कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

लेखकहरूको लस्कर

राजकुमार बानियाँ

काठमाडौँ — लेखनमा विविधता दिन नसक्नुको दुर्दशा आफ्नो ठाउँमा छ, तर ‘पोजेटिभ नोट’ मा हेर्ने हो भने हाम्रा युवा समयको विशाल संक्रमणमा छन् । 
पहिले अवसर पनि थिएन, प्रतिस्पर्धा पनि । अहिलेका युवासँग अवसर पनि छ, प्रतिस्पर्धा पनि छ ।

लेखकहरूको लस्कर

माघ तेस्रो साता बिजुलीबजार–थापागाउँतिर टोपी र कोट ढल्काएका एक युवक ठोक्किए । सोधे, ‘घोस्ट राइटिङ नेपालको अफिस कता हो ?’ उनी रहेछन्, कवि आविष्कार मन । पेसाले इन्जिनियर उनलाई सिर्जनात्मक प्रशिक्षण चाहिएको रहेछ । उनको हस्याङफस्याङ सायद आख्यानमा ‘डेब्यु’ कै लागि हो ।


आविष्कार मनजस्ता नवप्रवेशी लेखकहरूको लस्कर नै छ नेपाली साहित्यमा । लेखक बन्ने लहरका कारण अक्सर किताब विमोचन जुधिरहेका हुन्छन् । युवक हुन् वा युवती, देशभित्र बसेका हुन् बाहिर, तिनमा लेखक बन्ने महत्त्वाकांक्षा अटेसमटेस छ ।


यसो हुनुको कारण के हो भने कतिपय लेखकले ‘सेलिब्रिटी’को औतार पाइसके । सीमित नै सही, पूर्णकालीन हैसियत, नियमित रोयल्टी वा तलब, बजार, पुरस्कार, मिडियामा चर्चापरिचर्चा आदिले यस्तो लेखकीय उमंग आएको बुझ्न कठिन छैन ।


भलै तिनले गोपालप्रसाद रिमाललाई नसुनेका हुन सक्छन् । ‘घुुम्ने मेचमाथि अन्धो मान्छे’ नपढेका हुन सक्छन् । धनुषचन्द्र गोतामे र ‘घामका पाइलाहरू’ को सम्बन्ध नबुझेका हुन सक्छन् । वासु शशी र भवानी भिक्षुलाई बेवास्ता गरिरहेका हुन सक्छन् । यत्तिकै आधारमा तिनीहरू खहरे हुन् कि नदी ? तिनको सोचमा बच्ने साहित्य छ कि बेच्ने ? तिनीहरू ‘मास’ मा जान खोजिरहेका छन् कि ‘क्लास’मा ? यसै भन्न सकिँदैन ।


उदाहरणका लागि २०४० मा जन्मेको कुनै लेखक अहिले ३५ वर्ष लागिसक्यो । उसले कम्तीमा पनि १० वर्ष साहित्य साधना गरिसकेको छ । समय गणनामा एक दशक भनेको एक पिढी हो । लेखनको हिसाबमा २० वर्षचाहिँ तयारीको अवधि । २० देखि ३० वर्षसम्मको अवधि नै अक्षरकर्मीको पछिल्लो पुस्ता हो ।


