कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ओली–कल्पनाको टाइटानिक

राजेन्द्र महर्जन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली क्रान्तिकारी नेताका रूपमा भोकविरुद्ध बन्दुक उठाएर हिँडिरहेका बेला लेखिएको नाटक हो– ‘भोको घर ।’ प्रम ओलीको राजमा थियटर मल– कीर्तिपुर रंगमञ्च, राराहिलमा नाटक हेरिरहँदा साहित्यकार गोविन्दबहादुर मल्ल ‘गोठाले’ ले तीसको दशकमा रचना गरेको नाटकका भोका पात्रहरूले देख्ने रंगीन सपनाले दर्शकको मन–मस्तिष्क नराम्ररी रन्थनाउँछ ।

ओली–कल्पनाको टाइटानिक

भोको घरभित्र जागिर खोसिएका घरमूली नरबहादुरको भावी प्लान, श्रीमती मन्दिराको मिठा–मिठा खानेकुरा खाने कल्पना, दन्त्यकथाकी राजकुमारी बन्ने छोरी सरिताको सपना र छोरा राजेन्द्रको समाजवादको जपनाले ओलीका स्वैर–कल्पना (ओली–कल्पना) लाई पनि माथ गर्न सक्छन् । तर वर्गीय समाजमा रंगीन सपनाले भरिएको पानीजहाज कटु यथार्थको आइसबर्गमा ठोक्किँदा टाइटानिकजस्तै दुर्घटनाग्रस्त हुने पीडादायी अनुभूति हुन्छ ।


राजतन्त्रदेखि गणतन्त्रसम्मको राजनीतिक रूपान्तरणपछि पनि आर्थिक र सांस्कृतिक क्षेत्रमा जनमुखी परिवर्तन नहुँदा, राज्यले भोकानांगा जनताको समस्या सम्बोधन नगर्दा गरिबहरू रंगीन सपनामै भुल्नुपर्ने बाध्यतालाई समाजवाद, समृद्धि, रेल–पानीजहाजका ओली–कल्पनाले कसरी समाधान गर्छ, नाटकका दर्शकको मनमा प्रश्न उठ्न सक्छ । जागिर खोसिँदा, भएको घर पनि साहुले हडप्न खोज्दा, खानै नपाएर कसैको भोजको निम्तो पाउने आसमा बाँच्नुपर्दा मिठा कल्पना र रंगीन सपनाले भोकानांगाको पेट भर्छ कि भर्दैन, सपनाको राजनीतिक व्यापार गर्ने सत्ताधीशहरूले दिनुपर्ने उत्तर हो यो ।


सपनाको राजनीतिक कारोबार चलिरहँदा ओली वा ओलीजस्ता स्वप्नजीवी र सपनाका व्यापारीलाई सोधिनुपर्ने पहिलो प्रश्न हो, समाजवाद, समृद्धि, रेल–पानीजहाज ‘भोको घर’ का मानिसका लागि उचित र वस्तुवादी सपना हो ? हो भने ‘भोको घर’ देखि ‘समृद्ध नेपाल’ सम्मको सुदूर यात्रा कुन बाटो भएर कसरी तय गरिन्छ र ‘सुखी नेपाली’ भएको अनुभूति गराउने संरचना, संयन्त्र र प्रक्रिया के हुन्छ ? यस्ता प्रश्नको उत्तर खोजिएन भने प्रत्येक रेल–पानीजहाजका सपना ‘सोम शर्माको कथा’ मा अनुदित हुन्छ ।


पानीजहाज सपनाको नालीबेली

प्रम ओलीले भन्दा अघि पनि नेपाली राजा र रंकहरूले रेल–पानीजहाजका सपना नदेखेका होइनन् । ब्रिटिस साम्राज्यसँग स्वार्थ गाँसिएपछि शासकहरूले नेपालमा रेलसेवा चलाएका थिए भने एकजना शासितले पानीजहाज चलाउन उपाय पनि सुझाएका थिए । १९३८ सालको पर्वमा जेल परेका राजनीतिक बन्दी भुवनसिंह सिलवालले वीरशमशेरको शासनकालमै सस्तो यातायातका लागि जलमार्गबाट परिवहनको परिकल्पना गरेका थिए । ‘नेपाली आर्थिक साहित्यमा अगुवा : भुवनसिंह सिलवालको महर्ग निवारण’ अनुसार सिलवालले काठमाडौं उपत्यकामा मोफसलको, विशेषगरी चितवनको अनाज उतार्न यस्तो परिकल्पना पेस गरेका थिए, त्यो पनि जेलको चिसो कोठाबाट ।


