कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

आविष्कार भए उन्नति

नारायण घिमिरे

काठमाडौँ — संसारमा मुख्यतः दुई प्रकारका अनुसन्धान हुन्छन् । एउटा, कुनै पनि विषयमा खोज्ने तर त्यसको निष्कर्ष केमा सदुपयोग गर्ने भन्ने सोचाइ नराख्ने प्राज्ञिक ( सैद्धान्तिक) अनुसन्धान । अर्को, पहिचान गरिएको समस्या सुल्झाउने उद्देश्यले गरिने व्यावहारिक (एप्लाइड) अनुसन्धान । सैद्धान्तिक अनुसन्धानमा सफल देखिएका धेरै अनुसन्धानका नतिजालाई हाताहाती प्रतिफल दिनेगरी व्यावसायिकीकरण गर्न सकिन्न । 

आविष्कार भए उन्नति

सामाजिक सञ्जालको विकाससँगै संसारमा नयाँ–नयाँ अनुसन्धानमात्र भएका छैनन्, संसारलाई रातारात ती कुरा थाहा पाउने अवसर मिलेकाले बजार माग दिनदिनै परिवर्तन भइरहेको छ । बदलिँदो बजार माग अनुसार तत्काल आफ्ना उद्योगको उत्पादन परिवर्तन गर्न नसक्ने प्रायः सबै उद्योग बजारबाट विस्थापित भएका छन् ।

हिजो तपाईंको छिमेकीमात्र प्रतिस्पर्धी थियो भने आज संसारको कुनै कुनाको नामै नसुनेको प्रतिस्पर्धीसँग तपाईंले बजार प्रतिस्पर्धा गरिरहनुपरेको छ । आजको बजार व्यवस्थामा तिनैमात्र सफल हुन सक्छन्, जसको आफ्नै व्यावहारिक अनुसन्धान र आविष्कार (इनोभेसन) निकाय छ । व्यावहारिक अनुसन्धान निकाय जसले ‘बडी अफ नलेज बेस्ड इन्कुबेसन सेन्टर’सँग ‘को–क्रिएसन’मा काम गर्छ ।

विश्वको मान्यता के छ भने तपाईंले आजको युनिभर्सिटी मोडलमा व्यावहारिक अनुसन्धान गर्नुभयो र प्राज्ञिकहरूले अब्बल भनी दाबी गर्ने सार्वजनिक–निजी साझेदारी मोडल अपनाउनुभयो भने पनि एक हजार डलर मूल्य बराबरको अनुसन्धानका निष्कर्षलाई व्यावसायिकीकरण गर्न १ देखि १० मिलियन डलरसम्म लाग्छ । तैपनि त्यो व्यावसायिकीकरणले तपाईंको लगानी उठाउँछ भन्ने निश्चित गर्दैन । त्यो खर्च न आजको दैनिक परिवर्तनशील बजार प्रणालीले धान्न सक्छ, न त व्यावहारिक नै छ ।

आज विश्वमा परम्परागत सार्वजनिक–निजी–साझेदारी मोडललाई को–क्रिएसन मोडलबाट प्रतिस्थापन गरिएको छ । को–क्रिएसन मोडलले तत्कालीन अवस्थामा उपलब्धमध्ये सबैभन्दा सस्तो तर सबैभन्दा उच्च गुणस्तरमा अनुसन्धानका निष्कर्षलाई व्यावसायिकीकरण गर्ने निश्चित गराउँछ । त्यसकारण आज संसारका ठूलठूला उद्योगहरू सहजै मुनाफा कमाई तत्कालै परिवर्तित बजारको माग पूर्ति गर्न सक्षम बनेका हुन् । त्यसरी सक्षम बनेका संस्थालाई ‘इनोभेटिभ’ कम्पनी भनिन्छ ।

नेपाल जस्तो मुलुकको विकासका लागि स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उद्यमशीलतामार्फत हाताहाती प्रतिफल दिलाउन सक्ने धेरै ‘इनोभेटिभ कम्पनी’ र संस्थाहरूको स्थापना हुन जरुरी छ । ‘इनोभेटिभ’ कम्पनी र संस्था स्थापनाको अनिवार्य पूर्वाधार भनेको नेपालस्थित प्राविधिक शिक्षालय, विश्वविद्यालय र अन्य अनुसन्धान संस्थाले ‘इनोभेटिभ कम्पनी’ र संस्थाका लागि पर्याप्त दक्ष तथा अर्धदक्ष जनशक्ति उपलब्ध गराउन सक्नु हो ।

