कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नामसँग केको हाँसो !

साङ्मो योन्जन तामाङ

काठमाडौँ — केही समयअघि कुनै औपचारिक कामको सन्दर्भमा मलाई नाम सोधियो र बताएँ । मेरो नाम सुन्ने बित्तिकै प्रश्नकर्ताको अनुहार बिग्रियो । उनको प्रतिक्रिया थियो, ‘के नाम हो यस्तो ? कस्तो नाम राखिदिएको नि ?’ उनमा आश्चर्यभन्दा पनि आपत्ति झल्किन्थ्यो । 
मलाई यस्तो प्रतिक्रियामा कुनै अनौठो लाग्दैन ।

नामसँग केको हाँसो !

‘कस्तो अप्ठ्यारो नाम ? नेपालीमा राखेको भए भइहल्थ्यो नि !’ यस्ता भनाइसँग म अभ्यस्त भइसकेकी छु । यसले मलाई दुःखी बनाउँदैन, बरु आनन्दित हुन्छु । आजसम्म कुनै गैरमातृभाषी (प्रभुत्वशाली) ले यस्तो नामको प्रशंसा गरेको मलाई याद छैन, न त मातृभाषी समुदायकाले नै मोह देखाएको थाहा छ । केहीले मात्र यसको अर्थ र पृष्ठभूमि जान्न चाहेका हुन्छन् ।


अरूलाई जेजस्तो लागे पनि तामाङ मातृभाषामा राखिएको आफ्नो नाम ‘साङ्मो’ मलाई भने प्यारो लाग्छ । यसमा फरकपना त छँदै छ, शुद्धता, पवित्रता र नारित्वको अर्थ बोकेको यो नाम नेपालको मौलिक संस्कृतिसँग जोडिएकाले सुन्दर पनि छ, अर्थपूर्ण पनि छ । यसले मलाई आफ्नो जरा, परम्परा र संस्कृतिसँग जोडिराखेको छ । विश्वको जुनसुकै ठाउँमा रहँदा पनि आफ्नो समुदाय र नेपालीपन मैले वास्तवमै महसुस गर्न पाएकी छु ।


मौलिक नाम र 'नेम सेमिङ’

आधुनिकीकरण तथा पाश्चात्य संस्कृतिको व्यापक अनुसरण गरिरहेको नेपाली समाजमा मौलिक नाम बिस्तारै विस्थापित भइरहेका छन् । झन् संस्कृतीकरणको चपेटामा परेका आदिवासी समुदायमा त मातृभाषामा बालबालिकाको नाम राख्ने परम्परा नै हराऊँदै गएको छ । नामले व्यक्तिको व्यत्तित्व, पारिवारिक पृष्ठभूमि, शैक्षिक तथा उच्च आर्थिक अवस्था झल्काउने सोचमा आजभोलि आधुनिक तथा आयातित नाम राख्ने गरेको पाइन्छ ।


नाम राख्नु आ–आफ्नो विचार र अधिकार हो । तर कुनै व्यक्तिविशेषलाई नामकै आधारमा दिइने नकारात्मक प्रतिक्रिया भने कदापि सह्य र स्वीकार्य हुँदैन, विशेष गरी त्यस्ता नाम जुन भाषा, धर्म, संस्कृति र परम्परासँग जोडिएका हुन्छन् । यस्तो ‘नेम सेमिङ’ गर्ने (नामलाई गिज्याउने) व्यक्ति नेपालको सांस्कृतिक र भाषिक सहिष्णुताप्रति कति लापरबाह छ भन्ने प्रस्टिन्छ ।


भाषा र संस्कृतिले धनी भनी विश्वसामु चिनाइने नेपालको विविधतामाथि नै कसरी प्रहार गरिएको छ भनी यसबाट बुझ्न सकिन्छ । आफ्नो देश र देशका विभिन्न धार्मिक, सांस्कृतिक र भाषिक समुदायप्रति सेवाप्रदायकहरूमा रत्ती ज्ञान नभएको वा तिनले असहिष्णुताको भारी बोकिरहेको रूपमा पनि यसलाई अर्थ्याउन सकिन्छ ।


नेपालका आदिवासी समुदायमा आफ्नो मातृभाषामा नाम राख्ने परम्परा रहँदै आएको छ । अधिकांश आदिवासी समुदाय भोट–बर्मेली भाषा परिवारका छन् । भारोपेली भाषा प्रयोग गर्ने खस–आर्य (इन्डो–आर्यन) समुदाय नेपालमा वर्चस्वशाली हुनाले अन्य मातृभाषामा राखिएका नाम उच्चारण गर्न उनीहरूलाई बानी नपरेको हुन सक्छ ।


