१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बेलैमा यौन शिक्षा

काठमाडौँ — गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार जस्तै यौन पनि जीवनमा नभई विषय हो । यति आवश्यक विषयका बारे हाम्रो समाजमा अपेक्षित चर्चा भने हुने गरेको छैन । प्रायः मानिस यसबारे कुरा गर्न सहज हुन्नन् । समाजमा यसको उल्टो असर परिरहेको छ । अपरिपक्व उमेर समूहका केटाकेटीले पनि यसलाई सामान्य कुराका रूपमा बुझ्न सकिरहेका छैनन् ।

विज्ञान र र प्रविधिको विकाससँगै पाश्चात्य संस्कारको देखासिकीका कारण हाम्रा केटाकेटीमा मायाप्रेमभन्दा पनि उमेरको आकर्षणले गर्दा समस्यामा पर्ने गरेका छन् । धेरैजसो लुकीछिपी र कमै मात्रामा खुला रुपमा हाम्रा गाउँसहर, विद्यालय तथा

कलेजका केटाकेटीमा यस्ता कुरा देखिनमा आइरहेका छन् ।


स्कुल–कलेजमा हामी सैद्धान्तिक ज्ञान मात्र दिन्छौँ । व्यावहारिक पाटोको बेवास्ता हुने गरेको छ । यौन शिक्षाबारे पर्याप्त चर्चा गरेर त्यसको असर, परिणाम बुझाउनुपर्छ । अपरिपक्व उमेरकै कारणमा शारीरिक आकर्षणका कारण केटाकेटी शिक्षक, समाज र आफन्तको डरले गर्दा लुकेर आपसमा भेट्छन्, मायाप्रेमका कुरा गर्छन् ।


हुँदाहुँदा शारीरिक संसर्गसम्म पुग्छन् अनि पढ्ने र सुन्दर भविष्यका योजना बोकेका उनीहरूको जीवन गर्भ निरोधक औषधी र असुरक्षित गर्भपतनको यात्रातर्फ लाग्छ । सामाजिक, पारिवारिक, मानसिक समस्यामा परेर उनीहरू जोखिमपूर्ण अवस्थामा क्लिनिकमा बच्चा जन्माउने, बच्चालाई नालीमा फ्याँकिदिने, आत्महत्या गर्ने अवस्थासम्म पुग्छन् ।


असुरक्षित यौन सम्पर्क गर्दा प्राणघातक रोग लाग्ने, सानो उमेरमा पाठेघरको पूर्ण रुपमा विकास भइनसक्ने हुनाले ज्यानकै खतरा हुने, सङ्क्रमण हुन सक्ने, गर्भ रहन सक्ने, गर्भपतन गराउँदा जीवन जोखिममा पर्ने जस्ता यथार्थ आफ्ना केटाकेटीलाई घरपरिवारले बुझाउनुपर्छ । शिक्षक, साथी तथा अन्य मान्यजनको भूमिका पनि यसमा उत्तिकै महत्त्वपूर्ण हुन्छ ।


सहरका सम्पन्न घरका बालबालिका बढीजसो मोवाइल, कम्प्युटर, प्रेम दिवशमा आदिमा अलमिलने गरेका छन् । विकटतिरका बालबालिका भने शिक्षा, चेतना, गरिबी, अभावको चपेटामा परिरहेका छन् । प्रायः सहरिया बालबालिका बढी आत्मविश्वासी भएका कारण र दुर्गमका बालबालिका सोझोपनका कारण असुरक्षित यौनको भुङ्ग्रामा पर्ने गरेका छन् । तसर्थ हामीले हाम्रा विद्यार्थी तथा छोराछोरीलाई यौन जीवनको सबैभन्दा महत्त्वपूर्ण पाटो हो भनेर बेलैमा सिकाउनुपर्छ ।


मानसिक रूपमा सक्षम प्रत्येक मानवमा यौनको चाहना हुन्छ र हुनुपर्छ भन्ने कुरा खुलेर बुझाउनुपर्छ । यौनको भावना जन्मेदेखि नमरुन्जेल बालबालिका, युवायुवती, बूढाबूढी सबैमा हुन्छ । यो जैविक आवश्यकता हो । बालकले आमाको स्तन चुसेर वा टोकेर होस्, युवा तथा वृद्धले कसैलाई हेरेर, बोलेर, हाँसेर, जिस्क्याएर, ठट्टा गरेर, मन परेका भौतिक वस्तु उपहार दिएर तथा हार्दिक प्रेम गरेर यौन चाहना पुरा गरिरहेका हुन्छन् । तर हाम्रो समाजमा तनको मिलन नै यौन चाहना हो भन्ने सङ्कीर्ण मानसिकता छ ।


अपरिपक्व उमेर समूहका केटाकेटीलाई हामीले यौन शिक्षा दिँदा यसलाई त्राससँग जोड्नु हुन्न । कसैसँग शारीरिक सम्पर्क गरे शारीरिक यातना दिन्छु भनेर थर्काउनु हुन्न । यस्तो अभ्यासले नराम्रो परिणाम दिन सक्छ । तिनीहरूको मानसपटलमा हामीले सकारात्मक ऊर्जा भर्दै यौन सम्पर्कले आउने सम्भावित दुष्परिणामबारे सिकाउनुपर्छ । भविष्य बरबार हून्छ, उर्जाशिल समय त्यत्तिकै सकिन्छ भनेर सम्झाउनुपर्छ । उमेरलाई पढाइ तथा सिर्जनात्मक काममा लगाए भविष्य सुन्दर हुन्छ भन्दै ज्ञान आर्जनमा लाग्न साहस, आँट र हिम्मत दिन सक्नुपर्छ । ज्ञानी र असल व्यक्ति बनेर देशको होनाहार प्रतिभाशाली व्यक्ति बन्न प्रेरित गर्नुपर्छ ।


पाठ्क्रम विकास केन्द्रले कति सकिन्छ माध्यमिक तथा उच्चमाध्यमिक तहका विद्यार्थीको भविष्यलाई मध्यनजर गरेर पच्चिस/पचास अङ्कको यौन शिक्षासम्बन्धी पाठ्यांशको खाका तयार पार्नुपर्छ र लागु गर्न ढिलो गर्नुहुदैन ।


यौनको अभावमा मान्छे विक्षिप्त बन्न पुग्छ । यसो भन्दैमा हामी अविवेकी बन्न हुन्न । हामीले सही समयमा सचेत भएर यौन सम्पर्क गर्नुपर्छ । पढ्ने, लेख्ने, भविष्य बनाउने समयमा अन्धवेगमा आएर हामीले गरेको प्रेम प्रेम नभएर उमेरको आकर्षण मात्र हो । यो ज्ञान केटाकेटी तथा सन्तानलाई बुझाउन सक्नुपर्छ । यस्तो कच्चा उमेरमा मनको संवेगलाई नियन्त्रण गर्न सकिँदैन । आँधी र तुफान, चैतको हुरहुरे वतासले कोमल मन अनि भावनालाई डढाउने काममात्र गर्छ भनेर मानसिक उपचार गर्नुपर्छ ।


केटाकेटीहरू अरूलाई भन्दा आफैलाई मात्र ठूलो देख्ने हुन्छन् । त्यही भएर उनीहरूको संवेगात्मक कोमल मनलाई ठेस नपुग्ने गरी ‘जुन बाटो तिमी हिँडेका छौ त्यो भिर हो, काँडा छ, खाल्डो छ, जीवनमा कालो बादल लाग्छ’ भन्दै उनीहरूमा सकारात्मक भाव भर्नु शिक्षक तथा अभिभावकको जिम्मेवारी हो । उनीहरूलाई ‘आफ्ना केटा वा केटी साथीलाई असल साथीको रुपमा हेर, मायाप्रेम र यौन चाहनाले होइन, सकेसम्म यौन सम्पर्क गर्नै हुँदैन’ भन्नुपर्छ ।


विकसित देशमा केटाकेटीलाई स्वतन्त्र रुपले हेरिन्छ । पूर्वीय संस्कारले गाँजेको हाम्रो देशमा चाँहि केटाकेटीको सम्बन्धलाई केवल यौनिक दृष्टिकोणले मात्र हेरिन हुदैन । तिनीहरूले पनि पढाइका, देशका समसामयिक गतिविधिका आफ्नै परिवेशका, समस्याका, परिवारका दुःखसुखका कुरा गरेका हुन सक्छन् भन्ने विश्वास अभिभावक तथा शिक्षकमा हुनुपर्छ । हामीले तिनको विश्वासलाई मर्न दिन हुदैन । उनीहरूलाई भन्नुपर्छ, ‘तिम्रो ऊर्जाशील समयलाई खेर नफाल, फलामलाई तातेको बेला ठोकेमात्र विभिन्न औजार बनाउन सकिन्छ, जवानी भनेको अञ्जुलीको पानी जस्तै हो, आफ्नो भविष्यको सपना साकार पार्न काम गर्नुपर्छ, तिमीले यौनको महत्त्वलाई बुझेर सही सयम आएपछि सदुपयोग गरेमा सुन्दर, सुनिश्चित भविष्य निर्माण गर्न सक्छौ ।’

प्रकाशित : चैत्र ४, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?