कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अभिभावक पहिलो शिक्षक

सान्नानी बुर्लाकोटी

काठमाडौँ — पारिजात (विष्णुकुमारी वाइबा) लाई उनका पिता केएन वाइबाले चिकित्सक बनाउन चाहेका थिए । उनी साहित्यको वाटिकामा मगमगाएर फुलिन् । डार्बिनलाई उनका पिताले चिकित्सक वा पादरी बनाउन चाहेका थिए । उनी प्राकृतिक विज्ञानमा रमाए । 

अभिभावक पहिलो शिक्षक

अभिभावकले आफ्ना सन्तानको रुचि र चाख नसोधिकनै डाक्टर, इन्जिनियर, पाइलट, सीएको पढाइलाई उच्च प्राथमिकता दिइरहेका छन् । दसैंको टीकामा आशिर्वाद दिँंदासमेत हरेक मान्यजनले डाक्टर, इन्जिनिएर हुनु भन्ने गर्छन् । तर कसैले असल मान्छे बन्नु भन्दैनन् ।


आफ्नो बच्चालाई कस्तो शिक्षा दिने, के सिकाउने भन्नेतिर हाम्रो ध्यान जाँदैन । बाबुआमा दुवै जागिरे हुन्छन् । परिवार सधैं व्यस्त हुन्छ । अभिभावकले आफ्ना सन्तानलाई समय दिनसकेका छैनन् । कतिपय सन्तानलाई होस्टलमा राखेर वैदेशिक रोजगारीतिर गएका छन् । होमवर्क धेरै दिने, थोरै बिदा दिने विद्यालयमा बच्चालाई पढाउन लैजाने गरिन्छ । विद्यालय गएर बच्चाका राम्रा–नराम्रा गतिविधिबारे जानकारी लिने समय अभिभावकलाई छैन । हामी बच्चाहरूको कलिलो र चुलबुले मनका उपयोगी साथी बन्नसकेका छैनौँ ।


हामी बच्चाको गल्ती औँल्याउँदै देखाएर ‘म्याम, सरलाई फोन गरिदिन्छु’ भनेर गलत कुरा सिकाइरहेका छौँ । छोराछोरीले कस्तो सङ्गत गर्छन् भनेर चासो राख्दैनौं । उल्टै साथीभाइभन्दा कमजोर बन्नु हुँदैन, उनीहरूले हेप्छन् भन्छौं । इष्टमित्र, समाजलाई देखाउनकै लागि भए पनि महङ्गा र नाम चलेका कलेज छान्छौँ । सकेसम्म हामी बच्चालाई विज्ञान पढ्न प्रेरित गर्छाैँ ।


भारतका शिक्षाशास्त्री गिजुभाइको पुस्तक पढेँ । उहाँले भन्नुभएको छ– घरमा राम्रो सिक्न नसकेको बच्चालाई भगवान्/ईश्वरले पनि सपार्न सक्दैनन् । बच्चाका लागि आमा जति नजिकको नाता अर्को छैन । आमा जन्मदाता हुन्, भाग्यविधाता हुन्, गुरुआमा हुन्, त्योभन्दा ठूलो एउटा असल साथी हुन् । साथीसँग मात्र मान्छेले आफ्नो मनका दु:ख, दर्द, पीडा, वेदना, खुसी, संवेग साटासाट गर्न सक्छ । हामीले सन्तानसँग साथीभंैm खुलेर व्यवहार गर्न सक्नुपर्छ । सन्तानको समस्या के हो, कसरी, के कारणले समस्या झेलिरहेका छन् भनी चिन्न र निराकरण गर्न आमाले सक्छिन् ।


बाबुले पनि थोरै समय छोराछोरीको काखमा लुटुपुटु हुने, नानीहरूसँग खुलेर बोल्ने, पढाइका कुरा गर्ने, दिनमा भएका कुरा सुनाउने गर्नुपर्छ । कहिलेकाहीं नयाँ ठाउँ घुमाउन लैजाने, कुनै समयमा रेष्टुरेन्टको नयाँ स्वाद चखाउने, सिनेमा हेर्न लैजाने, समय सन्दर्भ मिलाएर आर्थिक कारोबारबारे भन्ने, पैसा थन्क्याउने जिम्मेवारी दिने गर्नुपर्छ ।


