला उलार हुनसक्छ ।


खेतीमा आमूल सुधार आवश्यक छ । पलायन भएको जनशक्तिलाई स्थानीय तहमै संलग्न राख्न पनि कृषि मजदुरको कुरा उठाउन जरुरी छ । प्राकृतिक विपद्ले असुरक्षित बासमा रहेकाहरूको सुरक्षित बसोबास गर्ने स्थानीय र प्रादेशिक सरकारको जिम्मेवारीलाई व्यवस्थित गर्न पनि कृषि मजदुरहरूको व्यवस्थापन आवश्यक छ । यी सबैका लागि कृषि मजदुरहरूको नागरिकता प्रमाणपत्र विहीनतालाई हल गर्न जरुरी छ ।


गिरहत र कृषि मजदुर दुइटैको ‘जित–जित’को सम्बन्ध विकास गर्न सकियो भनेमात्र खेतीहर समाजमा मैत्रीपूर्ण सम्बन्ध हुनसक्छ । कृषि मजदुरको पो हेर्ने हो, गिरहतलाई किन हेर्ने भन्ने एकांगी चिन्तनका आधारमा अगाडि बढ्न सकियो भने यसले क्षणिक घर्षण पैदा गरे पनि अन्ततोगत्वा कृषि प्रणालीलाई चौपट पार्नेछ ।


खेतीहर समाजको हित कृषि संरचनामा थिचोमिचो, असमानता र विभेदको मनोविज्ञान र व्यवहारबाट मुक्त भएको अवस्था हो । अबको कृषि संरचनाले सामाजिक न्याय, आर्थिक उन्नति, रोजगारीको सिर्जना, भूमि अधिकारबाट बञ्चितहरूको सुरक्षित बसोबास, कृषि उत्पादकत्व वृद्धि, पारम्परिक ज्ञान संरक्षण, रैथाने बीउमाथि स्वामित्व र रखरखाव, खेतीमा संलग्नहरूको सामाजिक सम्मान, स्थानीय तहमा भूमि तथा कृषि विकासको समग्र योजना निर्माण र कार्यान्वयन गर्नुपर्छ । कृषिमा सुधार नभएसम्म युवा जनशक्ति विदेशिने क्रम रोकिँदैन ।


कृषि मजदुरहरूले सुरक्षित र सम्मानित अवसर पाउन खेती गर्नेहरूले उचित मूल्य पाउने अवस्था बनाउनुपर्‍यो । यसभित्र दुइटा कुरा छन् । पहिलो, कृषि मजदुरले न्यायोचित पारिश्रमिक पाउनुपर्‍यो । दोस्रो, गिरहतहरूले उचित पारिश्रमिक दिनसक्ने आर्थिक संरचना खेतीबाट पाउन सक्नुपर्‍यो ।


कृषि मजदुरहरूमा रहेको ‘ऋण’मोचनको कार्यक्रम प्रदेश सरकारहरूले संघीय सरकारको समन्वयमा गर्नुपर्छ । कृषि मजदुरहरूमा गिरहतहरूको जस्तै बिहे, श्राद्धजस्ता सामाजिक कर्ममा अत्यधिक खर्चिने, ऋण लिएर पनि खर्चिने फैलँदो चलन छ, त्यसलाई रोक लगाउनुपर्छ ।


कृषि मजदुरहरूभित्र ऋण लिएर दाइजो दिने, भोजभतेर गर्ने र पछि गिरहतको चेपुवामा वर्षौंसम्म पिल्सिरहने अवस्था रहेको अध्ययनले देखाएको छ । यो सँंगै जोडिएर चर्को व्याज दरको चक्रव्यूहमा अल्झिएका कथाव्यथा छन् । यसका लागि कानुनीसँगै सामाजिक अभियान चलाइनुपर्छ ।


तराईमा प्रशस्त खाली जमिन छ । नदी उकास जमिन छ, कृषियोग्य सरकारी जमिन छ । जंगलमा पनि खेती गर्न सकिने जमिन छ । कृषि उत्पादनका लागि तिनको प्रयोग कसरी गर्ने ? टुक्रा–टुक्रामा भिन्न–भिन्न खेती गराउनुभन्दा एकीकृत रूपमा सामुदायिक खेतीलाई प्रबद्र्धन गर्न, रसायनमुक्त खेतीलाई उत्साहित पार्न, क्षेत्रगत पहिचान गरी विशेष खेती प्रोत्साहन गर्न सकियो भने यसले कृषि मजदुरका निम्ति अवसर र आम्दानीको स्रोत फैलाउँछ ।


चुरे माथिको दोहनले बगर बनाउँदै गएको, उर्वर जग्गामा बालुवाकरण थपेको, बस्ती उठिबास भएको परिदृश्य छ । यसको भुमरीमा कृषि मजदुर फँस्ने गरेका छन् । कृषि मजदुरहरूको बन्दोबस्ती ठिकसँंग हुनसकेन भने वनमाथि अतिक्रमण रोकिँदैन । खेतिहर समाजमा वैज्ञानिक सामाजिक सम्बन्ध भयो भने त्यसले कृषि र यससंँग जोडिएको संस्कृतिलाई परिमार्जन गर्दै स्वीकार्य रूपमा निरन्तरता पाउँछ ।


[email protected]

प्रकाशित : फाल्गुन २, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?