कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रंगमार्फत सद्भाव

कमल रिजाल

काठमाडौँ — फागुन शुक्ल पूर्णिमालाई फागुपर्वको रूपमा मनाउँछन्, नेपालीहरू । यसै दिन साँझ होलिका दहन गर्ने चलन छ । यसलाई चीरदाह भन्ने गरिएको पनि छ । यस दिनलाई फागुपूर्णिमा वा होलीपूर्णिमा समेत भन्ने गरिन्छ । विष्णुभक्त भतिजा प्रह्लादलाई मार्न अग्निकुण्डमा हेलिएकी होलिका आफै डढेर भष्म भएकी थिई रे, अघि कुनै बेला ।

रंगमार्फत सद्भाव

त्यसैको खुसियालीमा मनाउन थालेको मानिएको यो संस्कृति अद्यावधि कायम छ । यसबारे व्यासजीले भागवतमा विशद विवेचन गरेका छन् (श्रीमद्भागवत, सप्तमस्कन्ध, अध्याय ५), भविष्य पुराणको कथन भने भिन्नै छ । उसका अनुसार, यसै दिन साँझ बालकहरूले आगो बाली होहल्ला गरेर तत्कालीन लोकद्रोही ढोण्ढा नामक राक्षसीको उपद्रव शान्त पारेका थिए । त्यसैको सम्झनामा यो पर्व मनाउन थालिएको हो । सत्य युगमा रघु नामक राजाले वशिष्ठ ऋषिको आग्रहमा यसको व्यवस्था गरेका थिए (भविष्य पुराण, उत्तरपर्व, अध्याय १३२), यसको गुढार्थ भने निकै गम्भीर छ ।


फागु वा होली जे भने पनि यो पर्व हिन्दु सनातन संस्कृतिको अभिन्न अङ्ग हो । यसको बीजाङ्कुर वैदिक संहिताहरूमै फेला पर्छ, कुनै न कुनै रूपमा । पौराणिक ग्रन्थहरूले त्यसैलाई कथानक रूप दिएर व्यावहारिक स्वरूप दिने काम गरेका हुन् । शान्ति, सद्भाव, सहयोग, सहकार्य, सहिष्णुता र मेलमिलाप नै हिन्दु सभ्यताको परिभाषा हो । यसैको वकालत गरेका छन्, वैदिक ग्रन्थहरूले ।


‘द्यौ शान्तिरन्तरिक्षगुँशान्तिः पृथिवीशान्तिरापः शान्तिरोषधयः शान्ति वनस्पतयः शान्ति...’ भन्दै आकाशदेखि पृथिवीसम्म सर्वत्र शान्तिको कामना गर्ने यस संस्कृतिभित्र आब्रह्म स्तम्भपर्यन्त अखिल विश्व ब्रह्माण्ड आपसी भाइचाराको भावमा टिकेका छन्, रहेका छन् ।


‘वसुधैव कुटुम्बकम्’ यस संस्कृतिको मूलभूत विशेषता नै हो । ‘सत्यं ब्रूयात् प्रियं ब्रूयात् अब्रूयात् सत्यमप्रियम्’ अर्थात् ‘सत्य बोल, प्रिय बोल, सत्य कुरा पनि अप्रिय नबोल’ भन्छ, यस संस्कृतिले । ऋग्वेद (१०।१९१।२) मा एउटा मन्त्र छ– ‘सङ्गच्छध्वं सं वदध्वं सं वो मनासिं जानताम् । देवा भागं यथा पूर्वे सञ्जानाना उपासते ।’


यसको भाव हो— आपसमा मिलेर हिँड, मिलेरै बोलचाल गर, मिलेर नै मनको कुरो साटासाट गर, नयाँ कुरो सिक, यसैले नै तिमीहरूको उन्नति र प्रगतिमा सघाउँछ । यही भावना र आशयलाई थप प्रस्ट पार्दै उपनिषद् दर्शनमा भनिएको छ— सँगै बाँच, सँगै नाच, मिलेर बस, मिलेर हिँड र मिलेर खाऊ । तिम्रो हित र समुन्नतिका मार्ग यिनै हुन् (सह नाववतु सह नौ भुनक्तु सहवीर्यं करवावहै...) ।


