शासकीय साधनाको अपेक्षा

किशोर नेपाल

काठमाडौँ — जुन देशमा राष्ट्रपति सक्रिय हुन्छन्, त्यहाँ राष्ट्रपतिको आलोचना वा उनका काममा टीकाटिप्पणी हुनु आश्चर्य होइन । नेपालको संविधानले राष्ट्रपतिलाई ‘डी जुरे’ बनाएको छ । त्यसैले राष्ट्रपति विद्यादेवी भण्डारीको नामसँग १८ करोडको कार र डेढ अर्बको सुपर पुमा हेलिकप्टर जोडिँदा यो नयाँ गणतन्त्रको लोकतान्त्रिक शासनप्रति तिखो प्रतिक्रिया उत्पन्न हुन्छ जनताका मनमा ।

कता ससाना जीवनरक्षक गोलीसम्म खान नपाएर अकाल मर्नुपर्ने बहुसंख्यक नेपालीको अवस्था । कता सुविधाका नाममा करोडौंको कार र सुपर पुमा हेलिकप्टरको आवश्यकता । दुर्भाग्यवश: यी सुविधा राष्ट्रपतिका नामसँग जोडिएका छन् । नेपाली सेनाले हेलिकप्टरको खरिदसँग राष्ट्रपतिको सुरक्षा जोडेको छ । नेपालका नेताहरू सुरक्षा थ्रेटमा छन् कि छैनन् ? यसको निक्र्योल गर्ने मापदण्ड छैन । खुसीको कुरा, अहिलेसम्म राष्ट्रपतिका पारिवारिक सदस्य शासनमा हावी भएको देखिएको छैन ।

एसियाली देशका शासक र उनको परिवारबीच भ्रष्टाचारका कुरा नियमितजस्तै छन् । हाम्री अधिकारविहीन राष्ट्रपतिका लागि खरिद गरिएको विलासपूर्ण गाडी र हेलिकप्टर यो महादेशको एक्लो घटना होइन । धन्य, राष्ट्रपति विद्यादेवी भण्डारीको सोख जुत्तामा रहेनछ । होइन भने, फिलिपिन्सका पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसकी श्रीमती इमेल्दा मार्कोसको लहरमा उनको पनि नाम जोडिने थियो ।

इमेल्दा जुत्ताकी यति चर्को सोखिन थिइन् कि उनका सबै जुत्ता एउटै कोठामा अटाउँदैनथे । त्यसका लागि अलग अपार्टमेन्ट व्यवस्था गर्नुपरेको थियो । जुत्तासँगै उनका फेसन, प्रसाधनका अन्य सोख स्वाभाविक रूपमा जोडिएर आइहाल्थे । मार्कोसविरुद्ध जनताले सार्वभौम शक्तिको अभूतपूर्व प्रदर्शन गरेपछि उनी पदच्युत भएका थिए । उनको पतनका कारक तत्त्वमध्ये पत्नी इमेल्दा महत्त्वपूर्ण थिइन् ।

दक्षिण एसियाका पाकिस्तान र बंगलादेशमा महत्त्वपूर्ण पदमा पुग्ने व्यक्तिहरूले सत्तालाई परिवारसम्म विस्तार गरेको पाइन्छ । पाकिस्तानमा लोकप्रिय नेता बेनजिर भुट्टोका श्रीमान् आसिफ अली जरदारी ‘मिस्टर टेन पर्सेन्ट’ का नामले प्रचलित थिए उद्योग व्यवसाय क्षेत्रमा । उनलाई कुल लागतको दस प्रतिशत नबुझाएसम्म सरकारले कुनै फाइल अघि नबढाउने चलन थियो । पछिल्लो समय बेनजिर अलोकप्रिय हुँदै गएकी थिइन् । उनको अन्त्य दु:खद भयो । उनको हत्यामा पति जरदारीको पनि संलग्नता रहेको हल्ला चल्यो पाकिस्तानमा । भारतमा पनि राजनीतिमाथि पारिवारिक सत्ता हावी भएका उदाहरण थुप्रै पाइन्छन् ।

बितेका साठी वर्षको अवधिमा नेपालीका भागमा यही असंगत अवस्था परेको छ । कुनै बेला बीपी कोइरालाजस्ता व्यक्ति प्रधानमन्त्री भएका थिए जसले पटनामा अध्ययन गरिरहेका आफ्ना छोरा प्रकाश र भतिजा निरञ्जनलाई विराटनगर फर्काएर स्थानीय स्कुलमा भर्ना गरिदिएका थिए । अहिले आदर्शका यी कथन अरण्य रोदन मात्र भएका छन् । यो रोदनको महत्त्व छैन ।