१९४९ सालमा सिलवालले काठमाडौंबाट पश्चिम देउरालीको बाटो भएर कल्लेरीघाटदेखि चितवनको देउघाटसम्म अन्दाजी ३० कोसको जलमार्ग उपयोगमा ल्याउन सकिने कल्पना पेस गरेका थिए । उनले त्रिशूली नदीमा ढुंगा फोर्दै, छहरा कटाउँदै डुंगा चलाउनयोग्य नदी बनाउन सकिने र जिम्मा पाए त्यसको अगुवाइ आफूले गर्नसक्ने प्रस्ताव पनि प्रस्तुत गरेका थिए । यस किताबका सम्पादक देवीचन्द्र श्रेष्ठले भनेझैं राजकाजको मुद्दामा जेलमा १२ वर्ष बिताएका सिलवालले १२६ वर्षअघि भनेको जलमार्ग नै हामीलाई कथा भइरहेको छ । आधुनिक जलयान हुभर क्र्याफ्टको जमानामा पनि जलमार्गको कुरा नपत्याउँदो छ ।


पञ्चायतकालमा ‘विकासको मूल’ फुटाउने जोश–जाँगरका साथ राजा महेन्द्रको अगुवाइमा पनि नेपाली पानीजहाज र जलमार्गको सपना बाँडिएको थियो । ‘पानीजहाज दर्ता ऐन, २०२७’ नै बनाएर पानीजहाज कम्पनीसमेत दर्ता गरिएको र कम्पनी टाट पल्टिएको कथा सार्वजनिक भएकै कटु सत्य हो । यसरी अनेक परिकल्पना र योजनालाई ठोस काम–कारबाहीमा अनुवाद गर्न संरचना, संयन्त्र र प्रक्रिया निर्माणसँगै प्रतिबद्ध नेतृत्व बनेन भने प्रत्येक व्यावहारिक योजना दिवास्वप्नमा फेरिने नै हो ।


पानीजहाज चढेर कोलकाता जाने निम्तो

पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले राजा महेन्द्रकै शैलीमा समृद्धिको सपना बाँड्ने क्रममा २०७३ जेठदेखि पानीजहाजको गफ दिएका थिए । उनको दाबी अनुसार ‘पानीजहाजको सपना निदाएको बेला होइन, दिउँसै देखेको’ हुनाले मजाक उडाउने विषय होइन ।


पानीजहाजको सपना पनि चुच्चे रेल–मोनो रेल, स्मार्ट सिटी, घर–घरमा ग्यास, हावाबाट बिजुलीजस्तै विकास र समृद्धिको नयाँ भाष्यका रूपमा सिर्जना गरिएको डिस्कोर्सको एक कडी हो । ट्यांकरमा राखेर सगरमाथाको पानी विदेशीलाई बेच्नेदेखि लिएर हिन्द र प्रशान्त महासागरमा पानीजहाजमा नेपाली झण्डा फहराएर व्यापार गर्ने सपनाको प्रचारबाजीले पनि यही डिस्कोर्सलाई व्यापक बनाएको छ । यही डिस्कोर्सका क्रममा नेपाल जनमन पानीजहाजको सम्भाव्यता वा असम्भाव्यताको सेरोफेरोमा घुम्नु ओलीको राजनीतिक सफलता नै हो ।


असार १४ गते ओलीले ‘नेपालमा समाजवादको आधार’ माथि प्रकाश पार्ने क्रममा ६ महिनाभित्रै हनुमाननगरबाट पानीजहाज चलाउने सगर्व उद्घोष गरेका थिए । दुई वर्षअघि देखेको सपना पुन: उल्लेख गर्दै उनले आग्रह गरेका थिए, ‘पुस १६ सम्म पानीजहाज (स्टिमर) चढेर कोलकाता जान निम्तो छ, साथीहरूलाई ।’ ‘खेलौना रेल हिँडाउने, बाल्टिनमा पानी राखेर डुंगा चलाउने’ हरूबाट भएको आलोचना, टिप्पणी र विरोधबाट बेखबर थिएनन्, हनुमाननगरबाट कोलकातासम्म पानीजहाज चलाउने योजनाकार ओली । पुस १६ मा ‘प्रधानमन्त्रीज्यू, पानीजहाजको टिकट कहाँ पाइन्छ ?’ भनी सोध्दै ‘रेल तथा पानीजहाजका कुरालाई मजाक बनाउने’ प्रवृत्तिबाट पनि अनभिज्ञ थिएनन्, सूचना प्रवाहप्रति सचेत ओली ।


यस्तै आलोचना, टिप्पणी र विरोधलाई हावामा उडाउन ओलीले आफूप्रति आलोचनात्मक रवैया अँगाल्ने बुद्धिजीवीहरूको आलोचना र आफ्ना हवाइ गफको प्रतिरोध गर्न शब्द र बुद्धि खर्च गरेका थिए । उनका अनुचरहरूले पनि कोशी, गण्डकी र महाकाली हुँदै पानीजहाज चढेर जलयात्रा गरेको सपनाको प्रचारबाजीमा समय दुरुपयोग गर्नथालेका थिए । भ्वाङ टाल्न कति कठिन रहेछ भन्ने पानीजहाज कार्यालय र त्यसको उद्घाटनको नौटंकीबाट नराम्ररी उजागर भएको छ ।


पुस १६ मा पानीजहाजको यात्राका लागि निम्तो दिने ओलीकै नेतृत्वमा रहेको मन्त्रिपरिषदले पुस २९ मा मात्रै उपसचिवको नेतृत्वमा १६ कर्मचारी रहनेगरी नेपाल पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको छ, जसले ओलीको निम्तोलाई हास्यास्पद ठहर्‍याइदिएको छ । फागुन २ गते ओलीबाटै उद्घाटन भएको ललितपुरको एकान्तकुनास्थित नेपाल पानीजहाज कार्यालय केही दिनमै बेपत्ता भएको खबर आउनु र त्यसको खण्डनमा कार्यालयले लागिपर्नुपरेको घटनाले पानीजहाजको सपनालाई मजाकमाथि मजाक बनाएको छ ।


सपनाको महामारी

कार्यालय उद्घाटनसँगै ‘पानीजहाजको सुरुवात र विकासको ढोका खुलेको र रेलभन्दा पनि जलयातायात चाँडो सञ्चालनमा आउने’ जिकिर गरेका ओलीले खोलाका चौडाइ र गहिराइका आधारमा जहाज निर्माण गर्न इन्जिनियरलाई सुझाएका थिए । दिउँसै पानीजहाजको सपना देख्ने खुबी भएका ओलीका यस्ता प्रयासलाई ‘दूरी घट्दैछ, नेपाली सपनाको’ भनी सरकारी–गैरसरकारी माध्यमबाट प्रचारित गरिएको छ । खासमा घटाउनुपर्ने त उनको हवाइ सपना र नेपालको कटु यथार्थ बीचको दूरी हो । कम गर्नुपर्ने त ओली–कल्पना, उडन्ते गफ र सपनाको व्यापार तथा देशको क्षमता, राज्य संरचनाको सक्रियता र जनजनको मनोबल बीचको द्वन्द्व हो ।


सपनाको संसारबाट वास्तविक भुइँमा टेक्ने र मन्त्री र प्रशासकहरूकै भनाइ सही मान्ने हो भने पानीजहाज र जलमार्गबारे कानुन बनाउनै बाँकी छ । यसबारे भारतसँग के कस्तो सम्झौता गरिएको छ, उसका हित र स्वार्थ नेपाली हित र स्वार्थसँग कहाँ मिल्छन्, कहाँ बाझिन्छन्, गम्भीर अध्ययन र बहस गरिएको छैन । बन्दरगाह बनाउने ठाउँदेखि पानीको सतह र बहावबारे कत्तिको अनुसन्धान गरिएको छ, प्रम र मन्त्री त के, प्रशासकहरू पनि बेखबर छन् ।


कुनै जमानामा भुवनसिंह सिलवालले जेलमा गरे जत्तिको पनि गृहकार्य नगरी पानीजहाजको गफ हाँक्न चियापसलका गफाडीलाई सुहाउँछ, प्रमजस्तो राज्यका प्रमुखलाई सुहाउँदैन । आफूसँगै जनता, राज्य र देशलाई उडन्ते गफको अम्मली बनाउँदा लोकरञ्जनवाद (पपुलिजम) को वनमारा झारमात्र फस्टाउँछ । यसले लोकतन्त्रको बिउ नै मास्न सक्छ ।


सामन्तवादी राजतन्त्रको उदय हुनुअघि ‘राजा’ को अर्थ गणतन्त्रको अगुवाइ गर्ने र जनतालाई मनोरञ्जन दिनसक्ने नेता मानिन्थ्यो । संसारभरका पपुलिस्ट नेताहरूका वृत्ति र प्रवृत्ति हेर्दा अब प्रधानमन्त्री/राष्ट्रपति पद भनेकै जनतालाई मनोरञ्जन दिने र रंगीन सपनामा भुलाउन सक्ने जोकर उत्पादन गर्ने संरचना बन्दैछ । विश्वमै लोकतान्त्रिक संरचना र संस्थागत प्रक्रिया अवहेलना गर्दै आम मानिसलाई लोभ्याउने राजनीति प्रभावशाली हुँदैछ ।


न्याय, समता र शान्तिको राजनीतिको सट्टा समृद्धि र सुखको राजनीतिक खेतीपाती बढ्दो छ । सुख–समृद्धिको नारा र राष्ट्रवादी अन्धता–जुझारूपनाका साथमा चामत्कारिक नेतृत्व जोडियो भने फासीवादी सत्ताले अन्तत: लोकतान्त्रिक राजनीतिलाई भीरबाट खसाल्ने हो, चाहे त्यो वामपन्थी स्वरूपको होस् या दक्षिणपन्थी रूपको । पपुलिस्ट सपनाको पानीजहाजमा प्वाल परेन, जनआन्दोलनको आइसबर्गमा ठोक्किएन भने नेपालको लोकतन्त्रको आयु लामो हुँदैन ।


ट्विटर : @rmaharjan72

प्रकाशित : फाल्गुन १४, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?