व्यवहार पनि त्यस्तै देखिन्छ, हिन्दुत्वको आलोकमा । बाघ र बाच्छा तथा सर्प र मुसाको समेत मेलमिलाप देखिन्छ, हिन्दुत्वको मर्यादामा । फागुदर्शन र संस्कृति यसैको एउटा दृष्टान्त हो ।


फागुपर्व मनाउनुको अर्थ रङ्ग र अवीरको रसमा सराबरी हुनु हो, लडीबडी गर्नु हो । यसमा न धनी र गरिबको भेद हुन्छ, न त ठूला र सानाको । न उचनीचको भावले स्थान पाउँछ, न छुवाछूत भावको गुन्जाइस रहन्छ । यस पर्वले मानव मात्रलाई एउटै विन्दुमा ल्याएको छ, उभ्याएको छ । हर्ष र उमङ्ग पनि यसैमा छ, शान्ति, सद्भाव र आनन्द पनि यसैमा । आपसी सद्भाव, सहयोग, सहकार्य र सहिष्णुता लगायत समग्र हिन्दु सभ्यताको विशेषता यसैको आदर्शमा आप्लावित हुन पुगेको छ ।


ऋग्वेद (१०।१९१।४) मा समानताको एउटा सूक्त भेटिन्छ— ‘समानी व आकूतिः समाना हृदयानि वः । समानमस्तु वो मनो यथा वः सुसहासति ।’ अर्थात् हे स्तोता (मानव) हरू हो ! तिमीहरूको मन, चित्तवृत्ति र सङ्कल्प एउटै होस् । तिमीहरूको जीवनका आधार यिनै हुन् । तिमीहरू सबै समान छौ । सबैको जीवनोपयोगी आधार समान छन् । समान तरिकाले जन्मन्छौ, खान्छौ र विसर्जन गर्छौ, अनि समान तरिकाले जहाँबाट आएका थियौ, त्यतै जान्छौ । त्यसैले आपसमा मेलमिलाप गर, जे गर्नुछ, मिलेर गर । आपसमा कहिल्यै घृणा र तिरस्कार नगर ।


यसलाई उपनिषद दर्शनले थप प्रस्ट पार्दै भनेको छ— ‘असतो मा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय ।’ यसको अर्थ हो— असत्यबाट सत्यतर्फ, अँध्यारोबाट उज्यालोतर्फ र मृत्युबाट अमृततर्फ जाने प्रयास गर । यिनै वैदिक भाव तथा विशेषताका व्यावहारिक रूप हुन्— होली पर्व र यसमा सम्पन्न हुने कृत्य ।


असत्यबाट सत्यतर्फ जाने प्रयास गर्नुपर्छ भनेको सबैले आफ्ना व्यवहारलाई सत्यतर्फ उन्मुख गराउने प्रयास गर्नुपर्छ भन्ने हो । होली पर्वमा हुने वा सम्पन्न गरिने कृत्यहरू यसैतर्फ लक्षित छन् । यति बेला मानिस आपसी वैमनस्य बिर्सेर एकै स्थानमा उभिएका हुन्छन् । यही नै सत्यतर्फ उन्मुख हुन सिकाउने पहिलो पाइलो हो । यसले आफ्ना आवश्यकता पूरा गर्न सबै एकै स्थानमा उभिएर एकअर्कातिर सहयोगको हात बढाउनुपर्छ भन्ने सन्देश दिएको छ ।


जहाँ साथ मिलेर सबैले होस्टे हैँसे गर्छन्, त्यहाँ प्राकृतिक सम्पदालाई सदुपयोग गरी जीवनलाई पूर्णतः सुखी र आनन्दित बनाउने काम भइरहेको हुन्छ । प्राचीन कालमा देवता र दानव मिलेर समुद्र मन्थन गरेका थिए रे, व्यासजीले भागवतमा भनेका । प्रकृतिबाट लाभान्वित हुन पनि यस्तै ऐक्यबद्धता आवश्यक हुन्छ । यसका लागि धनी–गरिब, उच–नीच, ठूलो–सानो वा यो र ऊ को भावबाट माथि उठ्नुपर्छ । सबै एकै स्थानमा उभिएर एकले अर्कोलाई सहयोग गर्नुपर्छ । ‘असतो मा सद्गमय’ भनिएको यही हो, जसले फागु पर्वले कार्यान्वयनमा ल्याउने काम गरेको छ ।


होलिका दहन फागुपर्वमा गरिने अर्को काम हो । पूर्णिमाको रात यसै पनि उज्यालो हुन्छ । त्यसमाथि आगो बालेर थप उज्यालो बनाउने काम भएको हुन्छ । यही नै उपनिषद् दर्शनको ‘तमसो मा ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट उज्यालोतर्फ जाने प्रयास गर्नुपर्छ भन्ने आशय हो । हिन्दु सभ्यता अँध्यारोबाट उज्यालोतर्फ जाने र लाने सभ्यता हो । अँध्यारोमा बस्ने र बसाउन खोज्ने कोही पनि हिन्दु हुन सक्दैन । अन्यथा हिन्दुत्वको दाबा फोस्रो आडम्बर मात्र ठहरिन्छ ।


ईशोपनिषद् (२) ले असल कर्म गरे सयौं वर्ष बाँच्न सकिन्छ भनेको छ— ‘कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छतगुँ समाः ।’ असल कर्म भनेका परहित र परोपकारी कार्य नै हुन् । जसले यस्तो कर्म गर्छ, त्यही कार्यले नै अँध्यारोबाट उज्यालोतर्फ लाने काम गरिरहेको हुन्छ । होलिका दहन यसैको उदाहरण हो । होलिका दहन गर्नुको अर्थ होलिका राक्षसीको पुत्ला दहन गर्नु मात्र होइन, आफूभित्रका सबै दुर्भाव र दुर्गुण दहन गर्नु पनि हो । जहाँ यस्तो कार्य भएको छ, त्यहीं नै सद्भाव र सहयोगी भावना अङ्कुरित हुन पुग्छ ।


होलीपर्वमा रङ्ग खेलिनुको अर्थ रसको सागरमा सरोवर हुनु हो । उपनिषद् दर्शनले रसलाई ब्रह्म भनेको छ (रसो वै सः) । ब्रह्म भनेको ईश्वर वा भगवान पनि हो । जहाँ षडैश्वर्य अर्थात् ऐश्वर्य, यश, धर्म, श्री, ज्ञान र वैराग्यको समन्वय हुन्छ, त्यही नै भगवान हो । उनलाई उपनिषद् दर्शनले कतै आनन्द भनेको छ (आनन्दं ब्रह्मेति व्याजानात् तैत्तिरीय उपनिषद्...), कतै अनादि र अनन्त भनेको छ ।


फागुको रङ्गमा सरोवर हुनु भनेको सोही ब्रह्म वा आनन्दमा आफूलाई लीन गरी अजर र अमर हुने प्रयास गर्नु हो । यही नै ‘मृत्योर्मा अमृतं गमय’ को भाव हो । रस भनेको औषधि पनि हो, अन्न पनि हो । वेदमा विशद चर्चा भेटिन्छ, यसको । जसले जस्तोसुकै असाध्य मानिएको रोग निकोमात्र पार्दैन, भोक, शोक निर्मूल पारी दीर्घजीवन दिने कामसमेत गरेको हुन्छ । यही नै मृतबाट अमृततर्फ जाने र लाने प्रयास हो । अचेल होलीपर्व मनाउने क्रममा केही विकृति पनि भेटिएको छ ।


फागुपर्व आउनु सात दिनअघि नै पानी छ्याप्ने र रङ्ग र अवीरको नाममा हिलो र फोहोर फ्याँकेर दिक्क पार्ने गरिको पनि पाइन्छ । यसले न संस्कृतिलाई बचाउँछ, न राम्रो सन्देश नै दिन्छ । उल्टै रोग, भोक र शोकलाई निम्त्याउने गर्छ । होलीपर्वको आशय यो होइन । जति बेला हामी वैदिक भाव र आशयलाई ध्यानमा राखी सोही अनुसार चल्ने प्रयास गर्छौं, त्यति बेला नै हामी आफू पनि सुखी र आनन्दित हुन सक्छौं र अरूलाई पनि सुखी र आनन्दित गराउन सक्छौं ।


प्रकाशित : चैत्र ६, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?