छोरीलाई बच्चैबाट बोझ

काठमाडौँ — पर्साको कक्षा ११ मा अध्यनरत पर्साको कालिकामाई गाउँपालिका २, भेडियाहीका दुई किशोरीले हालै सीमापारि रक्सौलको रेलवे ट्रेकमा आत्महत्या गरे । कक्षा ११ मा अध्ययनरत ती किशोरीको आत्महत्याले मधेसमा छोरीहरूलाई भयरहित वातावरणमा आफ्नो खुसीले जिउने स्थिति नरहेको महसुस फेरि गराएको छ । 

छोरीलाई बच्चैबाट बोझ

मधेसमा गर्भमै पहिचान गरेर छोरी मारिन्छ । अलि ठूलो भएपछि खान, लाउन, पढाउन विभेद गरिन्छ । घरमा शौचालय नभएर बाहिर जाँदा बलात्कृत हुनुपर्छ । घरधन्दा सम्हाल्नुपर्ने, परिवारका सदस्यहरूको सेवा–सत्कार गर्नुपर्ने लगायतका कामको बोझले महिला थिचिनुपर्छ । छोरी पाए पनि छोरा नपाउँदा अनेक लाञ्छना सामना गर्नुपर्छ । कैयौंले बोक्सीको आरोपमा हिंसा सहनुपर्छ ।


अनेक यातना र विभेद सहेर मधेसका अधिकांश गरिब तथा मध्यमवर्गीय परिवारका महिला बाँच्न बाध्य छन् । कालिकामाईका दुई किशोरीले मृत्यु रोज्नुको पछाडि सामाजिक, आर्थिक र अन्य व्यावहारिक कारण हुन सक्छन् ।


साधारणतया मधेसमा छोरीको चाहना, इच्छा लगायतमा बन्देज लगाइएको देखिन्छ । छोरीले ‘तँलाई पढाउन यत्रो खर्च गर्नुपरेको छ, जति पढाए पनि दाइजो दिनुपर्छ, चुलाचौका नै तेरो पहिलो र अन्तिम कर्म–धर्म हो’ भन्ने बारम्बार सुन्नुपर्छ । बच्चैदेखि मानसिक दबाब तथा बोझले ग्रसित हुनुपर्छ । छोरीहरूलाई मनमा लागेका कुरा खुलेर बोल्न, जोडले हाँस्न स्वतन्त्रता छैन ।


जन्मदिने आमाबुबाले समेत छोरीको भावना बुझेको, उसको इच्छाको सम्मान गरेको गिनेचुनेको सीमित परिवारमा मात्र भेटिन्छ । गरिब होस् वा धनी परिवार, मधेसमा कुनै पुरुषसँग कुरा गर्दा, घुम्न जाँदा अनेक उपनामले पुकारिन्छ । यसैका डरले महिलाहरू सामाजिक संस्कारका नाममा घुम्टोभित्र भनौं घरभित्र खुम्चिन बाध्य छन् ।


मधेसमा बालविवाह ठूलो समस्या बनेको छ । सानै उमेरमा छोरीको बिहे गर्दा शिक्षा तथा लालन–पालनमा लगानी गर्नु नपर्ने र दाइजो पनि कम दिए पुग्ने बुझाइ छ । छोरीले प्रेम विवाह वा भागी विवाह गर्न सक्ने डर पनि हुन्छ । त्यसैले अभिभावकहरू कम उमेरमै छोरीको विवाह गराउन लालायित हुन्छन् ।


