लगानी सम्मेलनको अर्थराजनीति

टीका ढकाल

काठमाडौँ — विदेशमा नेपालको प्रतिनिधित्व गर्ने कूटनीतिक नियोगहरूलाई तोकिएका मध्येको प्रमुख कार्यसूची हो– आर्थिक कूटनीतिको प्रबर्द्धन । यसकै सेरोफेरोमा देशको समग्र क्षमता केन्द्रीकृत गर्दै नेपाल सरकारले चैत १५ र १६ गते लगानी सम्मेलन आयोजना गर्दैछ । नेपालप्रति चासो राख्ने सम्भाव्य लगानीकर्तालाई सम्मेलनमा भाग लिन प्रोत्साहित गर्न नेपालका सम्पूर्ण वैदेशिक नियोग तथा नेपालमा प्रतिनिधित्व गर्ने मित्रराष्ट्रका नियोगलाई नेपाल सरकारले औपचारिक आग्रह गरेको छ । 

नेपालको व्यापारिक र औद्योगिक क्षमता विस्तार गरी देशभित्रै रोजगारी सिर्जना गर्न अर्थव्यवस्थाका सबै क्षेत्रमा ब्यापक लगानी चाहिएको छ । हालको अति कम विकसित राष्ट्रको स्तरबाट नेपालले सन् २०२२ सम्ममा मध्यम आय भएको राष्ट्रमा स्तरोन्नति गर्न दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्नु छ, सन् २०३० सम्ममा संयुक्त राष्ट्रसंघले तय गरेका दिगो विकास सम्बन्धी लक्ष्यमा पुग्नु छ ।

देशभित्रै उद्यमशीलता विकास गर्नुछ । यसका लागि फेरि पनि जरुरत पर्छ, ठूलो स्तरमा आर्थिक लगानीको । यही आवश्यकता बोधले भुटभुटिएर नै भन्नुपर्छ, नेपालले दुई वर्षको अन्तरालमा दोस्रो लगानी सम्मेलन गर्न लागिरहेको छ । देशभित्रको पुँजी परिचालन अपर्याप्त भएकाले तीव्र आर्थिक विकासका लागि विदेशी पुँजी आकर्षित गर्न नेपाल चाहन्छ भन्नेमा आम सहमति छ ।

यो लेख लेखिंँदासम्म सम्मेलनमा फ्रान्स र म्यान्मारबाट मन्त्रीस्तरीय टोलीहरूले सहभागिता जनाउने पक्का भएको छ भने ५ सयभन्दा बढी सरोकारवालाहरूले सहभागिता जनाउन नाम दर्ता गरेका छन्, जसमध्ये आधा विदेशी लगानीकर्ता छन् । सम्भाव्य लगानीकर्ताका लागि आयोजित सम्मेलनमा मित्रराष्ट्रका सरकारले चासो देखाइदिएकाले तथा ‘दुई वर्षमा दोस्रो सम्मेलन किन ?’ भन्ने प्रश्नको सुरुदेखि नै जवाफ दिन नसकिरहेका बेला सन्तोषजनक संख्यामा व्यक्तिगत र संस्थागत सहभागिता हुने भएपछि सरकारले राहतको सास फेरेको छ । अहिलेसम्म विश्व बैंकका दक्षिण एसियाली मामिला सम्बन्धी उपाध्यक्ष हार्टविग सेफर, फ्रान्सका विदेश राज्यमन्त्री जाँ–बाप्टिस्ट लिमोने तथा म्यानमारका लगानी तथा वित्त सम्बन्धी मन्त्री ऊ थाङ चुन लगायतले सम्मेलनमा भाग लिने भनिएको छ ।