यस्ता नामलाई अरू गैरमातृभाषी समुदायले सहजै स्वीकार नगर्दा ‘बुलिङ’ को (कमजोरलाई सताउने) अवस्था सिर्जना हुन्छ । यसबाट जोगिन कतिपय अभिभावकले आफ्ना बालबालिकाको नाम नेपाली र संस्कृतमा राख्ने गरेका निकै उदाहरण छन् । मूलधारका भन्दा फरक नामका कारण जब आफ्नै साथीहरूबाट आदिवासी बालबालिका गिज्याइन्छन्, तब यसले बालमस्तिष्कमा गम्भीर असर पुर्‍याउँछ । यो तथ्यलाई मनोवैज्ञानिकहरूले पनि औंल्याउने गरेका छन् ।


अझ कतिपय विद्यालयका शिक्षकहरू बालबालिकाको नामका पछाडिको हिज्जे थप्नदेखि नामै परिवर्तन गरिदिनसम्म उत्साहित हुने गर्छन् । बालबालिकाका नाम उच्चारण गर्ने प्रयास गर्नुको सट्टा नामै बिगारेर उल्टो अर्थ लाग्ने गरी बोलाउने गरेको पाइन्छ । हाम्रो समाजका प्रभुत्वशाली वर्गले विविधतालाई कसरी स्वीकार वा अवलम्बन गरिरहेका रहेछन्, यसबाट खुल्छ । कसैको नामलाई हाँसोमा उडाउनु भनेको मुलुकको विविधतालाई नै गिज्याउनु हो ।


एउटा उदाहरण हेरौं । युकेजी पढ्ने एक बालकले एउटा समारोहमा अपरिचित व्यक्तिलाई आफ्नो नाम बताउने क्रममा अर्कै नाम भने । सँगै रहेका अभिभावकले उनलाई आफ्नो नाम राम्रोसँग भन्न लगाए । फेरि पनि उनले ‘नरेन’ नै भने । पछि उनकी आमाले छोराको नाम ‘न्होर्साङ’ हो भनिन् । साँचो नाम किन नभनेको भनी सोध्दा बालकको जवाफ थियो, ‘यो नाम मिसले राख्नुभा’ हो ।’ उनका सहपाठी र ठूलो कक्षाका ‘दाइ’ हरूले उनको नाम तोडमोड गरी हाँसोको रूपमा लिने गरेका रहेछन् र शिक्षिकाले पनि बोलाउन सजिलोका लागि ‘नरेन’ भन्न थालेकी रहिछन् ।


पश्चिमा समाजमा ‘नेम सेमिङ’ लाई गम्भीर रूपमा लिने गरिन्छ । यस्ता कार्य गर्नेलाई ‘रेसिस्ट’ (नश्लवादी) भन्ने गरिन्छ र यसको प्रतिकारमा उचित कदम चाल्ने गरेको पनि पाइन्छ । प्रायः अफ्रिकी मूलका अमेरिकीहरू गोरा जातिबाट यसको सिकार बन्ने गरेका छन् । गोराका जस्तै सुनिने नाम नहुँदा उनीहरू विभेदमा पर्ने गरेको पनि अध्ययनले देखाएको छ ।

केही समयअघि अमेरिकाको एउटा विमानस्थलमा यात्रुलाई उनको नामलाई लिएर खिल्ली उडाइएका कारण विमान कम्पनीले माफी मागेको समाचार बाहिर आएको थियो । याक्राका त्रममा आमासँग रहेका पाँच वर्षीया बालिकाको नामलाई साउथ–वेस्ट एयरलाइन्सका कर्मचारीले हाँसो गरेको र पछि उनको नाम उल्लिखित उक्त बोर्डिङ पासको फोटो खिचेर सामाजिक सञ्जालमा समेत पोस्ट गरेका कारण उक्त विमान कम्पनी ती यात्रुसँग सार्वजनिक रूपमै माफी माग्न बाध्य भएको थियो । कम्पनीले आफ्नो कर्मचारीको व्यवहार शिष्ट नरहेको स्विकारेको थियो ।


‘नेम सेमिङ’ ले अरूको आत्मसम्मानमा कति ठेस पुग्छ भन्ने यस्ता कैयौं घटनाले पुष्टि गर्छन् । ‘ओल्ड फ्यासन्ड,’ ‘वेइर्ड,’ ‘ट्रेडिसनल,’ ‘एथ्निक,’ ‘आउटडेटेड,’ ‘फन्नी’जस्ता प्रतिक्रिया सुन्नुपर्ने डरले नै कतिपय अभिभावकले विद्यालयमा भर्ना हुने बेला आफ्ना बालबालिकाको नाम परिवर्तन गरेका हुन्छन् । केहीले युवावस्थामा प्रवेश गरेसँगै आफ्नो नाम परिवर्तन गर्ने वा त्यो सम्भावना नभए उपनाम राख्ने गर्छन् ।