प्रदेश र केन्द्रीय निर्वाचनले सत्तामात्र हैन, पूरै प्रणाली नै परिवर्तन गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसामु सार्वजनिक रूपमा तीन कुरा राखेका छन् । पहिलो– हाम्रो शिक्षा जसले पढेको हो, उसको आफ्नै उत्थानका खातिर त भएन–भएन, जीविकोपार्जनका लागिसमेत पीडादायी बनिरहेको छ ।

दोस्रो– हाम्रा विश्वविद्यालयहरूले राज्यकोषबाट विशाल धनराशि लिँदै सीमित घेरामा रहेर असीमित प्रतिभा बोकेका विद्यार्थीहरूलाई असफलको दर्जा दिँदै राष्ट्रको लगानी, विद्यार्थीको सम्भावना र अभिभावकको सपनामा तुषारापात गरिरहेका छन् । विद्यार्थीलाई पढाइका नाममा आईए, बीए र एमए डिग्रीधारी साक्षरमात्र साबित गरिरहेका छन् ।

तेस्रो– हाम्रो शिक्षाकै कारण प्राकृतिक रूपमा वरदान प्राप्त नेपाल ठगिएको, मानव बस्तीका लागि पूर्ण प्रतिकूल प्रकृतिबीच आफूलाई समृद्ध बनाएका इजरायल र खाडीमा गएर सस्तो श्रमिकका रूपमा जीविकोपार्जन गर्नुपर्ने बाध्यता लादिएको छ । परम्परागत रूपमा तीक्ष्ण प्रतिभा बोकेका पुर्खाको ‘जिन’ भएका नेपाली विद्यार्थी असाधारण सिर्जनशीलता बोकेका मात्र होइनन्, आफ्नो रुचि अनुसारको व्यावहारिक ज्ञान लिने अवसर पाए विकासमा कायापलट गर्नसक्ने सम्भावना बोकेका धरोहर हुन् ।

आविष्कारको पूर्वाधारको सबैभन्दा पहिलो वैज्ञानिक सर्त भनेको प्राविधिक शिक्षालय र विश्वविद्यालयमा बजारमुखी पाठ्यक्रम उपलब्ध हुनु हो । बजारमुखी पाठ्यक्रमको अर्थ पाठ्यक्रममा परिवर्तित ‘बडी अफ नलेज’को ज्ञान संलग्न भएको हुनु हो । ठूला धनराशि खर्चेर पटक–पटक परिवर्तन भएका हाम्रा प्राविधिक शिक्षालय र विश्वविद्यालयहरूको पाठ्यक्रम आज पनि कम्तीमा ८० वर्षभन्दा पुरानो ‘बडी अफ नलेज’मा आधारित भएको सहजै अनुमान लगाउन सकिन्छ ।

आज संसारका विश्वविद्यालयहरू बढीमा १० वर्ष पुराना र प्राविधिक शिक्षालय बढीमा ५ वर्ष पुराना ‘बडी अफ नलेज’मा आधारित पाठ्यक्रम आफ्ना विद्यार्थीलाई सिकाइरहेका छन् । हाम्रा प्राविधिक शिक्षालय र विश्वविद्यालयले दशकौंदेखि अध्यापन गराइरहेका आयातीत ज्ञान लादिएका, नाम मात्रका प्राविधिक, स्थानीय उद्यमशीलताको विकासमा प्रतिकूल ८० वर्षभन्दा पुरानो ‘बडी अफ नलेज’मा आधारित पाठ्यक्रमले विद्यार्थीलाई डिग्रीधारी साक्षरबाहेक अरू बनाउन सक्ने अवस्था नै थिएन ।

पटक–पटक विज्ञान तथा प्रविधि नीति, संस्थाको व्यवस्थापन, संस्थागत संरचना, भौतिक पूर्वाधार र व्यवस्थापनमा सुधार प्रयास भएकै हुन् । शिक्षामा अग्रगामी छलाङमार्फत सुधार या क्रमभंगताका लागि गठन गरेका विभिन्न आयोग र समितिले सरकारलाई सुझाव दिने क्रम जारी छ । कतिपय सुझाव सरकारले प्राप्त गरिसकेको छ भने कतिपय अन्तिम अवस्थामा पुगी सरकारको हाता लाग्दैछन् ।

आयोग र समितिहरूले सुझाएका अग्रगामी भनिएका ती सुझावमा समेत पुरानै सोचाइ, तरिका, पारा र पद्धतिको पुनरावृत्ति देखिन्छ । पुरानै सोचाइ, तरिका, पारा र प्रणालीले नयाँ परिणाम दिन नसक्ने निश्चित छ । शिक्षामा अग्रगामी छलाङमार्फत क्रमभंगता सुरु गर्ने सपना देखाएर पेस गरिएका, गर्वका साथ सञ्चार माध्यममा प्रस्तुत गरिएका त्यस्ता सुझाव चुरो कुरामा पुगेकै भेटिन्नन् ।

भेटिन्छ त केवल प्राविधिक व्यवस्थापन, संरचना र सञ्चालन प्रक्रियामा हेरफेरका लागि सुझाव । त्यस्ता सुझाव अक्षरशः लागू हुँदा हिजो डिग्रीधारी साक्षर कहलिएकाहरू भोलि प्राविधिक डिग्रीधारी साक्षरमात्र कहलिनेछन् । तिनले मुलुकको विकासका लागि सीपमूलक तालिम र बजारमुखी उद्यमशीलताको विकासमा खासै अर्थ राख्नेछैनन् ।

मुलुकले कुल गार्हस्थ उत्पादनको ४ प्रतिशत शिक्षामा खर्च गर्छ । त्यो सार्क मुलुकमा उच्च मध्येमै पर्छ । तर आविष्कारमा सार्क मुलुकमै नेपाल पछाडि छ । इनोभेसन वा विकासका लागि नेपालको तत्कालको आवश्यकता भनेको सीपमूलक तालिम र बजारमुखी उद्यमशीलताको हस्तान्तरण नै हो । त्यसबाट सरकारले गाउँ–गाउँमा प्राविधिक स्कुल भनी प्राविधिक शिक्षालाई अति महत्त्व दिएको प्रस्ट हुन्छ । प्राविधिक शिक्षालयलाई ‘प्रविधि र विषय’ दिनसक्ने ‘बडी अफ नलेज’ दिने इनोभेसनका इन्कुबेटर नेपालमै उपलब्ध हुन जरुरी छ ।

इनोभेसनका इन्कुबेटरहरूले प्राविधिक शिक्षालय र विश्वविद्यालयलाई स्थानीय बजारमुखी ‘बडी अफ नलेज’मा आधारित पाठ्यक्रम विकास गर्न, आफ्ना विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै प्रतिस्पर्धी बनाउन, आवश्यक ज्ञान र सीप उपलब्ध गराउन र परिवर्तित प्रविधि र बजार माग अनुसार नियमित पाठ्यक्रम परिमार्जनमा सहयोग पुर्‍याउँछन् ।

नयाँ ग्राजुएट, वैदेशिक रोजगारबाट ८–१० लाख लिई फर्केका र स्थानीय स्तरमै स्वरोजगार हुनचाहने, नयाँ पेसामा जान चाहने उद्यमीलाई उनीहरूको आवश्यकता अनुरूपको सीपमूलक तालिम प्याकेज विकास गरी उपलब्ध गराउन प्राविधिक शिक्षालयहरूलाई पनि तिनले सहयोग गर्छन् ।

मुलुकमा स्थापना भई सञ्चालनमा रहेका उद्योगहरूसँग को–क्रिएसनमार्फत उनीहरूको उत्पादन परिवर्तित बजारको माग पूर्ति गर्न सक्षम र गुणस्तरलाई अन्तर्राष्ट्रिय बजारले ग्रहण गर्ने बनाउन सहयोगी भूमिका खेल्छन् । साथै विदेशी इन्कुबेटरहरूसँग उद्यमी तथा शिक्षालयहरूलाई जोड्ने काम गर्छन् । जबसम्म इनोभेसनका इन्कुबेटरहरू नेपालमै उपलब्ध हुन्नन्, तबसम्म प्राविधिक शिक्षालय र विश्वविद्यालयले पढाइका नाममा प्रधानमन्त्रीकै भाषामा प्राविधिक प्रमाणपक्रधारी साक्षर जनशत्ति मात्रै उत्पादन गरिरहनेछन् ।

लेखक खाद्य वैज्ञानिक हुन् ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?