नीतिगत सुधार
आफ्नो देशमा व्यापक आर्थिक लगानी भित्रियोस् र राष्ट्र समृद्ध बनोस् भन्ने कामनाले मात्र कुनै पनि देशको अर्थव्यवस्थामा सकारात्मक परिवर्तन आउँदैन । प्रतिस्पर्धात्मक विश्वमा लगानीकर्ताको विश्वास जित्न देशको आन्तरिक एवं कूटनीतिक क्षमता पूर्ण रूपले र स्पष्टताका साथ परिचालित हुनु आवश्यक छ । वैदेशिक लगानी प्रबर्द्धन गर्न तय गरिएका नीतिगत र कानुनी सुधारबारे आफ्ना कूटनीतिक ‘आउटपोस्ट’ लाई नियमित जानकारी गराउनु जति आवश्यक छ । त्यक्तिकै सशत्त ढंगले ती जानकारीलाई सम्भावित लगानीकर्तासम्म सम्प्रेषण गर्नु आवश्यक छ ।

नेपालको आर्थिक कूटनीतिमा हालसम्म लागानी आकर्षित गर्ने ठोस कार्ययोजना सामेल छैन । भएका प्रयासहरू ‘हाम्रो देशमा लगानी गरिदिनुहोस्’ भन्ने तदर्थ आग्रहमा सीमित छन् । सरकारले हालैमात्र केही कानुनी र नीतिगत सुधारका प्रक्रियालाई संसदीय बाटोबाट अन्तिम चरणमा पुर्‍याएको छ । ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५’ का नयाँ व्यवस्थाहरू सम्भावित लगानीकर्तासम्म लैजाने समय अब बाँकी छैन ।

यद्यपि यी प्रयासलाई तत्कालै नेपालका सम्पूर्ण वैदेशिक प्रतिनिधित्वमार्फत विस्तारित गर्नुपर्छ, जसले सम्मेलनपछिका विमर्शलाई सघाउ पुर्‍याउँछ ।आजको संसारका प्रायः मुलुकले खुलापनमा आधारित उदार अर्थव्यवस्था अपनाएका छन् । लगानीकर्तालाई तान्न राष्ट्रिय सुरक्षामा प्रत्यक्ष सरोकार राख्ने क्षेत्रबाहेकमा विदेशीलगानी खुला गर्न तथा मुनाफा बहिर्गमन गर्न पाइनेखुकुलो नीति बनाउन अफ्रिका र एसियाका विकासशील राष्ट्रमा प्रतिस्पर्धा छ ।

अनुदार राजनीतिभित्र पनि उदार अर्थव्यवस्था अपनाउन सकिने उदाहरण चीनले प्रस्तुत गरेपछि आर्थिक विकास गर्न लोकतन्त्रमात्रै सफल हुन्छ भन्ने धारणा खण्डित भैसकेको छ । अर्थात लगानीमा प्रतिस्पर्धाको दायरा लोकतन्त्रभित्र मात्र सीमित छैन, झनै फराकिलो भएको छ । नीतिगत सुधारका पाइला चाल्दा प्रतिस्पर्धाको यो व्यापकतालाई कति ख्याल गरियो भन्ने पक्ष छँदै छ ।

ऋण कि लगानी ?
नेपालले हाल गर्न लागिरहेको ‘ऋण सम्मेलन’ होइन । लगानी सम्मलेन गर्नलागेको देशले ऋण माग्ने कि वैदेशिक लगानीमा जोड दिने भन्नेमा नीतिगत अस्पष्टता बिलकुलै नहुनुपर्ने हो । यद्यपि व्यावहारिक अन्योल भने कायमै देखिन्छन् । एकातिर प्रधानमन्त्री लगानी गर्न आह्वान गर्ने, अर्कोतिर लगानीका लागि छलफल चलिरहेका ठूला आयोजनामा कर्मचारीतन्त्रको स्वार्थ अनुसार ‘हामीले त ऋण पो खोजेको हो’ भन्ने प्रवृत्ति देखिँंदा सम्भाव्य लगानीकर्ता बिच्किने खतरा उत्तिकै छ ।

यस्तो अन्योल तत्काल हट्नुपर्छ । नेपाललाई अहिले ठूलो आर्थिक लगानी चाहिएको छ र नेपाल अब व्यापार गर्ने हैसियतमा पुगेको छ भन्ने जोडदार सन्देश सम्मेलन र कूटनीतिबाट प्रवाहित हुनु आवश्यक छ ।

