१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एक 'डिप्रेस्ड’ नेपालीको प्रश्न

सरिता तिवारी

काठमाडौँ — कापी जाँच्दा–जाँच्दै आलस्यले हाइ काढिरहेका बेला एक मित्रले मेसेन्जरमा पठाएको सन्देश टुङ्ग बज्यो । त्यसमा एउटा अन्तर्वार्ताको भिडियो रहेछ । कुनै बेला एउटै विद्यार्थी आन्दोलनमा आफ्नै नेता रहेकी आजको नेकपाकी नेता तथा सांसद रामकुमारी झाँक्रीसँग ‘नेपाल आज’ले गरेको त्यो वार्ता अन्त्यसम्म हेरेँ ।

एक 'डिप्रेस्ड’ नेपालीको प्रश्न

झाँक्रीले आँसु रोक्नै नसकेर अवसादपूर्वक बोलिरहँदा म एउटा कोक्याउँदो ऐंँठनजस्तो अनुभूतिले आफैभित्र अठ्ठिएँ र गमेँ, आँसुको यो भाषाभित्र कति विकराल सत्य होलान् ? दुई तिहाइ बहुमत भएको सत्तापक्षको भर्भराउँदो युवा नेता यसरी रुन किन अभिसप्त छ ?


कवि सुमनराज श्रेष्ठको एउटा कविताको शीर्षक छ, ‘एडिक्ट नेपालीको प्रश्न’ । कविले भनेको ‘एडिक्ट’ एउटा ‘दुर्व्यसनी’ युवा हो, जो पद्धतिभित्र असंगतिमात्रै देख्छ । यो दुर्ब्यसन ‘इमानको दुर्व्यसन’ हो । सत्यनिष्ठाको दुर्व्यसन हो । सामुहिक सपनाको दुर्व्यसन हो । यो दुर्व्यसनको लती ‘एडिक्ट’मात्रै होइन, समयान्तरमा डिप्रेसनको रोगीसमेत भैसकेको छ ।


आफैंलाई हेर्छु र ठान्छु म पनि एउटा डिप्रेसन सिन्ड्रोम बोकेर हिँडिरहेको मान्छे त होइन ? होइन भने मलाई यो कविताले किन लखेट्दो होला र ? देश अग्रगतिमा हिँडोस्, रोजगारी उपलब्ध होस्, विकास होस् । सबैको आत्सम्मान रक्षा होस् । सबै क्षेत्रमा पारदर्शिताको अभ्यास होस् । काम गरेर देशमै खान–लाउन पाइयोस् । यति न्युनतम अपेक्षा मात्रैको पूर्तिबिना मानिस डिप्रेस्ड हुनुपर्ने स्थिति सुखद होइन ।


हामी नेपालीले मुक्ति र स्वाधीन नागरिक जीवनका लागि शतक लामो लडाइँ लड्यौं । सफल पनि भयौं । त्यसको उत्साहमा हामीले केही दिव्य वर्षहरू अतिरेकमै पनि बितायौं । त्यतिन्जेलमा आन्दोलन र विद्रोहका नयाँ धारा र रूपहरू जन्मिए । हामीमध्ये कति तिनका तरङ्गबाट झस्कियौं, सतर्क भयौं । कति त्यसैको धारामा प्रवाहित भयौं । वा हुनसक्छ, हामी मध्येकै केही तिनीहरूप्रति अलिक बढ्ता आलोचक भयौं । तथापि यो लोकतन्त्र हो ।


सबै खाले विचारको स्वस्थ बहसमै लोकतन्त्रको सौन्दर्य निहित छ । मधेस, जनजाति, महिला र उत्पीडित वर्गका स्थान र सम्मानका आन्दोलनहरूले हाम्रो चिन्तनलाई विस्तृत बनाएका छन् । हामीमध्ये कतिपयले आफूलाई समयानुकूल परिवर्तित र विवेकसम्मत बाटोमा हिँडाउने प्रयत्न पनि गर्दैछौं । परन्तु मुक्ति र निर्माणको यात्रा यहीं सकिँदैन, बल्ल आरम्भ भएको छ ।


लोकतन्त्र अल्पकालीन एजेन्डा होइन । त्यसको चरण हुन्छ र हरेक चरणमा राजनीतिक नीति र नेतृत्वको अहम् भूमिका हुन्छ । कठोर संघर्षपछि बनेको परिस्थितिका तरङ्गलाई सुझबुझले तह लगाउन नसक्दा नयाँ परिस्थिति झन् बढी ध्वंसकारी हुनसक्छ । झन्डै शताब्दी लामो लोकतान्त्रिक आन्दोलनपछि हामीलाई ‘मुक्त र अधिकार सम्पन्न जनता’ भएको अनुभूति हुनु आजको आधारभूत आवश्यकता हो । तर स्वतन्त्रता शब्द आफैंमा मात्र भने अर्थहीन छ । त्यसमा स्थायी, जिम्मेवार सरकार र विधिको शासन निर्विकल्प छन् ।