बीपीपछिका जति पनि नेता प्रधानमन्त्री र मन्त्री बनेका छन्, ती सबैले आफ्नो स्वार्थलाई पहिलो प्राथमिकतामा राखेका छन् । अपवादमा अन्तरिम काल र त्यसपछि छोटो समयका लागि प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराई थिए जसको परिवार थिएन । देशको प्राथमिकता कुन विन्दुमा पर्छ, कसैलाई थाहा छैन । हिजोआज सरकार चलाउनेहरू जनताको आँसु देखाएर भिक्षाटन गर्छन् । यसले गर्दा राष्ट्रिय आत्मसम्मान धराशायी बनेको छ ।

नेपाल कम्युनिस्ट पार्टीले संसद्को दुई तिहाइ समर्थनसाथ आफ्ना अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन गरेको सरकार यही प्रसंगसँग जोडिएको छ । नेपाली समाजमा भ्रष्टाचार आतंकको पर्यायवाची शब्द बनिसकेको छ । एकै उदाहरण हेरौं– सरकारले सकुशल एक वर्ष पूरा गरेको खुसीयालीमा एकातिर प्रम ओली आफू भ्रष्टाचारविरोधी रहेको र आफ्ना अगाडि भ्रष्टाचार टिक्न नसक्ने भन्दै थिए ।

उनी भ्रष्टाचारप्रति सरकारको शून्य सहनशीलताको डिङ हाँक्दै थिएभने उनीमातहतका सम्पूर्ण संयन्त्र भ्रष्टाचारविरुद्ध शून्य मनोबलको प्रदर्शन गरिरहेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकले बुझेको ७८ लाखको घूसले सत्य र न्यायको दुर्दशा गर्दै थियो । यो एउटा अवस्था थियो जसमा कसैले पनि आफ्नो भूमिका ठम्याउन सकेको थिएन ।
भ्रष्टाचारका कारण मूल विकास आयोजना तपसिलमा परेका छन् ।

मेलम्ची खानेपानीकै कुरा गरौं, जतिबेला यो आयोजना देशको केन्द्रविन्दुमा थियो, त्यतिबेला हालका प्रधानमन्त्री गृहमन्त्री थिए । तत्कालीन समयमा शेरबहादुर देउवा र केपी ओली दुवैको लोकप्रियता चुलिएको थियो सक्षम गृहमन्त्रीका रूपमा । अहिले दुवैको अवस्था नाजुक छ । देउवा चारपटक प्रधानमन्त्री भएर पनि जहाँको तहीँ छन् । कांग्रेसका परिवर्तनकारी समाजवादी नेताका रूपमा उनको जुन परिचय थियो, त्यो खिया लागेर खुइलिसकेको छ । त्यही हालतमा पुगेका छन् प्रम ओली ।

हिजो कमाएको ‘गुडविल’ लाई निरन्तरता दिन नसक्दा आज आफ्ना कुरा बिकाउन अनेक चटक गर्नुपरेको छ । देशका लागि यो साह्रै दु:खद अवस्था हो । प्रम ओली जनतालाई समृद्धिका जुन कथा, उपकथा र चुट्किला सुनाइरहेका छन्, त्यो उनको बाध्यता हो । उनले बुझेका छन्, पूर्व मेची किनारदेखि पश्चिम महाकाली किनारको पुनर्वास बस्तीसम्म देश सुनमय भएको छ । यो सुन कसको हो, कहाँबाट ल्याइयो, कहाँ लगिने हो ? सरकार र उसको सुरक्षा व्यवस्थालाई केही थाहा छैन ।

विमानस्थलमा सुरक्षाकर्मी आफैंले जफत गरेको सामान उसकै आँखाअगाडि हराउँछ । सुरक्षाकर्मी स्वयंले यकिन कुरा गर्न सक्दैन । सुन कतिबेला अचानक तामा वा फलाममा परिणत हुने हो, त्यसको भेउ उसले पाएको हुँदैन । प्रहरीले बरु जंगलमा मारिएको चराको नालीबेली र चरा मार्ने सिकारीको हुलिया तुरुन्त पत्ता लगाउन सक्ला । निर्मलालगायत निर्बोध केटीका बलात्कारी र हत्यारा चिन्न सक्दैन । सुरक्षा प्रशासनले कानुनको पालना गर्ने हो कि शासकहरूको प्रतिष्ठा धान्ने हो ?

कसैले भन्न सक्दैन, यस्तो किन भइरहेको छ ? किन हरेक परिवर्तनपछि पुरानै चलन र शासन प्रतिस्थापन भइरहेका छन् ? के छ नेपाली ‘सिस्टम’ को कम्पासमा जोडिएको त्यस्तो कुरो जसलाई कसैले पनि चलाउन सकेको छैन ? जनता कडा आन्दोलनमार्फत परिवर्तनको माग गर्छ, परिवर्तनलाई स्थापित गर्छ तर त्यो परिवर्तनको चक्का अड्किन्छ । जति गरे पनि घुम्दै घुम्दैन । मानिस परिवर्तनका नाममा कविता लेख्छन,ट्वीटरमा रमाउँछन्, फेसबुकमा स्टोरी लेख्छन् । पछि उनीहरू थाहा पाउँछन्– मेलाम्ची अझै तीनचार वर्ष बन्दैन रे । यो अर्कै कुरा हो मेलम्ची नबन्दा पनि काठमाडौंका मानिसले पानी पिएकै छन् । आफ्नै पुरुषार्थले पानी पिउनु र अरू कसैले पानी पिलाउनुमा फरक हुन्छ ।

प्रम ओली नेतृत्वको सरकार आफैंले भनेजस्तो र चाहेजस्तो केही काम गर्न सक्दैन भन्न खोजेको होइन । सरकार बलियो छ । यसलाई कसैले हटाउन चाहेको छैन । साहु, महाजन खुसी देखिन्छन् । प्रतिपक्षका सदस्यहरूले सरकारविरुद्ध अहिले नै केही गरिहाल्ने मनसाय राखेको पाइँदैन ।

वामपन्थीहरू प्रम ओलीको नेतृत्वमा पूर्ण समाजवाद आउने विश्वास खोजिरहेका छन् । यति सहज र सुरक्षित अवस्थामा प्रम ओलीले राजनीतिमा विद्यमान असंगति र सामाजिक अप्ठेरा हटाउन चेष्टा गर्ने हो भने परिवर्तन नहुने कारण छैन । जनताले जान्न चाहेको कुरा, जनताकी छोरी राष्ट्रपतिलाई किन चाहिएको हो डेढ अर्बको सुपर पुमा हेलिकप्टर र अठार करोडको गाडी ? कहाँ जानु छ उनले ? सरकारका प्रवक्ताबाट यसको ओठे जवाफ ‘कि राष्ट्रपतिको सवारी रिक्सामा चलाउनु ?’ त आइसकेको छ । त्यो जवाफले दुनियाँ तर्सिएको छैन ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०७:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गणतन्त्रको जग : माघ १९

सामयिकी
किशोर नेपाल

काठमाडौँ — माघ १९ ले सिर्जना गरेको आतंक अब हामी नेपालीले भोग्नु नपर्ला । अथवा हामीले त्योभन्दा ठूलो आतंकको सामना गर्नुपर्ला ।

अहिलेका लागि यो अनुमानबाहिरको कुरा हो । राजनीतिकर्मी र राजनीतिक दलहरूले माघ १९ को सम्झना गर्नु नराम्रो होइन । माघ १९ का दिन नेपालमा गणतन्त्रको जग हालियो । त्यो जग खन्ने काम दुर्भाग्यवश राजा आफैंले गरे ।