ऋण सन् १९९० को दशकभन्दा अगाडिको डिस्कोर्स हो । उदार अर्थव्यवस्थाको व्यापकतासँगै ऋण दिने हैसियतमा रहेका पहिलो विश्वका राष्ट्रहरू द्विपक्षीय व्यापारतर्फ ढल्किए । आफ्ना करदाता नागरिकप्रतिको उत्तरदायित्वले उनीहरूलाई ऋणबाट विकर्षित गर्दै लग्यो । सन् २००५ देखि सुरु भएको आर्थिक मन्दीबाट पूर्ण त्राण पाइनसकेको वर्तमान परिस्थितिमा पश्चिमा मुलुकहरू ऋण सकेसम्म कसैलाई दिनु नपरोस् भन्ने ठाउँमा छन् । ऋण प्रवाह गर्नेमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष जस्ता बहुपक्षीय संस्था हावी छन् ।

गरिब मुलुकका लागि ऋण नागरिकका थाप्लामा थपिने भार हो । नेपाल सरकार जमानी बसेर लिइने ऋण भए पनि भविष्यमा तिर्नैपर्छ, नागरिककै करबाट । यसको विपरीत वैदेशिक लगानीको मोडलमा जाँदा नेपाललाई ऋण तिर्नुपर्ने बाध्यता रहने छैन भने प्रविधि हस्तान्तरण तथा पूर्वाधार निर्माणमा पनि दायित्व कम हुन्छ ।

सुरक्षाका दृष्टिले संवेदनशील पूर्वाधारका ‘सफ्टवेयर’ मा नेपालको नियन्त्रण कायम गरी ‘हार्डवेयर’ मा वैदेशिक लगानी ल्याउने रणनीतिले ठूला पूर्वाधारमा ऋण लिन बाटो खुकुलो राख्छ । लगानी भनेको व्यापार हो । व्यापार गर्नेले मुनाफा आर्जन गरी लगानी उठाउँछ, नेपालमा रोजगारी सिर्जना गर्छ र प्रविधि हस्तान्तरण गर्छ, मुनाफा बांँडफांँड गर्छ र कर तिर्छ । आजको दुनियाँ ऋणको लेनदेन गर्ने होइन, व्यापार गर्ने दुनियाँ हो ।

ऋण र लगानीको बहसमा राष्ट्रिय आर्थिक हैसियतको ठोस विश्लेषण हुनु उत्तिकै आवश्यक छ । अन्तर्राष्ट्रिय मुद्राकोषले जारी गरेको तथ्यांक अनुसार नेपालको आन्तरिक र बाह्य ऋणको अनुपात विगत बीस वर्षमा कुल गार्हस्थ उत्पादनको २८ देखि ३२ प्रतिशत हाराहारी घुमेको छ, जुन अल्पविकसित देशमध्ये उच्च हो ।

यस्तो अनुपात ३५ प्रतिशत कटेपछि राष्ट्रलाई ऋणको खतराउन्मुख अवस्थामा पुगेको मानिन्छ र त्यस्ता देशमा विकसित राष्ट्रहरूको संगठन ओईसीडीले ऋणभन्दा अनुदान वा व्यापारिक सहयोग लिन प्रोत्साहित गर्नुपर्ने नीति सिफारिस गर्ने गरेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषको सिफारिस पनि यस्तै हुने गर्छ । खतराको यस्तो अवस्था गहिरिँंदा कुनै पनि मुलुक ऋणपासोमा फँस्न पुग्छ । नेपाल अझसम्म सुरक्षित छ । तर जुन अनुपातको लगानी चाहिएको छ, त्यसको सानो हिस्सामा मात्र पनि ऋण थप्दै जाने हो भने खतराको लक्ष्मणरेखा नजिकै रहेको भुल्नु हुँदैन ।

