कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

महिला न्यायको तलास

सम्पादकीय

काठमाडौँ — नेपालगन्ज उपमहानगरपालिका–८ की इस्मा खानले दुबईमा रहेका पतिलाई भिडियो कल गरिन् । कुराकानीका सन्दर्भमा सामान्य भनाभन भयो । उनले एकैचोटि ‘तलाक, तलाक, तलाक’ भने । पतिले तीन पटक एकतर्फी तलाक भनेकै भरमा उनीहरूबीचको ४ वर्षको सम्बन्ध टुट्यो, घरबास उठ्यो । ३३ वर्षीया इस्मा ज्यालामजदुरी गरेर सानी छोरी हुर्काउँदै छिन् । 

त्यही उपमहानगरपालिका–७ की ३० वर्षीया नाजिया कसघर माइतमा थिइन् । विदेशमा रहेका पतिले त्यसैगरी तलाक भनेपछि सम्बन्धमा पूर्णविराम लाग्यो । शारीरिक रूपमा अशक्त छोरोसहित उनी अहिले माइतमै छिन् । खजुरा–३ की अमिना हुसैनको सम्बन्ध विच्छेद पनि फोन कलबाटै भएको थियो ।


विवाह गर्दा मौलाना, मस्जिद र समाज साक्षी राख्ने परम्परा छ । सम्बन्ध विच्छेद गर्दा मुस्लिम समाजमा भने कसैलाई साक्षी राख्दैनन्, पत्नीको राय सुन्दैनन्, पति एक्लैले निर्णय गर्छन् । पत्नीका कानमा पतिको तलाक शब्दको भयले सताइरहन्छ । घरेलु हिंसाका धेरै मुद्दामा मुस्लिम समुदायका महिला प्रताडित भइरहेका छन् । उनीहरू सम्बन्ध विच्छेद गर्नका लागि कानुनी प्रक्रियामा आउने आँट गर्दैनन् । धार्मिक आस्था र संस्कारमा बाँधिएर महिला अंश र सम्बन्ध विच्छेदका समस्या लिएर अदालत आउन डराउँछन् ।


कानुनमा मौखिक सम्बन्ध विच्छेदको कुनै प्रावधान छैन । जुन तरिकाले तलाक दिइँदै छ, त्यो इस्लामिक कानुनले तय गरेको तरिकाको बर्खिलाप रहेको मुस्लिम धर्मका विज्ञहरू बताउँछन् । फोनबाट एकतर्फी तलाक दिने काइदा हुँदै होइन । हुनै सक्दैन । तलाकका सभ्य तरिका छन् । पहिले तलाक दिन/लिन चाहने महिला/पुरुषलाई समुदायका सदस्य, घरपरिवारका सदस्यले सम्झाउने, बुझाउने गरिन्छ । त्यसमा पनि चित्त नबुझाएमा मौलाना, दुवैतर्फका परिवारका सदस्य, समुदायका भद्रभलादमीसमक्ष पति/पत्नीको रोहबरमा मेलमिलापको प्रयास गरिन्छ । तलाक कसैको पनि घर बिगार्न र परिवारका सदस्यलाई बिचल्ली पार्न व्यवस्था भएको होइन ।


धार्मिक विधि–विधानमा फोनबाट तलाक लिने व्यवस्था छैन । यो प्रविधिले ल्याएको विकृति हो । तलाकको पनि प्रक्रिया छ । कारणसहित दम्पती साक्षीसामु खडा हुनुपर्छ । यसका लागि ३ महिना लाग्छ । पहिलो र दोस्रो तलाक दिएपछि पनि छुट्टीभिन्न हुने भन्ने होइन । तेस्रो महिनाको तलाकसम्म सोच्ने, परिवारबीच समझदारी गर्ने समय रहन्छ । दुवैलाई सुध्रने मौका दिइन्छ । केही गरी मिलाप हुन र सँगै बस्न नसक्ने अवस्थामा पुगेपछि मात्र साक्षीसामु तलाक हुन्छ ।


महिलालाई पनि तलाक दिने हक छ । महिलाले समुदायका भद्र, भलादमी, सज्जनहरूसित ‘म पतिसित बस्न सक्दिनँ, छुट्टिन्छु’ भनिन् भने तलाक दिन पाउने व्यवस्था छ । छुट्टिन्छु भनिन् भने महिलाले चाहिँ एकै पटकमा तलाक लिन सक्छिन् । महिला र पुरुषको मनोविज्ञान हेरेर तलाकको प्रक्रिया फरक गरिएको मुस्लिम धर्मका अध्येताहरू बताउँछन् ।


विवाह गर्दा केटाकेटी दुवैतर्फका गवाही हुन्छन् । केटाकेटीलाई विवाहका लागि राजी छौ कि छैनौ भनी सोध्नुपर्छ । केटाले पत्नीको पालनपोषणलगायत सबै खाँचो पूरा गर्ने वाचा–बन्धन गवाहीसमक्ष गर्नुपर्छ । पत्नीले माइतबाट पाएको सम्पत्ति उनको आफ्नै हुन्छ । विवाहको यो कबुलपछि निकाहनामा अर्थात् विवाह प्रमाणपत्र दिइन्छ ।


साधारणतया सम्बन्ध विच्छेदका लागि अदालत जाने गरिन्छ । इस्लामिक कानुनअनुसार मेलमिलापमा जोड दिँदै तीन महिनाको प्रक्रियापछि मात्र तलाक हुन्छ । धार्मिक ज्ञानको अभाव भएको समाजमा पुरुषले यसलाई आफ्नो अधिकार ठानी दुरुपयोग गरिरहेका छन् । कुरानमा एकअर्कालाई सम्मान गर्नु भनिएको छ । धार्मिक अज्ञानता र तलाककै प्रक्रिया, मूल्यमान्यता, महिला सम्मान नबुझीकन बिनाकारण तलाक दिइन्छ भने त्यो महिलामाथिको हिंसा हो ।


यसविरुद्ध राज्यका अंगसहित सामाजिक संस्थाहरूले जनचेतना अभियान बढाउनुपर्नेछ साथै पीडित महिलालाई कानुनी उपचारको व्यवस्था गरी न्यायको प्रत्याभूति पनि गराउन जरुरी छ । नत्र त महिलाले न्याय र अधिकार सधैँ तलास गरिरहनुपर्ने हुनेछ ।

प्रकाशित : चैत्र ३, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?