कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्ष जनशक्त्ति उत्पादन गर्ने कि ?

साबीर अन्सारी

काठमाडौँ — एउटा कुरा के सत्य हो भने राजनीतिक परिवर्तनले मात्र देशको विकास हुन सक्दैन भन्ने कुरालाई सबैले स्वीकार गरेको वातावरण बनिसकेको अवस्था छ । देश विकासका लागि देशभित्र बिधमान रहेका विभिन्‍न स्रोत र साधनको उच्चतम प्रयोग गर्दै आर्थिक गतिविधिहरुका माध्यमबाट देशलाई अगाडि बढाउनु अत्यावश्यक रहेको छ ।

दक्ष जनशक्त्ति उत्पादन गर्ने कि ?

पछिल्लो समयमा राज्य तथा निजी स्तरमा विकास निमार्णका चर्का नारा लगाइँदै आइएता पनि देश विकासका निम्ति के कस्तो जनशक्ति उत्पादन गर्नुपर्ने र जनशक्तिको व्यवस्थापन कसरी गर्ने भन्‍ने विषयमा कुनै पनि पक्षको केन्द्रित ध्यान पुग्‍न सकेको देखिँदैन ।


प्रष्ट रुपमा हेर्ने हो भने नेपालमा रहेको जनशक्तिमध्ये ठूलो संख्यामा अदक्ष जनशक्ति, केही हिस्सामा अर्धदक्ष जनशक्ति र न्यून मात्रामा दक्ष जनशक्ति रहेको छ । जसमध्ये ठूलो जनसंख्यामा रहेको जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेको छ । एक अध्ययनका अनुसार नेपालबाट कामका लागि विदेश जान बाध्य धेरै युवाको सपना आफ्ना घरपरिवारको गरिबी मेटाउने नै हुन्छ । ती हरेक युवा काठमाडौंको विमानस्थको आकासबाट उड्दा एउटै कामना गर्छन्, धनसम्पत्ति जोड्ने तथा स्वस्थ भएर फर्किनुपरोस् तर जे भए पनि काठको बाकसमा फर्किनु नपरोस् ।


तर, विदेशी भूमिमा संघर्ष गर्दागर्दै कतिपयको यो याचना दैवले नसुनी मृत्युले अंगालेपछि उसले कहिल्यै नचाहेको कफिनमा निर्जीव भएर थुनिएर फर्किन्छ । पछिल्लो तथ्याङ्क अनुसार अहिले १ हजार ३ सय नेपाली युवा दैनिकरूपमा वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन् । सरकारले वैदेशिक रोजगारीका लागि १ सय १० वटा मुलुकमा श्रम इजाजत दिंदै आएको छ । हाम्रो जस्तो देशमा बेरोजगारीका कारण त्यस्ता विवशतालाई स्वीकार्न बाध्य युवा र तीनका परिवारको संख्या सानो छैन भन्ने तथ्यांकहरुले पनि प्रष्ट्याइ सकेका छन् ।


वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकाअनुसार गत वर्षको फागुन देखि हालसम्म झण्डै ११ महिना पनि नबित्दै विदेशमा ज्यान गुमाएका झण्डै ७८८ युवाका परिवारले क्षतिपूर्ति पाएका छन् जस मध्ये २२ जना महिला पनि थिए । सो ७८८ परिवारलाई सरकारले ४८ करोड ४१ लाख रुपैयाँ क्षतिपूर्ति स्वरुप दिएको छ । अहिले सम्म सरकारले विगत ११ वर्षमा वैदेशिक रोजगरीका क्रममा मृत्यु भएका झण्डै साढे सात हजारभन्दा बढी कामदारका परिवारलाई आर्थिक सहायता रकम वितरण गरिसकेको छ । मृतकको संख्या ८ हजार भन्दा निकै माथि रहेको अनुमान छ किनभने अवैधानिक रुपमा विदेश पुगेर मृत्युवरण गरेका कामदारका परिवारले सरकारबाट कुनै क्षतिपूर्ति उपलब्ध गराइँदैन ।


