कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

माया गरौँ मृगौलालाई

काठमाडौँ — संसारमा करिब ८५ करोड मानिस विभिन्न किसिमका मृगौला रोगबाट फीडित छन् । वर्षेनि २४ लाख व्यक्ति दीर्घकालीन मृगौला रोगबाट आत्रान्त हुने गर्छन् । यो रोग मानव मृत्युको छैटौं प्रमुख कारकमा फर्छ । १ करोड ३० लाख व्यक्ति तत्काल लाग्ने मृगौला रोगको सिकार छन् । तत्काल लाग्ने मृगौला रोगबाट आत्रान्त व्यक्तिहरूमध्ये ८५ प्रतिशतजति निम्न र मध्यम आय भएको वर्गका छन् ।

वर्षेनि करिब १७ लाख व्यक्तिले यो रोगबाट ज्यान गुमाउने गरेका छन् । दीर्घकालीन र तत्काल लाग्ने मृगौला रोगले मुटुको रोग, मधुमेह र उच्च रक्तचाप, मोटोपन, एचआईभी, मलेरिया, क्षयरोग र कलेजो रोग लागेका व्यक्तिमा थप हानि पुर्‍याउने गर्छ । यो बालबालिका तथा वृद्धवृद्धा लगायत सबैमा अस्वस्थता र मृत्युको कारक बन्ने गरेको छ ।


यी तथ्यका बावजुद मृगौला रोगको उपचारमा संसारभरि असमानता र विभेदका थुप्रै उदाहरण छन् । दीर्घकालीन मृगौला रोग र तत्काल लाग्ने मृगौला रोगहरू व्यक्तिविशेषको सामाजिक परिवेश, जन्म र बाल्यकाल र तत्पश्चातको अवस्था, व्यवसाय, उमेर र आर्थिक अवस्था, लिंग, विभेद, अज्ञानता, व्यावसायिक जोखिम तथा प्रदूषण आदिबाट प्रायः प्रभावित हुने गर्छन् ।


प्रत्यारोपण दीर्घकालीन मृगौला रोगको सर्वोत्तम उपचार हो । उच्चस्तरीय जनशक्ति, पूर्वाधार, अंगदाता तथा डाइलाइसिसको भरपर्दो व्यवस्था नभई यो सम्भव छैन । भौतिक तथा कानुनी जटिलता र अंगदान सम्बन्धी अन्धविश्वासले अनावश्यक रूपमा प्रत्यारोपणमा भन्दा डाइलाइसिसमा धेरै व्यक्ति आश्रित हुने गर्छन् ।


नसर्ने रोगको नियन्त्रणका लागि राष्ट्रिय नीति र रणनीति नबनाइएका होइनन्, तर मृगौला रोगकै रोकथाम तथा उपचारमा त्यही अनुपातमा गम्भीरता लिइएको पाइँदैन । संसारका ५३ प्रतिशत देशहरूको अवस्था यस्तै छ ।


'मृगौला स्वास्थ्य : जहाँसुकै, जोसुकैका लागि’

विश्वभर तीव्रताका साथ बढिरहेको मृगौला रोगको भार व्यवस्थित गराउने रणनीति निर्माणमा सबैलाई सचेत गराउने उद्देश्यका साथ यस वर्षको विश्व मृगौला दिवस मनाइँदै छ । यस पालिको नारा ‘मृगौला स्वास्थ्य : जहाँसुकै, जोसुकैका लागि’ ले मृगौला रोगको उपचार र रोगथामका निम्ति सक्रिय हुन झकझकाउने अपेक्षा छ ।


सबैका लागि स्वास्थ्य नीतिको लक्ष्य जनस्वास्थ्यलाई सबैको पहुँचभित्र स्तरीय स्वास्थ्यसेवा दिगो रूपमा उपलब्ध गराउनु रहेको छ । विश्व मृगौला दिवसले प्रत्येक देशलाई आफ्ना नागरिकको मृगौला हेरविचारमा उचित व्यवस्था गर्न–गराउन आह्वान गरेको छ ।


