शान्ति प्रक्रियाको पगडन्डी

किशोर नेपाल

काठमाडौँ — देशमा गणतन्त्र स्थापनाको ऐतिहासिक घोषणा हुँदाको अवस्था उति उत्साहजनक बन्न सकेको थिएन । गणतन्त्रको स्वागतमा जनताले उत्साह र उमंग प्रदर्शन गर्न चाहेका थिए, पार्टीहरूले त्यसलाई निरुत्साहित गरे । उनीहरूले बुझेनन् अथवा बुझ्न चाहेनन् । त्यतिबेला यही तथ्यलाई इंगित गरेर ‘लिखुरे गणतन्त्र’ भनेर टिप्पणी लेख्दा केही राजनीतिक कार्यकर्ताले छड्के हानेका थिए ।

जनताले गणतन्त्र नेपालमा एक दशकभन्दा बढी समय बिताइसक्दा पनि राजनीतिक दलका नेताहरू गणतन्त्रको स्थायित्वकै चिन्तामा छन् । गणतन्त्रका विकल्पमा राजतन्त्र पुनःस्थापनाको झन्डा बोकेर हिँड्ने दलहरूमा अनेक थरीका झालेमाले दल मिसिएका देखिन्छन् । नेपालमा आन्तरिक विपत्तिको सम्भावना छैन तर देशको अखण्डताको राग अलाप्नेहरू आआफ्नै नारा अलापिरहेका छन् । उनीहरूको विचारमा राजा र हिन्दु धर्मले मात्र नेपालको राष्ट्रिय एकता कायम राख्न सक्छन् । यो अतिवादी विचार हो । नेपाल यो पगडन्डीमा हिँड्नै सक्दैन ।

अहिलेको समय ताकेर यी भ्रामक विचार किन फैलाइएका हुन् ? यसका केही कारण छन् । नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादीका नेता तथा सर्वोच्च कमान्डर प्रचण्ड (पुष्पकमल दाहाल) ले बृहत् शान्तिसम्झौतामा हस्ताक्षर गरेका बेला जनताले हराएका र बेपत्ता पारिएका नागरिकको खोजी, युद्धकाबेला भएका अमानवीय हत्याका जिम्मेवार व्यक्तिमाथिकारबाही र युद्धका घाउ पुर्ने उपाय अवलम्बनको आशा राखेका थिए तर शान्तिसम्झौता भएको लामो समय भइसक्दा पनि केही काम भएको छैन ।

संवैधानिक हैसियतको ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ सक्रिय हुन पाएको छैन । बेपत्ता छानबिन आयोग आफैं बेपत्ता छ । यो गुनासो सरकारसँग गर्ने हो कि दलहरूसँग, कसैलाई थाहा छैन । सम्बन्धित राजनीतिक दलका कुनै पनि नेताले यसबारे कुनै प्रतिबद्धता देखाएका छैनन् ।

समयले बेस्सरी च्याप्दै लगेपछि, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष दाहालले अघिल्लो साता गोर्खामा आयोजित कार्यक्रममा (बृहत् शान्तिसम्झौताका हस्ताक्षरकर्ताको हैसियतले) बृहत् राजनीतिक सहमतिका लागि आफू नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलमा रहेको बताएका छन् तर सामयिक राजनीति यति विषाक्त भएका बेला त्यस्तो छलफलको सम्भावना देखिँदैन । यति चाहिँ अनुमान लगाउँदा हुन्छ– यो विषयले प्रचण्डको मन भतभती पोलेको छ । उनले बल्ल विषयको सारगर्वित आशय बुझेका छन् ।

भन्न जति सजिलो छ, समस्यालाई राम्ररी सल्टाउन राजनीतिक दलहरू सचेत रहनु त्यत्तिकै आवश्यक छ । काठमाडौंमा बेलाबेला हल्ला चल्छ कि तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेल र अग्निप्रसाद सापकोटा युद्ध अपराधीका रूपमा जेल जाने पक्का छ । यो पक्का गरेको कसले हो ? कसैले बताउन सक्दैन ।

युद्धका नायक र सहनायकका रूपमा दाहाल र बाबुराम भट्टराईलाई हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने हल्ला पनि बेलाबेला चल्ने गर्छ । यस्ता हल्ला तत्कालीन शाही नेपाली सेनाबारे चलेका छैनन् । युद्धका बेला सेना वा प्रहरीले ताकेरै कसैलाई मारेनन् भन्न सकिँदैन । राजनीतिक दलका कार्यकर्ताबाट समेत अति भएको समयमा सेना र प्रहरीलाई वाग्मतीको पानी छर्केर चोख्याउन मिल्दैन । वाग्मती सफाइ अभियान क्रममा नेता भट्टराईले स्नान गरे भन्दैमा वाग्मतीको पानी शुद्ध छ भन्ने साबित हुँदैन ।

गोर्खाको सभामा दाहालले भनेका छन्, ‘युद्धमा माओवादीबाट फीडित र आक्रान्त व्यत्तिहरू हुन् वा सेनाबाट, अथवा प्रहरी वा राजनीतिक दलका कार्यकर्ताबाट, सबैले युद्धमा भएको क्षतिको हर्जाना पाउनेछन् । सत्य निरूपण तथा मेलमिलाप आयोगको काम यसैसाथ टुंगिनेछ ।’ सबैको चाहना छ, यस्तै होस् । युद्धको घाउ पिठ्यूँमा बोकेर कुनै पनि नेपालीले हिँड्नु नपरोस् । सत्य निरूपण तथा मेलमिलाप आयोग गठन मात्र भएको छ । यसले निर्णायक काम गर्न सकेको छैन ।

राजनीतिक दलहरूले आयोगलाई आफ्नो भूमिका पूरा गर्न सहयोग गरे मात्र शान्ति प्रक्रियाका बाँकी काम सकिने हुन् । बृहत् शान्तिसम्झौतालाई अहिलेको परिप्रेक्ष्यमा हेर्दा दाहालले त्यस बाटामा मोहन वैद्य, रामबहादुर थापा, नेक्रवित्रम चन्द, मातृका यादवलगायत व्यक्ति र समूहलाई सँगै हिँडाएका रहेछन् भन्ने स्पष्ट भएको छ । थापा र यादव अहिले दाहालसँग जोडिएका त छन् तर धागो कहिले फुस्किने हो, ठेगान छैन । यो अन्योललाई दाहालले नै चिर्नुपर्छ ।

शान्ति प्रक्रियापछिका घटनाक्रम नियालेर हेर्नेहरूका अनुसार यस विषयमा दाहालले अहिलेको जस्तो फराकिलो धारणा कहिल्यै राखेका थिएनन् । उनी आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भएका समयमा यो विषयलाई सम्बोधन गर्न सक्थे तर त्यसबेला र पछि पनि यसलाई न्यायिक र कानुनी दुवै तरिकाले छल्ने काम मात्रै भयो । पूर्वमाओवादी विद्रोहीले सत्य निरूपण तथा मेलमिलाप आयोगलाई सकारात्मक हिसाबले हेरेको पाइएन ।

संविधानसभाले निर्माण गरेको संविधान जारी भइसकेको छ । यो कुनै पनि महत्त्वपूर्ण विषयमा धारणा मात्रै राख्ने नभएर शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउने समय हो । यो विषयलाई टुंगोमा नपुर्‍याउने हो भने नेपालको शान्ति प्रक्रिया तमासा बन्नेछ । राजनीतिक दलका जिम्मेवार नेताहरूले यो विषयलाई अन्य विषयजस्तो हल्काफुल्का लिने हो भने शान्ति प्रक्रिया सधैं भीरको चिन्डो बन्नेछ ।

सरकार चलाउने पार्टीका प्रमुख नेता र प्रमुख प्रतिपक्षी पार्टीका प्रमुख नेताहरूले यो कुरामा विशेष ध्यान दिनु आवश्यक छ । अझ, शान्ति प्रक्रिया पूरा गर्ने बढी दायित्व प्रमुख प्रतिपक्षले नै धान्नुपर्छ किनभने तत्कालीन माओवादी विद्रोहीसँग शान्ति प्रक्रिया प्रारम्भ गर्ने राजनीतिक दल नेपाली कांग्रेस हो । नेपाली कांग्रेसको नेतृत्वमा शान्ति प्रक्रियाको आरम्भ गर्न त्यतिखेरका एमालेलगायत दल सहमत भएका हुन् ।

यतिखेर सरकार र पार्टीहरू सकसमा छन् तर कसैले पनि सकसका रेखाहरूलाई आफ्नो अनुहारमा कोरिन दिएका छैनन् । गणतन्त्र कसैको चाहनाले होइन, लोकतान्त्रिक व्यवस्थाको आवश्यकताका रूपमा आएको थियो । सँगै आएको संघीयतालाई सरकार र दलका नेताहरूले घाँडो सोच्दै आएको अनुभूति समाजमा भइरहेको छ । अहिलेका नेताहरूको केन्द्रीय वृत्तमा एक जना पनि संघीयताप्रति मनैदेखि प्रतिबद्ध देखिएको छैन । सबैलाई एकाधिकारवादी राज्यको सुखभोग गर्नु छ, त्यो पनि बिनाखतरा ।

यो तालले देशको त के कुरा, कसैको घर पनि सुसञ्चालन हुन सक्दैन । कुनै पनि नेताले यो सोच्ने साहस गर्न सकेको छैन कि सबै राजनीतिक पक्षबीच ‘मेलमिलाप’ भए लोकतन्त्रमाथि नेपालीको अधिकार स्थापित हुन्छ । समाजबाट युद्धको क्रन्दन सुनिन छाडिए मात्र देशको विकास सम्भव हुन्छ ।

अहिले माओवादीका नाममा बम पड्किइरहेको छ । नेक्रवित्रम चन्द (विप्लव) ले हिंसा प्रारम्भ गरेका छन् । मोहन वैद्यले युद्ध जारी रहेको फरमान जारी गरेका छन् । आन्तरिक रूपमा देशको आकाशमा आशंकाको कालो बादल मडारिइरहेको छ । सरकारसँग बृहत् शान्तिसम्झौतालाई संशोधन गर्ने अधिकार छ तर यसको कार्यान्वयन कसले गर्ने ? अन्योलपूर्ण अवस्थाबाट मुक्त भएर नेपाली जनता बाँच्ने कहिलेदेखि ? यो प्रश्न सबैका लागि हो ।

प्रकाशित : फाल्गुन १९, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शेखर: एक अनुभव

कहिलेकाहीं दिक्क लागेका बेला शेखर बितेका दिनहरू सम्झिन्छ । गोदौलिया सम्झिन्छ । लंका सम्झिन्छ । बनारस हिन्दू विश्वविद्यालय सम्झिन्छ । महामना मदनमोहन मालवीयको सालिक सम्झिन्छ । असी घाटका तरंगहरू सम्झिन्छ । हरिश्चन्द्र घाट सम्झिन्छ ।
किशोर नेपाल

काठमाडौँ — शेखर  । उसले मनुष्य चोलामा जन्म लिएको चालीस वर्ष भइसकेको छ  ।

‘जीवन’ नामको नाटकको बहु–आयामिक अभिनय गर्न थालेको दुई दशक नाघेछ । दुई दशकअघिसम्म ऊ आकाशमा फिरिरिर्र उड्ने ‘आशका पन्छी’ थियो । दूध विनायकका गल्लीमा गाउँदै रमाउँदै उफ्रिने एउटा जवान केटो । ‘आशका पन्छी’ सिनेमाका हिरो थिए राजेन्द्र ‘जुवली’ कुमार । उनका सबै सिनेमा जुवली हिट हुने । पहिलो दिनको त कुनै पनि शोको टिकट नै नपाइने । सिनेमामा एउटा गीत थियो, ‘दिल मेरा ये आशका पन्छी... ।’ कृष्णले त्यसको अनुवाद गरेको थियो ः ‘मन मेरो यो आशको चरो... ।’ कहिलेकाहीं दिक्क लागेका बेला शेखर बितेका दिनहरू सम्झिन्छ । गोदौलिया सम्झिन्छ । लंका सम्झिन्छ । बनारस हिन्दू विश्वविद्यालय सम्झिन्छ । महामना मदनमोहन मालवीयको सालिक सम्झिन्छ । असी घाटका तरंगहरू सम्झिन्छ । हरिश्चन्द्र घाट सम्झिन्छ । ‘लासके वास्ते’ लखनउ–वाराणसी मेल लेखिएका थोत्रा बस सम्झिन्छ । शिघ्रोल रेल स्टेसन सम्झिन्छ । भारती सिनेमा सम्झिन्छ । सिनेमाको म्यानेजरको ‘प्रिय मोहनी’ सम्झिन्छ । जिन्दगीले निरन्तर कटाक्ष गरिरहेको हुन्छ उसलाई । बितेको समय, अर्थात् यो चार दशकमा, एक दिन पनि खेर गए जस्तो लागेको छैन उसलाई । केही न केही, केही न केही त भइरहेकै छ ।


समयको यो अन्तरालमा, मद्रासी सिनेमाका बहु–प्रतिभाशाली कलाकारले एकैसाथ हिरो र भिलेनको अभिनय गरेजस्तै उसले आफूलाई अनेकन भूमिकामा प्रस्तुत गरेकोछ । कहिले भिलेन र कहिले हिरो । कहिले साइड हिरो र कहिले क्यारेक्टर हिरो । यो समयमा शेखरले कुन मात्रै भूमिका निर्वाह गरेन ? आमाको आज्ञाकारी छोरा बनेन कि, बलात्कारी दानवबाट बहिनीको कुमारित्वको संरक्षण गर्ने दाजु बनेन कि । घर खर्चको जोहो गर्ने कर्तब्य परायण कुल्ली पनि बन्यो । धर्मपत्नीका आग्रह र आकांक्षाहरूको बन्दी पनि । कहिले एकै मुड्की उज्याएर विरोधीलाई आकाश घुमाउने चमत्कारी बाहुबलीका रूपमा देखा पर्‍यो, कहिले मुन्टो निहुर्‍याएर नाच्दै चाकडीको भाषाले जमघटलाई मुग्ध तुल्याउने कलाकारका रूपमा देखा पर्‍यो । एउटा मनुष्यको कति विधि अवतार । तर, अहँ, महा–नायक रजनीकान्तको जस्तो आकाशतिरबाट खस्दै गरेको सिगरेट ओठले टपक्क टिपेर सल्काउन कहिल्यै जानेन ।
धेरै पढेको नभए पनि पढ्दै नपढेको थिएन शेखरले । उसको पढाइ छ वर्षको उमेरदेखि एक्काइस वर्षको उमेरमा बा नबितेसम्म निरन्तर जारी रहेको थियो । बाले उहिलेको जमानामा बनारस बसेर कर्मकाण्ड पढेका थिए । त्यसैले होला, शेखरलाई उनले बनारसमा नै पढाए । ‘बाराणशेय संस्कृत विद्यालय’ मा भर्ना गरी दिए । दुई–चार जना ‘खातापिता’ जजमान चिनाइदिए । एक जना सानिमा बजै थिइन् नेपाली धर्मशालामा । मृत्यु कुरेर बसेकी । शेखरलाई उनैको जिम्मा लगाएर फर्केका थिए बा । शेखर सानिमा बजैसँग धेरै बसेन । त्यो उमेरमा पनि उनी आफ्नो अतृप्तिको झल्को दिन अचम्मको व्यवहार गर्थिन् ती बजै । उनको त्यो आदिम व्यवहार सहनुभन्दा बरु दुःखका साथ बाँच्नु नै राम्रो लाग्यो शेखरलाई ।


शेखर अलग बस्न थाल्यो, दरभंगाको काशी झासँग रुम पार्टनर बनेर लंकामा । त्यसपछि बा बाँचुन्जेलसम्मको समयमा, उसको पढाइ एक दिन पनि बिथोलिएन । बीचमा उसले बाले थाहा नपाउने हिसाबले अंग्रेजी पढ्यो, नौ कक्षासम्म । संस्कृतमा पूर्वमध्यमा भ्यायो । साहित्यमा उसको चाख थियो । प्रेमका कथा लेख्थ्यो । गीत र कविता लेख्थ्यो । साहित्यमा चाख राख्दाराख्दै उसले थाहा पायो— ऊ त कवि अज्ञेयको प्रिय पात्र शेखर पो रहेछ । आफू अज्ञेयको पात्र भएको थाहा पाएर ऊ दंग पर्‍यो । हिन्दीमा उसले खुब साहित्य पढ्यो । अमृतलाल नागर । विष्णु प्रभाकर । हरिशंकर प्रसाईं । रघुवीर सहाय । सर्वेश्वर दयाल सक्सेना । धर्मवीर भारती । प्रयाग शुक्ला । कृष्णा सोवती । कृश्नचन्दरको एक गधेकी आत्मकथा र एक गधेकी वापसी झन्डैझन्डै कण्ठ पारेको थियो उसले । बम्बईबाट निस्किने ब्ल्टिज साप्ताहिक छापाको अन्तिम पेजमा निस्किने ख्वाजा अहमद अब्बासका राजनीतिक टिप्पणी पनि खुब पढ्यो उसले । नौ कक्षासम्म अंग्रेजी पढेकाले त्यो भाषाको गूढ कुरो सिकी सकेको थियो । धुनिबेंसीको कोलले उखुको लाँक्रा पेलेर खुदो बनाएजस्तो, काठमाडौंको कोलमा शरीरबाट तेल निक्लने गरी पेलियो ऊ । काठमाडौंले उसलाई यति पेल्यो, यति पेल्यो कि, त्यसपछि, सबै बिर्सियो ।


बा बितेपछि फर्कियो शेखर काठमाडौं । काम खोज्न थाल्यो । शहरमा काम त टन्नै थियो । चिन्नु न जान्नु घचेडी माग्नु । काम दिने ठाउँमा आफ्ना इष्टमित्र र चिनजानका मानिस कोही थिएनन । उसको लागि कसले बोलिदिने ? गाउँकी सुबेदार्नी बजैले जागिर लगाइदिन्छु भनेकै भरमा चार पाथी मस्यौरा खाइन् होला । शेखरकी आमाले गर्नु नगर्नु चाकरी गरेकी हुन । बिचरी सुबेदार्नीको कसैलाई जागिर खुवाउने हुती नै थिएन । उनले चिनेका पेन्सन अड्डाका कारिन्दाले कताको जागिर खुवाउन् ? कतै जागिर नपाएपछि शेखर निकै दिन अलमलियो । धेरै घोरियो । धेरै सोच्यो । त्यसपछि उसले जागिर खाने विचार नै त्यागिदियो । जहाँ जे काम पाइन्छ त्यही गर्न थाल्यो । ऊ सानातिना काममा पर्फेक्ट हुँदै गयो । केही साहुजीहरू उसलाई काम दिन अघि सरे । साहुजीहरूको बाँधा मजदुर बन्न उसले मञ्जुर गरेन ।


शेखरको स्थायी जागिर थिएन । अस्थायी जागिर पनि थिएन । ऊ कहिले स्कुलमा ‘राहत’ मास्टर भयो । कहिले ‘हरेक सामानको दश रुपियाँ’ भन्दै मधुरो आवाजमा ठेला गुडाउँदै हिंड्यो । कहिले अस्पतालमा डाक्टरको च्याम्बर बाहिर बिरामीको नाम लेख्ने र पालो तोक्ने कारिन्दाको काममा लाग्यो । उसले दुनोट पसलमा पनि काम गर्‍यो । सबैभन्दा पछिल्लो पटक शेखरले बाह्र हजार रुपैयाँ बुझाएर कफी बनाउने बरिस्टा तालिम लियो । बूढा–बूढी नै काम गर्ने शहरियाका घरघरमा अर्डरअनुसारको खाना सप्लाई गर्ने रेस्टुराँको स्कुटर कुदायो साँझ सात बजेदेखि एघारसम्म । कलंकी चोकमा खीर बनाएर बेच्यो । तैपनि, उसले सुरु गरेको कुनै पनि काम स्थायी ढंगले जमेनन् । सर–सल्लाह लिऊँ भने कोसँग लिनु ? मनले खाएको जस्तो कोही थिएनन् । उसले आफ्नै मनसँग सल्लाह गर्‍यो र निर्णय लियो । लामो समय भौतारिएपछि उसमा वैदेशिक रोजगारीमा कतार, दुबई वा अन्त कतै जाने इच्छा पलायो । उसले चिट्ठा लगाएको थियो दुबईको । परेन । रोजगारको दोकानमा उसका एक जना भान्दाइ काम गर्थे । उनकै कृपाले भनौं, तै, नम्बर लाग्यो अबुधाबीको । भान्दाइले भने, ‘दुबई भन्नु र धाबी भन्नु केही होइन । काठमाडौं भक्तपुर भनेजस्तै हो ।’


शेखर खुसी भयो त्यस दिन । भान्दाइले ‘जमौं’ भनेका थिए । गणेशजीलाई लड्डु चढाउने भाकल गरेकाले उसले आजको सट्टा भोलि जम्ने प्रस्ताव राख्यो । भान्दाइले नाईं भन्ने त कुरै थिएन । यी भान्दाइ मात्रै कुनै अफिसमा जागिरे हुन्थे भने शेखरको पनि जागिर पक्का थियो । भान्दाइको स्वभावमा काँचो काँठको गन्ध आउँथ्यो । भान्दाइ हुने नहुने गफ दिन्थे । अन्यत्र कतै सुनेको गफलाई आफ्नो बनाएर गाउन खप्पिस थिए । दामी दौरा–सुरुवाल लगाएका भलाद्मी देख्नै हुन्नथ्यो । झुकेरै ठाउँका ठाउँ नमस्ते बजाउँथे । जो पावरको कोणमा छैन, छेकिएको छ, त्यसको वास्तै गर्दैनथे । यति हुँदाहुँदै पनि, शेखरको बारेमा उनी निकै संवेदनशील थिए । शेखर पनि उनलाई मान्न थालेको थियो— सबै त भाग्यकै खेल हो । सम्पत्ति नहुनेका लागि त्यही भाग्य नै त जन्मिँदाको लँगौटी र मर्दाको कात्रो बन्छ । देशमा गणतन्त्र आएर पनि के भो त ? आफन्तबिनाको अदना नेपालीले आफ्नै भरमा जागिर खान पाउँदैन । अरू त अरू, मूर्दा बनेर ढलेको क्षणमा पनि आर्यघाटको दुई नम्बर चितामा पोलिन भाग्य नै बलियो हुनुपर्छ ।

बेलुका घर फर्किंदा शेखरले सेता गणेशलाई एक्काइस लड्डु चढायो र हातमा प्रसादको थोंगा हल्लाउँदै घर पस्यो । घर पस्दा उसको मनमा एक लर्कन लेखक थिए । उसलाई मन पर्ने र नपर्ने सबै । बुझे पनि नबुझे पनि मोहन कोइराला र शंकर लामिछाने, कृष्णभक्त र द्वारिका, भूपि शेरचन र ईश्वरबल्लभ, पारिजात र भुवन ढुंगाना, शैलेन्द्र साकार र तोया गुरुङ । त्यस्तै मनभरि गीतहरू छटपटाइरहेका थिए । नारायण गोपाल र बच्चु कैलाश । तारादेवी र नातिकाजी । प्रेमध्वज, मीरा राणा र फत्तेमान । एक पटक एउटा जमघटमा भारतीय कवि अज्ञेयको पूरै नाम बताएर साथीहरूलाई छक्क तुल्याएको थियो शेखरले । ‘तिमी झारपातहरू, के था छ तिमीहरूलाई ? उनको नाम सच्चिदानन्द हीरानन्द वात्स्यायन हो । अज्ञेय त उनको साहित्यिक नाम भइहाल्यो । उनको श्रीमतीको नाम पनि सुनिराख मूर्खहरू । डा. कमला वात्स्यायन ।’


घरमा राति खाना खाने बेलामा उसले सबैलाई सुनायो, ‘म अब कतार दुबईतिर जान लागेको छु । पैसा नभै त काल पनि आउँदैन । दुई–चार वर्ष ढुक्कै काम गर्छु । त्यसपछि फर्किन्छु । पैसा हातमा भएपछि जे गरे नि भयो त ।’ उसको कुरा कसैले सुनेजस्तो गरेन । फिस्टुले मात्रै सोध्यो, ‘त्यहाँ चकलेट पाइन्छ बाबा ?’ शेखरको मन कटक्क काटियो । साला जिन्दगी । बच्चाको प्रश्नको उत्तर दिने ताकतसम्म छैन । हिजो साँझ भान्दाइलाई भेट्न जाँदै थियो ऊ । हिंड्दै थियो टुँडिखेलको छेवैछेउ । बाटो कतै थिएन टुँडिखेलभित्र छिर्ने । पहिलेको जस्तो मान्छेसम्म छिर्ने प्वाल पनि बनाएको थिएन कसैले । चारैतिर सुइरो आकारको बार ठडिएको थियो । उहिलेको कुरा, टुँडिखेललाई ठाडो नाघेर, संकटा मन्दिरबाट पुलिस क्लब छिचलिरहेको बेला, उसले गुरुमापाको सामना गर्नुपरेको थियो । लाखे अवतारमा होइन, साँच्चैको गुरुमापा । त्यतिखेर उसले गुरुमापासँग लाप्पा खेलेको थियो । गुरुमापा ऊभन्दा धेरै बलियो थियो र पनि उसले हराएको थियो । गुरुमापाको मुखबाट ह्वास्स हरक आइरहेको थियो । त्यस्तोमा गुरुमापा हार्नु अनौठो थिएन । यतिबेला पनि उसलाई गुरुमापा जिस्क्याउने रहर थियो । तर, अहिलेको टुँडिखेलमा गुरुमापा थियो कि थिएन ? के होला र ? भूत–प्रेत जति भागिसके भन्छन् । मानिसले मसान मिचेर घरै बनाइसके । उसलाई लाग्यो, भुइँचालोको धक्काले धरहरा ढलेको आवाज सुनेर तर्सिएको गुरुमापा नागार्जुनतिर भागेको हुन सक्थ्यो । गुरुमापाका बारे यसै भन्न सकिंदैन । भन्न पनि हुँदैन । सनातनदेखि गुरुमापा यो ठूलो चौर टुँडिखेलको रखवाला थियो । अब छैन होला । सिपाहीहरूले टुँडिखेललाई चारैतिरबाट घेरेका छन् । उनीहरूको अफिस, ब्यारेक र प्यारापिट सबै सानो टुँडिखेलदेखि ठूलो टुँडिखेलसम्मको विशाल हातामा खचाखच समेटिएका छन् ।


उसले भान्दाइलाई राम्रै ट्रिट दियो । वसन्तपुरमा नारायण दाइको मःम पसल जाऊँ भनेको भान्दाइले मानेकै होइनन् । उनलाई पुतली सडकमा पुष्करको सेकुवा पसलमा नै खानुपर्ने । अचेल सेकुवा कति महँगो भने कसैले त्यसको हिसाब नै नगरोस् । कालो दरबार एक हाफमा नै भान्दाइ लरबराइसकेका थिए । फेरि ‘खोइ अर्को हाफ ?’ भनेर कराउन थाले । त्यो हाफ सकेपछि ट्याक्सी चाहियो । एकै बसाइमा दुइटा हात्तीको सिकार भइगयो । काठमाडौं यति महँगो थिएन, यति नमीठो त कहिल्यै थिएन । अहिले त स्वादिलो भनेको फलानो चाउचाउ भन्छन् र हत्तपत्त साँध्न थालिहाल्छन् । चाउचाउ र ह्विस्कीको के कम्बिनेसन होला ? शेखर छक्क पर्ने गरेको छ । घरमा उसकी स्वास्नीबाहेक कसैलाई थाहा छैन, शेखर पनि रक्सी खान्छ । आमाले भनेकी छन्, अरू जे गरे पनि त्यो झोल मुखमा नहालेस् । आमाको सदिच्छा उसले मर्न दिएको छैन । आमाले अहिलेसम्म शेखर र कालो दरबारबीचको सम्बन्धको पत्तो पाएकी पनि छैनन् ।


शेखर अबुधाबी उड्यो । उसलाई पुर्‍याउन भान्दाइ र उसकी धर्मपत्नी एयरपोर्ट आएका थिए । उनीहरूलाई पुलिसले मूलढोकाबाटै भित्र छिर्नै नदिएपछि उसले दुवैलाई त्यहींबाट बिदा गर्‍यो । शेखरलाई लागेको थियो, उसको स्वास्नीको मनमा गाँठो पर्ला र कुनै नमीठो प्रतिक्रिया जन्मिएला । त्यस्तो केही भएन । ऊ प्रसन्न देखिएकी थिई । शायद भविष्यप्रति आश्वस्त । ऊ चेक–इन काउन्टरमा पुग्यो । चेक–इनपछि इमिग्रेसन । त्यसपछि सेक्युरिटी । एयरपोर्टमा यति धेरै तमासा होला । यसको अन्दाज नै थिएन उसलाई । त्यसपछि अबुधाबी जाने विमान देखेर शेखर छक्क परेको थियो । विमान त उसले पनि एकपल्ट चढेकै हो, जनकपुरबाट काठमाडौंसम्म । त्यो त सानो भँगेरा जत्रो विमान थियो । यो कति ठूलो अजंगको ।

शेखर अबुधाबी गएको चार वर्ष बित्यो । यसबीचमा उसले परिवार र साथीभाइलाई चार सय कलभन्दा बढी टेलिफोन गरेन । गोर्खा सिपाहीले जस्तो रेडियोबाट आफू मरे बाँचेको हाल परिवारलाई सुनाउन पाइने भए ऊ त्यो चार सय कल टेलिफोन पनि किन गर्ने थियो र ? ऊ वीतरागी भइसकेको थियो । खाली फिस्टुलाई मनबाट हटाइदिन सकेको थिएन । अबुधाबी उसलाई फापेको थियो । गर्मी भए पनि वातावरण शान्त थियो । समयमा गुणस्तरीय भोजन पाइने भएकाले ऊ गम्म मोटाएको थियो । भनौं सन्तोषमा थियो । एक दिन ऊ साप्ताहिक बिदाको दिन पारेर कोठा सफा गर्दै थियो । भान्दाइको फोन आयो । भन्दै थिए, ‘शेखर घर आइहाल्नुपर्‍यो । लालाबालाको बिचल्ली हुने भो ।’


शेखरले सोध्यो, ‘म घर नफर्की नहुने त्यस्तो के भयो र ?’
भान्दाइले जवाफ दिएका थिए, ‘आइहाल् न । यहाँ आएपछि कुरा बुझिहाल्छस् ।’
घर आएपछि शेखर अबुधाबी फर्किने संजोग मिलेन । ऊ मेरो छिमेकी थियो । एक दिन ऊसँग मेरो भेट भयो अनायास नै । ऊ ट्याक्सी चलाइरहेको थियो । म ट्याक्सी खोज्दै थिएँ । काठमाडौंमा अचेल ट्याक्सी पाइँदैन । पाइए पनि मिटरको नियम नमिच्ने ट्याक्सी त पाइँदै पाइन्न । सडकमा आफूतिर आइरहेको ट्याक्सी देखेर रोक्न हात उठाएँ । ड्राइभिङ सिटमा शेखर थियो । मलाई देखेर ऊ किञ्चित डरायो र हच्कियो । उसले भन्यो ः ‘सर, मिटर बिग्रिएको छ । बनाउन लाँदै छु । भाडा विचार गरेर दिनुहोला ।’


म ट्याक्सीमा बसें । मलाई खुलदुली लागेको थियो, ‘शेखर, तिमी त बाहिर थियौ होइन ?’
‘हो सर’, ऊ खुलेर बोल्यो, ‘स्वास्नी राम्री हुनेले सुख पाउँदैन नि सर । मोरीले पाँच वर्ष पनि पर्खिन सकिन । चारै वर्षमा पोइल गइछ । घरमा सानो छोरो, आमा र भान्जीमात्रै । राम्रो काम फेला पारेको थिएँ । छोडेर फर्किनैपर्‍यो । उता कमाएको पैसाले यो ट्याक्सी किने । अब अनेक लफडा बेहोर्दै छु । उतातिर त पेसेन्जरलाई राम्रो सर्भिस दिनेले सरकारको धाप पाउँथे । यतातिर त खोइ सर, नियम नै बुझिएन ।’ ऊ बोल्यो । उसको आवाज तीतो थियो । अनुहारमा विषाद वा पश्चात्ताप थिएन ।
उसले भन्यो, ‘कर्मको फल भनेको यही त होला सर ।’
मलाई लाग्यो, ‘शेखर एक सत्य हो । राम्रो भयो कि ऊ सकुशल देश फर्कियो । बाकसमा बन्द भएर आउनुपरेन । आफ्नै देशमा ट्याक्सी चलाउनु त जस्तै भए पनि राम्रो हो नि ।’
शेखर भन्दै थियो— ललाटमा जे लेखेको छ त्यो त भोग्नै परिगयो सर । बाले सुनाउँथे, रोइरहनुभन्दा गाइरहनु निको । फुच्चेलाई पढाउनु छ । भान्जी तरुनी हुँदै गएकी छन् । समय खराब छ सर । यिनको हुर्मत जोगाइदिन सके आफैंलाई स्याबासी दिनुहुन्थ्यो ।

प्रकाशित : फाल्गुन १८, २०७५ १३:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT