कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

शासकीय साधनाको अपेक्षा

किशोर नेपाल

काठमाडौँ — जुन देशमा राष्ट्रपति सक्रिय हुन्छन्, त्यहाँ राष्ट्रपतिको आलोचना वा उनका काममा टीकाटिप्पणी हुनु आश्चर्य होइन । नेपालको संविधानले राष्ट्रपतिलाई ‘डी जुरे’ बनाएको छ । त्यसैले राष्ट्रपति विद्यादेवी भण्डारीको नामसँग १८ करोडको कार र डेढ अर्बको सुपर पुमा हेलिकप्टर जोडिँदा यो नयाँ गणतन्त्रको लोकतान्त्रिक शासनप्रति तिखो प्रतिक्रिया उत्पन्न हुन्छ जनताका मनमा ।

शासकीय साधनाको अपेक्षा

कता ससाना जीवनरक्षक गोलीसम्म खान नपाएर अकाल मर्नुपर्ने बहुसंख्यक नेपालीको अवस्था । कता सुविधाका नाममा करोडौंको कार र सुपर पुमा हेलिकप्टरको आवश्यकता । दुर्भाग्यवश: यी सुविधा राष्ट्रपतिका नामसँग जोडिएका छन् । नेपाली सेनाले हेलिकप्टरको खरिदसँग राष्ट्रपतिको सुरक्षा जोडेको छ । नेपालका नेताहरू सुरक्षा थ्रेटमा छन् कि छैनन् ? यसको निक्र्योल गर्ने मापदण्ड छैन । खुसीको कुरा, अहिलेसम्म राष्ट्रपतिका पारिवारिक सदस्य शासनमा हावी भएको देखिएको छैन ।


एसियाली देशका शासक र उनको परिवारबीच भ्रष्टाचारका कुरा नियमितजस्तै छन् । हाम्री अधिकारविहीन राष्ट्रपतिका लागि खरिद गरिएको विलासपूर्ण गाडी र हेलिकप्टर यो महादेशको एक्लो घटना होइन । धन्य, राष्ट्रपति विद्यादेवी भण्डारीको सोख जुत्तामा रहेनछ । होइन भने, फिलिपिन्सका पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसकी श्रीमती इमेल्दा मार्कोसको लहरमा उनको पनि नाम जोडिने थियो ।


इमेल्दा जुत्ताकी यति चर्को सोखिन थिइन् कि उनका सबै जुत्ता एउटै कोठामा अटाउँदैनथे । त्यसका लागि अलग अपार्टमेन्ट व्यवस्था गर्नुपरेको थियो । जुत्तासँगै उनका फेसन, प्रसाधनका अन्य सोख स्वाभाविक रूपमा जोडिएर आइहाल्थे । मार्कोसविरुद्ध जनताले सार्वभौम शक्तिको अभूतपूर्व प्रदर्शन गरेपछि उनी पदच्युत भएका थिए । उनको पतनका कारक तत्त्वमध्ये पत्नी इमेल्दा महत्त्वपूर्ण थिइन् ।


दक्षिण एसियाका पाकिस्तान र बंगलादेशमा महत्त्वपूर्ण पदमा पुग्ने व्यक्तिहरूले सत्तालाई परिवारसम्म विस्तार गरेको पाइन्छ । पाकिस्तानमा लोकप्रिय नेता बेनजिर भुट्टोका श्रीमान् आसिफ अली जरदारी ‘मिस्टर टेन पर्सेन्ट’ का नामले प्रचलित थिए उद्योग व्यवसाय क्षेत्रमा । उनलाई कुल लागतको दस प्रतिशत नबुझाएसम्म सरकारले कुनै फाइल अघि नबढाउने चलन थियो । पछिल्लो समय बेनजिर अलोकप्रिय हुँदै गएकी थिइन् । उनको अन्त्य दु:खद भयो । उनको हत्यामा पति जरदारीको पनि संलग्नता रहेको हल्ला चल्यो पाकिस्तानमा । भारतमा पनि राजनीतिमाथि पारिवारिक सत्ता हावी भएका उदाहरण थुप्रै पाइन्छन् ।


