कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

ती गंगालाल 

सूर्य थापा

काठमाडौँ — गंगालाललाई राणाशासकले उनका छोरा जन्मेको भोलिपल्ट, १९९७ साल माघ १५ गते, काठमाडौंको शोभाभगवतीमा गोली हानी हत्या गरेका थिए । उनले मुखै हेर्न नपाएका छोरा शशीलाल श्रेष्ठ पनि ७८ वर्षको उमेरमा गएको फागुन १४ गते दिवंगत भए ।
दशरथ चन्दको हत्या पनि शोभाभगवतीमै गरिएको थियो ।

ती गंगालाल 

यी दुईसँगै टेकुमा शुक्रराज शास्त्री र सिफलमा धर्मभक्त माथेमालाई फाँसी दिइएको थियो । यी चार सपूतले हालेको स्वतन्त्रता जगकै कारण राणाशासनको सत्ता उल्टिएको करिब सात दशक भइसकेको छ । यो वर्ष गंगालालको १०० औँ जन्मजयन्ती पनि हो । उनी १९७५ साल चैत ३ गते जन्मेका थिए ।


बुबालाई चिठी

गंगालालको बलिदान अँध्यारोबाट उज्यालो, जहानियाँ निरंकुशताबाट प्रजातन्क्र/लोकतन्त्र, राजतन्त्रबाट गणतन्त्रतिरको यात्राका लागि थियो । शोषण, दमन र अत्याचारबाट मुत्ति, सामाजिक न्याय र समानता प्राप्ति नै सहिद हुनेहरूको सपना थियो ।


१९९७ कात्तिक २ गते गंगालाल पक्राउ परेपछि उनको घरमा खानतलास गरी सिंहदरबारमा थुपारिएका कागजातबाट नाटककार बालकृष्ण समले एउटा चिठी पाएका थिए, जुन ‘सिद्धिचरण श्रेष्ठको जेल संस्मरण’ मा राखिएको छ :


बा !

तपाईंको आज्ञा पालन गरेर शान्तिसित बसुँला भन्ने लागेको थियो, सक्दै सकिनँ, म सक्दिनँ । आज रातभर निद्रा परेन । बिर्से पनि हुने पाठ म घोकिरहेको छु, सम्झिनुपर्ने पाठचाहिँ मैले बिर्सनै आँटेछु ।


आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाइरहेका भोका अगणित भाइहरूका पहेंला मुखसित डराएर आँखा चिम्लन आँटेछु । तिनका पेटको गहिरो स्वरले मागेको सुन्न नसकी कान थुनेर भाग्न पो आँटेछु ।


अन्तःस्करणबाट आगो रुमलिएर आयो । केके असह्य भयो ! अब म सहन असमर्थ छु । जताततै कोलाहलको ज्वाला देख्छु, आफैं सल्कन लागेको छ । मलाई त्यो निभाएर मर्न दिनुहोस् ।


तपाईं मेरो पिता हुनुहुन्छ, तर हामी सबै जनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तव्यमा तपाईंको आज्ञाले म पछि हट्न सक्दिनँ । म तपाईंको आज्ञाले चुपचाप राष्ट्रको पाप बोक्न सक्दिनँ । अब मेरो माया मारिदिनुहोस् । मेरा अरू भाइहरू छँदै छन् । एउटा छोरालाई नेपाल आमाको निम्ति बलिदान दिनुहोला भन्ने देशभक्त पुत्र गंगालालको निवेदन छ । अत्याचार र अन्यायका विरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु ।


बालक पुत्र गंगालालको दण्डवत् सेवा ।


पुर्ख्यौली र जन्मस्थल

गंगालालका पिता भक्तलाल श्रेष्ठका पनि पिता भीमलाल र पुर्खा कीर्तिपुर बाघभैरवका बासिन्दा रहेको बताइन्छ । राणाकालमा पूर्व १ नं. सिन्धुपाल्चोक, पूर्व २ नं. रामेछाप र पूर्व ३ नं. ओखलढुंगा भनी कायम गरिएको थियो । भक्तलालले चौतारा र रामेछाप मालअड्डाको सुब्बा भएर सेवा गर्ने अवसर पाए । जागिरे जीवनका क्रममा भक्तलाल रामेछापको भंगेरीमा रहेका बेला गंगालाल र पुष्पलाल जन्मिएका थिए ।


भक्तलालका दुइटी पत्नीमध्ये जेठी तुलसीमायाका तर्फबाट आठ सन्तान भए— हिरण्यकुमारी (मैया दिदी), गंगालाल, पुष्पलाल, गौरीलाल, देवीलाल, पुष्पलता, विजयलाल र नानीचा (आठ महिनामै दिवंगत) ।


तुलसीमाया बितेपछि भक्तलालले आफ्नै मामाससुराकी छोरी पूर्णमायासँग दोस्रो बिहे गरे । पूर्णमायाबाट पनि आठै सन्तान भए— उमादेवी, जवाहरलाल, तोरणलाल, रमादेवी, समादेवी, धान्तुरे नानी (२/३ वर्षमै दिवंगत), ललितलाल र वसन्तलाल ।


अध्ययन र विवाह

काठमाडौं उपत्यकाभित्र भक्तलालको ठूलो परिवार मुख्यतः प्याफल, क्षेत्रपाटी–ओमबहाल, चोंकछे गल्ली (इन्द्रचोक) आदि स्थानमा बस्दै, हुर्किंदै थियो । भक्तलाल (१९५४–२०२७) र तुलसीमाया (१९६८–१९९४) का जेठा सुपुत्र गंगालालको जन्म फागुपूर्णिमाका दिन भएको थियो । राणाशासनले हत्या गर्दा उनी २२ वर्षको भरभराउँदो उमेरका थिए । चार सहिदमध्ये सबभन्दा कान्छा पनि ।