काम तथा पढाइमा असफल हुनु ठूलो कुरा होइन भनेर अभिभावकले उनीहरूलाई निरन्तर मिहिनेत गरे, धैर्य गरे अवश्य गन्तव्यमा पुग्न सकिन्छ भनी बुझाउनुपर्छ । नकारात्मक टिकाटिप्पणी गर्नु हँुदैन । सानो काम छ भने पनि उनीहरूलाई हौसला र प्रेरणा भर्न सक्नुपर्छ । उज्यालो ज्योति तिनीहरूको मानसपटलमा आमाले भर्न सक्छिन् । शिक्षकभन्दा पनि उत्तम शिक्षक आमाबुबा बन्न सक्छन् । हामीलाई चाहिने शिक्षाभन्दा ठूलो संस्कार हो भन्ने कुरा आमाले सन्तानलाई पढाउन सक्छिन् ।


मिहिनेत र परिश्रम गर्दागर्दै पनि कहिलेकाहीं असफल भइन्छ भन्ने कुराको बोध आमाले गराउन सक्छिन् । आमा राम्रो परामर्शदाता र असल सल्लाहकार हुन सक्छिन् । आफ्ना सन्तानको भविष्य बनाउने कर्मशील सर्जक आमा हुन् । हामी अभिभावकले आफ्ना सन्तानलाई रुचि, चाख, क्षमता, सीपमूलक सिर्जनाशील विषयमा अध्ययन गर्न प्रेरित गरौँ । जबर्जस्ती थोपरिएको शिक्षाले प्रतिफल राम्रो दिँदैन । उच्च शिक्षाका नाममा ऋणको मानसिकता बच्चामा रोप्नु हुँदैन ।


बच्चाको रुचि र अभिभावकको आर्थिक क्षमता हेरेर सर्वसुलभ, सजिलो, सस्तो, सांस्कारिक, सीपमूलक शिक्षामा हामीले प्रेरित गर्नुपर्छ । इच्छा विपरीत कठिन विषय पढ्न लगाउँदा घोक्न, कण्ठ पार्न लगाउँदा उनीहरूले आफूलाई कमजोर ठान्छन्, हीनताबोध हुन्छ । उनीहरूमा नकारात्मक सोच विकास हुन्छ ।


छोराछोरीको अनुभवलाई विश्वास गरेर अभिभावकले प्रेरणा भरिदिन सक्नुपर्छ । छोराछोरीको विगतको गल्तीलाई कोट्याउनुको साटो उनीहरूभित्र प्रतिभाको खानी छ भन्ने कुरा बुझाउनुपर्छ । समय र परिस्थितिसँगै अभिभावक बदलिन सिक्नुपर्छ । आफू टेलिभिजन र फेसबुकमा रमाउने अनि बच्चालाई पढ भन्ने गरे उसको पढाइ प्रभावकारी हुँदैन । हामीले पनि कुनै पुस्तक, पत्रिका आदि लिएर छेउमा बसिदिनसके उनीहरूलाई प्रेरणा मिल्न सक्छ । हाम्रो पालामा यस्तो थियो, उस्तो थियो भन्ने गरे तिनीहरूमा दिक्क भाव जाग्छ ।


भौतिक रूपले होइन, मानसिक रूपले तिनीहरूको मन जित्न सक्नुपर्छ । अपरिपक्व उमेरका छोराछोरीले गल्ती गरेछन् भने पनि सुध्रने मौका दिनुपर्छ । आफू कमजोर होइन, अलिकति बढी अभ्यास गर्नुपर्छ भन्ने भावना विकास गराउनुपर्छ । आफ्नो लक्ष्य, उद्देश्य र गन्तव्यमा नपुगेसम्म निरन्तर अभ्यास र धैर्य गर्नुपर्छ भन्ने सल्लाह र ज्ञान तिनलाई दिनुपर्छ ।


अरूसँग तुलना गरेको बच्चाहरूले रुचाउँदैनन् । उही कुरा बारम्बार दोहोर्‍याएर परिणाम राम्रो आउँदैन । पढेर मात्रै सबै कुरा सिकिने र जानिने होइन, जीवनको पाठशालामा भोगेर धेरै कुरा जानिन्छ । हाम्रो जीवन भोगाइ प्रयोगशालाभन्दा कम छैन ।


लेखक काठमाडौंको सामाखुसीस्थित रेडन उच्च माविकी शिक्षक हुन् ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?