यसका साथैं विगत ११ महिनामा वैदेशिक रोजगारीका क्रममा विरामी तथा अंगभंग भएर फर्किएका ३ सय १३ जनाले ६ करोड ९२ लाख क्षतिपूर्ति पाएका छन् । बोर्डले वैदेशिक रोजगारीमा रहेका कामदारको ४१ जना परिवारका सदस्यलाई १९ लाख उपचार खर्च पनि वितरण गरेको देखिन्छ ।


ती अधिकांश घटना दुर्घटना हाम्रो देशको सरकारले आफ्ना नागरिकलाई पासपोर्ट वितरण गरी अदक्ष जनशक्त्ति आपूर्ति गरेको परिणाम हो भन्ने कुरालाई नकार्न सकिन्न । हालै देश संघीय संरचनामा गएको र देशमा प्रशस्त मात्रामा रोजगारीका अवसरहरू सिर्जना हुने कुराको आंकलन गरिए पनि सोचेअनुरूपको अवस्था सिर्जना हुन सकेको छैन । यसरी जनशक्त्तिलाई उपयुक्त कार्यस्थल निधारण गर्ने तथा एउटै संगठनमा कार्य गर्नका लागि संस्थाप्रति वफादार बनाउने वातावरण सिर्जना गर्नु आवश्यक छ ।


मानव साधन एक विशिष्ठ साधन हो जसको उच्चतम प्रयोग र परिचालन बिना अन्य कुनै स्रोत तथा साधनहरुको उच्चतम प्रयोग हुन नसक्ने तथ्य जगजाहेर नै रहेको छ । कुनै पनि देशको समग्र बिकास गर्न त्यस देशमा रहेको दक्ष जनशक्तिको महत्वपूर्ण भूमिका रहेको हुन्छ । जनशक्त्ति व्यवस्थापनको आधारभूत सिद्धान्त ‘राइट पिपुल, राइट टाईम इन राइट प्लेस’ हो ।


त्यसो त अहिले पनि वैदेशिक रोजगारीमा जाने अदक्ष नेपालीको सङ्ख्या करीब ७५ प्रतिशत रहेको अनुमान छ भने अर्धदक्ष कामदारको सङ्ख्या २३ प्रतिशतको हाराहारीमा छ । यसरी हेर्दा करीब २ प्रतिशत मात्र दक्ष वा उच्च दक्ष कामदार वैदेशिक रोजगारीमा जाने गरेको देखिन्छ । यो तथ्याङ्कलाई आधार मान्दा अदक्ष कामदारका रूपमा विभिन्न मुलुकमा कम पारिश्रमिकमा जोखिमयुक्त काम गर्न जानुपर्ने नेपालीको बाध्यता अहिले पनि विद्यमान रहेको प्रष्ट्याउँछ । विप्रेषणले गर्दा नै देशको आर्थिक कायापलट हुँदाहुँदै पनि सरकारको तर्फबाट दक्ष र सीपयुक्त कामदार उत्पादन गर्ने कुरामा भने त्यति ध्यान पुग्न सकेको देखिँदैन ।


जनशक्त्ति व्यवस्थापनले मानवशक्ति र क्षमताको उचित व्यवस्थापन गरी अपेक्षित परिणाम निकाल्नमा सहयोग पुर्‍याउँछ । जनशक्त्ति व्यवस्थापनले मानवीय साधनहरुको अद्यावधिक स्थिति र आवश्यकताको योजना, प्राप्ति, उपयोग, विकास, अवकाश पश्चातको योजना जस्ता पक्षलाई समेट्दछ । जनशक्तिलाई रणनीतिक साधनको रुपमा लिई जनशक्त्ति संग सम्बन्धित सवै कार्यहरुवीचमा समन्वयको अपरिहार्यता माग गर्नु जनशक्त्ति व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष हो । कुनै पनि संगठनका लागि जनशक्त्ति एक महत्वपूर्ण साधन हो जसको परिकल्पना बिना कुनै पनि काम अघि बढ्न सक्दैन । मानवस्रोत भनेको कुनै पनि संगठनका निम्ति बौद्धिक सम्पत्ति हुन् ।