माघको महिनामा जाडोको अनुभूति कम हुन्छ । चिसोको दबाब कम भएको हुँदैन । चिसो बढी नै भए पनि त्यो दिन देशको प्रमुख आध्यात्मिक थलो स्वर्गद्वारी प्रवेशद्वारको रूपमा रहेको प्यूठान जिल्लाको भृंगृ बजारको बिहान निकै उज्यालो र सुमधुर थियो । पश्चिमबाट पूर्वतिर बगिरहेको माण्डवी नदीको आवाजले वातावरणलाई अझै रमाइलो बनाएको थियो । प्यूठान र रोल्पाको सिमानामा रहेको, सानो र सुन्दर भृंगृ बजारले यस भेगका करिब साठी हजार जनसङ्ख्यालाई व्यापारिक सेवा पुर्‍याउँदै आएको थियो । सरकारले माओवादी विद्रोहीलाई निरुत्साहित गर्न व्यापारमा कठोर नियन्त्रण लगाएकाले उपभोक्ताको सेवाको अवस्था थिएन । सरकारी कारबाहीले प्यूठान र रोल्याका झन्डै बाह्रवटा गाउँहरू व्यापारविमुख बनेका थिए । चामल यहाँका जनताको मुख्य आवश्यकता हो । तर, प्रशासनले यो क्षेत्रमा चामलको व्यापार सीमित गरेको थियो । व्यापारीले चालीस क्विन्टल चामल ल्याउने अनुमति पाए पनि सुरक्षाले त्यो अनुमतिलाई मान्यता दिंदैनथ्यो । त्यतिबेला व्यापारीहरूले सरकारले दिने पीडा मात्र होइन, विद्रोहीले दिने पीडा पनि समान रूपले भोगेका थिए । यतिबेला ती व्यापारीहरू त्यो पीडालाई सम्झन चाहँदैनन् ।


२०६१ माघ १९ गते बिहान भृंगृका सामान्य नागरिक, राजनीतिकर्मी, पर्यटन व्यवसायी र व्यापारीहरू चन्द्रेश्वर प्राथमिक शिक्षालयको आँगनमा जम्मा भएका थिए । म उनीहरूसँग जनताले दिनहुँ भोग्नुपरेका हिंसात्मक द्वन्द्वका समस्या र विकासका सम्भावनावारे छलफल गर्दै थिएँ । बजारबाट उपभोग्य वस्तुहरूको ओसार–पसारमा सुरक्षाफौजले गर्ने रूखो हस्तक्षेप त्यतिबेला जनताले भोगिरहेको मुख्य समस्या थियो । उनीहरू यो समस्यालाई सोझै र स्पष्ट शब्दमा सुरक्षाफौजसँग जोडेर प्रस्तुत गर्न हिच्किचाइरहेका थिए । सुरक्षाको ज्यादतीको कुरा गर्दा सरकारी पक्षले माओवादीको आरोप लगाउने त्रास सबैको अनुहारमा स्पष्ट देखिन्थ्यो । त्यो त्रासलाई लुकाउन खोज्दै, घुमाउरो भाषामा, अड्किई–
अड्किई समस्याको गाँठो फुकाउन
खोज्थे व्यापारीहरू :
चार पोका चाउचाउ र चार किलो चिनी ल्याउन पनि पाएका छैनौं हामी व्यापारीले । औषधिको नाममा सिटामोलको गोली र सामान्य उपभोगका सामान ल्याउँदा पनि प्रशासनको सिफारिस चाहिन्छ । त्यो सिफारिसका लागि हामीले बेग्लै कष्ट खेप्नुपर्दछ । यस्तो अवस्थामा के उन्नति हुन्छ ?

फौजी ब्यारेकमा बस्ने अल्लारे र उरन्ठेउला सिपाहीहरूका कारण आफ्नो सामाजिक प्रतिष्ठा छिन्नभिन्न हुने चिन्ता र आशंकामा डुबेका थिए बजार क्षेत्रका भलाद्मीहरू । उनीहरू साँझ–बिहान लामाटारको बाटो हिंड्ने छोरी– बुहारीहरूको इज्जत सुरक्षित नभएको गुनासो गर्दै थिए : हाँस्ने–बोल्नेसम्मको कुरासँग उनीहरूको परहेज थिएन । तर, खानतलासीका नाममा गरिने अभद्र व्यवहारका कारण समस्या उत्पन्न हुने डरले सबै तर्सिएका थिए । असुरक्षित खालको सुरक्षा व्यवस्थाले सबैलाई चिन्तामा पारेको थियो ।


चिन्ताको अर्को पाटोमा विद्रोहीहरू थिए । मानिसको हैसियत नै नहेरी दस हजारदेखि पचास हजारसम्म चन्दा तोक्ने, चन्दा नदिए हात–गोडा भाँचेर अपांग बनाइदिने, अपहरण गर्ने र घरबास नै छाडेर हिंड्नुपर्ने अवस्थामा पुर्‍याइदिने †
बाटो–घाटो, टेलिफोन, नहर–कुलो र विकासका अन्य विषयहरूमा विद्रोहीहरूको निरन्तर हस्तक्षेप र अवरोध कसैलाई पनि मन परेको थिएन । विकासका काममा आएको रकमको हिस्सा खोज्ने र हिस्सा नपाए काम रोक्ने † उनीहरूको व्यवहारसँग मानिसहरू आजित भएका थिए । यो पनि खुलेर बोल्न सक्ने विषय थिएन । विद्रोहीको चर्चा गर्दा सुराकीको आरोप लाग्ने पीर †
बिहान ढल्किन थालेपछि छलफललाई निष्कर्षमा पुर्‍याउँदै सहभागीहरू भन्दै थिए,
बल प्रयोग गरेर माओवादी समस्या समाधानको छेउ– टुप्पो केही फेला पर्दैन । यसका लागि दुवै पक्षले वार्तामा आउनैपर्छ । वार्ता र सहमतिबाटै यो समस्यालाई टुंग्याउनुपर्दछ । दुईथरी बन्दुकको चेपमा चेपिएर हामी कति दिनसम्म बाँच्न सक्दछौं र ?
छलफलको अन्त्यमा टुप्लुक्क आइपुगे, जनमोर्चाका स्थानीय नेता थम्मन बुढामगर । उनले भने,
अहिले भर्खर रेडियोबाट शाही घोषणा भएको छ । राजाको रोडम्याप आएको छ । अब २०४६ को जनआन्दोलनको उपलब्धि बहुदलीय प्रजातान्त्रिक पद्धति पनि गएजस्तो छ ।


सुनेर म झसंग भएँ । थम्मन आफैंले शाही घोषणाका केही अंश मात्र सुनेका थिए । त्यत्तिकै भरमा कुनै निष्कर्ष निकाल्न सकिने थिएन । यता भेलाका सहभागीले शाही घोषणाको बारे खासै उत्साह देखाएर सोधखोज पनि गरेनन् । कार्यक्रममा शाही घोषणाको उल्लेख हुनेबित्तिकै उनीहरूको अनुहार चकमन्न बन्यो । थम्मनले विचार राखेपछि मैले छलफल कार्यक्रम टुंग्याएँ ।

म र मेरा साथीहरूमा शाही घोषणा सुन्ने उत्सुकता प्रबल थियो । हामीलाई थाहा थियो, सरकारी सञ्चार माध्यमहरूले शाही घोषणा अविरल प्रसारित गर्नेछन । भृंगृबाट फर्कंदा शाही घोषणा सुन्ने अवसर हामीलाई कतै मिलेन । हामीसँग भएको सानो एफएम रेडियोले रेडियो संकेत टिप्न सकिरहको थिएन । हामीले एफएम प्रसारणमा रोक लागेको अनुमान नै गरेनछौं । लामाटार ब्यारेकबाट केही पर रहेको एउटा पसलमा रेडियो घन्किरहेको थियो । हामी केही बेर पर्खेर भए पनि रेडियो सुन्ने नियतले त्यहाँ रोकियौं । हामीलाई देख्नेबित्तिकै पसलेले रेडियो र पसल एकसाथ बन्द गरे । उनको व्यवहार हामीलाई अनौठो लाग्यो । हामीले उनीसँग रेडियो सुन्न दिने आग्रह गर्दा नगर्दै उनी माण्डवी नदी किनारको ओरालो ओर्लिसकेका थिए । पहाडमा मानिस देख्नेबित्तिकै पसल बन्द गरेको हाम्रा लागि यो पहिलो अनुुभव थियो । हामी चकमन्न बजार, वस्ती र सडक काटेर भालुबाङतिर लाग्यौ । झिमरुकदेखि भालुबाङसम्मको बाटो पूरै सुनसान थियो । त्यतिखेर प्यूठानको यो भागमा माओवादीहरूको बन्द चलिरहेको थियो । बन्दका कारण बजारहरू खुलेका थिएनन् । जनताले बन्दलाई सदाझैं सहज रूपमा लिएका थिए । जीवन सामान्य थिएन । सार्वजानिक यातायात पूरै बन्द थियो ।


शाही घोषणाबारे हाम्रो उत्सुकता भालुबाङमा पनि मेटिन सकेन ।
हामी निर्धारित कार्यक्रम छोट्याएर भालुबाङबाट बुटवलतिर लाग्यौं । परिवर्तित सन्दर्भमा शाही घोषणाका प्रस्तावहरूका बारे थाहा नपाएसम्म यात्रा जारी राख्नु निरर्थक हुन्थ्यो भन्ने बोध हामीलाई छिट्टै भयो । गोरुसिंगे कटेपछि मोबाइल चल्ने आशा थियो । त्यहाँ पुगेपछि थाहा भयो, बिहानैदेखि सञ्चारका सबै मार्गहरू अवरुद्ध छन् । भालुबाङदेखि बुटवलसम्मको सडक लगभग सुनसान थियो । हामी झमक्क साँझ पर्दा बुटवल पुग्यौं । बल्ल हामीलाई राजाको सम्बोधन सुन्ने अवसर प्राप्त भयो ।


सम्बोधन सुन्यौं । त्यसलाई भावुक शब्दहरूले सिंगार्ने कोसिस गरिएको थियो । विद्रोहका कारण उब्जिएका सबै समस्याहरूलाई शब्दमा समेटिएका थिए । तर, ती शब्दहरूले कतै पनि सम्बोधनको अभिप्राय स्पष्ट पार्न सकेका थिएनन् । माओवादी विद्रोहको परिस्थितिप्रति देखाएको निरपेक्षताका कारण राजनीतिक दलहरूसँग जनताले गर्ने गरेका गुनासा र असन्तुष्टिहरूलाई राजाको सम्बोधनले सकेसम्म बढी समेट्ने प्रयास गरेको थियो । सम्बोधनले यिनै गुनासा र अस्न्तुष्टिहरूलाई अभियोग बनाएर दलहरूको चर्को आलोचना गरेको थियो । राजाको सम्बोधन बहुदलीय व्यवस्थाप्रति पूर्ण असहमतिको अभिव्यक्ति थियो ।

घोषणाको परिणाम
लगत्तै नागरिक अधिकारहरू निलम्बित भए । जनता सञ्चार सम्बन्धबाट अलग गरिए । सूचनाको अधिकार धराशायी भयो । संगठित क्षेत्रका रूपमा विकासका शृङ्खलाहरू उक्लिंदै गरेका सञ्चार–माध्यमसँग सम्बन्धित सबै संस्था घेराउमा परे । मोबाइल फोनमा रोक, छापामा सेन्सरसिप, एफएम रेडियोहरूको सूचनामूलक प्रसारणमा सुरक्षाकर्मीहरूको ठाडो हस्तक्षेप शाही घोषणाका तात्कालिक परिणाम थिए । सुरक्षा निकायका साना–ठूला अधिकारीहरू आफ्नो हातमा शासनको जिम्मेवारी आएको दाबी गर्न थाले । नागरिक प्रशासन प्रभावशून्य भयो ।


प्रारम्भमा माओवादी विद्रोहबाट आजित भएको दाबी गर्ने सहरियाले राजाको कदमप्रति खासै असन्तोष व्यक्त गरेको पाइएन । शाही घोषणापछि गिरफ्तार भएका दलका साना–ठूला नेताहरूप्रति पनि जनताको खासै सहानूभूति देख्न पाइएन । नागरिक अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने व्यावसायिक र गैरव्यावसायिक संघ–संस्थाहरूले तत्काल स्वत:स्फूर्त विरोधको संयोजन गर्न सकेनन् । प्रजातान्त्रिक शासन पद्धतिप्रति जनताको विमति थिएन । राजाबाट हिंसात्मक द्वन्द्वको समाधान निस्किहाल्छ कि ? झिनो आशाले सबैलाई अल्झाएको थियो ।

शाही घोषणाको लगत्तैपछि विभिन्न शहरमा दिपावली भए भने देशकाअसंख्य बजार र बस्ती अँध्यारै रहे । शाही घोषणाको प्रतिरक्षाका लागि देशमा संकटकाल घोषणा भयो । यसले माओबादी बिद्रोहीले आह्वान गरेको फागुन १ गतेदेखिको अनिश्चितकालीन नेपाल बन्दलाई निष्प्रभावी तुल्याउन सकेन । माओबादीहरूले लेउती खोलाछेउको सडकमा पर्खाल उठाएर अवरोध खडा गरेकाले धनकुटा जाने यात्रुहरू भेडेटारबाट तल ओर्लिन सकेनन् । महेन्द्र राजमार्गको कानेपोखरी–दमक खण्डमा राखिएका धराप र दुई पक्षको झडपका कारण झापा पहुँचबाहिर पर्‍यो । चितवनबाट पश्चिम बुटवलसम्म राजमार्गमा सयौं क्विन्टल गोलभँेडा फालिए । यातायात अवरोधका कारण बजार पुर्‍याउन नसकेपछि कुहिन थालेका गोलभेँडा सडकमा फाल्नुको विकल्प किसानहरूसँग थिएन । बुटवलबाट पश्चिम, महेन्द्र नगरसम्म अवस्था अझै कष्टकर थियो । मेचीदेखि महाकालीसम्म, राजमार्गको सुरक्षा व्यवस्था सचेत र सजग भएको शाही सरकारले दाबी गरे पनि यातायात सेवा ठप्प रह्यो । राजमार्ग छेउका बजारहरू फाटफुट खुलेका थिए । मानिसको चहलपहल भने शून्य थियो । बन्दको बेलामा राजमार्गमा चलाइने सवारी साधनलाई सुरक्षा दिइने व्यवस्था भएपनि व्यवसायीहरू जोखिम उठाउन तयार थिएनन् । राज्य आफैँ युद्धरत रहेका बेला राज्यको सुरक्षा घेराभित्र रहेर यात्रा गर्दा आइपर्ने खतराका सामना गर्न कोही तयार थिएन । नारायणघाटमा एक जना यात्रु भन्दै थिए,
सुरक्षा घेराभित्रको यात्रा झन् खतरनाक हुन्छ । भर्खर शाही घोषणा भएको छ । विद्रोहीहरूले यतिबेला त झन धेरै धराप थापेका होलान् । यस्तो अवस्थामा कतिबेला के हुने हो पत्तै हुँदैन ।

माथिका विवरणहरू काल्पनिक कथा होइनन् । यो हाम्रो जीवनको यथार्थ हो । अहिले यस्तो लाग्दछ, मात्र चौध वर्षअघिका यी कठोर अनुभव हामीले बिर्सिइसकेका छौं । संसारभर इतिहासकार, सिनेकर्मी, कलाकार, साहित्यकार आ–आफ्नो देशले भोगेका अमानवीय परिस्थितिको अभिलेख पुस्तक, सिनेमा, नाटक, कविताजस्ता प्रभावकारी माध्यम मार्फत तयार पारिरहेका छन् । हामी भने ती कालखण्डलाई बिर्सिइरहेका छौं । हामी सामान्य कुरामा रमाइरहेका छौ । यो नै हाम्रो दुर्गतिको कारण हो । गति भनेको चेतना हो । हामीमा यो चेतनाको सर्वथा अभाव छ ।


माघ १९ राजाको इन्कार थियो, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रप्रति । २०४६ को राष्ट्रिय जन–आन्दोलन मार्फत जनताले अभिव्यक्त गरेका विधिका शासनविरुध्द प्रहार थियो । माघ १९ का दिन नेपालमा गणतन्त्रको जग हालियो । त्यो जग खन्ने काम दुर्भाग्यवश राजा आफैंले गरे ।
अहिलेका लागि यो अनुमानबाहिरको कुरा हो । राजनीतिकर्मी र राजनीतिक दलहरूले माघ १९ को सम्झना गर्नु नराम्रो होइन । तर, माघ १९ को रचनात्मक विरोध हुनुपर्दछ जसले जुनसुकै प्रकारको एकाधिकारवादी, तानाशाही शासन प्रणालीप्रति जनतालाई सजग बनाओस् ।


देशको राजधानी शहरका अँध्यारा कोठाहरूमा गणतन्त्रविरुद्धका खेलको प्रायोजन भइरहेको छ । यस्तोमा, देश राजनीतिक खतराबाट मुक्त छ भन्न मिल्दैन । नेपालमा राजनीतिक संस्कार छैन । यस्तोमा भन्न सकिन्न सत्ताको मोहमा परेका मानिसले कस्तो षड्यन्त्र रच्नेछन् ? राजनीतिक दलहरू पनि कतै यो षड्यन्त्रको वृत्तमा त छैनन् ? प्रश्न जायज हो । सत्ताका लागि दल टुक्य्राउने परम्परा छ देशमा । यति भन्न सकिन्छ सबै कुरा शत–प्रतिशत प्रमाणित छैनन् । यस्तो अवस्थामा जनता सचेत रहने हो भने कुनै पनि षड्यन्त्र सफल हुन सक्दैन।

प्रकाशित : माघ १९, २०७५ १२:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT