हातेमालो गरे समृद्धि

डिला संग्रौला

काठमाडौँ — अधिकारका लागि महिलाहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै संघर्ष गरेका छन् । आज हामी अन्तर्राष्ट्रिय महिला दिवस अर्थात ८ मार्च ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ भन्ने नारासहित मनाउँदैछौं । अझै पनि महिलाहरू आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पछाडि नै छन् ।

हातेमालो गरे समृद्धि

हरेक देशमा महिलाको पद, प्रतिष्ठा र भूमिका एवं नीति–नियममा समय–सापेक्ष केही परिवर्तन भए पनि समग्रमा राष्ट्रको मुल प्रभावीकरणमा आउनसकेको देखिँदैन । समानता, सह–अस्तित्व, प्रतिनिधित्व, अवसर र पहिचानबाट वञ्चित छन् । यो दिवस मनाउँदै गर्दा उनीहरूले विगतमा खेलेको गौरवान्वित संघर्षलाई नियाल्नैपर्छ ।


विश्वका धेरै देशमा महिला र पुरुषको जनसंख्या बराबरी नै छ । धेरैजसो देशमा महिला र पुरुषबीच समान व्यवहार गरिँदैन । समाजमा विद्यमान पितृसत्तात्मक सोचमा आधारित मूल्य, मान्यताका कारण लैंगिक विभेद छ । शोषण र हिंसाका घटना बढिरहेका छन् । यिनै असमानतालाई मध्यनजर गरी आजभन्दा १०९ औं वर्षअघि समानता, न्याय, शान्ति र विकासका लागि सुरु भएको अभियानको सम्झनास्वरूप महिला अधिकारका लागि ऐक्यबद्धता जाहेर गर्न अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो ।


प्राचीन र आधुनिक जातिहरूबारे अन्वेषण गर्दा आदिम समाजमा महिलाहरूको बोलवाला भएको मातृसत्ता थियो भन्ने वैज्ञानिकहरूको निष्कर्ष छ । जब उत्पादन प्रणालीमा प्रगति हुँदै गयो वा श्रम विभाजनको प्रक्रिया प्रारम्भ भयो, तब उत्पादनका साधन र स्रोतमाथि पुरुष वर्चस्व हुनपुग्यो । मातृसत्तात्मक सामूहिक समाजबाट पितृसत्तात्मक परिवारमा परिणत हुनपुग्यो ।


महिलाहरू आर्थिक, सामाजिक, राजनीतिक, मनोवैज्ञानिक रूपले नियन्त्रित र उपेक्षित बन्दै गए । यिनै विभेदबाट मुक्तिका लागि विश्वभरका महिला आन्दोलित हुनपुगेको देखिन्छ । आदिम समाजदेखि आधुनिक युगसम्म आइपुग्दा पनि महिला विरुद्धको भेदभाव गम्भीर र संवेदनशील समस्याको रूपमा कायमै छ । विभेद खास कुनै एउटा भाग र समाजमा मात्र नभई सबैतिर व्याप्त छ । परिणामस्वरूप महिला र पुरुष बीचको हैसियत सामाजिक मूल्य र मान्यतामा भिन्नता आयो । यसले फुरुषलाई शक्तिशाली र महिलालाई शत्तिविहीन करार गर्‍यो ।


१९१० मार्च ८ का दिन पुरुषसरह शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार पाउनुपर्छ भन्ने सन्दर्भमा आवाज उठ्यो ।

सोही दिनलाई प्रत्येक अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन सुरु गरिएको हो । पश्चिमी मुलुक अमेरिकामा समेत महिलाले मताधिकार प्रयोग गर्न संघर्ष गर्नुपर्‍यो ।


दोस्रो विश्वयुद्धपछि अमेरिकामा महिला समूहले पुरुषसरह समान अधिकार पाउन संगठित भएर संघर्ष गरे । सबैभन्दा पहिला न्युजिल्यान्डका महिलाहरूले भोट दिन पाउने अधिकारको माग राख्दै संघर्षमा उत्रिए । १८९३ देखि मताधिकार प्राप्त गरे । १९६० र ७० को दशकमा महिला आन्दोलनले सामाजिक आन्दोलनको रूप लियो । १९६८ मा बेलायतमा कामदार महिलाहरूले घरेलु हिंसा विरुद्ध आन्दोलन गरे ।


पूर्वीय समाजमा पनि पितृसत्ताको कारण पुरुष र महिला बीचको असमानताको खाडल बढ्दै गयो । मनुस्मृतिमा, जुन हिन्दुहरूको अत्यन्त पवित्र ग्रन्थ हो, पुरुषले आफ्नी पत्नीलाई कहिल्यै स्वतन्त्रता दिन नहुने र बाल अवस्थामा पिता, युवा अवस्थामा पति, वृद्ध अवस्थामा पुत्र नारीका रक्षक हुन् भनी उल्लेख छ । यसरी महिला र पुरुषबीच समाजमा मूलतः पारिवारिक, राजनीतिक, सांस्कृतिक र आर्थिक हरेक क्षेत्रमा महिलामाथि विभेद राख्ने गरेको पाइन्छ ।


नेपालको सन्दर्भमा प्रजातन्त्र प्राफ्तिको लडाइँसँगसँगै महिला अधिकार, महिला मुक्ति र सशत्तीकरणका लागि संघर्ष र आन्दोलनको सुरुवात भएको पाइन्छ । २००७, ०३६, ०४२, ०४६, २०६२/६३ सालका क्रान्तिमा महिलाहरू प्रजातन्त्र प्राप्ति र पुनः प्राप्तिका लागि संघर्षमा जुटे । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहले २००४ सालमा नेपाल महिला संघ स्थापना गरी मताधिकारका लागि प्रधानमन्त्री पद्म शमशेरकहाँ डेलिगेसन गएको इतिहास छ ।


२००४ सालमै नेतृ सहाना प्रधानको सक्रियतामा राणाशासन विरुद्ध पर्चा छर्ने काम भयो । १९७४ मा दिव्यादेवी कोइरालाको सक्रियतामा महिला समिति गठन गरी प्रजातन्त्र प्राप्ति र महिला अधिकारका लागि अर्को अभियानको प्रारम्भ गरिएको थियो । १९९८ मा योगमायादेवी न्यौपानेको नेतृत्वमा ६८ जना महिलाले जलसमाधि लिई सामाजिक सुधारको पक्षमा संगठित रूपले संघर्ष गरे । महिला अधिकारका लागि नेपालसहित विश्वभर नै ठूलठूला संघर्ष र आन्दोलन भए । फलस्वरूप महिलाले केही अधिकारका साथै राज्यको कार्यकारिणी प्रमुख पदमा आसीन हुने अवसर पाएका छन् ।


लैंगिक समस्या समाधान गर्न संविधान २०७२ ले संघ र प्रदेशमा ३३ प्रतिशत, स्थानीयमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । महिलाहरूको हक–अधिकारका विषयलाई संवैधानिक मान्यता प्रदान गरेको छ । समग्रमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै गर्दा लैंगिक विभेद उनीहरूलाई हेर्ने दृष्टिकोण गरिने व्यवहार हत्या, हिंसा, बलात्कार, छाउपडी प्रथा, बोक्सी प्रथा, चेलीबेटी बेचबिखन, बहुविवाह र दाइजो प्रथाले अझै पनि नेपाली समाजमा जरो गाडेको छ ।


महिला अधिकार र नारी दिवसको नारालाई सार्थक बनाउन सरकार, समाज र नीति–नियम कार्यान्वयन गर्दै तिनलाई अशिक्षा, गरिबी र बेरोजगारीको चपेटाबाट माथि उठाई आर्थिक र सामाजिक सशक्तीकरण गर्दै राष्ट्र विकासको मूलधारमा ल्याउनसके मात्र समृद्धिको आधार तय गर्न सकिन्छ ।


लेखक नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद हुन् ।

प्रकाशित : फाल्गुन २४, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?