२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

शिव अर्थात् समय

कमल रिजाल

काठमाडौँ — वैदिक सनातनधर्मीहरू वर्षदिनमा चार रातलाई विशेष रात मान्छन् । ती हुन्— कालरात्रि, महारात्रि, मोहरात्रि र सुखरात्रि । महारात्रि चाहिँ ‘शिवरात्रि’का नामले बढी परिचित छ । आदि कल्पमा भगवान शिवले सृष्टि प्रक्रिया सञ्चालनका लागि साकार स्वरूप धारण गरेको रात हुनाले यसलाई शिवरात्रि भनिएको हो ।

शिव अर्थात् समय

देवताका पनि देवता भएकाले देवाधिदेव महादेव र मृत्युका पनि मृत्यु भएकाले मृत्युञ्जय पनि भनिन्छ, भगवान शिवलाई । कालका पनि काल महाकाल र ईश्वरका पनि ईश्वर महेश्वर पनि हुन्, उनी । उनलाई अनादि अनन्त मानेर उपासना गर्नेहरू पनि थुप्रै छन् । ब्रह्मका पनि ब्रह्म भएकाले परब्रह्म र आत्माका पनि आत्मा भएकाले परमात्मा आदि नामले उनलाई पुकारिएको पनि पाइन्छ ।


उनलाई वेदान्तिहरू ब्रह्म भन्छन्, बौद्धहरू बुद्ध, नैयायिकहरू कर्ता, जैनहरू अर्हत् र मीमांशकहरू कर्म भन्छन् । खासमा भने उनी एउटै हुन्, जसलाई मानिसले आ–आफ्ना रुचि र सिद्धान्त अनुसार अलग–अलग नाम दिएर उपासना गर्ने गरेका छन् । यसैलाई वेदले ‘एकं सद् विप्रा वहुधा वदन्ति’ भनेको छ ।


शिवका सगुण र निर्गुण दुवै रूपका चर्चा भएका छन्, शैवागमहरूमा । यिनमा प्रायः निर्गुण रूप निराकार अवस्थामा र सगुण रूप साकार अवस्थामा विवक्षित भएका पाइन्छन् । निकार रूपबाट सृष्टि, स्थिति र प्रलयको व्यवस्थापन अनि साकार रूपबाट तिनलाई कार्यान्वयन गर्न रुचाउँछन्, उनी । यिनै साकार रूपमा एउटा हो— लिङ्गरूप, जसलाई पौराणिक ग्रन्थहरूमा चराचर जगतको आधार मानिएको छ । आकाश लिङ्ग र लिङ्ग घेर्ने वर्तुलाकार अर्थात् गोलाइ पृथिवी हो । देवीदेवता लगायत चराचर जगतको आलय र लय हुने स्थान भएकाले लिङ्ग भनिएको हो भनी स्कन्दपुराणको अवन्तिका खण्डमा उल्लेख छ । शिवको अर्को रूपलाई सौम्यरूप भनिन्छ, जुन प्रायः पार्वतीका साथमा हुन्छ । अर्धनारीश्वर सौम्यरूपकै अर्को रूप हो ।


श्वेताश्वतरोपनिषद्का अनुसार, चराचर जगतको सृष्टि गर्ने शिव हुन् भने पालन र संहार गर्ने पनि उनै हुन् । विश्वलाई व्यवस्थित गर्न उनले पूरा शक्तिले काम गरेका छन् । पृथ्वी, जल, तेज, वायु, आकाशलाई पञ्चमहाभूत भनिन्छ, जुन सृष्टिका मूल पदार्थ हुन् । तिनमा रूप, रस, गन्ध, स्पर्श र शब्द पर्छन्, जसलाई पञ्चतन्मात्रा भनिन्छ । यिनले सृष्टिलाई निरन्तरता दिन्छन् । यसो त पौराणिक ग्रन्थहरूले सृष्टि, स्थिति र संहार कार्यमा ब्रह्मा, विष्णु, महेश्वरको नाम लिएका छन्, तर यी शिवकै विविध रूप हुन् ।


उनीहरू रूपमा माक्र अलग हुन्, सारमा होइनन् । खाने/खाइने, गर्ने/गरिने, हुने/होइने अर्थात् कर्ता, कर्म, त्रिया तथा द्रष्टा, दृश्य, भूत, भविष्य, वर्तमान सबै शिवका विविध रूप हुन् । उनी एकबाट अनेक हुन सक्छन्, अनेकबाट एक पनि हुन सक्छन् । उनका आँखा, कान, हात, गोडा, मुख र नाक पनि हजारौं–हजार छन् । उनी जति बेला जहाँ जस्तो रूपमा प्रकट हुनुपर्छ, त्यस्तै रूपमा उत्पन्न हुन पनि सक्छन् र जेजस्तो काम गर्नुपर्छ, त्यही गर्न पनि सक्छन् । चराचर जगत भन्नु नै शिवकै विविध रूप हुन् । व्यष्टि ब्रह्माण्डदेखि समष्टि ब्रह्माण्डसम्म सर्वत्र उनै व्याप्त छन् । दार्शनिकहरू उनलाई खोज्नु पर्दैन, देख्नुपर्छ भन्छन् । व्यापकलाई खोज्नु पनि कहाँ–कहाँ ? देख्न सक्नुपर्छ, सर्वत्र उनी नै उनी देखा पर्छन् भनिएको छ, तैत्तिरीय आरण्यकमा ।


श्रीमद्भागवतमा व्यासजीले शिवलाई चाँडै रिसाउने र खुसाउने देवताका रूपमा प्रस्तुत गरेका छन् । तर उनको रिस कसैलाई बिगार्न नभई सपार्नका लागि हुने गर्छ । सारमा परम दयालु देवता हुन्, शिव । पालनको काम प्रायः मातृशक्तिले गर्छन् । त्यसैले उनीहरू दयालु हुन्छन् । सन्तानले जति नै गल्ती गरे पनि उनीहरू क्षमा दिन्छन्, गाली गर्न र थप्पड लगाउन पनि सक्छन् । तर यो सन्तानलाई सपार्नकै लागि गरिएको हुन्छ, बिगार्नका लागि होइन ।


कुपुत्र/पुत्री हुन सक्छन्, तर माता कुमाता कहिल्यै हुन सक्दैनन् भनेका छन्, शङ्कराचार्यले (कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति) । शिवजीको रिस वा क्रोध पनि त्यस्तै हो । साँच्चै भन्नुपर्दा परोपकारी देवता हुन्, उनी । कसैले माग्यो भने आफ्नै अर्धाङ्गिनीलाई समेत दिन बेर लगाउँदैनन् । रावणको याचनामा एकपटक उनले यस्तै गरेका पनि छन् ।


वैदिक संहिताहरूमा शिवले गाएका र उनीबारे गाइएका सुक्त पनि छन् । अथर्ववेदको दोस्रो काण्डको २८ औं सूक्त उनैले गाएका हुन् । दीर्घायु प्राप्ति सूक्त भनिएको त्यसमा उनले द्यावाभूमिसित प्राणी समुदायको आरोग्य वृद्धिको कामना गरेका छन् । शिवबारे गाइएका सूक्त भने दर्जनौं छन् । तीमध्ये केही ऋग्वेदमा पर्छन् भने केही यजुर्वेद र अथर्ववेदमा ।


तिनमा उनको नाम र कामबारे विशद व्याख्यान पाइन्छ । अथर्ववेदको ११ औं काण्डमा उनको नामको अर्को सूक्त पनि भेटिएको छ । अथर्वा ऋषिले गाएको त्यो सूक्तले पनि उनको नाम र कामकै विशेषता वर्णन गरेको छ । लोकले उनको हितमा गाएका छन्, उनले लोकको हितमा गाएका छन् । यसरी प्रागैतिहासिक कालदेखि शिव र समाज एकअर्कामा आबद्ध रहिआएका छन् । शिवपुराण, वायुपुराण तथा लिङ्गपुराणमा पनि उनको काम र नामबारे प्रशस्तै चर्चा भएको पाइन्छ ।


शिव घोर रूपले बिगार्छन्, संहार गर्छन्, सँगसँगै अघोर रूपले उसलाई अर्को रूप दिने काम पनि गरिरहेका हुन्छन् । अर्थात् अघोर वा सौम्य रूपले संसारको सृष्टि र स्थिति व्यवस्थापन गर्छन् भने घोर अर्थात् रौद्ररूपले जीर्णशीर्ण भई काम नलाग्ने अवस्थामा पुगेको सांसारिक अवयवलाई नवीनतम रूप दिने गर्छन् ।


वैदिक सनातनधर्मीमाझ मात्र नभई किरात, बौद्ध, इस्लाम तथा इसाई आदि धर्मसंस्कृति र संस्कारभित्र पनि कुनै न कुनै रूपमा उनको उपस्थिति रहँदै आएको भेटिन्छ । किरात धर्ममा विशेष अवतारै छ, उनको । इन्डोनेसियाको बालीमा अहिले पनि शिवको पूजा–उपासना हुने गरेको छ । मुस्लिमहरूको तीर्थस्थल मक्का एवं मुस्लिम राष्ट्र इरान तथा इजिप्टसँगै बेबिलोनमा पनि शिवलिङ्गहरू छन् ।


ऋग्वेदमा एउटा आध्यात्मिक सूक्त छ, जसलाई शिवसङ्कल्प सूक्त भनिन्छ । त्यो सूक्त अनुसार संसारबाट सुख र शान्ति चाहने मानिसले मनलाई सदैव शिवसङ्कल्पमय बनाई सन्मार्गमा लगाउनुपर्छ । सन्मार्गको मूल आधार भनेकै शिव हुन् । राम्रो काम गर्ने मानिसलाई शिव राम्रो बन्छन् भने नराम्रो गर्नेका लागि नराम्रो । संसार भनेकै शिवको रूप हो । त्यसैले सुख पाउन संसारमा भएका यावत् पक्षको सदुपयोग र संरक्षण गर्नुपर्छ । सदुपयोग भए संसारले सुख दिन्छ, दुरुपयोग भए दुःख । शिव भनेको पूर्णब्रह्म हुन् ।


उनलाई पूर्ण हुन कसैको सहयोग चाहिँंदैन । आफू पूर्ण भएकैले अरूलाई पनि पूर्ण गराउने प्रयास गर्छन्, उनी । पूर्णबाट पूर्ण निकाल्दा पनि पूर्ण नै रहने चमत्कार शिवमा मात्र हुन्छ । सत्य पनि शिव, सुन्दर पनि शिव । ‘सत्यं शिवं सुन्दरम्’ भनेकै यही हो ।

वैदिक संहिताले एकरुद्रसँगै बहुरुद्रको कुरो पनि गरेको छ । कतै–कतै असंख्य रुद्रको पनि कुरा आएको छ । एकादश रुद्र त यसै पनि प्रसिद्ध नै छन्, जसमा कपाली, पिङ्गल, भीम, विरुपाक्ष, विलोहित, शास्ता, अजपाद, अहिर्बुध्न्य, शम्भु, चण्ड र भव पर्छन् ।


शिवका अवतार पनि प्रशस्तै छन्, तर यी सबै उनका लीलावतार हुन् । यी कुनै कामविशेषले प्रकट हुन्छन् । मूलमा सबै एउटै हुन्, जो एकरुद्रको नामले सम्बोधित भएका छन् । शिवरात्रि उनै शिवको उपासना गर्ने र गरिने पर्वर् भएकाले यसको महत्त्व बढी हुनपुगेको हो ।

प्रकाशित : फाल्गुन २०, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?