मृगौला रोग लागेर उपचारमा जानुभन्दा रोगै लाग्न नदिनु बुद्धिमानी हुन्छ । हामीले यो अंगलाई माया गर्न सिक्नुपर्छ । त्यसका लागि उचित जीवनशैली अनुसरण गर्नुपर्छ । स्वस्थ खानेपानी, शारीरिक व्यायाम, सन्तुलित आहार, धूमपान र मद्यपान त्याग मृगौलालाई बचाउने राम्रा उपाय हुन् । नियमित रूपमा पिसाब, रगत, शरीरमा बोसोको मात्राको परीक्षण गर्नुपर्छ । उच्च जोखिम भएका व्यक्तिहरूमा रोगको प्रारम्भिक अवस्थामै निदान र उपचार हुन सके बढी प्रभावकारी मात्र नभई निको पनि हुन सक्छ ।


नेपाल सन्दर्भ

हाम्रो मुलुकमा करिब ६२ प्रतिशत मृत्यु नसर्ने रोगबाट हुने गर्छ । मुटु, क्यान्सर, चोटपटक, मृगौला, कलेजो रोग मृत्युका प्रमुख कारक हुन् । प्रत्येक वर्ष करिब ३ हजार नेपालीको मृगौला फेल हुने गर्छ । हाल करिब ४,५०० जनाले डाइलाइसिस सेवा लिइरहेको तथ्यांक छ । हालसम्म करिब १,३०० जनाको मृगौला प्रत्यारोपण भइसकेको छ ।


नेपालमा डाइलाइसिस र मृगौला प्रत्यारोपणलाई पूर्णतः निःशुल्क गरिएको छ, जुन सुविधा अरू विकासोन्मुख मुलुकमा विरलै पाइन्छ । नेपाल सरकारको वार्षिक २ अर्ब ११ करोडभन्दा बढी रकम प्रत्यारोपण तथा डाइलाइसिसमा खर्च हुने गर्छ ।


सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले स्थापनाको छ वर्षको अवधिमा ५८६ जनाको मृगौला प्रत्यारोपण गरिसकेको छ, दैनिक १२० जनालाई हेमोडाइलाइसिस सेवा दिँदै आएको छ । यस वर्ष २०० जनाको मृगौला प्रत्यारोपण गर्ने लक्ष्य लिइएकामा पहिलो १० महिनामा १६१ जनाले यो सेवा पाइसकेका छन् । यसै वर्ष मस्तिष्क मृत्यु भएका व्यक्तिबाट २ जनाको मृगौला प्रत्यारोपण र १ जनाको कलेजो प्रत्यारोपणसमेत भएको छ । प्रत्यारोपण सेवाबाट मात्रै मुलुकको करिब ४ अर्ब रुपैयाँ बचेको अनुमान छ ।

नेपालको अंगदान र प्रत्यारोपण सम्बन्धी कानुन विश्वकै उदार र फराकिलोमध्येको एक हो । स्वस्थ व्यक्तिको अंगदानबाट जुनसुकै नातेदारले लाभ लिन सक्छन् । एकै परिवारभित्र अंगदाता र ग्रहणकर्ताबीच मेल नखाएमा दुई वा दुईभन्दा बढी परिवारबीच साटासाट गरेर पनि प्रत्यारोपण गर्ने व्यवस्था गरिएको छ ।


बढ्दो सडक दुर्घटनाबाट वर्षेनि २,००० भन्दा बढीको मृत्यु हुने गर्छ र काठमाडौं उपत्यकामा मात्रै वर्षेनि १००० जनाको मस्तिष्क मृत्यु हुने गर्छ । आफ्नो मृत्युपछि जलेर खरानी हुने वा गाडेर सकिने अंग अरुको जीवन बचाउनलाई दिन सके मस्तिष्क मृत्यु भएका एक व्यक्तिबाट ८ जनाले पुनर्जीवन पाउन सक्छन् । संसारमा योभन्दा पुण्य काम अरु के नै हुनसक्छ र !


लेखक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कलेजो तथा मृगौला प्रत्यारोपणविद् हुन् ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?