हामीले सय वर्षदेखि लडेको लडाइँ पारदर्शी र न्यायपूर्ण आर्थिक, प्रशासनिक व्यवस्थाका लागि हो । कोही कांग्रेसको झण्डामुनि बसेर लडे होलान्, कोही कम्युनिष्टको झण्डामुनि । पञ्चायती व्यवस्था विरुद्ध आन्दोलन बहुदलीय प्रजातन्त्रका लागि थियो । २०४७ सालपछिको वातावरणमा संसदभित्र प्रभावशाली रहेको कांग्रेस अपेक्षा गरेजस्तो इमानदार भैदिएको भए कम्युनिष्ट शक्तिहरूको उदय सम्भव नहुँदो हो ।


नेपालको प्रशासनिक व्यवस्था पञ्चायती व्यवस्थाभन्दा पनि अनैतिक र भ्रष्ट बन्ने थितिलाई कांग्रेसले सुधार गर्ने चेष्टा गरेन । बरु दलाल नोकरशाहको खाँबोलाई झन् बलियो बनाइदियो । अपारदर्शी र नैतिकहीन लेनदेनले आफ्नो कुत्सित मनसुवा पूर्ति गर्ने खेललाई कांग्रेसले भरपुर फल्न–फुल्न दियो ।


कम्युनिष्ट नामका पार्टीहरू शक्तिमा नआउन्जेल जनताप्रति जतिसुकै प्रतिबद्ध भए पनि सत्तासुखको स्वाद पाउन थालेपछि कांग्रेसभन्दा कुनै अर्थमा फरक देखिएनन् । दस वर्षसम्म चलेको ‘जनयुद्ध’ले जनसाधारणमा चेतना र भरोसा त जगायो, तर अन्ततोगत्वा त्यो शक्तिले पनि सत्ताभोग गर्ने स्थितिमा राजनीतिक र जीवन व्यवहारको शुद्धीकरणलाई मुद्दा बनाउन जरुरी ठानेनमात्रै होइन, त्यसैको रसातलमा भासिएर आफूलाई झन् बढी कुरूप बनायो । बढ्ता अपेक्षा गरिएकासँग आक्रोश पनि बढ्तै पलाउनु अस्वाभाविक भएन ।


जनता युद्धबाट आएको शक्तिसँग पनि भयंकर निराश भए । परन्तु जब दुई प्रभावशाली पार्टी मिसिएर एउटै बन्ने स्थिति आयो, आम मानिसमा त्यसप्रति एउटा अमूर्त भरोसा जाग्यो । हामीलाई भलिभाँती थाहा छ, कम्युनिष्ट भनिएका शक्तिलाई नाम मात्रैको झण्डा र जार्गनको विश्वासले पनि जनताले अनुमोदन गरेका हुन् । त्यो अनुमोदनमा के कस्ता तत्कालीन परिस्थिति र प्रभावको विशेष भूमिका रह्यो, समकालीन राजनीति बुझेका जोकसैलाई थाहै छ ।


ठूलो रक्तपात र ध्वंसको मूल्य तथा धेरै ठूलो धनराशि र परिश्रमको बदलामा नेपाली जनताले संविधानको किताब पाए । अनेक अधैर्य र प्रतीक्षाका बीचमा पनि हामी के सोचेर सकारात्मक भयौं भने कमसेकम एउटा सार्वभौम मुलुकको स्वतन्त्र नागरिकका रूपमा अबका दिन स्थिर सरकारका माध्यमले भौतिक निर्माणबाट मात्रै होइन, मितब्ययी र पारदर्शी आर्थिक आचरण, आत्मनिर्भर राष्ट्रिय पुँजी निर्माण अभियानले र रूपान्तरित सांस्कृतिक चेतना तथ व्यवहारले समेत उन्नत हुनेछन् ।


विदेशको तातो बालुवामा नेपाली युवाको रगत बेचेर डिजिटल युगमा बाँच्नुपर्ने विडम्बना समाप्त हुनेछ । हामीले सोचेका हौं, कम्युनिष्ट आदर्श र सपनाले मुटु–कलेजो

भिजेको नेतृत्व कम्तीमा पनि जनताको न्युनतम अपेक्षाप्रति जिम्मेवार हुनेछ ।


यतिबेला स्थिति विलकुलै आशाजनक छैन । गायक पशुपति शर्माको गीतले भनेझैं सोझो चित्तले हिँड्ने मान्छे पङ्गु बनिरहेको छ । जतासुकै दलाल र बिचौलियाको साम्राज्य छ । तीनै तहका सरकारहरूसम्म तिनकै बोलवाला छ । यस्तो स्थितिमा डिप्रेसन एक मानसिक अवस्थामात्रै होइन, राजनीतिक स्थितिजन्य रोग बनेको छ । माथिदेखि तलसम्मको राजनीतिक नेतृत्व, प्रशासनिक अङ्ग र एकाइका अधिकांश मानिसमा मौका पाउँदा लुटेर खाने मनोविज्ञान ब्याप्त छ । सरकारी वा गैरसरकारी कामले ठोक्किने जुनसुकै भुक्तभोगीलाई यहाँभित्रको नाङ्गो र विद्रुप चित्र थाहा छ ।


ठूलो पद र ठाउँमा रहेका मानिस करोडौं भ्रष्टाचारमा मुछिएका होलान्, तलसम्म लाखौं र हजारौंका भ्रष्टाचारमा निर्लिप्त हुनेको संख्या अकल्पनीय छ । अतितमा आन्दोलन र वर्ग–संघर्षका नाममा जोबन बिताएका मानिस एउटा सानो खोला र पैनीमाथि पुल बनाऊँदासमेत इमान सुक्रिबित्री गर्छन् । अरु कुरा छाडौं, सानो काम गर्दा वडा स्तरमै हुने मोलमोलाइ र दलाली भयानक रूपले निकृष्ट छ । आर्थिक प्रलोभनले जनप्रतिनिधिलाई यतिसम्म चुर्लुम्म पारेको छ कि इमानपूर्वक तलब र भत्तामा मात्रै काम गरिरहेका असल नियतका प्रतिनिधिसमेत अविश्वासको घेरामा छन् ।


अख्तियार दुरुपयोगमाथि अनुसन्धान गर्ने आयुक्तजस्ता पदधारी नै पटक–पटक भ्रष्टताको पराकाष्ठा छुनेगरी भ्रष्ट हुने, तर उसमाथि कारबाही नहुने मुलुकमा एउटा निजी टेलिकमले अर्बौं रुपियाँ राजस्व छुट किन पाउँछ ? यस्तो छुटमा क–कसको संलग्नता हुनसक्छ ? भनिरहनु पर्दैन । राजनीतिक नेतृत्व आफैं अनेक प्रकारका माफियाको मुठीमा कैद भएपछि आर्थिक पारदर्शिता र सुशासन सम्भव छ भनेर कल्पना गर्नु बेकार छ ।


सुशासन र समृद्धि वाणीमा मात्रै फलाक्दै हिँड्ने कुरो होइन । त्यसलाई उपयुक्त नीति र त्यो नीतिमाथिको व्यावहारिक प्रतिबद्धताले अभिव्यक्ति दिने हो । नीति भनेको सरकारले संसदमा पेस गर्ने तत्कालीन कार्यनीतिको डमी होइन, सुशासनको विचारधारा हो । नीतिहीनता वा विचारहीनता सबै प्रकारका अनैतिकता र भ्रष्टताको जननी हो । नीति कहिल्यै एक्लो र पूर्ण होइन । त्यसले जिम्मेवार आचरणको माग गर्छ ।


आज यति ठूलो जनमत पाएको सरकार झन्डै विचारहीन, नीतिहीन मात्रै छैन, आचरणले समेत हीन छ । सरकार प्रमुख ठाउँ–कुठाउँ गफ र चुट्किलाको वर्षा गराउँछन् । तर उनको हातमा स्टेयरिङ थामिएको गाडी कुन दिशामा जाने हो, उनैलाई थाहा छैन । गन्तव्यको कुरै नगरौं । आलोचनाप्रति अत्यन्तै असहिष्णु बन्ने, विचारधारालाई बकवास र बौद्धिकहरूलाई पागल करार गर्ने यस्तो समयमा हुने चिज भ्रष्टाचार नै हो । आर्थिक मात्रै होइन, सांस्कृतिक र समग्र नैतिक भ्रष्टाचार ।


भ्रष्टाचार र अनैतिकता हिजो थिएन, आजमात्रै छ भन्ने आशय होइन । तर ठूलो परिवर्तन, त्यसको म्यान्डेट स्वरुपको संविधान (भलै संविधानमा पनि प्रशस्त छक्कापञ्जा गरिएको किन नहोस्) र त्यसपछि निर्वाचित तीन तहको सरकार हिजोभन्दा बढ्ता जिम्मेवार, नैतिक र भ्रष्टाचारप्रति कठोर हुनैपर्छ । नत्र यो देशमा हरेक सच्चा र इमानदार मान्छे डिप्रेसनको रोगी बन्नेछ । सरकार ! के हामी डिप्रेसनलाई राष्ट्रिय रोग बनाउन उद्यत हुने हो ?


पार्टी अनुशासन र आचारसंहिताको हेक्का हुँदाहुँदै पनि रामकुमारी झाँक्रीको आँसुले त्यसको बर्खिलाफ गरिछाड्यो । यो उनको आवेगमात्रै थिएन । आफूले लडिआएको आन्दोलनको मर्म स्थापित नहुँदाको उकुस–मुकुस थियो । उनले भन्न नसकेका कैयौं कुरा उनका आँसुले भनेका छन् । सत्तापक्षको त्यत्तिको नेतासमेत आँसु बगाउन अभिसप्त हुनु आगामी दिनलाई एउटा ठूलो ‘दस्तक’ हो । परन्तु हामीलाई थाहै छ, यो दस्तक सुन्ने कान सरकारसित छैन ।

प्रकाशित : फाल्गुन १५, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?