छोरीलाई स्कुल पठाइहाले भने सरकारीमा पठाउँछन्, जबकि छोराहरू निजी स्कुलमा जान्छन् । छोरीले केही कक्षा पढेपछि वा अक्षर चिन्न र चिठी लेख्न जानिसकेपछि पढाइ छाड्न लगाउँछन् । उनीहरू घरधन्दा, साना भाइबहिनीको रेखदेखमा लाग्नुपर्छ । मधेसका महिला गरिबी, अशिक्षा, लैंगिक भेदभाव, बलात्कार, वैवाहिक बलात्कार तथा विभिन्न किसिमका घरेलु हिंसाको सिकार बने पनि समाजको डर, लाज, आत्मविश्वास अभाव, घरपरिवारको असहयोग लगायतका कारण चुप लागेर बस्न बाध्य छन् । हिंसा र दुव्र्यवहारका घटना बाहिर आउँदैनन् । आइहाले सामाजिक दबाबमा कुरा मिलाइन्छ ।


तथ्यांक हेर्ने हो भन्ने सबैभन्दा बढी भ्रूण परीक्षण, महिला असाक्षरता, महिला गरिबी, महिला बेरोजगारी प्रदेश नं. २ मा छ । महिला सामाजिक, आर्थिक तथा राजनीतिक हरेक क्षेत्रमा पछाडि छन् । नेपालको महिला साक्षरता ६४ प्रतिशत छ भने प्रदेश नं. २ मा ४९ प्रतिशत महिलामात्र साक्षर छन् । दलित, मुसलमान, जनजाति महिलाको अवस्था झन् दयनीय छ । प्रदेश नं. २ मा महिलाको जनसंख्या (४९.७ प्रतिशत) पुरुषको भन्दा कम छ । यसले बेटीलाई शिक्षा दिएर मात्र पुग्दैन, बेटीलाई खुसीसाथ बाँच्न दिने वातावरण पनि राज्यले विशेष व्यवस्थामार्फत तयार गर्नुपर्छ भन्ने देखाउँछ ।


छोरीको बिमा गरिंँदैमा र अभिभावकत्व ग्रहण गर्दैमा हाम्रो समाजबाट न दाइजो हट्छ, नत छोरीले चाहेको जस्तो शिक्षा, घरपरिवार पाउँछन् । गुणस्तर शिक्षाका साथै छोरीप्रति दृष्टिकोण, व्यवहार बदलिनुपर्छ । पितृसत्तात्मक तथा सामन्ती सोच भएका महिला तथा पुरुषको चेतनाको स्तर उकास्न जनचेतनाका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ ।


एकचोटी पृथ्वीमा आइसकेपछि बारम्बार अग्निपरीक्षा दिँदादिँदै कति महिला दुव्र्यवहार, यातना, पीडालाई आफ्नो छातीभित्र लुकाएर बसेका हुन्छन् । पृथ्वी जस्तै सबै पापयुक्त व्यवहारलाई ढाकछोप गरेर बस्न माइतीमा आमाले सिकाएकी हुन्छिन् । छोरीको इच्छा र चाहना विपरीत वर र घर खोजी पठाइन्छ । छोरी विवाह अघि बुबा र दाइभाइलाई बैसाखी मानेर आज्ञा पालना गर्छे । विवाहपछि श्रीमान, सासु, ससुरा, देवर, छोराको सहारा र इसाराले जीवन जिउन बाध्य हुन्छे ।

बिहे अत्यन्तै अकुशल व्यक्तिसँग गरिदेलान् कि भन्ने डरले पनि कति छोरी घरबाट भाग्छन् ।


मानसिक समस्यामा पर्छन् । कतिले आफूले मनपरेको केटासंँग भागी विवाह गर्छन् । विवाहपछि अनपेक्षित व्यवहार भोग्नुपरेपछि आत्महत्या गर्छन् । छोरीले सानै उमेरमा गलत निर्णय गर्न पुग्नुमा बुबा–आमाको व्यवहार तथा सोच बढी जिम्मेवार छ । छोरी सकुशल घर आउँछे कि आउँदिन भन्ने डरले मधेसका खासगरी गाउँघरका छोरीलाई विभिन्न अवसरबाट बञ्चित गर्न थालिएको छ ।


आफ्नो सम्मान, हक–अधिकार संरक्षण तथा न्यायका लागि महिला आफै बोल्न नसकेसम्म कुनै महामानव आएर सुधार ल्याइदेला भनेर सोचिबस्नु पनि मुर्खता हुन्छ । सहेर र हेरेर बस्दा झन् मानसिक तथा शारीरिक हिंसाले बढावामात्रै पाउँछ । आत्मसम्मान, सुरक्षा तथा अधिकार र समान व्यवहारका लागि संवेदनशील तथा जागरुक महिला–पुरुषले शून्य सहनशीलताको वातावरण बनाउनुपर्छ, गलतलाई गलत र सहीलाई सही भन्ने आँट तथा क्षमता विकास गर्नुपर्छ ।


निर्मला पन्त र उनीजस्तै चेलीहरूको बलात्कार, हत्याविरुद्ध नाराजुलुस भयो । तर निर्मला प्रकरणमै सत्य–तथ्य पत्ता लाग्नसकेको छैन । यसबाट महिला हिंसा रोकथाम गर्ने प्रण सरकारको भाषणमा मात्र सीमित भएको सन्देश प्रवाह हुन्छ ।


समाजका अगुवा र राजनीतिक नेताहरू मन, वचन र कर्मबाट हिंसाविरुद्ध डटेर लागे हिंसा अन्त्य हुनसक्छ । जो न्याय दिने र नीति–नियम पालना गर्न लगाउने ठाउँमा हुनुहुन्छ, उहाँहरूले आ–आफ्नो ठाउँबाट दाइजो लेनदेन, बालविवाह, महिला हिंसा तथा अन्य विभेदका विषयमा निगरानी र कारबाही गर्नसके उपलब्धि हुनसक्थ्यो । प्रेम विवाह र भागी विवाहका कारणले छोरीको विवाह १६ वर्षमै गरिनुपर्छ । सरकारलाई असफल पार्न बलात्कारका घटना घटाइएको जस्ता लाजमर्दो बोली महिला नेताहरूबाटै आउनु विडम्बनापूर्ण छ ।


यो देशका सर्वोच्च पदमा आसिन राष्ट्रपति विद्या भण्डारी, तीनै तहका सरकारमा नेतृत्व गर्ने नेतृहरूलाई साधारण महिलाको प्रश्न छ– यो समाजको सोच र व्यवहारमा परिवर्तन आउन अब कति बेटीले रेलको पट्रीमा सुतेर आत्महत्या गर्नुपर्ने ? कति चेलीले दाइजो र बोक्सीका नाममा बलि चढ्नुपर्ने ? कहिलेसम्म विचरा र अबलाका नाममा आरक्षणको दान लिइरहनुपर्ने ?


आजका महिलाले घरका साथै देशको पनि जिम्मेवारी कुशलतासाथ निर्वाह गर्ने क्षमता राख्छन् । उनीहरू अवसर नपाएर अरूमाथि निर्भर हुन बाध्य छन् । मधेसका कतिपय महिलाले पढ्ने र काम गर्ने मौका छोराजति नपाए पनि केही अवसर पाउँदा राम्रो गरेर आफ्नो छुट्टै पहिचान बनाएका छन् । सबै छोरीलाई यस्तो अवसर दिइयो भने हाम्रो देश कस्तो हुँदो हो ?


अन्त्यमा, हामी मधेसका महिला आफै जाग्न जरुरी छ । संगठित हुन जरुरी छ । आफ्नो समुदायमा भइरहेको अन्याय, अत्याचार, घरेलु हिंसा तथा भेदभाव विरुद्ध घर–घरमा आवाज उठाउन जरुरी छ । एउटा महिलाले अर्को महिलाको समस्या, पीडा बुझेर सहयोग गर्नु आवश्यक छ । एउटा महिलाले आफ्ना छोराछोरीलाई राम्रो संस्कार, एकसमान व्यवहार गरेर हुर्कायो भने पनि आउने दिनमा सभ्य समाज बन्न सक्छ ।


सामाजिक अभियन्ता लेखक प्राध्यापन गर्छिन् ।

प्रकाशित : फाल्गुन ८, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?