नामको महत्त्व

आफ्नो मातृभाषामा नाम राख्ने र यसलाई कायम राख्ने अधिकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले पनि दिएको छ । नेपालको संविधानको मौलिक हकको धारा ३९(१) मा ‘प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरणको हक हुनेछ’ भन्ने प्रावधान छ ।


त्यसै गरी आदिवासी आधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (युएनड्रिप), २००७ को धारा १३(१) मा पनि आदिवासी जनजातिहरूसँग उनीहरूको समुदाय, स्थान र व्यक्तिहरूको आफ्नै नाम राख्ने र तिनलाई कायम राख्ने अधिकार छ भनी प्रस्टै लेखिएको छ ।


बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९८९ ले ‘पक्षराष्ट्रहरूले कानुनले मान्यता दिए अनुसार बालबालिकाले आफ्नो राष्ट्रियता, नाम र पारिवारिक सम्बन्ध लगायत आफ्नो पहिचानको संरक्षण गर्न पाउने आधिकारलाई गैरकानुनी हस्तक्षेपबिना सम्मान गर्ने प्रतिज्ञा गर्छ’ भनी उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय यी सन्धि र महासन्धि देशको कानुनभन्दा माथि हुन्छन् र देशको कानुनसरह लागू हुन्छन् ।


यसरी कानुनतः व्यवस्था भइसकेको अवस्थामा भाषा र संस्कृति लोप हुनबाट बचाउन र यसको संवर्द्धन र प्रवर्द्धन गर्न आ–

आफ्ना मातृभाषामा नाम राख्नु महत्त्वपूर्ण हुन्छ । यसबाट मौलिक संस्कृति र पहिचानको संरक्षण हुने भाषावैज्ञानिकहरू बताउँछन् ।

पछिल्लो समय देशको राजनीतिक परिवर्तन र सांस्कृतिक चेतनासँगै आफ्नो भाषा र संस्कृतिप्रति झुकाव राख्नेहरूको संख्या दिनानुदिन बढिरहेको छ, जसलाई सकारात्मक मान्नुपर्छ । संस्कृति र परम्पराको महत्त्व बुझेकाहरूले मातृभाषामा आफ्ना बालबालिकाको नाम राख्न सुरु गरेका छन् ।


मातृभाषामा नाम राख्ने प्रयासको कदर गर्नु समयोचित हुन्छ, न कि हाँसोमा उडाएर निरुत्साहित बनाउनु । यसो भएमा बालबालिकालाई पछि गएर आफ्नो नाम, आफ्नो माटो वा पहिचानसँग कहीँकतै सम्बन्ध भएकामा ग्लानि हुँदैन, बरु गौरव नै हुन्छ । नाम बोझिलो वा अरू कसैको पहिचान वा अस्तित्व बोक्ने हुनु हुँदैन, जसले गर्दा उसलाई सदैव आफ्नो नाम राखिदिनेप्रति गुनासो भइरहोस् । नाम आफ्नै देश, भूमि, माटो र संस्कृतिबोध गराउने खालको हुनुपर्छ ।


व्यक्तिविशेषको नाम उसलाई आफ्नो पहिचान र अस्तित्वसँग जोड्ने ठूलो आधार हो । यसले संस्कृति, इतिहास र पुर्खाको प्रतिनिधित्व गर्ने गर्छ । कोही–कोहीलाई त नाम विश्वकै एक मात्र मन पर्ने र महत्त्वपूर्ण शब्द लाग्दो हो । तसर्थ आफ्नो पहिचान झल्किने अर्थपूर्ण नामलाई सबैले सहजै लिनुपर्ने हुन्छ ।


लोकतान्त्रिक समाजको निर्माणमा यस्ता नामलाई स्वीकार्न अनुमति लिनुपर्ने अवस्था आउनु हुँदैन । नकारात्मक मानसिकतालाई परिवर्तन गरी विविधतालाई सम्मान गरे मात्र जोसुकैले नेपाल र नेपाली हुनुमा गर्व गर्न सक्छन् । समावेशीको सिद्धान्तलाई नेपालको संविधानले नै अंगीकार गरिसकेकाले यसको अवलम्बनका लागि पहिलो र सानो कदमको रूपमा सबै नामप्रति सम्मान जनाउने पो हो कि ?


लेखिकाले हालै आइसर कलेजबाट एमफिल गरेकी छन् ।

[email protected]

प्रकाशित : फाल्गुन ३०, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?