साइँला काका शंकरलाल श्रेष्ठ एमबीबीएस पढ्न कलकत्ता जाने भएपछि गंगालाल पनि अध्ययनका लागि सँगै त्यसतर्फ लागे । ईश्वरचन्द्र विद्यासागर स्कुलमा अध्ययन गरे । पछि दरबार हाइस्कुल, काठमाडौंबाट उनले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे । उनी त्रिचन्द्र कलेजमा आईएससी पढ्दापढ्दै पक्राउ परेका थिए ।


गंगालालको विवाह १९८९ सालमा १४ वर्षको उमेरमा हसिनादेवीसँग भएको थियो । उनका दुई छोरा जन्मिएकामा जेठा रवि दुई–तीन वर्षकै उमेरमा बितेका थिए । कान्छा शशी १९९७ माघ १४ गते जन्मिएका थिए । शशीका एक छोरा र एक छोरी छन् ।


दरबार हाईस्कुलमा पढ्ने सिलसिलामा गंगालालको कलाकार प्रतिभासमेत प्रस्फुटन भएको थियो । उनले ‘कोलम्बस’ नाटकमा क्रिस्टोफर कोलम्बसको भूमिकामा अभिनय गरेका थिए । करिब दुई महिनासम्म पानीजहाजमा हिँडेको तर कुनै ठाउँमा नपुगेपछि जहाजका यात्रीहरूले कोलम्बसलाई अब तिमीलाई मार्छौं भनेर धम्काइरहेका बखत अगाडि आइल्यान्ड देखिएको र त्यो देखिएको भूभाग नै अमेरिका भएको दृश्यमा गंगालालको अभिनय हेरेर तत्कालीन श्री ३ जुद्धशमशेरसमेतले ‘राम्रो’ भनी प्रशंसा गर्दै ‘रेखदेख’ गर्न भनेका थिए ।


अन्तिम भेट

मृत्युदण्डको फैसला भएपछि छोरा गंगालालसँग भेट्न माघ १४ गते बाबु भक्तलाल सपरिवार जगन्नाथ देवल जेलमा पुगेका थिए । त्यसलाई अन्तिम भेट भनिएको थियो । जेलमा भेट्नासाथ पुष्पलालले कानेजुत्ता फुकालेर दाजुलाई अँगालो मारेका थिए । दुई दाजुभाइबीच त्यस क्रममा केके कुरा भयो, शब्द स्पष्ट नसुनेको कान्छा भाइ विजयलाल बताउँछन् ।


गंगालालसँगको अन्तिम भेटमा पिता भक्तलालसहित सौतेनी आमा पूर्णमाया, भक्तलालकी सानीआमा, तुलसीमायाकी आमा, चिनियालाल वैद्य (मामा), आनन्दराम श्रेष्ठ (जेठी फुपूका जेठा छोरा), हर्कलाल श्रेष्ठ (मामा, पूर्णमायाका दाइ), कामाक्षादेवी बस्नेत, करुणादास श्रेष्ठ (भिनाजु) र सात जना भाइबहिनी पुगेका थिए ।


त्यस भेटमा कामाक्षादेवीले गंगालाललाई मन पर्ने पान खुवाएको विजयलाल स्मरण गर्छन् । फुपूका छोरा आनन्दराम पर्चा वितरणमा संलग्न भएकाले पक्राउ परेर छुटेका थिए । नरशमशेरले गंगालाललाई गोली हानेर हत्या गरेपछि अन्त्येष्टि गर्न लैजाँदा शोभाभगवतीमा गंगालालको शव बोक्नेमध्ये आनन्दराम पनि थिए ।


वैचारिक प्रभाव

गंगालाल सोभियत समाजवादी अक्टोबर क्रान्तिबाट प्रभावित थिए । उनमा भारतीय स्वतन्त्रता संग्रामका सहिद भगतसिंहको बलिदानको प्रभाव बढी परेको थियो । रूसी शासक जारले लेनिनका दाजु अलेक्जेन्डरलाई फाँसी दिएका थिए । संयोग नै भन्नुपर्छ, अलेक्जेन्डरका भाइ लेनिनले रूसी फेब्रुअरी र अक्टोबर क्रान्तिको नेतृत्व गरे र ७० वर्षसम्म सोभियत समाजवादी सत्ता कायम भयो । टंकप्रसाद आचार्यले पुष्पलालसँगको छलफलमा नेपालको कम्युनिस्ट इतिहास लेख्दा पहिलो कम्युनिस्ट दशरथ चन्द भएको उल्लेख हुनुपर्ने सुझाव दिएको पुष्पलालले उल्लेख गरेको पाइन्छ ।


दशरथ चन्द र गंगालालको निकट सम्बन्ध थियो । सहिद गंगालालका माइला भाइ पुष्पलालले नेतृत्व गरेर नै २००६ वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भयो । यसले ७० वर्षपछि २ सय ४० वर्ष लामो शाहवंशीय राजतन्त्रको उन्मूलन गर्न मुख्य नेतृत्व गर्‍यो । जनवादी क्रान्तिलाई विजयको शिखरमा पुर्‍यायो ।

प्रकाशित : चैत्र ३, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?