हिंसापीडितलाई न्याय खोइ ?

दुर्गा घिमिरे

काठमाडौँ — महिलाको हैसियत उँचो पार्ने हिसाबले पछिल्लो समय धेरै प्रगति भएको छ  । महिलाको सामाजिक, आर्थिक, राजनीतिक अवस्थामा सुधार भएको तथ्यांकले पनि देखाउँछन्  ।

गरिमामय पदमा महिला उपस्थितिले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको इज्जत र प्रतिष्ठामा वृद्धि भएको छ । तर नियति भनूँ या दुर्भाग्य, महिला हिंसाका घटना शृंखलाबद्ध रूपमा बढ्नुले सबै महिला, सामाजिक अभियन्ता, बौद्धिक वर्ग र बालबालिकामा त्रास छाएको छ ।


बालिकाको बलात्कार र त्यसपछि तिनलाई निर्ममतापूर्वक जलाएर मारेको घटना सुन्दा जोसुकैको आङ जिरिंग हुन्छ । पीडित परिवार झन् कति हतप्रभ होला ! कति सन्त्रस्त होला ! जनकपुरस्थित मिथिला नगरपालिकाको हरिहरपुर मगरटोलकी रेशमा रसाइलीको बलात्कारपछि जलाएर हत्या गरिएको डरलाग्दो घटनाको चार दिनपछि प्रहरीले एक जनालाई पक्राउ गर्‍यो । बटेश्वर गाउँपालिकाका २० वर्षीय नीरज थापा मगर घटनामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धान थालेको छ । थापाले बालिकालाई चाउचाउ र फ्रुटी दिएर फकाउँदै गाउँभन्दा २ सय मिटर टाढा लगी बलात्कार गरेको र आफ्नो पहिचान खुल्न नसकोस् भनी बालिकालाई जलाएको प्रहरी दाबी छ । बलात्कार र हत्या त्यसै पनि जघन्य अपराध हुँदै हो, त्यसमाथि शारीरिक रूपमा अपांग ११ वर्षकी बालिकाको बलात्कारपछि भएको हत्याको जति निन्दा गरे पनि कम हुन्छ ।


करिब ६ महिनाअघि बलात्कारपछि हत्या गरिएकी कैलालीकी १३ वर्षीया निर्मला पन्तको घटनाले न्याय नपाउँदै फेरि त्यस्तै प्रकृतिका घटना विभिन्न ठाउँमा भइनै रहेका छन् । महिला हिंसा विरुद्ध लामो समयदेखि क्रियाशील विभिन्न संघ–संस्थाले हिंसाबाट प्रभावित महिलालाई संरक्षण दिने, उनीहरूका पक्षमा वकालत गर्ने, कानुनी परामर्श दिने, आफन्त नभएका पीडितलाई सहारा दिने गरेर तिनलाई नयाँ जीवन दिने काम गरिरहेका छन् । तर यस्ता घटनामा पीडक भने आफ्नै बाबु, दाजु तथा नजिकैका नातेदार भएको पाइएको छ । बाबुका नाममा कलंक ऊक्त व्यत्तिले ६ र ८ वर्षका आफ्नै छोरीहरूलाई बलात्कार गरेका छन् । पीडित बालिकाहरूको किटानी जाहेरीको आधारमा पीडक बाबुलाई १० वर्ष जेल सजाय भएको छ । दुवै बालिका पुनःस्थापना गृहको आश्रयमा छन् र स्कुले शिक्षालाई अघि बढाइरहेका छन् ।