बितेका साठी वर्षको अवधिमा नेपालीका भागमा यही असंगत अवस्था परेको छ । कुनै बेला बीपी कोइरालाजस्ता व्यक्ति प्रधानमन्त्री भएका थिए जसले पटनामा अध्ययन गरिरहेका आफ्ना छोरा प्रकाश र भतिजा निरञ्जनलाई विराटनगर फर्काएर स्थानीय स्कुलमा भर्ना गरिदिएका थिए । अहिले आदर्शका यी कथन अरण्य रोदन मात्र भएका छन् । यो रोदनको महत्त्व छैन ।


बीपीपछिका जति पनि नेता प्रधानमन्त्री र मन्त्री बनेका छन्, ती सबैले आफ्नो स्वार्थलाई पहिलो प्राथमिकतामा राखेका छन् । अपवादमा अन्तरिम काल र त्यसपछि छोटो समयका लागि प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराई थिए जसको परिवार थिएन । देशको प्राथमिकता कुन विन्दुमा पर्छ, कसैलाई थाहा छैन । हिजोआज सरकार चलाउनेहरू जनताको आँसु देखाएर भिक्षाटन गर्छन् । यसले गर्दा राष्ट्रिय आत्मसम्मान धराशायी बनेको छ ।


नेपाल कम्युनिस्ट पार्टीले संसद्को दुई तिहाइ समर्थनसाथ आफ्ना अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन गरेको सरकार यही प्रसंगसँग जोडिएको छ । नेपाली समाजमा भ्रष्टाचार आतंकको पर्यायवाची शब्द बनिसकेको छ । एकै उदाहरण हेरौं– सरकारले सकुशल एक वर्ष पूरा गरेको खुसीयालीमा एकातिर प्रम ओली आफू भ्रष्टाचारविरोधी रहेको र आफ्ना अगाडि भ्रष्टाचार टिक्न नसक्ने भन्दै थिए ।


उनी भ्रष्टाचारप्रति सरकारको शून्य सहनशीलताको डिङ हाँक्दै थिए भने उनीमातहतका सम्पूर्ण संयन्त्र भ्रष्टाचारविरुद्ध शून्य मनोबलको प्रदर्शन गरिरहेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकले बुझेको ७८ लाखको घूसले सत्य र न्यायको दुर्दशा गर्दै थियो । यो एउटा अवस्था थियो जसमा कसैले पनि आफ्नो भूमिका ठम्याउन सकेको थिएन ।

भ्रष्टाचारका कारण मूल विकास आयोजना तपसिलमा परेका छन् ।


मेलम्ची खानेपानीकै कुरा गरौं, जतिबेला यो आयोजना देशको केन्द्रविन्दुमा थियो, त्यतिबेला हालका प्रधानमन्त्री गृहमन्त्री थिए । तत्कालीन समयमा शेरबहादुर देउवा र केपी ओली दुवैको लोकप्रियता चुलिएको थियो सक्षम गृहमन्त्रीका रूपमा । अहिले दुवैको अवस्था नाजुक छ । देउवा चारपटक प्रधानमन्त्री भएर पनि जहाँको तहीँ छन् । कांग्रेसका परिवर्तनकारी समाजवादी नेताका रूपमा उनको जुन परिचय थियो, त्यो खिया लागेर खुइलिसकेको छ । त्यही हालतमा पुगेका छन् प्रम ओली ।


हिजो कमाएको ‘गुडविल’ लाई निरन्तरता दिन नसक्दा आज आफ्ना कुरा बिकाउन अनेक चटक गर्नुपरेको छ । देशका लागि यो साह्रै दु:खद अवस्था हो । प्रम ओली जनतालाई समृद्धिका जुन कथा, उपकथा र चुट्किला सुनाइरहेका छन्, त्यो उनको बाध्यता हो । उनले बुझेका छन्, पूर्व मेची किनारदेखि पश्चिम महाकाली किनारको पुनर्वास बस्तीसम्म देश सुनमय भएको छ । यो सुन कसको हो, कहाँबाट ल्याइयो, कहाँ लगिने हो ? सरकार र उसको सुरक्षा व्यवस्थालाई केही थाहा छैन ।


विमानस्थलमा सुरक्षाकर्मी आफैंले जफत गरेको सामान उसकै आँखाअगाडि हराउँछ । सुरक्षाकर्मी स्वयंले यकिन कुरा गर्न सक्दैन । सुन कतिबेला अचानक तामा वा फलाममा परिणत हुने हो, त्यसको भेउ उसले पाएको हुँदैन । प्रहरीले बरु जंगलमा मारिएको चराको नालीबेली र चरा मार्ने सिकारीको हुलिया तुरुन्त पत्ता लगाउन सक्ला । निर्मलालगायत निर्बोध केटीका बलात्कारी र हत्यारा चिन्न सक्दैन । सुरक्षा प्रशासनले कानुनको पालना गर्ने हो कि शासकहरूको प्रतिष्ठा धान्ने हो ?


कसैले भन्न सक्दैन, यस्तो किन भइरहेको छ ? किन हरेक परिवर्तनपछि पुरानै चलन र शासन प्रतिस्थापन भइरहेका छन् ? के छ नेपाली ‘सिस्टम’ को कम्पासमा जोडिएको त्यस्तो कुरो जसलाई कसैले पनि चलाउन सकेको छैन ? जनता कडा आन्दोलनमार्फत परिवर्तनको माग गर्छ, परिवर्तनलाई स्थापित गर्छ तर त्यो परिवर्तनको चक्का अड्किन्छ । जति गरे पनि घुम्दै घुम्दैन । मानिस परिवर्तनका नाममा कविता लेख्छन, ट्वीटरमा रमाउँछन्, फेसबुकमा स्टोरी लेख्छन् । पछि उनीहरू थाहा पाउँछन्– मेलाम्ची अझै तीनचार वर्ष बन्दैन रे । यो अर्कै कुरा हो मेलम्ची नबन्दा पनि काठमाडौंका मानिसले पानी पिएकै छन् । आफ्नै पुरुषार्थले पानी पिउनु र अरू कसैले पानी पिलाउनुमा फरक हुन्छ ।


प्रम ओली नेतृत्वको सरकार आफैंले भनेजस्तो र चाहेजस्तो केही काम गर्न सक्दैन भन्न खोजेको होइन । सरकार बलियो छ । यसलाई कसैले हटाउन चाहेको छैन । साहु, महाजन खुसी देखिन्छन् । प्रतिपक्षका सदस्यहरूले सरकारविरुद्ध अहिले नै केही गरिहाल्ने मनसाय राखेको पाइँदैन ।


वामपन्थीहरू प्रम ओलीको नेतृत्वमा पूर्ण समाजवाद आउने विश्वास खोजिरहेका छन् । यति सहज र सुरक्षित अवस्थामा प्रम ओलीले राजनीतिमा विद्यमान असंगति र सामाजिक अप्ठेरा हटाउन चेष्टा गर्ने हो भने परिवर्तन नहुने कारण छैन । जनताले जान्न चाहेको कुरा, जनताकी छोरी राष्ट्रपतिलाई किन चाहिएको हो डेढ अर्बको सुपर पुमा हेलिकप्टर र अठार करोडको गाडी ? कहाँ जानु छ उनले ? सरकारका प्रवक्ताबाट यसको ओठे जवाफ ‘कि राष्ट्रपतिको सवारी रिक्सामा चलाउनु ?’ त आइसकेको छ । त्यो जवाफले दुनियाँ तर्सिएको छैन ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?