जोगिन सकिने जोखिम

सम्पादकीय

काठमाडौँ — रामेछापस्थित सुनारपानी गाउँका महिलाको पाठेघर जाँच गर्दा नतिजा भयावह आएको छ । सय महिलालाई जाँच गर्दा ८ जनामा पाठेघरको मुखको क्यान्सरको सम्भावना देखिएको छ । योनिबाट पानी बग्ने, रगत आउनेजस्ता समस्या लिएर अस्पताल र स्वास्थ्य चौकी धाउनेहरूको संख्या हेर्दा यो रोग अझ डरलाग्दो गरी लुकिरहेको अनुमान गर्न सकिन्छ ।

पाठेघरको मुखको क्यान्सर नेपालमा हुने क्यान्सरहरूमध्ये दोस्रो स्थानमा पर्छ । सबै प्रकारका क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर मात्रै १२ प्रतिशत छ । महिलामा मात्र हुने क्यान्सरमध्ये त यो २० प्रतिशत छ । स्तन क्यान्सरपछि यो महिलामा देखिने दोस्रो क्यान्सर । नेपालमा भने पहिलो नम्बरमा छ ।


सामान्यत: क्यान्सरको प्रकृति फैलिँदै जाने हो । तर पाठेघरको मुखको क्यान्सर अपर्झट हुने रोग होइन । यसको खास कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) संक्रमण हो । धेरै सन्तान जन्माउने, धेरैजनासँग यौन सम्पर्क गर्ने र गुप्तांग सरसफाइ नगर्नेमा यो रोग लाग्ने सम्भावना ज्यादा हुन्छ ।


‘प्याप स्मिअर’ विधिबाट पाठेघरको मुखको पानी जाँच गरी क्यान्सर छ/छैन पत्ता लगाउन सकिन्छ । विकसित देशहरूमा यो क्यान्सर घट्नुको कारण पनि यही विधिको सफल प्रयोग हो । उनीहरू रोगप्रति सचेत छन् । नियमित परीक्षण गरिरहन्छन् । समयमै रोग पत्ता लाग्छ र उपचार सहज हुन्छ । तर, हामीकहाँ खासगरी ग्रामीण र विकट बस्तीहरूमा न परीक्षण सुविधा छ न त नियमित जँचाइरहनुपर्छ भन्ने जागरूकता ।


पाठेघरको मुखको क्यान्सरबाट जोगिन १३/१४ वर्षको उमेरमै एचपीभी भ्याक्सिन लगाउन सकिन्छ । तर यो निकै महँगो छ । एउटै भ्याक्सिनको करिब ५० हजार रुपैयाँ पर्छ । सरकारले भीआईए टेस्ट (पाठेघरको मुखमा एसिटिक एसिड राखेर गरिने परीक्षण) का लागि जिल्ला अस्पतालमा बल्ल दुई जना नर्स पठाउने व्यवस्था गरेको छ । त्यो पनि कार्यान्वयन हुन बाँकी छ । नेपाल अर्बुद रोग निवारण संस्थाले ४२ जिल्लामा पाठेघर क्यान्सरबारे चेतना फैलाउने कार्यक्रमका साथै कहिलेकाहीँ ‘प्याप स्मिअर’ विधिबाट जाँच गर्दै आएको छ । यो राम्रो प्रयास भए पनि अपर्याप्त छ ।


पाठेघरको मुखको क्यान्सर पहिचान गर्ने एउटै मात्र विधि छैन । कोल्पोस्कपीद्वारा पनि रोग भए/नभएको पत्ता लगाउन सकिन्छ । विकसित मुलुकमा बिहे गरेपछि महिलाले ६/६ महिनामा पाठेघर परीक्षण गराउँछन् । तर हामीकहाँ नियमित परीक्षण सुरु भएकै छैन । कति महिला पाठेघर मुख क्यान्सरको जोखिममा छन् भन्ने यकिन तथ्यांक छैन । गाउँघरका स्वास्थ्य चौकीमा ‘प्याप प्रविधि’ नपुग्दा महिला अधिकार हनन भइरहेछ । यस्तो क्यान्सर भइसकेकाहरूका लागि सबै सरकारी अस्पतालमा शल्यक्रिया सुविधा पनि छैन जुन अत्यावश्यक छ ।


एसिटिक जाँच गरी पाठेघर मुखको क्यान्सर पहिचान गर्ने राष्ट्रिय अभियान तत्काल कार्यान्वयन गर्नुपर्छ । त्यसपछि मात्र कति महिला पीडित भइसकेका र कति सम्भावित जोखिममा छन् भन्ने पत्ता लाग्छ । त्यसैले यो अभियानलाई तत्काल देशव्यापी बनाउनुको विकल्प छैन ।


मानव भ्रूण हुर्कने घरै पाठेघर हो । यसलाई ‘ह्युमन प्यापिलोमा भाइरस’ को संक्रमणबाट बचाउन सबै तहका सरकार र

हरेक ठाउँका स्वास्थ्य संस्था सक्रिय हुनुपर्छ । सरकार र सर्वसाधारण एकसाथ सचेत भए पाठेघरको क्यान्सरलाई पक्कै परास्त गर्न सकिन्छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?