अर्को एउटा घटनामा ११ वर्षीया बालिकालाई चकलेटको लोभ देखाई उनकै स्कुल बसको ड्राइभरले बलात्कार गर्‍यो । त्यो ड्राइभरले घरमा कोही नभएको मौका छोप्दै कुकृत्य गरेको थियो । बालिका चिच्याउँदा कसैले नसुनोस् भनेर उसले टीभी खोलेर त्यस्तो अपराध गरेको थियो । समय बितेसँगै ती बालिकाको पेट बढ्दै गयो । अभिभावकले डाक्टरकहाँ लगी परीक्षण गराउँदा उनी गर्भवती भएको खुल्न आयो । गाउँ–समाजको डर देखाउँदै बाबुआमा छोरीलाई घरमा राख्नबाट टकटकिए । उनलाई पुनःस्थापना गृहमा पुर्‍याइयो । ७ महिनामा उनले बच्चा जन्माए पनि त्यो बचेन । उनी पनि अहिले पुनःस्थापना गृहमै बसेर पढिरहेकी छन् । योसँगै साइबर अपराधका घटना पनि प्रशस्तै भइरहेका छन् । ‘साइबर रेपको पासो’ शीर्षकमा कान्तिपुरमा हालै आएको समाचारले सामाजिक सञ्जालको दुरुपयोग हुँदा यस्ता घटना बढेको देखाएको छ । सामाजिक सञ्जालमार्फत प्रेम हुँदै यौन सम्बन्धसम्म पुग्ने र पछि त्यसैको भिडियो देखाएर ब्ल्याकमेल गर्ने प्रवृत्ति बढेको छ । साइबर अपराधको मारमा पर्ने किशोरीहरूको संख्या बढ्दै गइरहेको छ । माथिका घटना त प्रतिनिधिमूलक मात्र हुन् । यस्ता कति घटना प्रकाशमै आउँदैनन्, आउनसकेका छैनन् ।


समाज, परिवार, कुलको इज्जत र प्रतिष्ठा घट्ने डरले गर्दा यस्ता घटनामा पीडितलाई पीडकसंँगै विवाह गरिदिने वा मिलापत्र गराइदिने प्रवृत्ति पनि छ । घटना त सामसुम हुन्छ, तर प्रवृत्ति झनै बढ्छ । यसको जरो पत्ता लगाएर निर्मूल नपारेसम्म हिंसा रोकिँदैन । महिला तथा बालबालिकामाथि बढ्दो हिंसा, बलात्कार र बलात्कारपछि हत्याका घटनालाई सामान्य रूपमा हेरिने र पीडितलाई नै दोषी ठहर्‍याउने प्रवृत्तिले पनि यसमा मलजल गरेको छ । सरकारले अहिले सुखी र समृद्ध नेपालको परिकल्पना गर्दै विभिन्न कार्यक्रम ल्याएको छ । यो परिकल्पनालाई साकार पार्न विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने, प्रतिबद्धता जनाउने गरेको छ । ती प्र्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन महिला तथा बालबालिका हिंसाबाट मुक्त हुनुपर्छ ।


यसका लागि समाजका प्रत्येक वर्ग महिलामाथि हुने हिंसा नियन्त्रणको लागि जिम्मेवार हुनुपर्छ । महिला विरुद्धको हिंसा नियन्त्रणमा पुरुषको संलग्नता बढाउनुपर्छ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्छ । अभिभावकहरूले आफ्ना छोराछोरी दुवैको हुर्काइ प्रक्रियामा विशेष ध्यान पुर्‍याउनुपर्छ । यौन शिक्षालाई पठन–पाठनमा समावेश गर्नुपर्छ । महिला विरुद्ध हुने कुनै पनि हिंसामा मौन रहने परिवार, आफन्त, छिमेकी, समाज, साथीभाइ सबैले ‘मौनताको संस्कृति’ को अन्त्य गर्नुपर्छ । यो अभियानमा विशेष गरेर युवाहरूको निगरानी र पैरवी अति महत्त्वपूर्ण छ र तिनलाई जिम्मेवार बनाउनुपर्छ । समाजमा देखापरेका कुनै पनि किसिमका हिंसा वा विकृतिका विरुद्धमा सबै एकजुट हुनुपर्छ । यस्ता घटनाका दोषी जुनसुकै तहको भए पनि उसको संरक्षण कतैबाट पनि हुनु हुँदैन । किनकि अपराधी क्षमाको होइन, दण्ड–सजायको भागी हुनैपर्छ । ‘तिमीलाई डस्ने सर्पले मलाई पनि डस्छ’ भन्ने आहानलाई आत्मसात् गरी महिलामाथि हुने सबै किसिमका हिंसा र हत्याका घटनाविरुद्ध हामी सबै बेलैमा सचेत र सजग नभई शृंखलाबद्ध अपराधबाट पार पाउन सकिन्न ।

प्रकाशित : फाल्गुन २२, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?