१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

निद्रा त लाग्छ नै

डा. अजय रिसाल

काठमाडौँ — ‘डाक्टर सा’ब, मलाई निद्रा लाग्ने औषधि चाहिं नदिनुस् है  ! बरु काउन्सेलिङ मात्र गर्नुस् । तपाईंले जति चोटि बोलाए पनि आउँछु ।’
‘औषधि त के नै हुन्छ र यस्तो रोगको ? डाक्टरहरूले त खालि निद्रा लाग्ने औषधि दिएर बिरामीहरूलाई लठ्याउने मात्र न हुन् !’
‘त्यो निद्रा लाग्ने औषधि धेरै खानु हुँदैन है  ! त्यसले बानी लगाउँछ, पछि छुटाउनै सकिन्न !’ 

निद्रा त लाग्छ नै

उपर्युक्त तीन सन्दर्भ मानसिक रोग उपचारको गम्भीरतालाई लिएर उत्पन्न हुने सन्देहका केही उदाहरण हुन् । यिनले मनोचिकित्सा पद्धतिको वैज्ञानिकतामाथि तीन वटै महŒवपूर्ण विषयतिर औंल्याएका छन् :


१. मानसिक समस्याहरूमा डाक्टरी औषधि नै हुँदैन । २. मनोचिकित्सकहरूले खालि निद्रा लाग्ने औषधि दिएर मनोरोगीहरूलाई लठ्याउने र तिनका अप्ठ्यारा व्यवहारलाई निस्तेज मात्र गराउने हुन् । ३. निद्रा लाग्ने औषधिहरूले बानी लगाउँछन्, अनि त्यसबाट मानसिक रोगीहरूले जीवनैभर छुटकारा पाउन सक्दैनन् । यसरी नै मनोचिकित्सकहरू मनोरोगीलाई दुहुनो गाई बनाउने गर्छन् ।


पत्रपत्रिका र संचार माध्यममा आएका, सामाजिक जमघटमा हुने गरेका अनि अलिकति जान्नेबुझ्ने कहलिएकाहरूको कुराकानी र भनाइलाई संश्लेषण गर्दा हाम्रो समाजमा यी भ्रमहरूले नराम्ररी नै जरो गाडेको मैले अनुभूति गरेको छु । यस्ता भ्रमहरू व्याप्त रहिरहनुमा एउटा मनोचिकित्सकका नाताले आफूलाई पनि जिम्मेवार नै ठान्ने गरेको छु ।


एक्काइसौं शताब्दीमा आइपुग्दा मनोचिकित्साको क्षेत्रमा ठूलो प्रगति भइसकेको छ । सोह्रौं–सत्रौं शताब्दीमा जस्तो ‘टाउकामा प्वाल पार्ने,’ ‘बोक्सी धपाउने,’ ‘आगो लगाउने’ जस्ता विधिहरू अहिलेको सभ्य समाजमा अपनाइन्नन् । न अठारौं–उन्नाइसौं शताब्दीमा झैं मानसिक रोगीहरूलाई बा“धेर, थुनेर, यातना दिएर पाशविक स्तरमै राख्ने गरिन्छ, न त बीसौं शताब्दीमा झैं बिरामीहरूले देख्ने सपनाका आधारमा, उनीहरूसँग एक्लै गरिएका कुराकानीका माध्यमद्वारा या जे कुरामा पनि यौनिक विश्लेषण मात्र गरेर उपचार गर्ने प्रयास नै गरिन्छ अचेल । समय धेरै परिवर्तन भइसकेको छ ।


त्यसैले त बीसौं शताब्दीको ‘हिस्टेरिया’ लाई ‘डिसोसिएसन’ भनिन्छ अचेल । साइकोसिस र न्युरोसिसदेखि पर अचेल अनेक मानसिक रोग छलफलमा आइसकेका छन् । आनुवंशिकता, रासायनिक तत्वहरू (न्युरोट्रान्समिटर, हर्मोन, खनिज पदार्थ) अनि मस्तिष्कको अध्ययन (सिटी स्क्यान, एमआरआई) बाट प्रायः सबै मानसिक रोगका जैविक कारकतत्वको आकलन भई नै सकेको छ । अनि तिनै अध्ययनका आधारमा सन् १९५० यता थुप्रै औषधि ब्निसकेका छन् ।


अब भनौं, त्यसै मुताबिक गरिने उपचार वैज्ञानिक नहोला त ? ‘मानसिक रोगहरूको डाक्टरी औषधि छ“दै छैन’ भन्ने भ्रम पालिरहनुमा चेतनाको कमी, अध्ययनको सीमितता अनि तार्किक विश्लेषणको अभाव नै कारक रहेको मान्न सकिन्छ । पहिले जस्तो मनोचिकित्सा अध्ययन गरी यही क्षेत्रमा लाग्न हिचकिचाउने डाक्टरहरू ज्यादै कम भएकाले यस्तो भ्रम निवारण गर्न का लागि सबै मनोचिकित्सकहरू एकजुट हुनुको विकल्प छैन ।


अब कुरा गरौं ‘निद्रा’ को । हाम्रो दैनिक जीवनमा यसको महत्वबारे धेरै भनिरहनु नपर्ला । हाम्रो मस्तिष्कलाई कम्प्यूटरस“ग तुलना गर्ने हो भने त्यसको सफ्टवेयरलाई चुस्त–दुरुस्त राख्न चाहिन्छ निद्रा । शारीरिक मात्र नभई मानसिक थकानबाट मुक्तिका लागि पनि चाहिन्छ निद्रा । त्यस्तै, कोष एवं तन्तुहरूको वृद्धि–विकास अनि स्मरणशक्ति एवं वैचारिक संश्लेषण सबैका लागि चाहिन्छ निद्रा । त्यसैले नै पनि होला, हाम्रो संस्कृतिमा ‘या देवी सर्वभूतेषु निद्रारूपेण संस्थिता...’ भनेर निद्राकी देवी योगमायाको आराधना गर्ने परम्परा छ । त्यस्तै, ग्रीक सभ्यतामा पनि ‘हिप्नोस’ भनेर निद्राकी देवीलाई मान्ने गरेको पाइन्छ ।


अब जाऔं मानसिक रोगका लक्षणहरूतर्फ । ‘निद्रामा कमी’ प्रायः मानसिक रोगको लक्षण हो । तनाव अनि उदासीनता, एंग्जाइटी या डिप्रेसनका कारण निद्रा लाग्दै नलाग्ने, रातको बीचमा ब्युँझिएपछि निद्रा पर्दै नपर्ने या अरू समयमा भन्दा निद्रा चा“डै खुल्ने हुन सक्छ । त्यस्तै, म्यानिया या हाइपोम्यानिया जस्ता रोगमा बिरामीहरूको उत्साहमा वृद्धि अनि विचारमा आउने तीव्र प्रवाहका कारण बिरामीहरूलाई निद्राको आवश्यकता नै महसुस नहुने हुन सक्छ । सोमाटोफर्म जस्ता रोगहरूमा भने दुखाइका कारण निदाउन नसक्ने हुन सक्छ । हेरिल्याउ“दा निद्राको गडबडीको उपचार नगरी कुनै पनि मानसिक रोगको उपचारै नहुने रहेछ ।


त्यसैले, मानसिक रोगहरूको लक्षणात्मक उपचार पनि निद्राको उपचारबाटै शुरु हुन्छ । हामीले प्रयोग गर्ने एण्टिडिप्रेसेण्ट अनि मुड

स्ट्याबिलाइजर औषधिहरूले तिनको मुख्य काम क्रमशः डिप्रेसन र म्यानियाको उपचारका क्रममा निद्राको सन्तुलन पनि मिलाइरहेका हुन्छन् । अनि सेडेटिभ–हिप्नोटिक औषधिहरू प्रमुखतः निद्रामा हुने गडबडी अनि एंग्जाइटी रोगका लागि नै हुन् ।


अझ मद्यपानजन्य समस्याको प्रारम्भिक चरणमा त यी सेडेटिभ–हिप्नोटिक औषधि नभई हुन्न । मनोचिकित्सकहरूले दिने सबै औषधि ‘निद्रा लाग्ने औषधि’ होइनन्, अनि मानसिक रोगीहरूलाई लठ्याउने मात्र तिनको उद्देश्य कदापि हुँदैन भन्नेमा सबै जना स्पष्ट हुनुपर्छ । हो, तिनले दिने औषधिले अलिकति निद्रा लगाउने काम भने गर्छन्, तर त्यो पनि मनोरोगहरूको उपचारको प्रक्रिया नै हो ।


अब भ्रमबारे केही कुरा । सेडेटिभ–हिप्नोटिक समूहका औषधिहरूले भने बानी लगाउन पनि सक्छन्, यदि चिकित्सकीय निगरानी एवं सरसल्लाह मुताबिक प्रयोग गरिएका छैनन् भने । चिकित्सकहरूको सल्लाहबेगर औषधि पसलमा ‘ओभर द काउण्टर’ यस्ता औषधि प्रयोग गर्ने व्यक्तिहरू लागूपदार्थ दुव्र्यसनी पनि हुन सक्छन् । हामी चिकित्सकहरूले भने त्यस्ता औषधिहरू निश्चित समयका लागि अनि बिरामीका प्रकार हेरेर मात्र प्रयोग गर्ने गर्छौं ।


बिरामीको अवस्था ठीक हुँदै जाँदा त्यस्ता औषधिको मात्रा घटाउँदै जान्छौं अनि बिरामीको अवस्था राम्रो भएपछि त्यस्ता औषधि बन्द नै पनि गरिदिन्छौं । यस्ता कुरा बिरामी एवं बिरामी पक्षलाई राम्ररी बुझाउन सके यी भ्रम पनि हट्नेमा द्विविधा रहन्न । मनोचिकित्सक साथीहरू  ! बिरामी पक्षलाई रोग एवं उपचार विधिबारे सल्लाह–सुझाव दिनमा कन्जुस्याइ“ कदापि नगरौं । यस्ता भ्रमहरूले हाम्रो पेशा एवं हाम्रो उपचार सेवा कार्यको अवमूल्यन मात्र गराउ“छन् ।


यी त भए जनमानसमा व्याप्त भ्रमहरू ! यस्तै भ्रमको पछि लागेर सरकारी तवरबाटै समेत नकारात्मक कार्यहरू भएका छन् । बिनाअध्ययन केही सेडेटिभ–हिप्नोटिक औषधिहरूलाई लागू पदार्थको कोटिमा राखेर तिनको आयातमा प्रतिबन्ध लगाइएकाले हामीलाई समेत अहिले उपचार प्रक्रियामा हात बा“धिएको अनुभव भइरहेछ । प्रभावकारी नियमनको साटो नियन्त्रण मात्र भइदिंदा कसरी उपचार कार्य हुन सक्ला ?


लेखक धुलिखेल अस्पतालका मानसिक रोग विशेषज्ञ हुन् ।

प्रकाशित : चैत्र ५, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?