मुद्रा कोषकै माथि उल्लेखित अवधिको अर्को तथ्यांक हेर्दा नेपालले २०४६ सालको परिवर्तन यता हरेक वर्ष आफ्नो कुल गार्हस्थ उत्पादनको सरदर २.२ प्रतिशत विदेशी ऋण र अनुदानबाट प्राप्त गरेको छ भने सरदर ०.५ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानीमार्फत प्राप्त गर्दै आएको छ ।

नेपालले चाहना राख्दैमा वैदेशिक अनुदान बढ्न असम्भव छ । किनकि अनुदान दाताको दयामायाबाट प्राप्त हुन्छ । राष्ट्रिय अर्थतन्त्रको बहन क्षमता र खर्च गर्ने क्षमता अभिवृद्धि नगरी विदेशी ऋण वा आन्तरिक ऋणको दरमात्रै बढ्यो भने त्यसले उत्पादकत्व नबढ्ने बरु मूल्यवृद्धि हुन जाने र अन्ततोगत्वा मुलुक अर्को ऋणपासोमा पर्ने खतरा रहन्छ ।

उत्पादनमूलक क्षेत्रमा लगानी नबढाई ऋण लिएर ठूला पूर्वाधारमा मात्रै लगानी गर्दा त्यसले तत्कालै प्रतिफल दिन नसक्ने बरु ऋणभार थपिँदै जाँदा ऋणपासोकै खतरा अझै बढ्न जान्छ । यससँग गाँसिएर आउने अर्को पक्ष के छ भने उत्पादनमूलक क्षेत्रमा लगानी गरेर पूर्वाधारमा लगानी नगर्दा उत्पादित वस्तुलाई बजारसम्म पुर्‍याउने सप्लाइ चेन विकास गर्न सकिन्न । यसको कारण उत्पादनमूलक क्षेत्र धराशायी हुन जान्छ । त्यसैले लगानी नीतिले उत्पादन र पूर्वाधारको सन्तुलन कायम गर्न सक्नुपर्छ । हचुवामा ऋणको सिफारिस गर्ने विषय अत्यन्त घातक हुन्छ ।

आजको कूटनीतिमा अर्थराजनीतिक ज्ञान अनिवार्यजस्तै भएको छ । नेपालको राजनीतिक व्यवस्थापन करिब सकिएको छ । अबको एक दशक देश पूर्ण रूपले आर्थिक विकासमा केन्द्रित हुनुपर्छ । नेपालका वैदेशिक कूटनीतिक उपस्थितिलाई लगानीकर्ताका लागि सूचना केन्द्रका रूपमा समेत विकास गर्ने नीतिले आर्थिक कूटनीतिको वास्तविक उद्देश्य प्राप्तिमा मद्दत पुग्नेछ ।

twitter : @TsoRolpa

प्रकाशित : चैत्र ४, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

बेलैमा यौन शिक्षा

सान्नानी बुर्लाकोटी

काठमाडौँ — गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार जस्तै यौन पनि जीवनमा नभई विषय हो । यति आवश्यक विषयका बारे हाम्रो समाजमा अपेक्षित चर्चा भने हुने गरेको छैन । प्रायः मानिस यसबारे कुरा गर्न सहज हुन्नन् । समाजमा यसको उल्टो असर परिरहेको छ । अपरिपक्व उमेर समूहका केटाकेटीले पनि यसलाई सामान्य कुराका रूपमा बुझ्न सकिरहेका छैनन् ।

विज्ञान र र प्रविधिको विकाससँगै पाश्चात्य संस्कारको देखासिकीका कारण हाम्रा केटाकेटीमा मायाप्रेमभन्दा पनि उमेरको आकर्षणले गर्दा समस्यामा पर्ने गरेका छन् । धेरैजसो लुकीछिपी र कमै मात्रामा खुलारुपमा हाम्रा गाउँसहर, विद्यालय तथा
कलेजका केटाकेटीमा यस्ता कुरा देखिनमा आइरहेका छन् ।

स्कुल–कलेजमा हामी सैद्धान्तिक ज्ञान मात्र दिन्छौँ । व्यावहारिक पाटोको बेवास्ता हुने गरेको छ । यौन शिक्षाबारे पर्याप्त चर्चा गरेर त्यसको असर, परिणाम बुझाउनुपर्छ । अपरिपक्व उमेरकै कारणमा शारीरिक आकर्षणका कारण केटाकेटी शिक्षक, समाज र आफन्तको डरले गर्दा लुकेर आपसमा भेट्छन्, मायाप्रेमका कुरा गर्छन् ।

हुँदाहुँदा शारीरिक संसर्गसम्म पुग्छन् अनि पढ्ने र सुन्दर भविष्यका योजना बोकेका उनीहरूको जीवन गर्भ निरोधक औषधी र असुरक्षित गर्भपतनको यात्रातर्फ लाग्छ । सामाजिक, पारिवारिक, मानसिक समस्यामा परेर उनीहरू जोखिमपूर्ण अवस्थामा क्लिनिकमा बच्चा जन्माउने, बच्चालाई नालीमा फ्याँकिदिने, आत्महत्या गर्ने अवस्थासम्म पुग्छन् ।

असुरक्षित यौन सम्पर्क गर्दा प्राणघातक रोग लाग्ने, सानो उमेरमा पाठेघरको पूर्ण रुपमा विकास भइनसक्ने हुनाले ज्यानकै खतरा हुने, सङ्क्रमण हुन सक्ने, गर्भ रहन सक्ने,गर्भपतन गराउँदा जीवन जोखिममा पर्ने जस्ता यथार्थ आफ्ना केटाकेटीलाई घरपरिवारले बुझाउनुपर्छ । शिक्षक, साथी तथा अन्य मान्यजनको भूमिका पनि यसमा उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

सहरका सम्पन्न घरका बालबालिका बढीजसो मोवाइल, कम्प्युटर, प्रेम दिवशमा आदिमा अलमिलने गरेका छन् । विकटतिरका बालबालिका भने शिक्षा, चेतना, गरिबी, अभावको चपेटामा परिरहेका छन् । प्रायः सहरिया बालबालिका बढी आत्मविश्वासी भएका कारण र दुर्गमका बालबालिका सोझोपनका कारण असुरक्षित यौनको भुङ्ग्रामा पर्ने गरेका छन् । तसर्थ हामीले हाम्रा विद्यार्थी तथा छोराछोरीलाई यौन जीवनको सबैभन्दा महत्त्वपूर्ण पाटो हो भनेर बेलैमा सिकाउनुपर्छ ।

मानसिक रूपमा सक्षम प्रत्येक मानवमा यौनको चाहना हुन्छ र हुनुपर्छ भन्ने कुरा खुलेर बुझाउनुपर्छ । यौनको भावना जन्मेदेखि नमरुन्जेल बालबालिका, युवायुवती, बूढाबूढी सबैमा हुन्छ । यो जैविक आवश्यकताहो । बालकले आमाको स्तन चुसेर वा टोकेर होस्, युवा तथा वृद्धले कसैलाई हेरेर, बोलेर, हाँसेर, जिस्क्याएर, ठट्टा गरेर, मन परेका भौतिक वस्तु उपहार दिएर तथा हार्दिक प्रेम गरेर यौन चाहना पुरा गरिरहेका हुन्छन् । तर हाम्रो समाजमा तनको मिलन नै यौन चाहना हो भन्ने सङ्कीर्ण मानसिकता छ ।

अपरिपक्व उमेर समूहका केटाकेटीलाई हामीले यौन शिक्षा दिँदा यसलाई त्राससँग जोड्नु हुन्न । कसैसँग शारीरिक सम्पर्क गरे शारीरिक यातना दिन्छु भनेर थर्काउनु हुन्न । यस्तो अभ्यासले नराम्रो परिणाम दिन सक्छ । तिनीहरूको मानसपटलमा हामीले सकारात्मक ऊर्जा भर्दै यौन सम्पर्कले आउने सम्भावित दुष्परिणामबारे सिकाउनुपर्छ । भविष्य बरबार हून्छ, उर्जाशिल समय त्यत्तिकै सकिन्छ भनेर सम्झाउनुपर्छ । उमेरलाई पढाइ तथा सिर्जनात्मक काममा लगाए भविष्य सुन्दर हुन्छ भन्दै ज्ञान आर्जनमा लाग्न साहस, आँट र हिम्मत दिन सक्नुपर्छ । ज्ञानी र असल व्यक्ति बनेर देशको होनाहार प्रतिभाशाली व्यक्ति बन्न प्रेरित गर्नुपर्छ ।

पाठ्क्रम विकास केन्द्रले कति सकिन्छ माध्यमिक तथा उच्चमाध्यमिक तहकाविद्यार्थीको भविष्यलाई मध्यनजर गरेर पच्चिस/पचास अङ्कको यौन शिक्षासम्बन्धीपाठ्यांशको खाका तयार पार्नुपर्छ र लागुगर्न ढिलो गर्नुहुदैन ।

यौनको अभावमा मान्छे विक्षिप्त बन्न पुग्छ । यसो भन्दैमा हामी अविवेकी बन्न हुन्न । हामीले सही समयमा सचेत भएर यौन सम्पर्क गर्नुपर्छ । पढ्ने, लेख्ने, भविष्य बनाउने समयमा अन्धवेगमा आएर हामीले गरेको प्रेम प्रेम नभएर उमेरको आकर्षण मात्र हो । यो ज्ञान केटाकेटी तथा सन्तानलाई बुझाउन सक्नुपर्छ । यस्तो कच्चा उमेरमा मनको संवेगलाई नियन्त्रण गर्न सकिँदैन । आँधी र तुफान, चैतको हुरहुरे वतासले कोमल मन अनि भावनालाई डढाउने काममात्र गर्छ भनेर मानसिक उपचार गर्नुपर्छ ।

केटाकेटीहरू अरूलाई भन्दा आफैलाई मात्र ठूलो देख्ने हुन्छन् । त्यही भएर उनीहरूको संवेगात्मक कोमल मनलाई ठेस नपुग्ने गरी ‘जुन बाटो तिमी हिँडेका छौ त्यो भिर हो, काँडा छ, खाल्डो छ, जीवनमा कालो बादल लाग्छ’ भन्दै उनीहरूमा सकारात्मक भाव भर्नु शिक्षक तथा अभिभावकको जिम्मेवारी हो । उनीहरूलाई ‘आफ्ना केटा वा केटी साथीलाई असल साथीको रुपमा हेर, मायाप्रेम र यौन चाहनाले होइन, सकेसम्म यौन सम्पर्क गर्नै हुँदैन’ भन्नुपर्छ ।

विकसित देशमा केटाकेटीलाई स्वतन्त्र रुपले हेरिन्छ । पूर्वीय संस्कारले गाँजेको हाम्रो देशमा चाँहि केटाकेटीको सम्बन्धलाई केवल यौनिक दृष्टिकोणले मात्र हेरिन हुदैन । तिनीहरूले पनि पढाइका, देशका समसामयिक गतिविधिका आफ्नै परिवेशका, समस्याका, परिवारका दुःखसुखका कुरा गरेका हुन सक्छन् भन्ने विश्वास अभिभावक तथा शिक्षकमा हुनुपर्छ । हामीले तिनको विश्वासलाई मर्न दिन हुदैन । उनीहरूलाई भन्नुपर्छ, ‘तिम्रो ऊर्जाशील समयलाई खेर नफाल, फलामलाई तातेकोबेला ठोकेमात्र विभिन्न औजार बनाउन सकिन्छ, जवानी भनेको अञ्जुलीको पानीजस्तै हो, आफ्नो भविष्यको सपना साकारपार्न काम गर्नुपर्छ, तिमीले यौनको महत्त्वलाई बुझेर सही सयम आएपछि सदुपयोगगरेमा सुन्दर, सुनिश्चित भविष्य निर्माणगर्न सक्छौ ।’

प्रकाशित : चैत्र ४, २०७५ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्