कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्कुल टेक्नुअघि नै दोहोलो 

मधु राई

काठमाडौँ — विराटनगरको एउटा पूर्वप्राविमा युकेजी पढ्दै गरेका नित्युशा अधिकारीलाई अभिभावक अर्को वर्ष सेन्ट मेरिज स्कुल पढाउन चाहन्छन् । एक कक्षाबाट मात्रै भर्ना लिँंदै आएको सेन्ट मेरिजले सदाझैं यसपालि पनि शैक्षिक सत्र सुरु हुन दुई महिना अघिदेखि प्रवेश परीक्षाका लागि फारम वितरण गरिरहेको छ । पछिल्लो समय नित्युशाका झैँ अधिकांश अभिभावकले त्यसका लागि दौडधुप थालिसकेका छन् । 

विडम्बना नै भन्नुपर्छ, अधिकांश अभिभावकको रोजाइमा व्यावहारिक र आधुनिक शिक्षण सिकाइलाई महत्त्व दिने विद्यालयभन्दा पनि बिदा नहुने र सानै उमेरमा धेरै पढाउने विद्यालयहरू पर्ने गरेका छन् । दिनहुँ गृहकार्य दिने विद्यालयहरू पनि अभिभावकको पहिलो रोजाइमा पर्ने गरेका छन् ।


यसरी विद्यालय छनोट गर्दा अभिभावकहरूले पढाइ सँगसँगै नयाँ विद्यालयमा बालमैत्री शिक्षण सिकाइ हुन्छ कि हुँदैन भनेर मनन गर्न जरुरी छ । आफ्ना छोराछोरी, विशेषगरी पूर्वप्रावि तह छिचोलेका नानीबाबुलाई के पढाउने र कसरी पढाउनेभन्दा पनि कसरी नयाँ विद्यालयमा बानी पार्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यी र यस्ता ससाना तर महत्त्वपूर्ण विषयमा अभिभावकहरू संवेदनशील नहुँदा यसको प्रत्यक्ष असर विद्यार्थीको पढाइसहित समग्र विकासमा पर्दै जान्छ ।


यस्तै घर नजिकैको विद्यालय भए हिँडेर पुर्‍याउन त्यति समस्या नभए पनि एक कक्षादेखि स्कुल बसमा आउजाउ गर्नुपर्दा अभिभावक र विद्यार्थीले बाटामा अतिरिक्त समय खर्चनुपर्ने हुन्छ । हुन पनि हो, ठूलालाई भन्दा ससाना विद्यार्थीर्लाई बिहान आठै नबजी स्कुल बस कुर्न लाउनुपर्ने हुन्छ ।


पछिल्लो समय अधिकांश मन्टेसोरीले नानीबाबुलाई ससाना गाडीमा ओसार्नु सामान्य बन्दै गएको छ । यस्तो चलनले ती साना नानीबाबुको स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषय गौण बन्दै गएको छ । पूर्वप्रावि र प्रावि तह पढ्ने विद्यार्थीलाई सानै उमेरमा दिनहुँ स्कुल बसमा ओहोर–दोहोर गराउँदा स्वास्थ्यमा नकारात्मक पर्दै जाने तथ्य विभिन्न अध्ययन–अनुसन्धानले देखाएका छन् ।


बालमैत्री शिक्षण सिकाइलाई महत्त्व दिँंदै आएका मन्टेसोरी वा पूर्वप्रावि तह छिचोलेका साना विद्यार्थीको आवश्यकतालाई ठूला र नाम चलेका विद्यालयहरूले त्यति वास्ता गरेको देखिँंदैन । अर्कातिर मन्टेसोरी र कतिपय पूर्वप्राविले आफ्ना विद्यार्थीलाई पढाइ सँगसँगै खाजासमेत उपलब्ध गराउँदै आएका छन् ।


यस्तो सुविधा अधिकांश ठूला र स्थापित विद्यालयहरूमा हुन्न, फलस्वरूप नानीबाबुको पढाइमा नकारात्मक असर पर्छ । यस्ता विषयमा शिक्षित अभिभावक र शिक्षक त्यति संवेदनशील देखिँंदैनन् ।


पछिल्लो समय विद्यार्थी केन्द्रित शिक्षण सिकाइभन्दा पनि कुन विद्यालयले कति प्रतिशत विद्यार्थी उत्तीर्ण गर्दै आएको छ भन्ने मापदण्ड स्थापित हुँदै आएको छ । ठूला विद्यालयहरूले बनाएका यस्ता मापदण्डलाई निरीह अभिभावकहरूले बाध्यतावश शिरोधार्य गर्दै आएका छन् । अझ राजधानीका कतिपय अभिभावकले आफ्ना नानीबाबुलाई ठूला र नाम चलेका विद्यालयमा भर्ना गराउन ट्युसनसम्म पढाउने गरेका छन् ।


अभिभावकै चाहना पूरा गर्न नानीबाबुहरू सकी–नसकी प्रवेश परीक्षाको तयारीमा जुट्ने गरेका छन् । यसरी वर्षेनि प्रवेश परीक्षामार्फत राम्रा विद्यार्थीमात्रै भर्ना गर्ने भन्दै फारम बेचे पनि कतिपय स्थापित विद्यालयहरूले अनुत्तीर्ण विद्यार्थीलाई पनि पछि भर्ना गर्ने गरेका

दृष्टान्त मनग्गे छन् ।


निजी विद्यालयहरूले बालअधिकारको मर्मलाई न आत्मसात् गरेको पाइन्छ, नत व्यवहारमा त्यो परिलक्षित हुने गरेको छ । कतिपय बालअधिकारकर्मीहरूले बेलाबेला साना विद्यार्थीलाई प्रवेश परीक्षाको आतङ्कबाट टाढा राख्नुपर्छ भन्दै आए पनि त्यसको सुनुवाइ कहीं कतै भएको पाइँदैन । निजी विद्यालयहरूले पनि यो विरोधलाई नसुनेझैं गर्दै प्रवेश परीक्षाका नाममा आफ्नो दुनो सोझ्याउँदै आइरहेका छन् ।


बाल मनोविज्ञानले कुनै पनि विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्नु हुँदैन भन्छ, तर वर्षेनि ठूला तथा स्थापित विद्यालयहरूले तामझामका साथ प्रवेश परीक्षाको आतंक सिर्जना गरेर साना विद्यार्थीहरूलाई त्रस्त पार्दै आइरहेका छन् ।

यसरी एकातिर प्रवेश परीक्षाहरू महगिँदै गएका छन् भने अर्कातिर अभिभावकहरू नानीबाबुलाई कस्तो विद्यालयमा भर्ना गर्ने भन्नेमा अलमलिएका देखिन्छन् । नानीबाबुले औपचारिक शिक्षा सँगसँगै जीवनोपयोगी सीप सिक्नुपर्ने हुन्छ, जुन ठूला र स्थापित विद्यालयहरूको प्राथमिकतामा पर्दैन । नाम चलेका अधिकांश विद्यालयले सैद्धान्तिक ज्ञानमात्रै बाँड्दै आएका छन् ।


विकसित मुलुकमध्ये इजरायलमा बालविकास कक्षालाई औपचारिक शिक्षाको पहिलो खुडकिलो मानिन्छ । बालविकास कक्षा छिचोलेका ससाना विद्यार्थीहरूलाई केन्द्र नजिकैको विद्यालयमा अवलोकन भ्रमण गराइन्छ । यस्ता विद्यालयहरूमा बालमैत्री शिक्षण सिकाइ छ कि छैन भनेर अभिभावकहरू पहिले आश्वस्त हुन्छन् । त्यतिले मात्रै पुग्दैन, आफ्ना नानीबाबुलाई नयाँ विद्यालय मनपरेपछि मात्र भर्नाको प्रक्रिया सुरु हुने गर्छ ।


शिक्षाका सरोकारवालाहरूले निजी विद्यालयहरूले साना विद्यार्थीलाई प्रवेश परीक्षामार्फत छनोट गर्ने गरेको विषयलाई बालअधिकारसँग जोडेर हेर्ने गरेको पाइँंदैन । वास्तवमा भन्ने हो भने औपचारिक शिक्षालाई बालअधिकारसँग जोडेर न शिक्षकले हेरेका छन्, नत अभिभावकले ।


यस्तै प्राप्तांकलाई गुणस्तरीय शिक्षाको मापदण्ड मान्दै आएका विद्यालय र अभिभावकले वर्तमान शिक्षासँग बालअधिकारका आधारभूत कुरालाई जोडेर हेर्न जरुरी छ । बालकेन्द्रित शिक्षण सिकाइ विपरीत थोपरिएको स्कुले शिक्षाका कारण विद्यालयहरू आज शिक्षित बेरोजगार उत्पादन गर्ने पहिलो कारखाना बन्दै गएको शिक्षाविद्हरूको ठम्याइ छ ।


अहिलेको शिक्षालाई उत्पादनमूलक बनाउन हामीले पनि विकसित मुलुकले गरेका राम्रा अभ्यासलाई पछ्याउन जरुरी छ । अभिभावकहरूले पनि बालकेन्द्रित शिक्षण सिकाइलाई बालअधिकारसँग जोडेर हेर्ने परिपाटी बसाल्ने हो भने निश्चय नै एकदिन प्रवेश परीक्षाको आतंकबाट हाम्रा नानीबाबुहरूले छुटकारा पाउनेछन् ।


यसका लागि शिक्षित र बालअधिकारका आधारभूत ज्ञान हासिल गरेका अभिभावकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यस विषयमा तीनै तहका सरकार पनि गम्भीर हुन जरुरी छ ।

प्रकाशित : फाल्गुन २८, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?