समकालीन युवा लेखन सबैजसो विधामा छरिएको छ । ठूलो हिस्सा गजलमा निर्लिप्त छ भने अर्को हिस्सा कवितागिरीमा । बिस्तारै तिनीहरूलाई आख्यानको सम्मोहनले छोएको छ । युवा लेखकहरूले आख्यान, गैरआख्यान, कवितामार्फत समाजका विविध आयामलाई समेट्न नखोजेका पनि होइनन् । पुरानाले खासै ध्यान नदिएका वैयक्तिक र निर्वैयक्तिक, समकालीन र ऐतिहासिक, वैश्विक र आञ्चलिक विषयवस्तुबारे सोच्न बाध्य पारेका पनि छन् । परिवर्तनताका देखिएका जनमानसका सपना अपहरित भएको यथार्थ चित्रण गरेका छन् । ‘बन्दुकको गोली र रगतको आहालले सिँचिएको गणतान्त्रिक मुलुकको भाग्य, अवसर र प्रगतिको खोजीमा विदेश लम्किएका युवा पाइला, खाडी मुलुकमा आर्जेको दु:ख, बन्द बाकसको कथा, विदेशमा कामदार महिलाले खेपेका शोषण यस्ता विषयवस्तु बाहिर ल्याएका छन्,’ बुकाहोलिक्सकी सगुना शाह भन्छिन्, ‘किताबको मसरुमिङ मार्केट र पहिलो किताबले बढाएको अपेक्षा पूरा गर्न भने पछिल्लो पुस्तालाई मुस्किलै छ ।’


यो पुस्ता त कविता लेख्छ तर कमजोर छ कवित्व । अनुभवको परिपक्वता र सौन्दर्यबोधको उपल्लोस्तरले कविता बनाउँछ । त्यहाँ शब्द कम तर अर्थ बढी र बहुआयामिक हुन्छन् । आख्यान लेख्छ तर आख्यानको मूल मर्म पात्र निर्माण हो भन्ने ख्याल गर्दैन । पात्रको निर्माण व्यक्तिचित्र नभई प्रवृत्तिको गठजोड हो । उपन्यास त लेखिएका छन् तर तिनमा औपन्यासिक कला देखिँदैन । पात्रहरू मानसपटलमा बस्दैनन् । नयाँ भाषा, शिल्प र शैलीको आविष्कार गरेको पनि छैन ।


‘बजारमा चर्चा भएका दुईचार आख्यान र दुईचार कवितालाई नै अध्ययनको सगरमाथा ठान्ने यो पुस्ताको सबैभन्दा कमजोर पक्ष आफूले लेखिरहेको विषयको गहिराइ थाहा नहुनु हो,’ समीक्षक लक्ष्मण श्रेष्ठको टिप्पणी छ, ‘यो पुस्ताले आफू बाँचेको समाज अरूकै आँखाबाट चिनेको छ तर आपैंmले बोध गरेको छैन ।’


पछिल्लो साहित्य सरल हुँदै गएको छ भने गम्भीरता हराउँदै । साहित्यको दीर्घायुमा अनेक प्रश्न उठेका छन् । साहित्य गम्भीर बनाउनुको अर्थ जटिल र अमूर्त हुनुपर्छ भन्ने पनि होइन । आम पाठकले बुझ्ने बनाउने होडबाजीले कतिपय सचेत र गम्भीर पाठकमा वितृष्णा ल्याइदिएको छ ।


सिंगो साहित्यमा अखबारी छाया बुर्कुसी मारिरहेको छ । समाचार र सिर्जनाबीच खासै फरक देखिन्न । ‘फिचर’ लेखनलाई नै ‘फिक्सन’ ठान्ने रोगका कारण साहित्यले ज्यान लिन सकेको छैन । फिक्सन लम्बाइले होइन, त्यसको फिक्सनल तत्त्वले बनाउने हो । गणतन्त्रउत्तरको साहित्यमा विम्ब र प्रतीकको प्रयोग अनि सूक्ष्मताको आभास नै भएको छैन । अहिले साहित्यमा कुनै प्रतिबन्ध या सेन्सर छैन । तर यसको अर्थ साहित्य सतही, हल्काफुल्का, काम चलाउ र फास्टफुड पाराकै भए पनि हुन्छ भन्ने होइन । एडबर्ड सइदले लेखेकै छन्, ‘सायद प्रतिबन्धित समयमा लेखिएको साहित्यमा बढी सूक्ष्मता हुन्छ । त्यस्तो समयको रचना सजिलो र स्वतन्त्रताकालको स्वीकृत रचनाभन्दा भिन्न हुन्छ ।’


साँच्चै भन्ने हो भने आजका पाठक लेखकभन्दा उद्बुद्ध छन् । आजका पाठक नै भोलिका लेखक हुन् । तिनलाई नेपाली साहित्यमै चित्त बुझाउनुपर्ने कुनै नैतिक बाध्यता छैन । बोधगम्य विषय र सुबोध शैलीका लागि विश्व साहित्य उनीहरूको हातमै हाजिर छ । त्यसैले नवलेखनका लागि विषयवस्तु मात्र नभई भाषा, शिल्प, शैली, विम्बको प्रयोग अनि अरू ‘लिटरेरी डिभाइस’ले निकै महत्त्व राख्छन् ।


‘नयाँ सौन्दर्यविधान, विम्बविधान अनि विनिर्माणका निम्ति सिजर्नशील अराजकतापछि अहिले युवा लेखन थ्रेसहोल्डमा छ,’ लक्ष्मणको अनुभव बोल्छ, ‘अब यहाँबाट अर्को उचाइ लिन्छ वा यही गतिमा एक दशक जान्छ भन्ने ठम्याउनै गाह्रो छ ।’


युवा लेखकहरूको संख्यालाई हेरेर मात्र ‘सुनौलो युग’ भन्न सकिँदैन । साहित्यले पारेको प्रभाव, नेतृत्व, बहस र गुणवत्ताको मूल्यांकन गर्दा प्राय: लेखक उमेरमा मात्र युवा छन् तर लेखनमा आकर्षक र आक्रामक युवापन छैन । त्यसैले कोही नायक/बहुनायक, केन्द्र/बहुकेन्द्र, युनिभर्स/मल्टिभर्स, नयाँ धार (हरू) देखिइसकेको छैन ।


भलै केही लेखक ‘भाइरल’ भएका होलान्, केही ‘सेलिब्रिटी’ भएको भ्रममा होलान्, कोही पुरानो जमानाका युधीर थापाकै हाराहारीमा ‘बेस्ट सेलर’ पनि भए होलान् । केहीले विदेश घुमेर आएका पनि होलान् । तर, ती साँच्चै सेलिब्रिटी हुन् ? के राम्रा कविलाई विदेशमा कविता सुनाउन बोलाइएको छ त ?


यो पुस्ताले न २०३६ को विद्यार्थी आन्दोलन देख्यो, न २०४६ को आन्दोलन । २०५२–६२ को आन्दोलन छिपछिपे भोगेको यो पुस्ताको सामाजिक चेतना २०६२–६३ पछि उघ्रेको मधेस आन्दोलन र पहिचानको मुद्दाले निर्माण गरेको हो । पुस्ताले स्वाभाविक रूपमा माग्ने प्रेम, सपना, महत्त्वाकांक्षा, निराशा आदि चलनचल्तीकै यौवनिक लेखन त प्रस्फुटित हुने भइहाल्यो । भुइँचालो, नाकाबन्दी, बलात्कार–छाउपडीजस्ता सामाजिक अपराध, वैदेशिक रोजगार, आप्रवासन, शिक्षा र स्वास्थ्यमा देखिएको विसंगति, डा. गोविन्द केसीको अनशन, संविधानसभाको चुनाव आदि सेरोफेरो हो उसको । यत्तिकै आधारमा यो पुस्ताले समयको धुकधुकी नै छामेको छैन भन्न त नसकिएला । शीघ्र चर्चा र बधाई साटासाटमा अल्झिने हो भने ज्ञानको अथाह भण्डार छिचोल्ने समय पुग्दैन पक्कै ।


‘युवा’ शब्दलाई उल्टाएर उच्चारण गर्नुस्, ‘वायु’ बन्न जान्छ । यसको सामान्य अर्थ युवा वायुजस्तै चलायमान र सक्रिय हुन सक्छ । अझ कल्पनाशील अर्थात् ‘ड्रिमर’ । साहित्यमा सधैं चलनचल्तीको सुल्टो मात्र होइन, कहिलेकाहीँ उल्टो सोच्ने लेखक पनि चाहिन्छन् । त्यसका निम्ति सिर्जनशील अराजकता अर्थात् बेचल्तीको बाटो पहिल्याउने जमात चाहिन्छ ।


‘विडम्बना अराजकता र ‘ड्रिमर’ त छाडिदिऊँ, वायुवेगमा लम्कनुपर्ने युवा साहित्य समाजको दर्पण हो भन्ने ओभर रेटेड थर्ड डिग्रीको क्लिसे मन्त्र जप्दै बसेको छ,’ यो समयकै स्टाइलिस र एक्सपेरिमेन्टरल लेखक कुमार नगरकोटी भन्छन्, ‘विश्व साहित्यमा नयाँ/नवीन दर्पणहरू प्रशस्तै आइसकेका छन् । हामी भने पुरानै दर्पणमा आफ्नो पुरानै चाउरिएको अनुहार हेर्दै दंग परिबसेका छौं ।’


नगरकोटीको प्रौढोक्तिमा आलोचनाका लागि आलोचना मात्र नभएर नव्यताको आग्रह छ । अपवादबाहेक यो पुस्ताको लेखनले प्रयोगमा चाख दिएको छैन । नवीन भाषा, कथ्य, कलाविचार, कल्पनाशीलता, शैली, शिल्प र निजत्वको विराट क्षितिज खोजीमा नलाग्नेलाई जैविक युवा त होला तर मानसिक युवा होइन । समग्रमा समसामयिक युवा लेखन दर्पणजस्तो मात्र छ, दीपक बन्न सकेको छैन ।


विश्वासका दुइटा नियति हुन्छन्, एउटा आत्मविश्वास र अर्को अन्धविश्वास । पछिल्लो साहित्यिक पुस्ता आत्मविश्वासी छ कि अन्धविश्वासी ? युवा पुस्ताले साहित्यमा नित्य, नवीन र नूतन जोखिम उठाउने आँट गरेको छ कि आफ्नै कम्फोर्ट जोनको बेडरुममा हाई काढ्दै बसेको छ ? ‘मेरो पुस्ताले अझै पनि निश्चित विचारधाराहरूकै जन्ती गइरहनुपर्ने हो कि तमाम वादहरूको मलामी ?’ नगरकोटी थप्छन्, ‘मेरो पुस्ताले कतिन्जेल गुरुप्रसाद मैनालीलाई गुरुदक्षिणा चढाइरहनुपर्ने हो ? गुरुको प्रसाद हामीले धेरै बाँड्यौं । आँट इज एन आर्ट, माई फ्रेन्ड भन्दै कम्फोर्ट जोनको बेडरुमबाट निस्कने हो ।’


त्यसो त युवालाई उमेर नभएर प्रवृत्ति र शैलीका हिसाबले हेर्नुपर्ने मत पनि नभएको होइन । लेखन शैली, वैचारिक विमति र आन्दोलन, साहित्य दर्शन, सौन्दर्य चेतना आदिको मूल्यांकन गर्दा नेपाली साहित्यले फड्को मार्न नसकेकै हो । यहाँ कि मनोवैज्ञानिक यथार्थवाद छ कि त सामाजिक यथार्थवाद ।


संस्कृति, समाज र चेतनास्तर समान भएको मानिने भारतका १२ जना (पाँच भारतीय नागरिक र सात भारतीय मूलका) ले नोबेल पुरस्कार पाइसक्दा पनि नेपाली साहित्यले अन्य मुलुक त छोडौं, भारतकै भिसासमेत पाउन सकेको देखिँदैन । ‘के हाम्रो साहित्य अन्तर्राष्ट्रिय बजारमा नपस्नुको एउटा कारण गुणस्तर होइन ?’ पोखरेली लेखक गनेस पौडेल भन्छन्, ‘चेखब, टैगोरले छोइसकेको सामाजिक यथार्थवादको सगरमाथा चढेर हामी तेन्जिङ नोर्गे बन्न सम्भव होला ?’