त्यसैले, कुनै पनि संस्थाले विभिन्न किसिमका तालिममार्फत आफ्ना कर्मचारीलाई दक्ष बनाउन मानव संसाधन विभागको भूमिका महत्वपूर्ण हुन्छ । यसबाट कुनै संस्थामा कर्मचारीले काम गरेनगरेको आदिबारे व्यवस्थापनले जानकारी लिन सहज हुन्छ । कुनै पनि संस्थालाई व्यावसायिक रूपमा अगाडि बढाउन जनशक्त्ति विभागको आवश्यकता भएको हो । हाल विकासोन्मुख अर्थतन्त्रहरूमा जनशक्त्ति एक जल्दोबल्दो विषय बनेको छ । पछिल्लो समयसम्म आइपुग्दा नेपालमा पनि जनशक्त्तिलाई केही महत्व दिन थालिएको छ । नेपालजस्तो विकासोन्मुख अर्थतन्त्रमा जनशक्त्ति सम्भावना र चुनौतीहरूले भरिएको छ ।


आवश्यकता अनुसार नेपालमा सबै प्रकारका जनशक्त्ति/जनशक्तिहरुको उपलब्धता त्यति सजिलो छैन । देशको आवश्यकता अनुसार दक्ष, क्षमता र सीप युक्त जनशक्तिको विकास गर्न आवश्यकता छ । त्यसको आधारमा तथ्यगत अध्ययन भई जनशक्ति उत्पादन नभई रहेको अवस्था छ । अर्को तर्फ नीति निर्माण तहमा बसेकाहरुले पनि यस प्रकारको गहन जिम्मेवारी पूर्ण भुमिका निर्वाह गर्न सकेको अवस्था समेत देखिदैन । यसर्थ देशमा बिधमान जनशक्तिको आवश्यकता र त्यसको वास्तविक आपूर्ति सम्बन्धमा सबै पक्षबाट जनशक्त्तिको व्यवस्थापन गर्न ढिलाई गर्नु नहुने तथ्य प्रष्ट छ ।


कुनै पनि संघसंस्था, उद्योग, व्यवसाय आदिको सफलता त्यहाँ कार्यरत जनशक्तिमा नै निर्भर गर्दछ । सबैभन्दा पहिला कामको वर्गिकरण गर्नु जरुरी छ । कुन कार्यको लागि कस्तो किसिमको जनशक्ति चाहिन्छ भन्‍ने विषयमा सुक्ष्म रुपमा अध्ययन गरेर मात्र पदपूर्ति गर्नुपर्दछ । देश विकास लागि कस्तो प्रकारको जनशक्ति आवश्यकता छ वा देश विकास लागि कुन-कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने विषयको योजना हुनु पर्दछ । हामीले कृषि, पर्यटन, उत्पादन, निर्माण, सेवा आदि कुन क्षेत्रको विकास गर्ने हो, सो अनुसार योजनाबद्ध प्राथमिकिकरण गरि जनशक्त्तिको बिकास गर्नको लागि सम्बन्धित शैक्षिक संस्थाहरुले व्यवहारिक कोर्षहरु तयार गरि देशलाई आवश्यक जनशक्ति तयार गर्नुपर्छ।