युवा लेखकमध्ये कसैले संवेदनालाई केन्द्रमा राखेका छन्, कसैले राजनीतिलाई । माक्र्सवादी र गैरमाक्र्सवादी शिविर अहिले पनि मौजुद छ । एकथरी लेखक राजनीतिक दृष्टिकोणबाट मात्रै साहित्य लेख्छन् र आफूलाई प्रगतिशील दाबी गर्छन् । अब सिर्जनाको दायरा बढाउने कि एकपाखे र साँघुरो दृष्टि क्षितिज अँगाल्ने ? यो पनि लेखककै छनोट हो ।


साहित्यलाई स्वान्त सुखायभन्दा उद्देश्यपरक ठान्ने जमातले नारीवाद या पहिचानवादको ध्वजा पनि उठाइरहेकै छ । साहित्यका नाममा राजनीतिक प्रोप्रोगन्डा लेख्ने प्रवृत्तिमा निकै कमी आइसकेको छ भने राजनीतिक आक्रोशलाई सौन्दर्य चेतनासहित लेख्नुपर्ने चेतना बढ्दै गएको छ । यो साहित्यका लागि शुभसंकेत हो ।


अहिलेका युवा लेखक बनाउने पहिलो प्लेटफर्म भएको छ, फेसबुक । कतिपय त किताबै नलिकाली सेलिब्रिटी लेखक भएका छन् । फेसबुके सेलिब्रिटीको मानक लाइक र कमेन्ट नै हुन् । ‘सेलिब्रिटी हुने धुनमा प्राय: सेल्फीब्रिटीको सिकार भएका छन्,’ युवा समीक्षक सरोनर झटारो हान्छन्, ‘सेल्फी आफैंतिर मात्र फर्किन्छ, अरूतिर मतलबै गर्दैन ।’ सामाजिक सञ्जालको अधिप्रयोगले साधनालाई समय नपुग्ने नै भयो ।


पक्कै पनि युवामा सिर्जनशील सामथ्र्य प्रचुर हुन्छ । साहित्यिक लेखन व्यक्तिको सिर्जनशील सामथ्र्यमा निर्भर हुन्छ । तर, तिनको सिर्जनाले नयाँ मोड लिन नसक्नुमा अधिकांशले औंल्याएको पक्ष अध्ययन नै हो । आफ्नो मात्र ज्ञान र अनुभवले युवालाई मात्र होइन, कसैलाई पनि पुग्दैन । आफ्नो र अरूको अनुभवको मिश्रणबाटै उम्दा लेखन आउने हो । अहिलेका लेखकलाई नै अध्ययन गर भन्नु मानहानि पनि होला । त्यसैले फेसबुकले जस्तै अपडेट हौं भन्नु मनासिब होला ।


युवा लेखकलाई स्वयं लेखकले मात्र बिगार्दैन । मिडिया हाइप अनि गसिप पनि त्यत्तिकै जिम्मेवार हुन्छन् । समालोचना या समीक्षाको नाममा किताबमै नभएको गसिप पस्किदिने प्रवृत्ति अनि किताबको विषयवस्तु, शैली र शिल्पका आधारमा भन्दा पार्टी सदस्यता या जात या थरका नाममा सर्जकलाई तौलने परिपाटी पनि डरलाग्दो छ ।


असल लेखकभित्र असल आलोचक हुन्छ भने असल आलोचकभित्र असल लेखक । वास्तवमा आफू बाँचेको कालखण्डलाई राम्ररी बुझेको लेखकले नै पात्र खडा गर्छ र बोल्छ पनि । तर, नवलेखन पनि त्यो आलोचनात्मक चेतबाट टाढै छ । त्यसैले पुराना र नयाँबीच भिन्नताको रेखा कोर्न सकेको छैन ।


खासमा लेखकलाई अगाडि बढाउने भनेको आफंैप्रतिको आलोचनाले हो । कम्तीमा आफनो पहिलो पुस्तकको सक्षमता बुझ्ने अनि कमीकमजोरी सपार्ने आत्मविश्वास राखेको जाती । काकतालीमा एउटा पुस्तकको सफलता र चर्चामा टुप्पिएर बस्ने अहंकारले तिनलाई ज्ञानका नयाँ स्रोतसम्म पुर्‍याउँदैन । बरु अरू किताब कमजोर हुने जोखिम हुन्छ । स्तरीय लेखनको एउटा सर्त निरन्तरता पनि हो । साहित्यमा अस्वस्थ उछिनपाछिनको औचित्य देखिँदैन पनि । ‘गन्थन र गुटबन्दीबाट माथि उठेर समकालीन लेखकले एकअर्काको कृति पढ्नु र बहस गर्नु पनि आवश्यक होला,’ सगुनाको सुझाव छ, ‘वन बुक वन्डर नभएर आफ्नो प्रतिस्पर्धा आफंैसित भएमा अझै राम्रा कृति आउलान् ।’


नयाँ र पुराना लेखकहरूबीचको सानो सर्वेक्षण गर्दा पछिल्लो पुस्ताका प्रतिनिधि एकाधबाहेक खासै निस्केनन् । जति देखिएका छन्, तिनको पनि पूर्ण कदको परिचय बनिसकेको पाइएन । जुनसुकै साहित्यमा आशालाग्दा अनुहार थोरै नै हुन्छन् । तर यसै आधारमा गतिलो कोही लेखक छैन भन्ने थोक निर्णयमा पुगिहाल्न सकिँदैन । फेरि पनि साहित्यिक परिपूरण र पृष्ठपोषण हुने युवा लेखकबाटै हो । लेखनमा विविधता दिन नसक्नुको दुर्दशा आफ्नो ठाउँ छ, तर ‘पोजेटिभ नोट’मा हेर्ने हो भने युवाहरू समयको विशाल संक्रमणमा छन् । पहिले अवसर पनि थिएन, प्रतिस्पर्धा पनि । अहिलेका युवासँग अवसर पनि छ, प्रतिस्पर्धा पनि छ । उनीहरूलाई व्यास, भानुभक्त या देवकोटा, भूपीको जमानामा जस्तो एकाग्र हुन पनि गाह्रो छ । छिनछिनमै आउने नोटिफिकेसनले बिथोल्छ नै । ‘६० वर्षे युवा’ त बग्रेल्ती छन् नै, माधवप्रसाद घिमिरे र सत्यमोहन जोशीजस्ता ‘सेन्चुरी ब्वाई’ले समेत प्लेटफर्म छाडेको देखिन्न ।


निश्चय पनि युवाहरूसँग अतीत छोटो हुन्छ, भविष्य लामो । त्यसैले उनीहरूको उत्साहमा तत्काल बरफजल खन्याउनु न्यायिक हुन सक्दैन । किनभने परम्परालाई बोक्ने भरोसालाग्दो काँध युवासँगै छ । परम्पराको भञ्जन मात्र नगरेर परम्पराको व्यञ्जन पस्किने जिम्मा पनि उनीहरूकै हो । जीवन भनेकै आशा र आगोलाई निभ्न नदिनु हो । युवाको विकल्प युवा मात्रै हुन सक्छन् ।


र, अन्त्यमा, जोखिम लिने सन्दर्भमा जापानी समाजमा तीन शब्द प्रचलित छन्, बाकामोनो (मूर्ख), वाकामोनो (जवान) र योसोमोनो (बाहिरिया) । मूर्खसँग दुस्साहस, जवानसँग समय अनि आउटसाइडरसँग नयाँ नजर हुन्छ । त्यसैले परिवर्तन तिनकै पोल्टामा छ । युवा लेखकहरूसँग त्यस्तो आशा किन नराख्ने ?

प्रकाशित : फाल्गुन ८, २०७५ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?