सैद्धान्तिक विषयले मात्र हुँदैन, वास्तविक क्षेत्रमा सफलतापुर्वक कार्‍यान्वयन गर्नको लागि व्यवहारिक ज्ञान, सीप र दक्षता चाहिन्छ । विश्वविद्यालय वा विभिन्‍न शैक्षिक संस्थाहरुबाट उत्पादन हुने विभिन्‍न जनशक्तिले देश विकासको भिजनलाई व्यवहारमा उतार्न सकोस् भन्ने तहबाट सोच्न आवश्यक छ । हाम्रो देश नेपालको परिवेशमा हेर्ने हो भने हामी हरेक क्षेत्रबाट समन्वयकारी भूमिकामा कही न कही चुकिरहेको अवस्था रहेको हुनाले जनशक्त्ति विकास लागि अब एक छिन पनि ढिलाई गर्न उपयुक्त हुँदैन।


मुलुकको समग्र विकासका लागि मानव साधन सधैं महत्वपूर्ण, आवश्यकीय र प्रभावकारी संयन्त्रको रुपमा रहने गर्दछ । मानव संशाधनको महत्व राष्ट्को सर्वांगीण विकासको दृष्टिले साधन र साध्य दुवै आयामवाट महत्वपूर्ण मानिन्छ । साधनको रुपमा यसको परिचालन बिना विकास निर्माण कार्य संभव हुदैन भने साध्यको रुपमा जनशक्त्तिको विकास नै राष्ट्रिय विकासको अन्तिम लक्ष्य हो । राष्ट्रिय विकासको लक्ष्य हासिल गर्नका लागि सार्वजनिक क्षेत्रमा पनि मानव श्रोतको योजना, विकास, सम्बर्धन र समुचित उपयोग अनिवार्य छ । मानव संशाधन आर्थिक तथा सामाजिक विकासको मुख्य आधार पनि हो ।


दक्ष र प्राविधिक सीपयुक्त जनशक्ति उत्पादन गर्ने कुरामा राज्यले ध्यान दिने र त्यसका लागि योजना बनाएर लाग्ने हो भने स्वाभाविक रूपमा वैदेशिक रोजगारीमा दक्ष र सीपयुक्त कामदार पठाउन सकिन्छ । त्यसका लागि सरकारले कम्तीमा पनि सातवटै प्रदेशमा प्राविधिक तालिमका लागि ठूला आयोजना खोलेर वैदेशिक रोजगारीमा माग भएका कामबारेमा तालिम उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ । त्यसो भयो भने केही हदसम्म हामीले वैदेशिक रोजगारीमा दक्ष र सीपयुक्त कामदार पठाउन सक्छौं । तल्लो तहदेखि नै प्राविधिक विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा राज्यको ध्यान पुग्ने हो भने स्वाभाविक रूपमा ती जनशक्तिले विदेशमा राम्रो काम पाउन सक्छन् । अनि, उनीहरूको पारिश्रमिक पनि तुलनात्मकरूपमा बढी नै हुन जान्छ । जति धेरै दक्ष जनशक्ति वैदेशिक रोजगारीमा पठाउन सक्यो उनीहरूले त्यति नै धेरै आम्दानी गर्न सक्छन्, जसले गर्दा विप्रेषणमा पनि वृद्धि हुन्छ । त्यो हुनु भनेको मुलुकको अर्थतन्त्र पनि बलियो हुनु हो ।


सीप, शिक्षा, प्रविधि र संस्कार सिकेर नेपाल फर्केका ती युवालाई रोजगारीको अवसर सृजना गरेर नेपालमा नै राख्ने वातावरण निर्माण गर्ने हो भने पनि वैदेशिक रोजगारीको अति निर्भरतामा रहेको नेपालको वर्तमान अवस्थामा सुधार आउँछ । अहिले पनि मुलुकबाट युवा पलायन भए भनेर मात्र गुनासो गर्ने गरिन्छ । तर, विदेशबाट सीप सिकेर फर्किएका युवालाई स्वदेशमा रोजगारीको अवसर सृजना गर्ने र स्वदेशमा नै टिकाउने कुरामा भने कसैको ध्यान गएको छैन । त्यसमा राज्यको ध्यान जान जरूरी छ ।

प्रकाशित : फाल्गुन १७, २०७५ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?